प्रिय छोरा, धेरै धेरै आशीर्वाद।
एक वर्ष यतादेखि तिम्री आमालाई बेथाले अलिक च्याप्दै ल्याएको थियो। तिमीलाई थाहै छ नि म आफैँ पनि त उमेर छँदै देखि दीर्घरोगी भएको छु।
सानोमा तिमीलाई काँधमा बोकेर उकाली ओराली गर्ने गरेकै हो। एक पटक तिमीलाई नजिकै राखेर खेत जोत्न नारेका गोरुलाई घाँस दिन लागेको थिएँ। भोकाएको झुले गोरु एक्कासि जुवा खुस्काएर हाँप र झाँप गर्दै घाँसतिर अघि बढ्यो। घाँस र झुले गोरुको बिचमा खेलिरहेको तिमीलाई झन्डै किच्चाएको।
मैले दौडिँदै आएर बुताले भ्याएसम्म जोगाउन जोडबल गरेँ। भाग्यवश तिमी जोगियौ। तर तिमीसँगै तीन पल्टा खाएको हुनाले मेरो करङमा गहिरो चोट लागेछ। पाँच महिना थलिएर बल्ल काममा फर्किन सकेको थिएँ। तर यो चोटले भने मलाई दीर्घरोगी बनाएछ।
सुरुमा ‘खेतका देउता रिसाएर हुत्ताइदिएका हुन्। धूपध्वाँर गरेर खुसी पारेपछि मात्र ओखती गर्ने’ भन्ने सल्लाह हुँदै थियो। त्यति नै बेला पल्ला गाउँका वैद्य बा टुप्लुक्क आइपुगेछन् र दबाइ पानीतिर लाग्न पाइयो। नत्र म पनि के थाहा, गैरी घरे जेठा बा जस्तै लामो समय ओछ्यानै पर्न के बेर र?
उति बेला वर्षभरि पुग्ने नुन एकै पटक जोहो गर्नलाई ढाकरमा सातु चामल बोकेर कम्तीमा एक हप्ताका लागि यात्रा गर्नु पर्थ्यो। हामी सल्लाह गरेर घर गाउँका आठ/दश जना मिलेर बाटो लाग्थ्यौँ। जङ्गलको बाटो हिँड्दा भेटिएका झिँजा बटुल्दै बोक्थ्यौँ। पानीको मुहान वा सुविधा भएको ठाउँ खोजेर आगो बालेर खाना पकाउँथ्यौँ। रूखको छहारी वा बाटोमा भेटिएका खाली गोठ वा पाटी पौवामा बास बस्थ्यौँ।
यात्रामा होस् वा घरमा, मूलको जरुवा पानी कलकल पिउँदाको आनन्द म कहिल्यै भुल्न सक्दिनँ। म यो अमृतलाई भुल्न नसक्ने मात्र होइन, तिम्रो पुस्ता र नाति नातिनालाई यस्तै जरुवाको पानी पिलाउन नपाएकोमा पछुतो पनि लाग्छ कहिलेकाहीँ त।अहिले त प्लास्टिकका बोतलमा कति दिन अघिदेखि जम्मा पारेको पानी खोजी खोजी नखाए बिमारी परिन्छ रे भन्छन्। गाउँघरमा पनि पानी ट्याङ्की बनाएर पाइपबाट घर-घरमा पानी ल्याएको छ। तर मूलबाट सोझै थापेर पिएको जरुवा पानी जस्तो मिठो लाग्दैन हामीलाई।
आज तिमीलाई यस्ता कुराहरू सुन्दा ‘ह्या हाम्रा बाबाको थोत्रे गन्थन’ भन्ने लाग्न सक्छ। के गर्ने त बाबु, यस्तै परिवेशबाट हुर्केको हो हाम्रो पुस्ता। यसरी नै तिमीहरूको पुस्तालाई पनि हुर्काउँदै अहिले म पनि ७५ पुगिसकेछु। अब त तिमीहरूलाई धेरै कचकच गरिरहन पनि मन लाग्दैन। धेरै बाँचेर आफ्ना सन्ततिलाई दुख दिइरहन पनि त हामी बाबु आमालाई मनले मान्दैन रहेछ।
आफ्नै बलमा बाँच्न बानी परेका र आफ्ना सन्ततिका लागि जति पनि त्याग गर्न तयार रहेका हामी जस्तै अबको पुस्तामा पनि ममताको भेल बगिरहनु पर्छ। आफ्नै बाबु आमा सन्तानका लागि अभिसाप बनेको पनि सुनिन्छ कतै। मेरो मनमा त त्यस्तो कल्पना पनि आएन कहिल्यै, न मेरा बाबुआमाले हामीप्रति यसरी सोच्न सक्नु भयो।
अँ, म लेख्न खोज्दै थिएँ...
उहिले हाम्रा पुर्खाले खोरिया फाँडेर खेती गर्दा पनि पुगेकै थियो। खोरियामा फलेका आलुको स्वाद अनि हिउँदे धान र घैयाको स्वाद कति स्वादिलो र प्राकृतिक थियो। गाईबस्तु पालेर गोबरको मल बनाउँथ्यौँ। यस्तो मलले जमिन नबिगारी खेती बाली सप्रिन्थ्यो। त्यो समयमा दुख भने अलिक बढी गरिँदो रहेछ भन्ने लाग्छ आजभोलि। जीवनमा रमाइलोका लागि समय छुट्टाइएन। हाट बजार र मेलापातमा देखिने प्राकृतिक सौन्दर्य र भोगिने आनन्द बाहेक अन्त रुचि गएन। सायद हामीसँग त्यो समयमा विकल्प पनि नभएर होला।
कबड्डी, डण्डिबियो, लुकामारी, भाँडाकुटी वा यस्तै यस्तै खेल खेल्न पाए पुग्थ्यो हामीलाई। वर्गाकार १० कोठाहरू एउटै आयातमा कोरेर अमराइट (एम आई राइट) खेल्ने गर्थ्यौँ। ढुङ्गाको सिक्का बनाएर जानी नजानी अम्राइट भन्दै एक खुट्टाले घ्वाइँकासा खेल्ने गर्थ्यौँ। अलिक पछि दाजु दिदीहरूसँग मिलेर वनभात खान जाने गरिन्थ्यो। खोलाको नजिकै चौरमा पकाएका काँचै कचिलै सेल रोटी, खिचडी वा खिर आलुको तरकारी जलन फलन खान्थ्यौँ। त्यति बेला काब्रोका मुनाको अमिलो अचारसँग खाँदाको स्वाद अहिले सम्झँदा मात्र पनि जिब्रोमा पानी आउँछ।
अहिले तिमीहरू त नयाँ पुस्ताका पनि अभिभावक भइसक्यौ। उनीहरूका चाहना र अवसरका अघि तिमीहरू नै पुराना भएका छौ। हाम्रो त झन् के तुलना गर्नु र? अझ मेरा हजुरबा हजुरआमा अनि कुप्राबा कुप्राआमाहरूले त ढुङ्गे युगमा बाचेर हामीलाई बचाएर यो सृष्टि थामिदिनु भएछ। धन्य छ उहाँहरूको सङ्घर्ष र करुणालाई।
करिब तीस वर्ष पहिले हो तिमीले एसएलसी पास गरेको। त्यो खबरले गाउँमा हाम्रो नाकै ठुलो भएको थियो। त्यति बेला पनि तिमीलाई झुले गोरुले झन्डै किच्चाएको भन्ने सम्झिएर म झसङ्ग भएको थिएँ। छिमेकीले ‘तिम्रो यो चाहिँ छोराले केही गर्छ है’ भनेर आशा देखाउँथे। ‘हाम्रो समाजमा पनि पढेलेखेका मान्छे छन् भनेर गर्व गर्न पाइने भयो’ भन्ने उनीहरूको कुराले म भावुक हुन्थेँ। अनि तिम्रो शिर सुमसुम्याउँथेँ। परेलीका डिलमा आइपुगेका खुसीका आँसु तिम्रो शिरमा झर्न पाउँदै हातले पुछ्थेँ।
तिमीहरूकी आमा अलिक परबाट यो दृश्य हेरेर पछ्यौरी भिजाउँदै हुन्थिन्। उसका आँखामा खुसीकै भए पनि आँसु देखेपछि मलाई सधैँ गलाउँथ्यो। सुख दुखकी उही मेरी सहधर्मिणीको साथले त तिमीहरू हुर्कियौ, बढ्यौ। ममताको कसिलो छहारीमा लुटपुटिँदै यहाँसम्म आइपुग्यौ। मेरो घाइते शरीरले अहिलेसम्म त्राण पाइरह्यो।
त्यसपछि तिमी उच्च शिक्षाका लागि सहर जाने भयौ। सबैले पठाउनु पर्छ भनेर हौस्याए। मैले पनि आफ्नो दीर्घरोगी शरीरले जति गर्न सक्छ जेनतेन धान्ने नै निर्णय लिएँ।
त्यसको दुई वर्षपछि तिमी ठुली बहिनी पनि त्यसै गरी सफलता हासिल गरिन्। मैले फेरि पनि गर्वले छाती फुलाएँ। अनि तिमीलाई जस्तै अघि बढ्न रोकिनँ। माइला, कान्छा र अर्की छोरीलाई त तिमीहरूको समेत भरथेग पाएर अघि बढाइयो।
समय बित्दै गयो। मेरो पुरानो बिमार छँदै थियो। तिमीहरूकी आमालाई पनि भित्रभित्रै रोगले च्यापेको रहेछ। आफ्नो पीडा लुकाएर हाँस्न सक्ने तिमीहरूकी आमाको आदत छ। यसैले गर्दा पनि मैले मात्र होइन हामी कसैले नियमित उपचारको पूर्व सावधानी अपनाउन सकेनौँ। यस्तैमा बिस्तारै थकित हुन थालेको अवस्था तिमीहरूलाई थाहै छ।
यता उनी बिमारी हुने, उता तिम्रो अस्ट्रेलियाको भिसा लाग्ने समय करिब सँगसँगै परेको थियो। जाने कि नजाने दोधारमा थियौ तिमी पनि। मलाई त झन् निर्णय गर्न कठिन भइरहेको थियो। नजाऊ भनौँ भने मेहनत गरेर विदेशको भिसा लागेको छ, कसरी रोक्ने? नरोकौँ भने तिमीकी आमा र मेरी जीवनसाथीलाई दिनदिनै कठिन भइरहेको थियो।
मैले उनलाई ‘के गरून् त?’ भनेर सल्लाह मागेँ। आफ्नो सन्ततिको खुसीका लागि पूर्ण अभ्यस्त जवाफ नै आयो, जुन म पहिले नै अनुमान गर्न सक्थेँ।
यसपछि तिमी दोधार मन लिएर विदेश गयौ। अनि बिस्तारै तिम्रा भाइहरू पनि उतै तानिए। बहिनीहरूको विवाह गर्ने उमेर हुँदै थियो। तिमीहरू उता आफ्नै सङ्घर्षमा थियौ। यता हामी चाहिँ रोग, अभाव र एक्लोपनको त्रिवेणी पीडामा थियौँ। यस्तो पीडा हुँदा अरूलाई परेको दुःख याद हुन्न रहेछ। आफैँलाई मात्र यस्तो भएको जस्तो लाग्दो रहेछ।
तिमी विदेश गएपछि हिजोको तिम्रो सफलतामा खुसी हुनेहरू खासै सन्तुष्ट देखिएनन्। तर मुख खोलेर भन्न पनि सकेनन्। गाउँको रोज्जा नवजवान आफ्नो भूमि छाडेर अर्को मुलुकमा उतै हराउने गरी गएको पीडाले हामीलाई मात्र सताएन। तिमी भने उता घर किनेको, गाडी किनेको र महँगो कर तिर्दै किस्ता चुक्ता गर्न हम्मे हम्मे परेको बाध्यात्मक अवस्था सुनाउँथ्यौ। मलाई ‘कठै मेरा लालाबाला हाम्रो नजिकै भए त अझै पनि भरथेग गर्थेँ, कम्तीमा कामबाट घर आउँदा हामीले भात भान्सा र तिहुन तरकारी बनाउने काम सघाउँथ्यौँ नि’ भन्ने लागि रहन्थ्यो।
जसोतसो गरेर बहिनीहरूको विवाह उतार्न कर लाग्यो। त्यति बेला लागेको ऋण तिर्न अझै केही बाँकी छ। तिमीहरूले गरेको थोरै सहयोग पनि हामीलाई कति ठुलो लाग्दो रहेछ। तिमीहरूले जोरजम्मा गरेर पठाएको पैसा आएको दिन हामी जोडी नै लामो समयसम्म सुकसुकाएका थियौँ।
आफ्नो विवाहमा दाजुहरू उपस्थित हुन नपाएकोमा बहिनीको अनुहार अँध्यारो हुन्थ्यो। हुन पनि जन्मे हुर्केको घर छोडेर नयाँ जीवनको थालनी गर्न पराइ घर जाने बेलामा हो त्यो। यस्तो समयमा उनको मनको अमिलो स्वाभाविकै थियो। उनलाई सम्झाउने तागत मलाई भएन। तिमीहरूकी आमा त झन् बिचरी ‘आए हुने नि। कस्तो जागिर हो त्यस्तो?’ मात्र भनिरहन्थिन्। त्यो अर्काको मुलुकबाट फर्किएर आफ्ना बाबुआमा र आफन्त भेट्न आउन कति पापड बेल्नु पर्छ त्यो म अनुमान मात्र गर्न सक्छु।
यस्तै गरेर हाम्रो घर व्यवहार चलिरहेको थियो। तिमीहरूकी आमाको स्वास्थ्य पनि केही वर्ष त स्थिर भयो। तर फेरि त्यसले सताउन थाल्यो। खोकी र दमको बिमार बढ्दै जाँदा औषधीको मात्र बढाउनै पर्यो। पटक पटक अस्पताल लैजानु पर्यो। औषधी मुलो गर्न छोरीज्वाइँ आएर ठुलो राहत मिल्यो हामीलाई। कम्तीमा उनीहरू त स्वदेश मै भएकोमा खुसी लाग्यो। यो सँगसँगै आफ्ना प्राण प्यारा छोराहरूको सम्झना र भेट गर्ने चाहना दिन प्रतिदिन अझ बढ्दै आयो।
एक पटक बाबुछोरा बजार जाँदै थियौँ। हामीभन्दा अलिक राम्रै खानपान भएका परिवारबाट तिमीलाई छोरी दिने प्रस्ताव आएको थियो। तर तिमीले पटक्कै मानेनौ।आफ्नै बुतामा उभिनुपर्छ अनि मात्र यता सोच्ने बतायौ। मलाई तिम्रो कुरा मन पर्यो। तिमी सहर गएपछि आफ्नै बुतामा कमाएर पढ्ने जोहो गर्न खोज्यौ।
पछिल्ला वर्षहरूमा परिवारका सबै सदस्यहरू हाँसीखुसी सँगसँगै रहेर खाने बस्ने चाहना अधुरै रह्यो। एक हल गोरु र एउटा दुहुनो गाई पालेर खोला खेतमा फलेका हिउँदे र बर्खे धानबाट परिवारको गुजारा चलाउने मन थियो। आफैले करेसाबारीमा उमारेको तरकारीले परिवार धान्न मन थियो। खासमा मलाई आफ्नै धरातलमा तिमीहरूको साथमा रमाउन मन लाग्छ। अब यी चाहना तिमीहरूको उन्नतिका बाधक बनिसके। आफ्ना चाहना सबै पूरा हुँदैनन् भन्ने थाहा छ। तर पनि चाहना रोक्न र मार्न त सकिन्न रहेछ नि हैन र?
त्यस दिन तिमीहरूकी आमालाई एक्कासि बेथाले च्याप्यो। म अत्तालिएँ र छिमेकीलाई घरमा बोलाएँ। उनीहरू पनि तुरुन्तै आए। तर त्यहाँ पनि लक्का जवान मान्छे थिएनन्। हामीले हतारिँदै नजिकको स्वास्थ्य केन्द्रमा पुर्यायौँ। गाउँमा भएको एम्बुलेन्ससम्म पुग्न हामीलाई झन्डै एक घण्टा लाग्यो। अप्ठ्यारो बाटोमा आफ्नै बिमारी मान्छे बोकेर हिँड्न निकै कठिन हुने रहेछ।
मनमा पीडा र शारीरिक श्रमको दोहोरो मार परेको समयमा तिमीहरूको अचाक्ली याद आयो। जमानाअनुसार तुरुन्तै सम्पर्क गर्न त सजिलै भयो। तर भौतिक रूपमा नै भेट हुनलाई समय लाग्नु स्वाभाविकै हो। देशभित्र नै भएका त दिनभरमा भेला भइहाले। तर तिमीहरूलाई खबर पुगेपछि पनि यहाँसम्म आउन तीन/चार दिन लाग्यो।
त्यति बेलासम्म मैले तिमीहरूकी आमालाई बचाएर राख्न सकिनँ। तिमीहरूको गहिरो याद गरेर नाम जप्दाजप्दै प्राण पखेरु उड्यो। यसपछि ममाथि बज्रपात भएको जस्तो लाग्यो। यस्तो समयमा वरिपरि भएका भन्दा टाढा भएका सन्ततिको याद झन् बढी आउने रहेछ। दुखमा चाहिने साथ र आड भरोसालाई गुमाउनु पर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिन्न रहेछ।
तिमीहरू हतार हतार गर्दा पनि चौथो दिन घर आइपुग्यौ। परिवार सबै जना लिएर आउन पनि सकेनौँ। दुखमा परेको समयमा तिमीहरू पनि आफ्नो परिवारसँगै रहन पाएनौ। क्रियाघरमा बस्दा पनि चिन्ता उतैको भइरहेको देखेँ। परिवारबाट टाढा रहँदाको मर्म मलाई थाहा छ। तिमीहरूको यो अवस्था देख्दा पितृका पालादेखि जतन गरेको जग्गा जमिन र धन सम्पत्ति सबै व्यर्थ रहेछन् भन्ने लाग्यो। आफ्नै संसारमा अटाउन नसक्ने गरी हामीले जोडेका धन सम्पत्ति पनि अपूर्ण रहेछन्।
समयको चापले तेह्रौँ दिनसम्म यहाँ बिताउन तिमीहरूलाई निकै कठिन भएको पाएँ। यो समयसम्म त तिमीहरू अनि आफन्त सबै सँगसँगै छौ। तिमीहरू सबै हिँडेपछि बाँकी जीवन कसरी बिताउने होला भन्ने कुराले सताउने रहेछ। मलाई यसले पीडा बढाउँदै ल्याउन थालेको छ।
मलाई थाहा छ अबको पाँचौँ दिनपछि यो घरमा म एक्लो हुनेछु। तिमीहरू सबै आआफ्ना घर व्यवहार र काममा फर्किन्छौ। मलाई हेरचाह गर्ने फुर्सद मिलाउन कठिन हुन्छ। तिमीहरूको सानो संसारमा म रोगी र गाउँले वृद्ध व्यक्तिको उपस्थिति सहज हुने देख्दिनँ। एक त मलाई खुसी बनाएर राख्न कठिन हुन सक्छ। कथम् कदाचित मलाई जबरजस्ती लैजाने सोच्यौ भने पनि मेरो इच्छा विपरीत हुनेछ। फेरि म यो फराकिलो आँगन र पाखा पखेरा छाडेर जान पनि चाहन्नँ। मलाई मेरो सालनाल गाडिएको भूमिमा नै प्राण त्याग्ने चाहना छ।
अहिले रातको बाह्र बजिसकेछ। आज तिमीहरूकी आमाले हामीलाई छाडेर गएको आठौँ दिन भयो। तिमीहरूको हाँगामा नयाँ पालुवा पलाइसके। छाडेको त सबैलाई हो तर साँच्चै छाडेको त मलाई नै बढी रहेछ। पलङको अर्को छेउमा उनले पर्खिएको याद आउँछ। ढोकामा चुकुल लगाएर सुत्न सक्दिनँ, उनी बाहिर पर्छिन् भन्ने लाग्छ। रातभर निदाउन सक्दिनँ। तर पनि बिहान उठ्न ढिला हुन्छ। मैले खाने औषधीको पोको बिर्सन्छु। सम्झिन समय लाग्छ। बिहानै उठेर नित्य कर्म सकेपछि मनतातो पानी पिउने बानी छ। अब त समयमा पाउन कठिन हुन थालेको छ। सायद हेरविचारको अभावको कारणले होला शरीर पनि जीर्ण बन्दै आएको जस्तो लाग्छ।
अब यो ढल्किँदो शरीर लामो समय टिक्ला जस्तो लाग्न छाड्यो। मलाई यसै छाडेर तिमीहरू विदेश पुग्दा नपुग्दै अर्को खबरले फेरि तुरुन्तै फर्किनु पर्ने हुनसक्छ। यो दोहोरो पीडाबाट तिमीहरूको घर व्यवहारको स्थिति पनि बिथोलिन सक्छ। यहाँ आएका समयमा एकै पटक हामी दुवैलाई बिदा गरेर फर्किन सहज हुने देख्दै छु।
त्यसैले अहिले सोच्दै छु, मेरो कर्तव्य तिमीहरूलाई सहज बनाउने नै हो। मैले त आफ्नी जीवनसाथी गुमाइ नै सकेको छु। यति लामो समयसम्म सँगसँगै बसेका हामी जोडी पनि त लामो समयसम्म छुट्टिएर बस्न नसकिने रहेछ। त्यसैले यो शरीरले साथ छोडेर अब म तिमीहरूकी आमासँगै पुग्ने छु। हामीलाई एकै पटक बिदा गर।
आफ्नो सुन्दर परिवारलाई ममताका साथ अघि बढाउनु है। हामी दुवैबाट धेरै धेरै आशीर्वाद छ....
यति लेख्दा लेख्दै मेरा आँखाबाट आँसु तप्प चुहिए। नजिकै सुतेको नाति बिउँझिएछ। उसले मेरा अश्रु मिश्रित नयन देखेपछि हतारिएर लेख्दै गरेको कपी खोस्यो। म असमञ्जसमा परेँ।
यसपछि म शौचालयमा पसेँ। त्यहाँबाट निस्किन समय लाग्यो। म निस्कँदा घरमा हल्लीखल्ली भइसेको थियो। दुवै छोराहरूले क्रियाघर भित्र बसेरै मेरो अधुरो बकपत्र पढ्न थालेछन्। परिवेशमा एकाएक सन्नाटा छायो।
जवाफ के दिने भन्ने सोच्न थालेँ। आफ्नो अमूल्य जीवनप्रति के सोचेँ यस्तो भनेर आफैँप्रति प्रश्न गर्न थालेँ। लज्जा बोधले मेरो शिर निहुरियो। यसरी नै बाँकी पाँच दिन बिते। उनीहरूले ममाथि निगरानी बढाए। तैँ चुप मै चुपको अवस्थामा मैले फेरि मेरो पत्र खोज्न सकिनँ।
आफ्नी आमाको तेह्र दिने कर्म सकिएको भोलिपल्ट बिहानै दुवै छोराहरूले नजिकै बोलाए। म हच्किँदै प्रवेश गरेँ। त्यहाँ दुवै छोरीहरू गम्भीर मुद्रामा थिए। दुवै ज्वाइँहरू र नातिनातिना पनि थिए। हामी सबै एक छिन चुपचाप रह्यौँ। मलाई कसैले प्रश्न गरेनन्। मैले पनि उनीहरूप्रति कुनै नयाँ भाव देखाइनँ।
ठुली छोरीले भक्कानिँदै भनिन्, ‘बाबा, हजुरले यस्तो के सोच्नु भएको?’
म निरुत्तर बनेँ। मसँग चित्त बुझ्दो जवाफ नै थिएन।
जेठो छोराले त्यहीँबाट विदेश फर्किने हवाईजहाजको टिकट रद्द गर्यो। म यो सबै घटना हेर्दै र सुन्दै थिएँ। उसले मेरा पाउमा छाँद हाल्दै भन्यो, ‘बाबा, म अब तपाईंलाई एक्लै छाडेर कहीँ जान्न। मेरो परिवार नै यतै बोलाउँछु।’
मैले उसलाई उठाएर अङ्कमाल गरेँ। मैले आफैलाई सम्हाल्न सकेको थिइनँ। हामी निकै बेर रोइरह्यौँ। उनीहरूका सामु के भन्ने र के नभन्ने भन्ने द्विविधामा परेँ। मैले सबैको अनुहार नियालेँ। परिवारप्रति कस्तो माया बढेर आयो।
सोच्दै छु, जिन्दगी त जिउनका लागि नै रहेछ।