सरकारले शनिबार बिहानैबाट बस्ती खाली गर्ने तयारी गरेपछि थापाथलीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूमा त्रास छाएको छ।
बिहीबार बेलुका प्रहरीले बस्ती खाली गर्न माइकिङ गरेको थियो। त्यसपछि सरकारले रातबिरात नै बस्ती खाली गर्ने हो कि भनेर सुकुम्बासीहरू थप त्रस्त बने।
बिहीबार बिहानदेखि बस्तीमा चहलपहल बढेको थियो। प्रहरी प्रशासनले पनि निगरानी बढाएको थियो। यसअघि नै त्यहाँ सुरक्षाका लागि प्रहरीको सानो युनिट थियो। बिहीबारबाटै सरकारले सुरक्षा पनि बढाएको थियो।
घर नम्बर १२५ मा बस्ने कुलबहादुर मगरका अनुसार बिहीबार बेलुका नै केही प्रहरी बस्तीमा आएका थिए। उनीहरूले बस्तीका मानिसलाई केही भनेनन्। निगरानी गरेर फर्किए।
बस्ती खाली गराउने सरकारको तयारीपछि सुकुम्बासी क्रूद्ध छन्। शुक्रबार बिहानैबाट उनीहरू आन्दोलित बनेका छन्। सुकुम्बासी अगुवा नारायण परिश्रमीलाई गरिएको पक्राउले सरकार धरपकडको बाटो हिँड्न रूचाएको भन्दै उनीहरू थप आक्रोशित पनि छन्।
सुकुम्बासीहरूलाई श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी लगायतले समर्थन गरेका छन्।
विकल्प नदिई बस्ती खाली गर्न नहुने भन्दै शुक्रबार बिहान सुकुम्बासीहरूले बस्तीअगाडि प्रदर्शन र नाराबाजी गरेका थिए। उनीहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाउन जेनजी अगुवाहरू पनि थापाथली बस्ती पुगेका थिए। जेनजी अगुवा मोनिका निरौला, उपार्जुन चाम्लिङ लगायत बस्तीमा पुगेका थिए।
आन्दोलित सुकुम्बासीको भिडमा थिइन्, शारदा ठकुरी। उनको पुर्ख्यौली घर सिन्धुपाल्चोक हो। तर सिन्धुपाल्चोकमा एक पाइलो जमिन पनि नभएकाले थापाथलीमा मानव मलमुत्रसहितको ढलको दुर्गन्ध सहेर बस्नुपरेको दुखेसो पोख्दै थिइन्।
'गरिबलाई हेर्छौं, गरिबी अन्त्य गर्छौं भनेर आएको थियो। गरिबलाई मारेर पो अन्त्य गर्ने रहेछ! बरू सिधै मारिदिए भइहाल्यो नि! हामी नै विकासको अवरोधक रहेछौं भने मर्न तयार छौं,' उनी चर्को आवाजमा बोल्दै थिइन्।
रहरले कोही सुकुम्बासी नहुने भन्दै आफूहरूको समस्या विधिबाटै टुंग्याइदिन उनले आग्रह गरिन्।
-ink-1777008216.jpeg)
'संविधान, कानुन अनुसार र अझ मानिसलाई जे व्यवहार गर्नुपर्ने हो, राज्यसँग हाम्रो माग त्यति हो। बिल्डिङ घर मागेका छैनौं,' उनले भनिन्।
बस्ती खाली गर्ने भएपछि थापाथालीका सुकुम्बासीहरूमा फरक फरक मनोदशा देखिन्छ।
थापाथलीस्थित बागमती नदी उकास जग्गामा बस्दै आएका केही बसोबासीले बिहीबार राति र शुक्रबार बिहानै बस्ती छाडेका थिए। केही भाँडाकुँडा, लत्ताकपडा पोको पार्दै थिए। केहीले गाडीमा लोड पनि गर्दै थिए।
तत्काल उपाय ननिस्किएकाहरू भने त्यहीँ बसेका छन्।
'केटाकेटीको स्कुल भर्ना गर्नुपर्ने भएको छ। आफन्तकहाँ जाऊँ भने सुकुम्बासीको जाने ठाउँ कहाँ हुन्छ? कोठा खोजौं भने सुकुम्बासीलाई कसले दिन्छ र बहालमा कोठा, यस्तो आपतमा छौं हामी!' तिनै शारदा सुनाउँदै थिइन्।
६६ वर्षीय नवराज थापाको पनि त्यस्तै पीडा रहेछ। उनको पुर्ख्यौली घर नुवाकोट भए पनि गाउँमा अहिले पाइला हाल्ने जग्गा छैन। चार जना बालबच्चा आफूसँग भएकाले उनीहरूलाई लिएर विकल्प खोज्नसक्ने अवस्थामा छैनन् उनी।
'हामीले यहीँ जग्गा देऊ भनेका छैनौं। विकल्प देऊ मात्रै भनेका हौं। आवासको हक संविधानले नै सुनिश्चित गरेको छ। तर डोजर ल्याएर मानिस बसेको ठाउँ भत्काइ दिनुभएन,' उनले भने।
सरकारले बस्ती हटाउँछ भन्ने सुनेदेखि आफूलाई निद्रा नपरेको बताउँदै बालबच्चाको भविष्य के होला भन्ने चिन्ताले सताएको उनले बताए।
यसअघिका सरकारले भूमिहीन दलित, सुकुम्बासी र नदी किनाराजस्ता जोखिमपूर्ण ठाउँमा बस्नेलाई केही नगरेको बताउँदै रास्वपाले विकल्प नै नदिई बस्ती खाली गराउँदै झन् ठूलो भयावह अवस्था आउने उनले उल्लेख गरे।
'बस्तीमा मानिस नै बसेका छन्। उनीहरूको पनि जीवन छ। घरजग्गा भएकाहरू पनि बस्छन् भनेर सबैलाई एउटै व्यवहार गर्नुहुँदैन। घरजग्गा भएका पनि बसेका छन् भने छानबिन गरेर नभएकालाई व्यवस्थापन गर्ने सरकारकै दायित्व हो,' उनले भने।
थापाथलीमा कति सुकुम्बासी छन् भन्ने यकिन छैन। त्यहाँ चार सय हाराहारी घर परिवार रहेको अनुमान गरिएको छ। उपत्यका विकास प्राधिकरणको अनौपचारिक सर्भेबाट त्यहाँ ३९२ घरधुरी रहेको देखिएको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार काठमाडौं उपत्यकाका नदी किनारामा ३४९६ अव्यवस्थित बसोबासी बस्छन्। यसमा नगन्य मात्र सुकुम्बासीको संख्या छ। काठमाडौंमा मात्रै २२४५ सुकुम्बासी छन्।
-ink-1777008215.jpeg)
यस्तो छ सिनामंगलको अवस्था
काठमाडौंको शान्तिनगरको सिरानतिर कृष्णमान नकर्मीको सानो छाप्रो छ। त्यही छाप्रोको अगाडि सानो दोकान छ। बागमती नदी किनारमा रहेको यो छाप्रोमा सम्भवत: आज शुक्रबार उनको आखिरी दिन हो।
उनी २० वर्षयता यहाँ बस्दै आएको बताउँछन्। शनिबार बिहानैदेखि यो छाप्रो र दोकानको माया मार्न सरकारले उनलाई आदेश जारी गरिसकेको छ।
हामीले सरकारी आदेशबारे सोध्दा सुरूमा उनले केही पनि थाहा नभएजस्तो गरे। आफू त यहाँबाट कतै नजाने बताए। केही बेरपछि भने आफ्ना कुरा राख्छु भन्दै उनी भिडिओमै बोल्न राजी भए।
'मैले मेरो नागरिकता दिन्छु, यो त्यही बबरमहल सिडिओ कार्यालयबाट लिएको हो। यही देखाएर १४ अञ्चल ७५ जिल्लामा मेरो जग्गा जमिन खोज्नू। रहेछ भने म त्यहीँ जाऊँला। नभए त मलाई बस्ने ठाउँ देखाइदिनुपर्यो नि सरकारले,' उनले भने।
सरकारले होटलमा राख्छु भनेको छ नि भन्ने प्रश्नमा उनले भने, 'होटलमा राखे पनि, जहाँ राखे पनि हाम्रो गाँसबासको ठेगान हुनुपर्यो। होटलमा जाऊँ भनेर पछि हामीलाई बिल तिर्न भन्न भएन। सरकारले हामीसँग होटलमा बसेको खर्च तिर्छु भनेर कागज गर्छ भने जाऊँला। तर यत्तिकै त जहान, केटाकेटी लिएर म कहाँ जाने?'
शान्तिनगरको बीच बस्तीमा सानो खाजा घरअघि भेटिएकी अन्जना मगरले आफू र छोराछोरी रातभर नसुतेको बताइन्। किशोर उमेरका उनका छोराले बस्ती खाली गर्ने प्रहरीको उर्दी सुनेपछि 'अब हामी कहाँ जाने ममी' भनेर सोधेको सोध्यै गर्छन्।
'मैले कहाँ भन्ने?' उनले भनिन्।
उनी घरेलु कामदार हुन्। त्यसबाट खाली भएको समयमा मकै पोलेर बेच्छिन्। हिजो जब प्रहरीले बस्ती खाली गर्न माइक फुक्दै आयो, उनको निद्रा र भोक दुवै हराएको छ।
'काममा जान पनि मलाई मनै लागेन। काममा जाऊँ भने डोजर आएर यहाँ सबै भत्काइदेला कि भन्ने डर भयो,' उनले भनिन्।
-ink-1777008216.jpeg)
उनी यो बस्तीमा बस्न थालेको २५ वर्ष भएको बताइन्। पहाडमा रहेको भिरालो घरजग्गा पनि पहिरोले लगिदिएपछि आफूहरू काठमाडौं आएर बस्न थालेको उनले बताइन्। यहीँ उनका छोराहरू जन्मिए, हुर्किए। कुनै दिन त सरकारले व्यवस्थित ठाउँ देला भन्ने त उनलाई लागिरहन्थ्यो। सुकुम्बासी भएर बस्नुभन्दा सरकारले व्यवस्थित बस्ने ठाउँ दिए आफूलाई खुसी नै लाग्ने उनले बताइन्।
'तर सरकार त दुई दिनमा खाली गर भन्दै आयो। अब हामी कहाँ जाने?' उनले प्रश्न गरिन्।
बस्तीको बीचतिरै कविता परियारको दुईकोठे घर छ। उनी र उनकी सानी छोरी सँगै बस्छन्। श्रीमान विदेशमा छन्।
'मेरा बूढाले ग्यास उद्योगमा पाँच वर्ष खुन-पसिना गर्दै कमाएको पैसाले ओत लाग्ने यति ठाउँ बनाएका थियौं,' उनले भनिन्, 'सरकारले भत्काइदिने भयो। यहाँबाट जाने ठाउँ कहीँ छैन। यो छोरी बोकेर भोलिदेखि म कहाँ जाने होला?'
कुरा गर्दागर्दै उनको गला भरियो।
यो बस्तीमा हामीले भेटेका सबैले सरकारको उर्दी अनुसार आफूले घर खाली नगरेको बताए। आफूहरू कतै नजाने, सरकारले डोजर चलाएपछि खाली बनाएको ठाउँमा पाल हालेर बस्ने पनि भने कतिपयले। तीमध्ये एक हुन्, आशा श्रेष्ठ।
उनीहरू यहाँ बस्न थालेको २५ वर्ष भयो। सासुआमा बिरामी परेपछि उनीहरू डेराबाट यो ठाउँमा आएका थिए। बिस्तारै यहाँ उनीहरूले झुपडी बनाए। सरकारले कुनै दिन यहाँबाट आफूलाई हटाउँछ भन्ने उनलाई थाहा थियो। तर आजको भोलि हट्न सिठी फुक्दै आएपछि दिग्दार बनेकी छन्।
'पहिला पहिलाका सरकारले तपाईंहरूलाई बस्ने ठाउँको व्यवस्था गरेर मात्र यहाँबाट बस्ती हटाउँछौं भन्थे। यो सरकारले त आजको भोलि हटा भन्दै आयो,' उनले भनिन्, 'कहाँ जाने हामी? यहीँ बस्ने हो। कतै जाँदैनौं। उठाएर लगे लैजाला।'
भिडिओ रिपोर्ट : मन्दिरा घिमिरे