लगातार चार दिन सेयर बजार परिसूचक नेप्से घट्दा यसले ५१ अंक गुमाइसकेको छ।
बिहीबार कारोबार रकम पनि ३१ दिनयताकै न्यून हो।
गत मार्च ९ मा ५५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार पाँच अर्ब रूपैयाँको कारोबार भएको हो।
पछिल्ला पाँच दिनमा बजारले २८ सयको बिन्दुमा टेवा खोजिरहेको छ।
बिहीबार बजार १७ अंकले घटेर २७८७ मा बन्द भयो। यद्यपि बजारले अझै २८०० को बिन्दु आसपासमा टेवा खोजिरहेको देखिन्छ।
व्यवसायी पक्राउको घटना विकसित हुँदै जाँदा उनीहरूबाट सेयरको भित्री कारोबार भएको तथ्य बाहिर आएका छन्।
बजारको अत्यधिक उतारचढावमा ठूला खेलाडीहरू लाग्ने गरेको पनि यी घटनाले संकेत गरेपछि लगानीकर्ताले निर्णय गर्न सकिरहेका छैनन्।
यी घटनाले समग्र बजारप्रति सामान्य लगानीकर्ताहरूको विश्वास गुम्न थालेको छ। यही कारण पनि बजारले स्पष्ट प्रवृत्ति संकेत गर्न सकेको छैन।
बजारले २८ सय आसपासमा टेवा खोजिरहेकाले केही समय सामान्य घटबढ (साइडवेज) प्रवृत्तिमा जान सक्ने सम्भावना देखिएको छ।
नेप्सेमा बनेको ५० दिने र २०० दिने मुभिङ एभरेज रेखाले बिहीबारसम्म पनि बुलिस प्रवृत्ति अन्त्य भइनसकेको संकेत गरिरहेका छन्।
अहिले पनि ५० दिने मुभिङ एभरेज रेखा २०० दिने रेखाभन्दा माथि नै छ।
नेप्से परिसूचकको रेखा भने यसको ५० दिने मुभिङ एभरेज रेखाको नजिक आइरहेको छ। एक पटक नेप्सेले ५० दिने मुभिङ एभरेज रेखामा टेवा खोज्ने सम्भावना छ।
भावी दिनमा विकास हुने घटना क्रमले नै यो टेवा कत्तिको टिक्छ भन्ने कुरा निर्भर हुन्छ।
त्यस्तै, १४ दिनको उतारचढावको आधारमा निकालिएको रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले सेयर बजार अहिले पनि सन्तुलित अवस्थामा रहेको संकेत गर्छ।
अहिले नेप्सेको १४ दिनको आरएसआई सूचक ४९.४१ छ। सामान्यतया आरएसआई सूचकमा ० देखि १०० सम्मको स्केल हुन्छ।
० देखि ३० सम्मको यो सूचकले बजारमा तीव्र बिक्री हाबी भएको र बजार अवमूल्यन भएको संकेत गर्छ।
त्यस्तै, ३० देखि ७० सम्मको सूचकले बजारमा खरिद–बिक्री सन्तुलित अवस्थामा रहेको देखाउँछ।
७० देखि १०० सम्मको सूचकले बजारमा आक्रामक रूपमा खरिददारी बढेको र बजार उच्चदरले अधिमूल्यन भएको संकेत गर्छ। र, बजार ढिलो चाँडो उचाइबाट फर्किन सक्ने संकेत गर्छ।
आरएसआई सूचक लिने अवधि फरक फरक हुन सक्छ। बजारमा १४ दिनको अवधि लिने परिपाटी धेरै छ। आरएसआई सूचक पनि कसरी घटबढ भइरहेको छ, याद गर्नुपर्छ। हाल यो एकोहोरो घटेको छैन, सामान्य घटबढ भइरहेको छ।
यही सूचकले मात्र पनि बजारको पूर्ण अवस्था देखाउँदैन। लगानीकर्ताले विभिन्न सूचकहरूको आधारमा लगानी रणनीति बनाउनु सही हुन्छ।