तिमीबाट धेरै टाढा भाग्न खोज्दैछु, तर तिमी मेरो छाया बनेर पछ्याइ रहन्छौ। म तिमीलाई कठोर बनेर भुल्ने प्रायस कति गरेँ, आखिर मेरो मुटु बनेर धड्किरहन्छ्यौ।
तिम्रा निम्ति पागल बनेर हाँस्न खोजेँ तर आँसु बनेर मलाई नै रुवाइदियौ। सागर भित्र डुब्न नखोजेको पनि कहाँ होइन र तर नदी बनेर मेरोसामु आइदिन्छौ। आखिर किन?
आज भोलि म आफैलाई नै थाहा छैन किन एकान्तमा बसेर घण्टौंसम्म टोलाउँछु! फेरि एक्कासी चिच्याएर तिम्रो नामले बोलाउन थाल्छु। एकातर्फ भित्री मनमा पीडा लुकाएर बाहिर सबैलाई मुस्कान दिन पनि पछि हिट्दिनँ म।
मनले सोच्छ, फूल कोपिलामा छ, फुलाउने काम तिमी गर्न किन खोज्दिनौ? हृदयको स्पन्दमा प्रेमको कुन फूल फुलाउन चाहान्छु तर एक्लैले पनि त सक्दिनँ म। मेरो जीवनमा संघर्षशील यात्रा र मोडहरु धेरै नै आए तर मेहनत गर्न भनेपछि कहिले पछि हटेन र त आज तिम्रासामु यस्ता कुरा भनिरहेको छु।
तिमीलाई सम्झिँदा सम्झिँदै कत्ति पटक आफैमा मरिसकेँ म तर अन्त कसैको मनमा बास भने सरेन। एकोहोरो भए पनि मैले तिमीलाई प्रेम गरिरहेँ। तिमीलाई छाडेर अर्कैको सिँउदो भर्ने र मेरा नामको चुरा पोते दिने कुरा सोच्न पनि त सक्दिनँ म।
इच्छा छ मेरो केबल तिमीसँग जुनी काट्ने। तिम्रो सिउँदो भर्न हजार कोसिस नगरेको पनि होइन मैले। तर म एकान्तमा रम्नलाई लाखौँ पटक असफल भएँ।
तिम्रो मनमा एकदिन मेरो निम्ति प्रेम पलाउँछ भन्ने आश गरेर भएपनि जीवन बिताउनलाई म कोसिस गर्नेछु। तर म अर्कैसँग आफ्नो जीवन सजाउने कल्पना समेत गर्न सक्दिनँ।
विगत मेरो कस्तो थियो, त्यो त तिमीलाई थाहा नहोला तर म विगतलाई बिर्सिएर प्रगति तिर लम्कन खोज्दै छु। तिम्रो त्यो ढुंगाजस्तो मनलाई पगालेर तिम्रो मनमा बास बस्न चाहान्छु। तर जिन्दगीको लामो बाटो धाउन भने म पछि हट्दिनँ।
गन्तव्यमा पुग्न नसके पनि मेरो प्रेमलाई बीच गोरेटोमा छाडेर कहिले भाग्ने छैन म।
तिमी मेरो निदरीको मौका छोपेर हरेक सपनीमा आउने गर्छौ, तर मोती जस्तै भएर मेरो आँखाभरि टल्किन्छौ। म हिँड्ने बाटोहरुलाई काँडैकाँडाले छेकिदियोस् तर झुटो कसम र झुटो माया म तिमीलाई कहिले पनि दिने छैन।
अतितले मलाई जिस्काइरहन्छ। आफ्नो भन्नेले नै मेरो प्रेमको हत्या गरिदिएपछि कस्को के नै लाग्छ र! मारिदिए मेरा प्रेमलाई। हाँसीखुसी जिएका छन् उनीहरु त, म भने पलपलमा मरिरहेको छु।
दोष मेरो सपनाको पनि थियो, मेरो सपनाले नै प्रेमको हत्या गरिदियो। सपनामै जिइरहेको थिएँ म। जब सपनाबाट ब्युउझिएँ मेरो सामु पीडा र स्वार्थको थुप्रो मात्र थिए। खुब रोएँ, कराएँ, चिच्याएँ पनि तर त्यो रुवाइ र चिच्याहटको कुनै अर्थ थिएन।
एउटा घना जंगलमा छु म। जहाँ देख्ने र सुन्ने कोही छैनन्। सबैतिर सन्नाटा छ। लाग्थ्यो संसारबाट मानव जातिको लोप भैइसक्यो। म मात्र जीवित छु। तर त्यो जीवनको कुनै अर्थ थिएन।
सास चलिरहेको छ, शरीरका सबै अंग चलिरहेका छन् तर पनि जीवितमा हुने कृया केही पनि थिएन ममा। मनले सोच्य्यो, म एक चिहान घाटमा छु। सबैतिर मरिसकेका मान्छेहरुको बस्ती छ, बोलाइरहन्छु तिनीहरुलाई। अह! कोही सुन्नेवाला छैनन्।
मरुभूमिमा पानीको प्यास लागेर छट्पटिरहेको छु तर चारै तिर बालुवा मात्र छ। गर्मीले मलाई गलाइसकेको थियो। मरिसकेको छु। प्यास बढीरहेको छ। पानीको मुहान खोज्ने हिम्मत हराइसक्यो ममा। अब म यही मर्नेछु।
किरा फट्यांग्राहरुको आहारा बन्नेछु। गिद्धले मेरो शरीरलाई लुछ्ने छ। अब मेरो नामो निशान हराएर जाने छ। प्रेम यही त हो जुन मृत्युभन्दा भयानक छ। प्रेम त दिने चिज मात्र हो रे तर एकोहोरो दिएँ मैले।
आफूले घृणा र तिरस्कार मात्र पाइन्छ भने किन दिनु? यो संसारमा प्रेमको के मूल्य छ र? बजारमा बेच्न राखिएको दुब्लिकेट फूलको थुंगाभन्दा सस्तोमा बिक्छ प्रेम। भन्दा प्रेम अमूल्य छ जस्को मूल्य तिर्न सक्ने मान्छेको जन्म भएको छैन भन्नेले नै प्रेमलाई सस्तोमा बेचिदिन्छन् यहाँ।
हरेक गल्ली र सडकमा बिक्छ प्रेम। भन्छन् नि प्रेम कात्रो जस्तै हो, बनाउनेले लगाउँदैनन्, लगाउनेले देख्दैनन्। प्रेम पनि त्यस्तै हो। मनदेखि चाहनेले पाउँदैनन्, पाएकोलाई भ्यालु हुँदैन।
जुन चिज आफूले पाउँदैन, त्यो चिज नै सबैभन्दा प्यारो लाग्छ मलाई। सायद आफ्नो प्रेम पाउन भाग्यमा नै लेख्नु पर्छ होला। सबैको नसिबमा हुने भए प्रेमको कुनै अर्थ नै के रह्यो र?
त्यसैले त अहिलेसम्म प्रेम चलेको छ, चलिरहने छ।
कुनै समय यस्तो पनि आयो मेरो जिन्दगिमा जुन प्रेमको अर्थ थाहा थिएन मलाई। जब थाहा भयो त्यतिबेला पाएन प्रेम। मदेखि भागिरह्यो कोस कोस टाढा। कहिले मेरो निम्ति बनेन प्रेम!
सुनेको थिएँ केयरिङ हुन्छ रे, सेयरिङ पनि हुन्छ रे प्रेम। खै! प्रेम त वर्तमान हुन्छ, भविष्य हुन्छ र त प्रेमको आफ्नै संसार हुन्छ। कल्पनामा बाच्न सिकाउँछ, भावनमा बग्न पनि।
नबगेको पनि होइन म, बस् तैरन जानिनँ कहिले। सधैँ बगिनै रहेँ। कहिले एकातिर धकेल्थ्यो, कहिले अर्को तिर। कहिले त उछिट्टिएर आफ्नै संसारमा लग्थ्थो। जब त्यो संसारमा पुग्थेँ, खुसीले सारा संसार भुल्थेँ।
यो संसारमा ऊ र म मात्रै छौँ जस्तो लाग्थ्यो मलाई। अरु कोही छैन, छ त बस् हाम्रो सपना छ। कल्पनामा बनाएको महल छ दरबार छ। ऊ त्यो संसारको रानी अनि म त्यो संसारको राजा। चारैतिर सिपाई हाम्रो सुरक्षामा खटिए जस्तो।
ठूलो बगैँचा छ जहाँ अनगिन्ती फुलेका फूलहरु छन्, ती फूलभन्दा के कमि छ र मेरी प्रेमिका। थुप्रै भमरा आउँछन् त्यो बगैँचामा। आफ्नो इच्छा पूरा गर्छन्, थुप्रै रस खान्छन् र जान्छन् कहिले नआउने गरी।
तर ऊ त्यो बगैँचाको सुन्दर फूल हो र म तिनै बगैँचामा आउने भमरा मध्येको एक। तर आफ्नो स्वार्थ पूरा गरिजाने स्वार्थी भमरा त हुँदै होइन म। म त्यो भमरा हो जहाँ मबिना त्यो फूलको सुन्दरता फिका छ, उदासिनता छ।
वर्षौंदेखि सिँचाइ र मल नपाएर सुक्दै गएको बिरुवा जस्तो छ। त्यो भमरा बिना सुन्दर फूल ओइलाएर जानेछ, सुकेर झर्ने छ र मर्ने छ। म त्यो फूलजस्ती प्रेमिकासँग खेल्न चाहान्छु, लड्न चाहन्छु। बिहान उठ्दा आफ्नै साथमा देख्न चाहन्छु।
सधैँभरि ऊसँगै रम्न चाहान्छु। बुढेसकालसम्म हेर्न चाहान्छु उसलाई। त्यो चाउरी परेका गाला। सारी लगाउँदा मुजा पार्ने जस्तै मुजा परेका गालामा चुम्न चाहन्छु र भन्न चाहान्छु उसलाई यो जुनीमा तिमीसँग बिताउन नपाए पनि अर्को जुनीमा त तिमी मेरै हुनु ल?
यो जुनीमा तिमी मेरो नभए पनि अब आउने सयौँ जुनी तिम्रो भएर जन्मिन पाउँ, अर्को जुनीमा तिम्रो र मेरो जोडी बनाएर पठाउने छ भगवानले पनि।