ऊ बेला हामी कक्षा ६ मा पढ्थ्यौँ। झापाको शिवगञ्ज बजारमा अवस्थित हामी पढ्ने स्कुल ‘श्री जन आदर्श मावि’ हामी जन्मिनुभन्दा पहिला नै जन्मिएको रे।
असार १५ आउनुभन्दा ठिक दुई/चार दिन अगाडि नै स्कुलको अर्धवार्षिक परीक्षा सकिसकेको हुन्थ्यो। भूगोल पढाउने कुबेर सर कक्षा अगाडि आएर भन्नुहुन्थ्यो, ‘लौ केटाकेटी हो, तिमीहरूको असार १५ देखि भदौ ५ सम्म बर्खे बिदा छ। छुट्टी सकेर आउँदा विश्वका सबै महादेशमा पर्ने देश र त्यसका राजधानी घोकेर आउनू। म एक एक गरेर सबैलाई सोध्नेछु।’
विज्ञान पढाउने लक्ष्मी सर शालीन भाषामा सम्झाउनु हुन्थ्यो, ‘हेर नानी हो, तिमीहरू सबैले विज्ञानको नोट देखाएका छैनौ। त्यसैले अहिलेसम्म मैले पढाएका विज्ञान विषयका सूर्यग्रहण, चन्द्रग्रहण, पराग सेचनदेखि सबै पाठहरूको चित्रसहित सफा कपीमा नोट बनाएर स्कुल खुलेपछि ल्याउनू है।’
सामाजिक पढाउने गङ्गा सर अझ ठुलो स्वरमा अगाडि आएर भन्नुहुन्थ्यो, ‘लु नानी बाबै हो, बर्खे बिदा धेरै लामो छ। खेतीपातीमा बुवा आमालाई सघाउनू। बाँझो खेत नराख्नू। असार १५ मा दही-चिउरा मज्जाले खानू। तिमीहरूलाई बर्खे बिदाको होमवर्क यति नै भयो।’
एवं प्रकारले सबै गुरुहरूबाट आ–आफ्नो विषयमा कक्षा घण्टीमा बज्ने टिङटिङ आवाजसँगै होमवर्क गर्ने उर्दी जारी हुन्थ्यो। हामी ‘हस् सर’ भन्दै अनुमोदन गर्दै जान्थ्यौँ। अनि क्रमशः छैटौँपछि सातौँ घण्टीको टिङटिङ आवाज पनि कानमा गुन्जिन्थ्यो र झन्डै दुई महिना लामो बर्खे बिदाले औपचारिकता पाउँथ्यो। अरू बेला त्यसै दिक्दारी लाग्ने स्कुलको त्यो कक्षा घण्टी, छुट्टी हुने अन्तिम दिन भएर होला, साँच्चिकै कर्णप्रिय लाग्थ्यो।
‘छुट्टी, मकै भुट्टी।’
बर्खे खोलाको भेल जस्तै मनभरि खुसी र उमंगका अनेकौँ छालहरूसँग खेल्दै, पौडिँदै हामी घर फर्कन्थ्यौँ। अब यत्रो बिदामा कति धेरै माछा मार्ने होला? ढोक्सा थाप्न कता कता जाने होला? मकडुब्वा खोलामा कति धेरै पौडी खेल्ने होला? ठुलो चौरमा मोजाको बल बनाएर खेल्दा कति रमाइलो होला? तलु र लुखीरामसँग गोठालो जाँदा, चौरमा बसी पोलेको माछा पातमा खाँदा, गुच्चा र खोपी खेल्दा कति धेरै रमाइलो होला?
काउकुती लागेको मनलाई थामथुम गर्दै घर फर्कँदा अरू बेला झन्डै एक घण्टा लाग्ने स्कुल बाटो कटेको पत्तै हुँदैनथ्यो। घर आइपुग्न लाग्दा परैबाट सुनिन्थ्यो ढिकीमा चिउरा कुट्दै गरेको ‘ढिकीच्याउ’ आवाज। मनले अनुमान लगाइसकेको हुन्थ्यो, त्यो पक्कै असार १५ कै लागि होला। आहा, ढिकी, चुलो, चौका लिपपोत गरेको कस्तो हरहर वासना। त्यो पक्कै आमाकै हातबाट सम्भव भएको होला। ढिकी जसले कुटेको भए पनि मुस्लीमा हात नचाउँदै धानबाट मिठो चिउरा बनाउने हात पनि पक्कै आमाकै होला।
घरको आँगन टेक्नसाथ थाहा हुन्थ्यो, चिउरा मात्र होइन असार १५ का लागि भनेरै आमाले ठेकीभरि दही, कोठेबारीमा फलेका पाकेका आँप, कटहर केरा सबै खानेकुराको चाँजोपाँजो मिलाइसक्नु भएको हुन्थ्यो। उता बुबालाई हेर्दा असार १५ मा गहिरी खेत पूरै रोपेर सक्ने उत्साहले शिखर छोएको देखिन्थ्यो। आँगनभरि छरपस्ट देखिने हलो, कोदालो, फरुवा, घुमका थाक अनि पर गहिरी कित्तामा दुवो जस्तै देखिने हरियो धानको रहरलाग्दो ब्याडले असार १५ को रोपाइँका लागि पर्खिरहेका हुन्थे।
विसं २०४६ सालको असार १५। बिहानदेखि नै सिमसिम पानी परिरहेको थियो। अलिक पर देखिने गहिरी खेत सिमसिमे झरीको तुवाँलोले पूरै जलमग्न भएको हो कि जस्तो भान हुन्थ्यो। भान्सा कोठाको पिरामा बसेर आमा हिजो भरखर तयार गरिएका खानेकुराहरूको बराबर भाग क्रमशः लगाउँदै हुनुहुन्थ्यो। भान्सा बाहिर खाटमा बसेर बुबा हामी सबैलाई सम्झाउँदै हुनुहुन्थ्यो, ‘लौ सबैजना भेला भएछौ, आज जसरी भए पनि गहिरी खेत रोपेर सक्नुपर्छ। अरू खेतभन्दा त्यो अलिक मलिलो छ। पानी परेकै बेला मौका छोप्नुपर्छ। धान फल्ने सबैभन्दा राम्रो खेत पनि त्यही हो।’
बुबाको सम्बोधनलाई ध्यानपूर्वक सुनी हामी स्कुलमा गुरुहरूलाई ‘हस् सर’ भनेजस्तै बुबालाई पनि मुन्टो हल्लाउँदै ‘हस्’ को इसारा गर्दे मुन्टो हल्लाउँथ्यौँ। त्यसरी इसारा गर्ने ‘हामी’ भित्र धेरै सदस्यहरू मिसिएका हुन्थे। घरका छोराछोरी बाहेक कोही बुबा आमाले आफ्नै छोराछोरी जस्तै ठान्ने छिमेकीका छोराछोरी हुन्थे, कोही ऐँचोपैँचो पर्ममा काम गर्ने हुन्थे त कोही दैनिक हाजिरामा काम गर्ने पनि हुन्थे।
हामी छोराछोरीतर्फ पालैपालो हेरि बुबाले फेरि भन्न थाल्नुभयो, ‘आज ठुले (घरको जेठो छोरो) ले खुरुखुरु बिउ काट्नू, माइलो र साइलोले आलो पालो गरेर हलो जोत्नू, हरि र निलम अलिक सानै छौ, तिमीहरूले चाहिँ रोपारलाई खाँचो नहुने गरी डोकामा बिउ बोक्नू अनि छोरीहरू सबैले मेलैसँग धान रोप्नु है।’
मेरो र भाइ निलमको भागमा डोकोमा बिउ ओसार्ने जिम्मेवारी परेको थियो। मैले मनमनै सम्झेँ, हिजो भरखर बर्खे बिदा दिने बेलामा सामाजिक पढाउने गङ्गा सरले दिएको होमवर्क नै ठिक रहेछ। कुबेर सरले बेकारको त्यति धेरै देशका नाम र राजधानी किन कण्ठ गरेर आउनु भन्नु भएको होला?
यति बेरसम्म भित्र भान्सामा आमाले असार १५ को परिकार सबैलाई पालो पालो गरी भाग लगाइसक्नु भएको थियो। आहा! हेर्दे खाऊँ खाऊँ लाग्ने कति स्वादिष्ट खानेकुरा। यस्तो लाग्थ्यो, सायद भगवानले नै सबै आमाहरूलाई मात्र यति मिठो खाना बनाउने वरदान दिएका होलान्। ढिकीमा कुटेको चिउरा, ठेकीमा जमाएको दही, घरमै पाकेको केरा, आँप, आलुको पक्कुको स्वाद मिठ्याउँदै हामी सबैजना खुसीको रोपाई भर्न गहिरी खेततर्फ अग्रसर भयौँ।
सिमसिमे झरी अझैसम्म रोकिएको थिएन। तर खाने मुखलाई जुँगाले किन छेक्थ्यो र? फेरि हामी कसैलाई कुन काम कसले गर्ने भन्ने द्विविधा पनि थिएन। सबैको लक्ष्य एउटै थियो, बुबाको निर्देशनलाई पालना गर्दै पूरै गहिरी खेत रोपेर सक्ने। आखिर गर्दै जाँदा आकाशको पानीले मात्र होइन, गहिरी खेतको माटोको रसले पनि सबैको शरीर भिज्न थाल्यो, हलोले जोतेर दही जस्तै बनाएको जमिनलाई पटाहाले सम्म्याउन थाल्यो। हेर्दाहेर्दै गहिरी खेतमा छुपुछुपु गर्दै धानका स– साना बुजामा आशाका अनगिन्ती मुनाहरू रोप्न थालियो।
हरिया धानको बुजा हातमा बोकेर आमा भाका हाल्नुहुन्थ्यो।–
असार १५ दही चिउरा खानु।
खेत जोत्ने हलीको बसी गयो मानु।।
उता बुबा भने मौरीहरूको रानो जस्तै गहिरी खेतका प्रत्येक आली घुम्दै काम गर्ने मान्छेले खाए नखाएको वा तिर्खाएको अवस्था बुझी आवश्यकता अनुसार चिया, खाजा र पानी ठाउँ ठाउँमा पुर्याउँदै काम गर्ने उत्साहमा थप ऊर्जा थप्ने काम गर्नुहुन्थ्यो। कहिले छाता ओढेर त कहिले आकाशको दर्के पानीमा भिज्दै सवैसँग भलाकुसारी गर्दे हिँड्नुहुन्थ्यो। सायद बुबालाई राम्रैसँग थाहा थियो होला, यो असार १५ केवल दही चिउरा मात्र खाने पर्व बन्नुहुन्न। नत्र यत्रो मान्छेलाई वर्षभरि पेट भर्ने अन्न ढिकुटीमा कसरी थन्काउने?
सिमसिमे झरी बिस्तारै ओभाउँदै गयो। बेलुकाको पारिलो घामले दिनभर भिजेको जमिन र शरीरलाई मायाले स्पर्श गर्न थाल्यो। हेर्दाहेर्दै गहिरी खेत हरियो चौरमा परिणत भयो। हिजोसम्म उजाड देखिने खेतका गराहरूमा आज अनगिन्ती विश्वासका डोबहरू रोपिसकेका थिए। खस्रा देखिने खेतका आलीहरू चिल्लाइसकिएका थिए।
अहिले सोच्छु, खेत चिल्लाउँदै गहिरी खेतका प्रत्येक आलीमा भदौमा आमाले मासका दाना रोप्न मिल्ने गरी माटो सम्म्याउन राई माल्दाइको शरीरबाट कति झरी पसिना बग्यो होला?
अन्ततः प्रकृतिको अनुपम कृपा, बुबा आमाको अपार आशीर्वाद, राई माल्दाइ जस्ता कर्मवीरहरूको पसिना सिञ्चित हुँदा असार १५ मा गहिरी खेत पूरा हराभरा भयो। एउटा ठुलो युद्ध जितको सिपाही जस्तै मनोहर मुस्कानमा बुबाले सबैलाई धन्यवाद दिनुभयो। हामी सबै धन्य भयौँ।
एकाएक केही सम्झेजस्तो गरेर आमातर्फ फर्कँदै बुबाले भन्नुभयो, ‘हँ केटी, तैँले आज हामी सबैलाई यति मिठो खानेकुरो ख्वाइस्, आज त तेरो जन्मदिन। तैँले आफैँले चाहिँ केही खाइस् के?’
हामी सबै अक्क न बक्क भयौँ। स्कुल जाने र घरको काम गर्ने बाहेक जन्मदिनमा के गर्नुपर्छ भन्ने नै हामीलाई थाहा थिएन।
प्रफुल्ल भावमा आमाले भन्नुभयो, ‘भैगो बुबा, जन्मदिन त त्यस्तै हो, यतिका खानेकुरा खाइयो, दिनभरि काम गरियो, गहिरी खेत पनि रोपेरै सकियो। सबैलाई खुवाउन पाउँदा आज मेरो मन त्यसै खुसीले अघाएको छ।’
आज, ३५ वर्ष पछाडि भक्तपुरको एउटा कुनामा बसेर यी संवादहरू लेख्दै गर्दा फेरि यो वर्षको असार १५ आउनै लागेको छ। भौतिक रूपमा गहिरी खेतबाट आमा र बुबा नै हराएर गएको धेरै वर्ष भइसकेको छ। आमाका लागि आलीमा मासको दाना रोप्न सजिलो बनाइदिने राई माल्दाइ कहाँ पुगे होलान्? साँच्चिकै, गहिरी खेत अहिले टुहुरो जस्तो भएको छ।
मानो रोपेर मुरी फलाउने यो पवित्र पर्वमा मेरी आमा जस्तै आफ्नो जन्मदिन नै बिर्सिएर धानको कलिलो बुजामा भविष्यको विश्वास रोप्ने आमाहरू कति होलान्? ती सबै आमाहरूप्रति हार्दिक नमन। अनि ढिकुटीमा धान थन्क्याउँदा खेतमा काम गर्ने सबैको पेट गनेर वर्षभरिका लागि अन्न जोहो गर्ने बुबाहरू कति होलान्? ती सबै बुबाहरूप्रति पनि हार्दिक नमन। धान दिवसको सबैलाई मुरी मुरी शुभकामना।