केही समय अगाडि भारतको उत्तर प्रदेशको हाथरसमा धार्मिक सत्संगका क्रममा भएको भागदौडका क्रममा १२१ जना मानिसहरूको मृत्यु भयो।
सुरज पाल नामक गुरू जब कार्यक्रमबाट निस्किन थाले, उनलाई नजिकबाट हेर्ने र उनका पैतालामुनिको वा उनको गाडीको पांग्रामुनिको माटो लिन खोज्ने मान्छेहरूको तँछाडमछाड भयो। एउटा मात्रै प्रवेश र एउटा मात्र निकास भएको उक्त कार्यक्रम स्थलमा ठूलो संख्यामा महिला र बालबालिकाले ज्यान गुमाए।
कथित गुरू र बाबाहरूप्रतिको अन्धभक्तिका लागि भारत कुख्यात छ। भारतमा धेरै बाबाहरू प्रख्यात र बदनाम दुवै छन्। नेपालमा पनि भारतका केही बाबाहरूको बलियो प्रभाव छ।
भारतीय उपमहाद्वीपमा हजारौं वर्षदेखि गुरू–शिष्य र ज्ञान आदानप्रदानको परम्परा कायम छ। म आफैले पनि केही बाबा–गुरूलाई सुनेको छु।
उनीहरूलाई सुनिसकेपछि केही महत्त्वपूर्ण प्रश्नको जबाफ खोजी गर्नु सान्दर्भिक हुन्छ भन्ने मलाई लागेको छ।
गुरू–शिष्य र ज्ञान आदानप्रदानको परम्पराबाट फाइदा लिन आजको युगमा सम्भव छ कि छैन? के भारतमा केही नालायक बाबा–गुरूहरूले ज्ञान परम्परालाई दूषित बनाए भन्दैमा त्यो परम्परा नै खारेज गर्न मिल्छ? आज पनि त्यो परम्पराको औचित्य छ भने कस्ता गुरूहरूले हामीलाई असली ज्ञान दिन सक्छन्? के त्यसले हाम्रो जीवन सहज बनाउँछ?
यो लेखमा म यसैबारे चर्चा गर्नेछु।
कुनै बेला वामपन्थी पृष्ठभूमिबाट आउने धेरै जना साथीहरूझैं म पनि कसैलाई गुरू थाप्ने वा मान्ने कुराको सख्त विरोधी थिएँ। यत्रो संसार आफै अवलोकन गर्दा सिक्न नसकिने तर कुनै बाबा–गुरूले सिकाउँदा सिक्न सकिने त्यस्तो कुरा के नै होला र भन्ने मलाई लाग्थ्यो। त्यसैले मैले गुरू–बाबाहरूसँग जानाजान दूरी राख्थेँ।
दशकौंदेखि टेलिभिजन च्यानलहरूमा र पछिल्ला वर्ष युट्युब च्यानलमा थुप्रै गुरू–बाबाहरू छाइरहेका छन्। त्यस्ता बाबाहरूमध्ये धेरै जनाले धर्म, कर्म र योगबाट करिअर सुरू गरेर व्यापारसम्म छलाङ मारेका छन्।
धेरै बाबा–गुरूहरू ज्ञान बाँड्नभन्दा व्यापार गर्नमा बढी सक्रिय देखिन्छन्। उनीहरूको राजनीतिक छलाङ पनि उल्लेख्य छ। भारतमा चुनावताका सत्तारूढ भाजपाका लागि खुलेर भोट मागिदिने अवस्थामा पुगिसकेका छन् केही लोकप्रिय बाबाहरू। बदलामा उनीहरूले बलियो राजनीतिक संरक्षण पनि पाएका छन्।
यसरी आध्यात्मिक भएको दाबी गर्ने व्यक्तिहरू र समाजबीच ज्ञानको भन्दा बढी शक्ति र सुविधाको सौदाबाजी प्रमुख बनेको छ।
नयाँ–पुराना धेरै गुरू–बाबाहरूको भिडबाट मैले करिब ११ वर्षअगाडि एक जनालाई छानेर सुनेको थिएँ। जीवनका केही कठिन मोडहरूमध्ये एउटा मोडमा मसँग विकल्प नभएपछि मैले सुन्न थालेका ती व्यक्ति थिए ओशो रजनिश।
त्यसयता मेरो जीवनमा केही गुरूहरू आएका छन्। र, केही आएर फर्किसकेका छन्।
सुरूमा फर्किसकेका गुरूको कुरा गरौं।
ओशो सुन्न थालेको केही वर्षमा मलाई एक प्रियजनले सदगुरू भनिने जग्गी वासुदेवको 'इनर इञ्जिनियरिङ' शीर्षक किताब पढ्न दिनुभयो। त्यो किताब पढ्दै जाँदा म प्रभावित हुँदै गएँ र युट्युबमा खोजेर उनका अन्तर्वार्ताहरू सुन्न थालेँ।
किताब दुई–तिहाई जति पढिसकेपछि र केही दर्जन घन्टा उनका अन्तर्वार्ता सुनिसकेपछि मलाई उनले दिने 'ज्ञान' को साम्प्रदायिक कोण टड्कारो हुँदै जान थाल्यो। उनको आशय सत्यको खोजी नभई एउटा विचार प्रणालीको सर्वोच्चता स्थापित गर्ने जस्तो लाग्न थाल्यो।
त्यति मात्र नभई उनका हरेक जसो भिडिओमा छद्म विज्ञानको कडा गन्ध आउन थाल्यो। त्यसमा आधारित फर्जी कुरा उनले यति मेहनतपूर्वक, यति आत्मविश्वास र हास्यचेतको लेपसहित भन्थे कि त्यसले सजिलै मानिसहरूलाई मिथ्या कुराहरू पत्याउने बनाउँथ्यो।
कुनै ठोस वा अर्थपूर्ण कुरा नभनी घन्टौं बोलिरहने उनको वाकपटुता स्कुलको वादविवाद प्रतियोगिता वा वक्तृत्त्वकला प्रतियोगिताका लागि सीप सिक्न उपयोगी हुन सक्थ्यो तर त्यसबाट सही अर्थको ज्ञान हासिल हुन सक्छ भन्ने मलाई विश्वास लागेन।
त्यसको केही समयपछि उनी खुलेर भारतमा नरेन्द्र मोदी सरकारका साम्प्रदायिक, विभेदकारी र अमानवीय कामहरूको बचाउ गर्न थाले। सरकारका विरोधीहरू विरूद्ध खुला प्रोपागान्डामा उत्रिए। सरकारको भन्दा फरक मत राख्नेहरू खुलेआम सडकमा हिँड्नै पाउन हुँदैन भन्न थाले।
यसपछि मेरा धेरै आशंकाहरू यथार्थमा परिणत भए। यिनै कारणले मेरो जीवनमा गुरूका रूपमा राम्रोसँग भित्रिनै नपाई जग्गी बासुदेव बाहिरिए।
अब म तीन जना त्यस्ता गुरूहरूको चर्चा गर्छु जो अझै मेरो जीवनमा छन्।
तीमध्ये दुई जना बीसौं शताब्दीका दुई दार्शनिक धरोहरहरू जे कृष्णमूर्ति र ओशो रजनीश हुन्। अनि तेस्रो व्यक्ति हुन् एक्काइसौं शताब्दीमा भारतमा सक्रिय आचार्य प्रशान्त।
यी तीनै व्यक्तिका आआफ्नै विशिष्ट कारणले गर्दा उनीहरूबारे कुरा गर्नु कठिन छ।
जे कृष्णमूर्तिले जे जे भनेर गए (जसमध्ये धेरै कुरा रेकर्ड गरिएका भिडिओ अहिले पनि सुन्न पाइन्छ), त्यो कुरा सुनेर वा पढेर बुझ्नै कठिन छ। मैले १७ वर्षको मेहनत पछाडि बल्ल जे कृष्णमूर्तिको शिक्षा राम्रोसँग बुझ्ने मानिस समेत भेटेको छु।
ओशोले भनेका कुरा बुझ्न सजिलो छ तर उनको उतार–चढावपूर्ण जीवनमा उनले देखाएका व्यवहारहरू बुझ्न असाध्यै कठिन छ।
आचार्य प्रशान्तका अहिले युट्युबमा उपलब्ध ३० हजार भिडिओमा उनले के के भनेका छन् भन्ने कुराको सार खिच्न असम्भव नै छ।
तर पनि म के मान्छु भने, कुनै पनि गुरूका सबै कुरा वा समग्र शिक्षा बुझ्न सकिँदैन भन्नुको अर्थ उनीहरूबाट कुनै पनि उपयोगी ज्ञान लिन सकिँदैन भन्ने होइन।
त्यसैले आज यो लेखमा म यी तीनै जनासित आफूले सिकेका केही सीमित कुराहरूको चर्चा गर्नेछु।
एकपल्ट एक जना अन्तर्वार्ताकारले आचार्य प्रशान्तलाई सोधिन् — ओशो कि जे कृष्णमूर्ति?
जबाफमा उनले फ्याट्ट भने — जे कृष्णमूर्ति।
कारण?
उनले भने — शुद्धता वा प्युरिटी।
उनी थप व्याख्या गर्छन्, 'ज्ञान पाउने वा सत्य भेट्ने भन्ने कुरा एउटा हिमाल चढेजस्तै हो। त्यो शिखर चढ्दै जति माथि पुगिन्छ, त्यति नै शुद्धता आवश्यक पर्छ। जब कोही कम उचाइमा हुन्छ, उसलाई चढ्न एक खाले तारतम्यको महत्त्व हुन्छ। तर मानिस शिखरको जति नजिक पुग्छ, त्यही तारतम्य बिस्तारै बोझ बन्न थाल्छ। जबकि शिखर चुम्न उसलाई बोझिलो तारतम्य होइन, हलुँगो शुद्धता आवश्यक हुन्छ।'
त्यसैले आचार्य प्रशान्तका अनुसार कोही शिखरको यात्रा सुरू गर्दैछ भने उसका लागि ओशो उपयोगी हुन सक्छन्। तर शिखरमा पुग्ने बेला कृष्णमूर्तिलाई खोज्नैपर्छ।
ओशोलाई डेढ सय घन्टा र आचार्य प्रशान्तलाई सयौं घन्टा सुनेपछि केही महिनादेखि म जे कृष्णमूर्तिलाई सुनिरहेको छु। उही कुरा बारम्बार सुन्नुपर्ने र बुझ्न गाह्रो हुने हुँदा मैले अहिलेसम्म उनका एक–डेढ दर्जन घन्टा हाराहारीका प्रवचन मात्रै सुनेको हुनुपर्छ।
जे कृष्णमूर्ति खुलेर भन्छन् — सत्यसम्म पुग्ने कुनै बाटो छैन। यदि कसैले छ भन्छ भने त्यो मिथ्या कुरा हो। तपाईंलाई कसैले डोहोर्याएर वा बत्ती बालिदिएर सत्यको शिखरसम्म पुर्याउन सक्दैन।
उसो भए जे कृष्णमूर्तिले आफ्नो जीवनकालमा किन हजारौं घन्टा प्रवचन दिए त? किन लाखौं मानिसलाई आफ्नो कुरा सुनाए?
यसमा उनको कुरा प्रस्ट छ।
कृष्णमूर्तिका अनुसार उनका प्रवचनमा कोही बोल्ने र कोही सुन्ने मान्छे हुँदैन, खाली सँगै बसेर सोच्ने अभ्यास र साधना गर्ने मानिसहरू हुन्छन्।
उनी एक घन्टाको सेसनमा दर्जनौं पटक भन्थे — लेट्स थिंक टुगेदर, अर्थात् आउनुस् सँगै सोचौं।
मानिसले आफ्नो मनमा आउने सोचाइ, वासना र अन्य मानसिक प्रक्रियालाई जति तटस्थ किसिमले अवलोकन गर्न सक्छ, ऊ त्यति नै सत्यको नजिक पुग्छ भन्ने उनको मान्यता थियो।
यदि तपाईंलाई पूर्वीय दर्शनमा थोरै भए पनि चासो र जानकारी छ भने थाहा पाइसक्नुभयो होला, यी तीनै जना दार्शनिकका बीचमा कुन कुरा साझा छ भनेर।
त्यो साझा कुरा हो — अद्वैत दर्शन।
दोस्रो साझा कुरा — तीनै जनामा बौद्ध दर्शनको गहिरो प्रभाव छ।
तीन जनामध्ये ओशो रजनीश र आचार्य प्रशान्तले अद्वैत वेदान्तको व्याख्यामा आफ्नो जीवनको अधिक समय खर्चेका छन्। त्यसैले दुवै जना विभिन्न समयमा पूर्वीय दर्शनको ज्ञानधारालाई व्याख्या र पुनर्व्याख्या गर्ने विचारकको सूचीमा अटाउँछन्।
जे कृष्णमूर्तिको दर्शनलाई भने धेरै विश्लेषकहरू अद्वैत वेदान्तसित केही महत्त्वपूर्ण साझा अवधारणाहरू रहेको तर सत्यसम्म कसरी पुग्ने भन्ने विषयमा वेदान्तसित महत्वपूर्ण भिन्नता समेत रहेको मौलिक दर्शनका रूपमा मान्छन्।
अद्वैत वेदान्त भन्छ सिंगो ब्रह्माण्डमा जे जे छ, सबै 'त्यही' हो। अर्थात् ब्रह्म हो। त्यो अविभाज्य छ, अवर्गीकरणीय छ। तिमी पनि त्यही हौ। अर्थात्, तत् त्वम् असि। म पनि त्यही हुँ। अर्थात्, अहम् ब्रह्मास्मी। ज्ञानले नै हामीलाई ब्रह्मरूपी सत्यसम्म पुर्याउँछ। अर्थात् प्रज्ञानं ब्रह्म।
जे कृष्णमूर्ति भन्छन् — तिमी नै संसार हौ। तिम्रो चेतना नै मानव जातिको चेतना हो। मानव चेतना अविभाज्य छ।
दुवैका दृष्टिमा बाह्य संसार गौण हो र भित्री संसार प्रधान हो। संसारमा जति पनि दुःख छ, पीडा छ, अभाव छ, द्वन्द्व छ, त्यो सबैको कारण मानिसको भित्र अर्थात् चेतनामा छ। चेतनाको विकास नै मानिसको विकास हो, अनि चेतनाको विकार नै मानव सभ्यताको विकार हो।
दुवैका दुई साझा निशाना छन् अहंकार र विभाजन। मानव जातिका यी दुवै दुर्गुणहरूको जन्म द्वैतवादी विश्व दर्शनमा छ। अहंकार र विभाजन विरूद्धको संघर्षमा अद्वैत वेदान्तले ज्ञानलाई मुख्य साधन मान्छ भने जे कृष्णमूर्ति बोधलाई मान्छन्।
कुनै पनि दार्शनिक वा आध्यात्मिक जिज्ञासा बोकेको मानिसले अद्वैत दर्शनको वरिपरि रहेर आशो रजनीश, आचार्य प्रशान्त र जे कृष्णमूर्ति तीनै जनाले दिएको शिक्षा र ज्ञान लिँदा राम्रै हुन्छ जस्तो मलाई लाग्छ।
मेरो विचारमा थप एउटा कारणले दक्षिण एसियाका लागि यी तीन दार्शनिकहरूका विचार महत्त्वपूर्ण छन्।
सन् १९४७ मा धर्मका आधारमा भारत विभाजन भएसँगै दक्षिण एसियामा साम्प्रदायिकता, विभाजन र घृणाको राजनीतिले जरा गाडेको थियो। तर पनि यस क्षेत्रको सबभन्दा ठूलो र प्रभावशाली देश भारतले स्वतन्त्रताको झन्डै ७० वर्षसम्म पनि आफ्नो समावेशी, सहिष्णु र धर्म निरपेक्ष चरित्र कायम राखेको थियो।
सन् २०१४ यता भने भारतमा पनि विभाजन र घृणाको राजनीति मूलधारमा स्थापित भएको छ। सँगसँगै दक्षिण एसियाका सबैजसो देशहरूमा सिंगो समाजकै चर्को साम्प्रदायिक ध्रुवीकरण भइरहेको छ। मानिस समान हुन् र मानवता अविभाज्य छ भन्ने बोध मानिसहरूबाट हराउँदैछ।
खासगरी भारत र पाकिस्तानमा अल्पसंख्यकहरूको किनारीकरण उत्पीडन र हिंसा निरन्तर बढिरहेको छ। बंगलादेश समेत अहिले अतिवादी विभाजनकारी साम्प्रदायिक राजनीतिको गोलचक्करमा फस्ने जोखिम बढिरहेको छ। नेपालमा पनि लामो समयदेखि त्यस खाले संगठित प्रयासहरू चलिरहेका छन्।
ऐतिहासिक रूपमा साम्प्रदायिक र नस्लभेदी मान्यताको वैचारिक प्रतिवाद गर्ने वामपन्थ खासगरी भारतमा तीव्र गतिमा ओरालो लागिरहेको छ। त्यसैले समता र न्यायको पक्षमा चल्ने अभियानहरूका लागि एउटा बलियो वैचारिक धरातलको अभाव खड्किरहेको छ।
सही ढंगले उपयोग गर्न सक्ने हो भने अद्वैत दर्शनले त्यसखाले धरातल सिर्जना गर्न सक्छ।
यसबाहेक थप दुई कारणले गर्दा आजका दिनमा भारतमा आचार्य प्रशान्तले दिइरहेको शिक्षा महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ।
एक, युग सुहाउँदो भाषामा विषक्त पितृसत्तावादको प्रतिवाद।
दुई, प्रदूषण र जलवायु संकट जस्ता प्रलयकारी संकटहरूको गम्भीरता मानिसहरट्ठलाई बोध गराउने काम।
ठ्याक्कै एक वर्ष अगाडि प्रकाशित जलवायु संकटजन्य विपत्तिहरूबारे आचार्य प्रशान्तको 'मरोगे बादमे, पहले पागल होओगे' शीर्षकको भिडिओ अहिलेसम्म झन्डै ४१ लाख मानिसले युट्युबमा मात्रै हेरेका छन्। दक्षिण एसियामा मानिसको दर्दनाक भविष्यबारे उसलाई यति प्रभावकारी चेतावनी दिने अर्को व्यक्ति मैले अहिलेसम्म फेला पारेको छैन।
मैले यहाँ चर्चा गरेका वा अरू कुनै पनि गुरूको शरण परेर कसैले मुक्ति वा निर्वाण प्राप्त गर्न सक्छ जस्तो मलाई लाग्दैन।
बरू मैले कस्ता चाहिँ उदाहरण भेटेको छु भने, दर्जनौं गुरू–बाबाहरूका शिक्षाबारे फरर बोल्न पनि सक्ने, तीमध्ये केहीलाई भगवानको दर्जा पनि दिइहाल्ने तर परिआउँदा घोर साम्प्रदायिक र विभाजनकारी शक्तिहरूसित 'त्वं शरणं' गर्ने र साधारण नैतिक अडान लिन पनि नसक्ने। कमजोर नैतिक धरातलमा उभिनेहरू ओशोजस्ता गुरूहरूका अगाडि पुगेपछि 'तिमी कर्ता होइनौ, खाली द्रष्टा हौ' भन्ने गुरूको भनाइको फेरो समातेर झन् झन् निर्लज्ज र भ्रष्ट बन्दै गएको पनि मैले देखेको छु।
त्यसैले मलाई के लाग्छ भने, कसैका कुराबाट प्रभावित हुनासाथ उसलाई भगवानको दर्जामा उचाल्ने र प्रश्नको घेराबाहिर राख्ने कुराले व्यक्तिको चेतनालाई थप भुत्तो बनाइदिन्छ। उसको अध्यात्मिक विकास नै अवरूद्ध गराइदिन्छ।
त्यसको अर्को अतिमा गएर कसैको छवि बाबा वा गुरूको छ भने तुरून्तै ऊसित दुरी बनाइहाल्ने हो भने पनि हामी सहजै मिल्न सक्ने धेरै जीवनोपयोगी शिक्षाहरूबाट वन्चित हुन सक्छौं।
त्यसैले जे कृष्णमूर्तिकै मूल शिक्षा दोहोर्याएर यो निबन्धको बिट मार्नु उचित होला — आफूले पाएको यो चेतनशील मानव जीवनलाई कुन उचाइसम्म पुर्याउने भन्ने कुरा अन्ततः हाम्रै हातमा छ। जीवन त रासायनिक पदार्थहरूको नशामा बिताए पनि बित्छ, धनसम्पत्ति र सुखसयल प्राप्तिको होडमा बिताए पनि बित्छ, आफ्नो अहंकार तुष्टि गर्न अरूमाथि हिँसा गरे पनि बित्छ। तर ती कुनै पनि कुराले हामीलाई बोध, शान्ति, मुक्ति वा निर्वाणको गन्तव्यमा पुर्याउन सक्दैनन्।
अर्कोतिर बोधको बाटो समात्ने हो भने त्यसले हामीलाई मुक्तिको अन्तिम बिन्दुमा पुर्याउन सक्छ वा सक्दैन, म यकिन साथ भन्न सक्दिनँ। तर त्यसले दैनिक जीवन धेरै सहज बनाउँछ, विपत्तिहरूसित जुध्न आत्मबल दिन्छ र मुक्तिको बिन्दुसम्म जाने बाटो खुलै राख्छ।
एक्स (ट्विटर) @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)