यो देशकै सीमारेखाभित्र
पसिना बगाउने
मेरा बाको सपनामाथि
निरासाको बारुद बर्साएर
परदेश लखेट्ने यो राज्य
कसैलाई भने
मेरै बाले कमाएको
छुँदा ४८ डिग्री सेल्सियसले पोल्ने
निचोर्दा तरर् पसिना चुहिने, नोट चाटेर
मैमाथि यातना बर्साउने छुट
किन दिन्छ ?
आज
बालमैत्री वातावरणको
शिक्षालयबाट फर्कदा
कट्कटी दुखेका छन जोर्नी
सयौँ पटक उठबस
एक घण्टा कुखुरा
दस विस रुप्पे फाइनले
मन हतास छ
मेरो अपराध यति हो
मैले मेरै मुखमा झुन्डिएको
मैले जानेको भाषाद्वारा
मनका भाव पोखेँ
मेरो,
भारी शरीर र
त्रसित मस्तिस्कमा
यतिवेला बारम्वार
एउटै प्रश्न तेर्सिएको छ
ए भन्देऊ न ! कसैले त भन्देऊ
नाबीको तारको माध्यमले
मैले मेरी आमासँग गरेको संवादको लय
वर्जित छ जहाँ
त्यो मेरो आफ्नै देश
हुन्छ कि हुदैन ?
...
सरकार म बेरोजगार
न घर विदा
न विदा भैपरि
न विदा पर्व नै
न त दश पाँचको हाजिरी हिसाब
असीमित समय मुछिन्छ भान्छामा
अनगिन्ती स्वाभिमान लुटिन्छ मझेरीमा
र मात्र
स्वास फेर्छ यो घर
तर सरकार म बेरोजगार
तिम्रोतिर के छ कुन्नी
रोजगारको परिभाषा
यतातिर त
महिनाको अन्त्यतिर मोबाइलमा एस. एम. एस.को
रिङगिङ् टोेन नबजेपछि
बेरोजगारको पगरी गुथाइन्छ
म केही पल अडिए
जहाँको तहि जड बन्छ यो संसार
तर सरकार, म बेरोजगार
मनाही छ बिरामी हुन
बन्देज छ धक फुकाएर रुन
रिसले बिग्रला घर
पिर्ला दाजुभाइ
पातलो निन्द्रा र बाक्लो धैर्यले बेर्नु आफूलाई
मलाई घोकाइएका संविधानका धारा यिनै हुन्
जर्वजस्ती बोकाइएका अभिभारा यिनै हुन्
पिठ्युमा छ नानी
दाहिने हात कुचो र पोतरीको अभिन्न बनेकोे छ
तसर्थ
देब्रे हातले लेखिरहेछु यो निवेदन
सरकार म बेरोजगार