इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सार्वजनिक भएका छन्।
बिहीबार उनी टेलिभिजन सम्बोधनमार्फत सार्वजनिक भएका हुन्। यद्यपि उक्त सम्बोधन पहिले नै रेकर्ड गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रेकर्ड गरिएको स्थानबारे केही खुलाइएको छैन। उनी गाढा पर्दाको अगाडि, इरानी झण्डा र आफ्ना पूर्ववर्ती अयातोल्लाह खोमैनीको तस्वीरबीच बसेका देखिन्छ।
इरान-इसराइल युद्ध उत्कर्षमा पुगेका बेला आफू मारिने खतरा बढेपछि खामेनी बंकरमा कडा सुरक्षामा बसेका थिए।
पछि युद्धविराम भइसक्दा पनि खामेनी सार्वजनिक नभएपछि सरकारी अधिकारीदेखि नागरिकसम्मले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए।
उनी आक्रमणमा परी घाइते भएको हुनसक्ने अथवा मारिएको हुनसक्ने सम्मको हल्ला इरानभित्र चलेको थियो भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेका थिए।
उनी प्रत्यक्ष रूपमा सार्वजनिक भएका छैनन् तर टेलिभिनज सम्बोधनले पनि इरानीहरूले राहत महसुस गरेका छन्।
टेलिभिजन सम्बोधनका क्रममा खामेनीले इसराइलविरूद्धको युद्धमा इरानको जित भएको दाबी गरेका छन्। त्यसको अन्त्य मध्यपूर्वका दुई अमेरिकी सैन्य अड्डामा इरानले सफल हमला गरेसँगै भएको खामेनीले बताएका छन्।
'हामीले मध्यपूर्वको मुख्य अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर अमेरिकालाई गतिलो झापड हानेका छौं,' उनले भने।
उनले अमेरिकी राष्ट्रपति ट्रम्पले भने पनि इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन्।
'ट्रम्पको अभिव्यक्तिले इरानले आत्मसमर्पण नगरेसम्म अमेरिकीहरू सन्तुष्ट हुँदैनन् भन्ने प्रष्ट पारेको छ। जुन कहिल्यै हुने छैन,' खामेनीले सम्बोधनमा भनेका छन्।
उनले अमेरिकाले निकट भविष्यमा पनि आक्रमण गरे मध्यपूर्वमा भएको उसका महत्त्वपूर्ण केन्द्रहरू इरानको सजिलो पहुँचमा छ र आवश्यक परे त्यसविरूद्ध कारबाही गर्न सक्छ भन्ने तथ्य स्थापित भएको बताए।
'यदी आक्रमण भयो भने भविष्यमा पनि यो घटना दोहोरिन सक्छ,' खामेनीले भने।
ट्रम्पले इरानले फेरि आणविक कार्यक्रम सुरू गरे अमेरिकाले आक्रमण गर्ने बताएका छन्।
खामेनीले इरानको आणविक केन्द्रहरूमा हमला गरे पनि अमेरिकाले केही उपलब्धि हासिल नगरेको बताएका छन्।
'अमेरिकाले हाम्रा आणविक केन्द्रहरूमा हमला गर्यो, तर कुनै ठूला क्षति गर्न सकेन । ट्रम्पले देखावटीका लागि भने जुन उनका लागि जरूरी थियो,' खामेनीले भने।
अमेरिकाले आफ्नो सबैभन्दा शक्तिशाली बंकरभेदी बम जिबियु-५७ ले इरानका तीन परमाणु परियोजनाहरू फर्दो, नतान्ज र इस्फहानमा हानेको थियो। फर्दोको पहाडको धेरै गहिराइमा भएको परमाणु कार्यक्रममा अमेरिकाले १२ वटा जिबियू-५७ बंकरभेदी बम खसालेको थियो।
आक्रमणपछि फर्दो लगायत तीनै संरचनाहरू कामै नलाग्ने गरी ध्वस्त भएको ट्रम्पले बताएका थिए। पछि अमेरिकाकै गुप्तचर निकायले गरेको फर्दोमा थोरै मात्रै क्षति पुगेको भनेर प्रारम्भिक मूल्यांकन प्रतिवेदन लिक भएको थियो।
सम्बोधनका क्रममा खामेनीले अमेरिका युद्धमा प्रत्यक्ष संलग्न नभएको भए इसराइल ध्वस्त हुने थियो पनि भनेका छन्।
'इसराली प्रतिरक्षा प्रणालीहरूलाई तोडेर इरानले हमला गर्न थालेपछि इसराइलको रक्षा गर्न अमेरिका युद्धमा होमियो। यदी अमेरिका प्रत्यक्ष रूपमा युद्धमा होमिँदैनथ्यो भने इसराइल सम्पूर्ण रूपले ध्वस्त हुन्थ्यो,' खामेनीले भने।
खामेनीको पहिलो टेलिभिजन सम्बोधन सार्वजनिक भएलगत्तै इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले ट्रम्पसँग हात मिलाउँदै गरेको आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
' हामी हाम्रा साझा शत्रुहरूलाई परास्त गर्न सँगै काम गरिरहनेछौं,' नेतन्याहूले लेखेका छन्।