सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गएको असार ३ गते साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएकी भण्डारीले झन्डै एक घन्टा ओलीसँग कुराकानी गरिन्।
राजनीतिक वृत्तले 'अर्थपूर्ण' भन्दै आएको ओली र भण्डारीको 'वान अन वान' संवाद अहिलेसम्मकै सबभन्दा तितो बन्न पुगेको एमाले नेताहरूले बताएका छन्।
एक सातायता प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीलाई भेटेर कुराकानी गरिसकेका केही नेतासँग हामीले कुरा गरेका छौं। ती एमाले नेताहरूका अनुसार असार ३ गते साँझको त्यो भेट सचिवालयले दाबी गरेजस्तो सौहार्द्ध थिएन र 'समसामयिक राजनीतिक छलफल' मा मात्र केन्द्रित पनि थिएन।
एक एमाले नेताका अनुसार भण्डारीले ओलीसँगको भेटमा 'आफू एमाले राजनीतिमा फर्कन लागेको र त्यसका लागि ओलीको सहयोग चाहेको' खुलस्त बताएकी थिइन्।
'उहाँले अध्यक्षलाई भेटेर म अब एमालेको सक्रिय राजनीतिमा फर्कन्छु, मलाई तपाईंको सहयोग चाहियो भनेर सोझै भन्नुभयो,' ती नेताले भने, 'उहाँले त्यसो भनेपछि प्रधानमन्त्रीले राम्रो रेस्पोन्स गर्नुभएनछ। दुई जनाको छलफल अहिलेसम्मकै तिक्ततापूर्ण रहेको मैले बुझेको छु।'
ती नेताका अनुसार आफूलाई आउँदो महाधिवेशनमा सहयोग गर्न भनेपछि ओलीले भण्डारीलाई सोधेका थिए, 'केका लागि सहयोग गर्नुपर्यो?'
यसमा भण्डारीले दिएको जबाफले ओली रूष्ट भएको ती नेताको भनाइ छ।
'म पार्टीको मुख्य नेतृत्वका लागि तयारीमा लागेको हो। त्यसैका लागि सहयोग चाहेकी हुँ,' भण्डारीको जबाफ उद्धृत गर्दै ती नेताले भने, 'यसअघि पनि तपाईंले मलाई सहयोग गर्ने भन्नुभएकै हो। आउँदो महाधिवेशनमा त्यो अवसर बनोस्।'
ओलीसँगको भेटपछि भण्डारीले आफू निकट केही नेताहरूसँग निरन्तर छलफल गरिरहेकी छन्। त्यसै क्रममा उनले ओलीसँगको भेट र त्यहाँ भएका कुराकानीबारे सुनाएकी हुन्।
'उहाँले त मेरो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो,' ओलीसँगको भेटबारे आफू निकट नेताहरूलाई भण्डारीले भनेकी छन्।
भण्डारीका अनुसार ओलीको भनाइ छ, 'अब एक कार्यकाल मै अध्यक्ष हुने हो। मेरो तयारी नै त्यही छ। तपाईंले सक्रिय राजनीति वा एमालेको नेतृत्वमा फर्कने कुरा नगरेकै राम्रो।'
यही विषयमा सेतोपाटीले ओली निकट एमाले नेताहरूलाई पनि सोधेको छ। उनीहरूले पनि ओली–भण्डारीको पछिल्लो भेटघाट सहज नरहेको बताएका छन्।
'पूर्वराष्ट्रपतिसँग भेटेपछि त्यसै रात प्रधानमन्त्रीले खगराज अधिकारी र त्यसपछि पद्मा अर्यालसँग भेटघाट गर्नुभएको थियो,' ओली निकट एक केन्द्रीय सदस्यले भने, 'त्यसपछि पनि धेरै जना नेतासँग प्रधानमन्त्रीको भेट भएको छ। तीमध्ये केहीसँग उहाँले भण्डारीसँगको भेटबारे बताउनुभएको बुझेका छौं।'
भण्डारीसँग निरन्तर छलफलमा रहेका एमालेका अर्का एक नेताका अनुसार, अब ओलीले चाहँदा वा नचाहँदा पनि भण्डारीलाई एमालेमा फर्कन कसैले रोक्ने अवस्था छैन। उनी फर्कने अन्तिम तयारीमा लागेकी छन्। त्यसको घोषणा गर्नुअघि ओलीलाई औपचारिक जानकारी मात्र गराएको भनेर भण्डारीले निकटस्थहरूलाई बताउने गरेकी छन्।
'पार्टीमा लामो सहकार्य भएका कारण पनि मैले उहाँ (ओली) लाई औपचारिक जानकारी दिनु जरूरी थियो, दिएँ,' भण्डारीको भनाइ उद्धृत गर्दै ती नेताले भने, 'अब असार १४ को राष्ट्रिय सभागृहको कार्यक्रमबाट केही घोषणा गर्छु।'
ती नेताका अनुसार असार १४ गते मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा मदन स्मृति दिवस मनाउँदैछ। त्यहाँ प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी दुवैले बोल्ने कार्यक्रम छ।
'प्रधानमन्त्री पहिल्यै बोलेर जाने, त्यसपछि भण्डारीले बोल्ने कुरा छ,' ती नेताले भने, 'त्यही मञ्चबाट पूर्वराष्ट्रपतिले आफू सक्रिय राजनीतिमा फर्कनेबारे बोल्ने बलियो सम्भावना छ। त्यसको तयारी उहाँले गरिरहनुभएको छ।'
कुनै बेला एकअर्काका आत्मीय र ठूला सहयोगी रहेका यी दुई नेता एमालेको आन्तरिक जीवनमा आमनेसामने हुने अवस्था आउन लागेको सम्भावित दृश्यलाई ओलीले जस्तै उनी निकटहरूले पनि रूचाएका छैनन्। सायद त्यही भएर उनीहरूले भण्डारीको पार्टी सदस्यताको नवीकरण नै रोकेर राखेका छन्।
केन्द्रीय सदस्य विष्णु रिजाल भने पार्टीमा कुनै समस्या र ध्रुवीकरण नभएको भन्दै ओलीको नेतृत्वमा पार्टी झनै बलियो बन्दै गएको दाबी गर्छन्।
'अहिले अध्यक्ष ओलीको नेतृत्वमा एमाले एकताबद्ध छ। यो अवस्था परिवर्तन हुने सम्भावना छैन,' रिजालले भने, 'पार्टीमा जे भए पनि अध्यक्ष ओलीको प्रस्ताव र योजनामा मात्रै हुन्छ।'
उनको जस्तै धारणा राख्नेहरू ओली पक्षमा धेरै छन्। उनीहरूले विद्या भण्डारीको पुनरागमनको हल्ला चर्चा गरेजस्तो सम्भव नभएको बताइरहेका छन्।
'विद्या भण्डारीको आफ्नो स्वतन्त्र राजनीतिक हैसियत के हो, कसैले बताउन सक्दैन,' ओली निकट एक केन्द्रीय सदस्यले भने, 'उहाँ पारिवारिक रूपमा मदन भण्डारी र राजनीतिक रूपमा केपी ओलीसँग जोडिएको मान्छे हो। ओलीको साथ र सहयोगबिना उहाँ एमाले नेतृत्वमा फर्कन असम्भव छ। ओलीले अघि सार्दा बेग्लै कुरा हो, अन्यथा कुनै सम्भावना छैन।'
ती नेताले ओलीसँग प्रतिस्पर्धा गर्न सबभन्दा पहिला त पार्टी सदस्यता चाहिने बताए। उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण एमाले केन्द्रले रोकेर राखेको छ।
'काठमाडौं जिल्ला कमिटीले नवीकरणको सिफारिस गरेको धेरै भइसकेको छ,' ती नेताले दाबी गरे, 'केन्द्रले होल्डमा राखिदिएको छ।'
भण्डारी पक्षधर नेताहरू भने पार्टी सदस्यता नवीकरण भइसकेको र लेबी तिरेको भौचर उनकै साथमा रहेको दाबी गर्छन्।
भण्डारीको पार्टी सदस्यताबारे सोध्न सेतोपाटीले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई सम्पर्क गरेको थियो। उनले आफू कार्यक्रममा व्यस्त रहेको र बोल्न नमिल्ने अवस्थामा भएको बताएपछि हामीले संगठन विभाग सचिव माधव ढुंगेललाई सोधेका थियौं, 'पूर्वराष्ट्रपतिज्यूको पार्टी सदस्यता नवीकरण भएको छैन भन्ने सुनियो। के हो अवस्था?'
सचिव ढुंगेलले सुरूमा 'उहाँले चाहनासाथ पार्टी सदस्यता नवीकरण भइहाल्छ नि' भन्ने जबाफ दिए।
काठमाडौं जिल्ला कमिटीले नवीकरण सिफारिस गरे पनि केन्द्रले किन रोकेर राखेको त भन्ने प्रश्नमा ढुंगेलले भने, 'उहाँको सदस्यता नवीकरण हुने प्रक्रियामा छ।'
नेता ढुंगेलको भनाइले पनि देखाउँछ, भण्डारीको पार्टी सदस्यता अहिलेसम्म अनिर्णित अवस्थामै छ। काठमाडौं जिल्ला कमिटीका एक पदाधिकारीले दिएको जानकारीअनुसार जिल्लाको सिफारिस केन्द्रले सदर गरिसकेको छैन।
सदस्यता नवीकरण नभए एमालेको आउने महाधिवेशनमा भण्डारीले प्रतिस्पर्धा गर्न पाउँदिनन्।
ओली निकट स्रोतका अनुसार ओली र पार्टीमा उनको विकल्प खोज्न नचाहने टिमले भण्डारीको पुनरागमन रोक्न पार्टी सदस्यता नवीकरण नगराएको हो।
ओली पक्षले भने भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया नै गलत भएको पनि दाबी गरेको छ।
'पार्टीको केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सदस्यता केन्द्रमै नवीकरण हुने हो,' ओली निकट एक नेताले भने, 'मेरो सदस्यता सधैं केन्द्रबाटै नवीकरण हुन्छ। विद्या भण्डारीले पार्टी सदस्यता त्याग्दा उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँले आफ्नो सदस्यता नवीकरण गर्न केन्द्रीय कार्यालयमै भन्ने हो। तर प्रक्रियाविपरीत उहाँले सदस्यता नै नभएको काठमाडौं जिल्लाबाट नवीकरण सिफारिस गर्न लगाउनुभएको छ। यो नै गलत छ। त्यसैले उहाँको सदस्यता होल्ड भएको हो।'
एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौला भण्डारी निकट रहेको एमाले नेताहरू बताउँछन्।
एमालेका एक केन्द्रीय नेताका अनुसार ओली पक्षले जसरी पनि भण्डारीको पुनरागमन रोक्ने नीति अख्तियार गर्ने तयारी गरिरहेको छ।
'पार्टी सदस्यता नवीकरण रोकिएन भने पनि रोक्नलाई अर्को बाटो अवलम्बन हुने सम्भावना प्रबल छ,' ओली निकट ती नेताले भने, 'बुधबारको सचिवालय बैठकले विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन प्रस्ताव तयार पार्न समिति बनाएको छ। त्यही समितिले विधानमार्फत् नै रोक्ने सम्भावना पनि छ।'
स्रोतका अनुसार एमालेले विधानमै 'पूर्वराष्ट्रपति, उपराष्ट्रपति लगायत राज्यका सम्मानित पदमा पुगिसकेकाहरू उक्त पदको सम्मानका लागि पार्टी सदस्य बन्न नसक्ने' भन्ने प्रावधान राख्ने सम्भावना उच्च छ। विष्णु पौडेल नेतृत्वको उक्त समितिले साउन १ मा हुने सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव पेस गर्ने सम्भावना छ।
'साउन २ गते पोलिटब्युरोमा पेस भएपछि त्यहाँबाट साउन ५ को केन्द्रीय कमिटी बैठकमा पेस गर्ने र पारित भएपछि त्यसले अन्य कमिटीहरूमा सुझावका लागि पठाउनेछ,' ओली निकट स्रोतले भन्यो, 'संकलित सुझावमा सचिवालयले फेरि काम गरेर विधान महाधिवेशनमा पेस हुनसक्छ। त्यही बेला उमेरहद हटाउने र पूर्वराष्ट्रपति लगायतलाई सदस्यता नदिने प्रबन्ध हुनसक्छ।'
त्यसो गर्न सके भण्डारीको आगमनको इच्छा रहरमै सीमित हुने स्रोतको भनाइ छ।
ओली पक्षले यस्तो तयारी गरिरहँदा भण्डारी पक्ष भने एमालेमा यसअघि व्यवस्था गरिएको, तर अहिले निष्क्रिय पारिएको ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान निरन्तर राख्नुपर्ने पक्षमा छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेताहरू यो अभियानमा सक्रिय छन्।
उमेरहद र दुई कार्यकालको प्रावधान भदौ २०, २१ र २२ मा हुने विधान महाधिवेशनबाट हटाएर अध्यक्षमा आफै तेहरिने प्रयासमा ओली लागेका छन्।
***
'अध्यक्ष ओली विद्या भण्डारीसँग फायर भएको स्थिति छ'