लानु के छ र मरी?
फूल जस्तै जीवन,
फक्रन्छ, फुल्छ
ओइलिएर जान्छ झरी।
कहीँ,
सुक्छ बोट,
कोपिला नलाउँदै
कहीँ,
निमोठिन्छ
फक्रन नपाउँदै।
यस्तै छ रित यो सृष्टीको
बाँचुन्जेल तेरो र मेरो
यही नै हो महाभ्रम दृष्टिको।
आउँछ एकदिन
फुली फुल्ने दिन
छर्दै बासना
हावाको हर झोक्कामा
झुली झुल्ने दिन
यही नै हो
गतिशील जगतले ल्याउने
महामोंग (महा उमंग)
कहिल्यै नआउने भोलिको आशमा
के चिन्ता गर्छौ?
किन हुन्छौ निराश?
को बोकी लाग्छ कुल्लो कटेरो?
मसान घाटको बासमा?
हेर संसार
आफैभित्र खोली
यही नै हो महासत्य।
जे छ आज
अहिले
जे छ तिमीसँग
बुझ न बुझ
हे मनुष्य
जीवन बुझ
सुन्दर तिम्रो जीवन बुझ।
व्यर्थै
किन गर्छौ रिस, डाहा, घृणा र घमण्ड
चितामा जल्नु नै त छ एक दिन
तब आफै जल्छौ आज किन?
यो जीवन
आहा!
फूल जस्तै जीवन
प्रफुल्लित भई
कल्कलाई
हल्हलाई
मग्मगाई
माया र ममताले
शान्ति र सन्तोषले
हँसाई अरूलाई
हाँसेर आफू
ओइलिएर झर्दा पनि
उर्वर पारी धर्ती
नयाँ पिँढीको लागि
शाश्वत समर्पण
छोडी जाऊ यही गुण
कोही नपरोस् कहीँ रून।