जतिखेर म हात खुट्टा टेकेर उठ्ने प्रयास गर्थेँ
केही बुझ्दिन थिएँ ऐनाको परिभाषा
बस् ! ऐना त मेरो बालापनको खेलौना न थियो ।
उमेरको बतासमा बहँदा बहँदै जब म किशोर भएँ
ऐना मेरो मुस्कान हेरेर लजाउँथ्यो
पेन्सिलको रेखाजस्तो जुँगालाई
बाक्लो र कालो बनाउने घन चक्करमा
बुबाको भुत्ते रेजर चोरेर पटक पटक मैले दाह्री जुँगा खौरिँदा
ऐना केही थाहा नपाए जस्तो गरेर मेरो अनुहार देखाइरहन्थ्यो ।
कुनै समय यस्तो आयो
म ऐनाको अगाडि उभिएर अनुहारका डण्डीफोर निचोर्न थालेँ
ऐनाले सोच्थ्यो होला
म आफ्नो चौँडा छातिमा कसैको शिर लुकाउन चाहन्छु
चञ्चल मेरा नजरमा
एक जोडी प्रेमिल नजरलाई समागम गराउन चाहन्छु
त्यसैले ऐना मेरो घनिष्ट बन्दै
नाइसिल पाउडर दलेको मेरो अनुहारलाई
मेरै चाहनाअनुसार चम्किलो बनाइरहन्थ्यो ।
कुनै दिन यस्तो लाग्यो
ऐना भनेको आभास रहेछ
कठिन बन्दै गरेको व्यवहारको अगणित हिसाब किताब रहेछ
छोराछोरीको ट्युसशन फी तिर्न नसक्नु्को
निरीहता देखाइदिने साधन मात्र रहेछ ।
के थाहा ? भित्तामा झुण्डिरहेको ऐना
खुसी छ या बेखुसी
यद्यपि उसले हिउँजस्तै फुलेका मेरा कपाल र दाह्री देखाउँछ
जिन्दगीको दौडमा रात रातभर दौडन नसकेर
अनिदा रहेका मेरा राता आँखाहरु देखाउँछ
गिलो माटोजस्तै झर्दै झर्दै गरेका
मेरा चाउरी र फितला गाला देखाउँछ ।
लाग्छ, अचेल हरेक दिन ऐनाले मेरो उदासी बढाइरहेछ
कमजोरीका धर्साहरु कोरिरहेछ
सम्झन्छु, मेरा बा र हजुरबाहरु
जीवनको उत्तराद्र्धमा ऐना हेरेर विरक्तिनु हुन्थ्यो
जिन्दगी समाप्त भएको गुनासो गर्नुहुन्थ्यो ।
मेरो प्यारो ऐना
खत्रक्क खसेर फुटिजानू नि झ¥यामझुरुम
कम्तीमा म मेरा बा र हजुरबाभन्दा अलग बनेर
धरमरिएको शरीरलाई बलशाली बनाउँदै
उमेरको बाँकी गोरेटोलाई हिम्मतका पाइतालाले कुल्चिएर
आफ्नै साहरामा निष्फिक्री रमाउन चाहन्छु ।