समिना खातुन दिदी सियारी गाउँपालिका– ४, रुपन्देहीमा बस्नु हुन्छ। दिदीलाई आफ्नो उमेर सोध्यो भने ‘पढ्ल नाइँ हे बहिनी, कुछ नाही जानति’ भन्नु हुन्छ। दिदीका दुई छोरी र एक छोरा छन्, ठुली छोरीको बिहे भारतमा भयो र एउटा बच्चा पनि छ।
दिदी बस्ने घर आफ्नो होइन, घर भाडाको सट्टा गाई-भैँसी घरमा पालेको हुनाले गाई भैँसीको मल दिनु हुन्छ घर धनीलाई। दिदीको घरमा एउटा मात्र कोठा र खाली बरन्डा छ।
मैले ब्याचलर्स, मास्टर्स पढ्ने बेला के पार्कले लेखेको ‘प्रिभेन्टिभ एन्ड सोसियल मेडिसिन’ किताबमा लेखेको घर ‘हाउजिङ स्ट्यान्डर्ड’ घरमा हुन पर्ने न्यूनतम स्तर सबै कण्ठ पारेर घेरै पटक परीक्षामा लेखेँ। उत्कृष्ट अंक पनि ल्याएँ।
यस किताबका अनुसार एउटा कोठामा दुई जनाभन्दा बढी बसोबास गरे ‘ओभर क्राउडिङ’ भिडभाड भन्छ। तर समिना दिदीको एक कोठे घरमा नियमित चार जना र पाहुना आउँदा जति जना पनि अट्नु हुन्छ। दिदीको सुत्ने कोठा र भान्सा कोठा एउटै हो।
दिनमा घर बाहिर आउने खाली खाट रातिमा भित्र जान्छ, अत्यधिक गर्मीले दुःख दिएको दिन मध्य रातमा पनि खाट फेरि बाहिर आउन सक्छ। सुत्ने, उठ्ने, खाने, पकाउने, पढ्ने, सुखमा हाँस्ने र दुःखको बेला रुने यो वहाँहरूको लागि सुपर कोठा हो। ठुला ठुला घर र बङ्गलाहरूमा नअटेको सबै सामान दिदीको घरमा अटेको छ, घरमा पाहुना आउँदा कसैको घरमा सुत्नको लागि सहयोग माग्न जानु पर्दैन।
घर सफा छ। दिदीले भित्र, बाहिर चिटिक्क बनाएर राख्नु भएको छ। दिदीबाट सिक्नु पर्ने धेरै कुरा छ हामी सबैले। ठुलो घरमा बसेर सबै कुराको लागि छुट्टाछुट्टै कोठा हुनेहरूलाई यो सुपर कोठाको महत्त्व के थाहा!
यो सुपर कोठामा रुकसाना र साहिद (दिदीको छोरा र छोरी) को भविष्य छ। रुकसाना र साहिद नजिकको स्कुलमा पढ्छन्। पढाइ, लेखाइ, सिकाइ सबै यही कोठामा छ। कोठामा दिदी भाइको माया छ र कहिलेकाहीँ साइकल कसले चलाउने भन्ने लडाइ नि हुन्छ।
एक कोठाको यो घरले पानी, हावा, हुरी र समय समयमा मुटु चिसिक्क पार्ने चट्याङ सबैबाट बचाएको छ। सबैभन्दा मुख्य, सबै जना अट्ने एक कोठे घरमा सबैको अनुहारमा मुस्कान छ।
दिदीको घर परिवारलाई एक कोठामा बस्न केही समस्या छैन। उनीहरू एक कोठामै सुखी र खुसी देखिन्छन्। ठुलो घरहरूबाट हराएको सन्तुष्टि यहाँ भेटिन्छ।
नेपालमा यस्तो एक कोठे घरमा बस्ने कति होलान्, समिना दिदीको परिवार जस्तै? ‘के पार्क’ को किताबले घर नै नमान्ने एक कोठाको घरमा कति नेपाली घर परिवारहरू बस्छन् होला है? त्यो आधामै छोडेको भित्ता पूरा भयो भने त ‘के पार्क’ को किताबले घर मान्ला नि है?