एउटा टिठ लाग्दो विरही साँझ। मुना दिनभरिको दैनिकी मेलापात सक्काएर बेलुकीको निम्ति तिहुन बनाउन गोठालो जाँदा लिएर आएको जलुका र निहुरो केलाउँदै थिई, आँगन डिलको ढुंगामा बसेर। सानो छोरा खेल्दै थियो कुन्नि के-के, मसिना आफू जस्तै साना ढुंगाहरू बटुलेर।
छेउमै रहेको मटानमा खेल्दै गरेको सानो छोरोले एक्कासि आमालाई प्रश्न गरे।
अस्पष्ट स्वरमा गरेको प्रश्नहरू एउटा-दुइटा मात्रै थिएन, प्रश्नको वर्षा थियो निरीह आमामाथि। ऊ आफैलाई थाहा छैन, जुनीभर साथ दिन्छु भन्दै फकाएर भगाएर ल्याएको पति कुन देशको कुन सहरमा छन् भन्ने कुरा बारे।
आमा सँग प्रश्न गर्छ छोराले, ‘बा कहिले आउनु हुन्छ?’
-भोलिपर्सी।
फेरि छोराले प्रश्न गर्छ, ‘त्यो भोलिपर्सी चाहिँ कहिले आउँछ आमा?’
‘अनि छ नि आमा, हाम्रो बा कहाँ जानु भएको?’
मसिना नानीको मसिना तर चोटिला प्रश्नहरूको ओइरोले मुना के भन्ने के नभन्ने अलमलमा पर्छिन्। टोलाएर बसेर पनि धर पाउन्न उनले। आफूदेखि अलि पर खेलिरहेको छोरा नजिकै आएर पुनः गर्छ प्रश्न, ‘आमा, मेरो बा कस्तो हुनुहुन्छ?’
मुनाले नसोचेको त कहाँ हो र छोराको हरेक प्रश्नको उत्तर दिन। तर विडम्बना! उनी आफै अनभिज्ञ थिइन् पति मदनको हालखबरबाट।
मुना छोराको प्रत्येक प्रश्नको उत्तर दिन असमर्थ हुनु परेको यो पहिलो पटक थिएन। जब छोरा बोल्न थालेको थियो, त्यही बेलादेखि बा खोजेको थियो। हुन सक्छ ऊ जस्तै साथीहरू बाको काँध र काखमा बसेको देखेर होला।
हुन पनि मुनाको जिन्दगी सोचेभन्दा बिलकुल फरक धारमा बगिरहेको थियो। सानो छोराको जिन्दगी नामक अदालतमा छोराले गरेको जिरहले मुना एकाएक अतीतको पाना पल्टाउन विवश भइन्। केही वर्ष अगाडिको कुरा हो। मदन अन्तै कतैबाट उसको गाउँ नजिकै पर्ने हाई स्कुलमा पढ्न आएको थियो। स्कुलदेखि केही पर डेरा लिएर बस्थ्यो मदन।
एउटै स्कुल, एउटै कक्षामा अध्ययनरत मदन र मुना अपरिचितबाट परिचित हुन पुगे। बिस्तारै साथी बने। त्यसपछि साथीभन्दा माथिको सम्बन्ध निभाउन पुगे। जानेर या नजानेर।
मावि स्तरको पढाइ नसक्दै, आलोकाँचा उमेरमै बा-आमाको इच्छा विपरीत भागेर विवाह गरेका थिए। जीवनका अर्थ, खुसीका अर्थ, दुःखका अर्थ, आफन्तको परिभाषा बारे केही जानकार नहुँदै प्रेममा परेर आफ्नो जीवनको एउटा महत्त्वपूर्ण निर्णय आफै-आफै मिलेर गरेका थिए।
सही-गलत छुट्टाउनु जरुरी ठानेनन्। देखिएका सपनाहरू आधा बाटो पुग्दा दुर्घटनामा परुन् या सही गन्तव्यमा पुगेर सफल हुन्, केही पर्बाह गरेनन्। बस एकले अर्कालाई प्रेम गरिरहे, अविरल बगेको कञ्चन हिमनदी जस्तै।
परिवारको स्वीकृति बिना गरेको निर्णयले दुवै माथि असजिलोको पहाड खस्नु अस्वाभाविक थिएन। आफू खुसी गरेको विवाहपश्चात् दुवै गाउँदेखि भागेर केही समय सदरमुकाममा जीवन गुजारा टारे।
साँझ-बिहान हातमुख जोर्नुदेखि कोठा भाडा तिर्न पुग्ने पैसा सानोतिनो काम गरेर जुराए। मुकाममा मात्रै अड्केर बस्न हिँडेको थिएनन् भागेर गाउँदेखि। सदरमुकाममा भनेजस्तो कामको साथसाथै सोचे जस्तो अवसर पक्कै मिल्दैन थियो। त्यसैले केही समयपछि देशको राजधानी, सपनाहरूको सहर काठमाडौँमा जाने निर्णय गरे।
काठमाडौँ पुगेर केही समय बस्नको निम्ति पुग्ने आर्थिक जोहो गरेर सदरमुकामबाट काठमाडौँ सहरमा भित्रिए, मदन र मुना।
अतृप्त अपेक्षा, अनुपम वासना र भयंकर आदर्शलाई जिन्दगीको पछ्यौरीमा कुम्लो पारेर छिरे सपनाको सहर काठमाडौँ। जहाँ सोचिएको सपनाहरू पूरा गर्न तँछाडमछाड गर्ने गर्छ मान्छेहरू। सहर भित्रेको केही समयपछि सानोतिनो काम गर्न थाले।
एक साँझ मदन र मुना घुम्दै थिए काठमाडौँ सहर। सहरको चहलपहल बेग्लै, सहरको घरहरूको सान अलग्गै। त्यस्तै एउटा अग्लो भवनको ग्राउन्ड फ्लोरमा सुन्दर ठुला अक्षरले सजिएको बोर्डमा आँखा पुग्यो। जहाँ लेखिएको थियो ब्लु डाइमन म्यानपावर।
मदनले बुझिहाले, विदेश जान मान्छे पठाउने ठाउँ भनेर। केही बोलेन बाटोमा। फर्के कोठामा। अनि बेली बिस्तार सुनाए वैदेशिक रोजगारी बारेमा।
हुन पनि निकै कठिन थियो ती दुईलाई सहरमा जिउन। सहरको महँगाइ, हुर्कँदै गरेको सपनाहरूको आकार निकै विशाल थियो।
गरे सल्लाह दुई जना बसेर।
मदन बोले, ‘मुना, आखिर जीवनमा सबैभन्दा महत्त्वपूर्ण बस्तु पैसा नै हो कि क्या हो? धेरै कुरा सोचेकै हुँ। सोचेर मात्रै नहुने रहेछ। सोचाइलाई यथार्थको धरातलमा ल्याउन केही न केही त गर्नु पर्ने रहेछ। हुन त हामीले हाम्रो लागि अमिल्दो काम सहरमा नगरेको होइन। तर ती गरेको प्रयासहरू पर्याप्त नहुने पक्का छ। त्यसैले केही नयाँ सोच्दै छु।’
मुनाले सुनिरहिन् मदनको कुरा र बोली शब्द फारो गरेर, ‘तिमी आफै जान, म त केही जान्दिनँ। बरु तिमीले गरेको जे निर्णय पनि मेरो लागि स्वीकार्य छ।’
मुनाको कुरामा मदनले केही थपेन। बस् चुपचाप रहे। कोठामा सन्नाटा छायो। जीवनका घुम्तीहरू पार गर्दै, अनेकन् बाटोमा एउटा बाटो छान्ने क्रममा जीवनका अर्थहरू फेरिँदै गए। आखिर त्यही फेरिएको अर्थ जिन्दगीको परिचय बन्दै गयो मदन र मुनाको।
नबदलिने सत्य पछ्याउँदै मदन गाउँमा आए। परिवारसँग आफ्नो सत्यतथ्य कुराहरू राखे। हुन त उनीहरू दुईले त्यति ठुलो गल्ती नै त गरेको थिएनन्। बस् परिवारको अनुमति बिना विवाह गरेका थिए। जुन भुललाई माफी दिए घरका सबैले। सबै अर्थात् बा-आमा र बाँकी परिवारले।
परिवारको साथ पाउने बित्तिकै मदनले राखे आफू विदेश जाने अनि मुना घरमा आएर बस्ने कुरा। झन् त्यो कुराले बेसी खुसी थप्यो। छोरा केही कमाउन परदेश पछ्याउँदै गर्दा बुहारी हुने भइन् घरमा।
खुसीको खबर लिएर काठमाडौँ फर्के मदन। एकै सासमा सबै कुरा सुनाए मुनालाई। घर फर्किने चाँजोपाँजो मिलाए। सँगसँगै वैदेशिक रोजगारको निम्ति जान चाहिने डकुमेन्टहरू तयार गर्दै गरे।
प्रयासले रंग ल्याउँदै थियो। फ्री भिसा, फ्री टिकेट समेटिएको युएईको एउटा राम्रै पेट्रोल पम्पको छनोटमा छानिएको थियो मदनलाई। निकै खुसी थियो। खाना, बस्न, ओभर टाइमसम्मको राम्रो व्यवस्था भएको कम्पनीमा परेको कारणले।
उड्ने निश्चित भएपछि मदन मुनालाई घरमा पुर्याउन सँगै घरमा आए। के-के अनगिन्ती सपनाहरू देखेर काठमाडौँ छिरेको थियो। तर अटाउनु सकेन दुवै जना एउटै सहरमा। अलग-अलग हुने भयो केही समय। तन सँगै नभए पनि मन र माया सदा साथ रहने कसमहरू धेरै खाए, घर फर्कँदा बाटोमा भेटिने धेरै देवी र देउताको मन्दिरहरूलाई साक्षी राखेर।
मुनाले सिटमा सँगै रहेको मदनलाई भनिन्, ‘मदन, बदलिँदो रहेछ है परिवेशसँगै जीवनको योजनाहरू? के सोचेका थियौँ है हामीले, के पो हुँदै छ! दिएन सँगै बस्न हामीलाई परिबन्दले।’
मदन सुनिरहे। केही बोलेन।
मुनाको गहिरो कुराले मदनको मनमा सानोतिनो पहिरो नै बग्यो कसैले नदेख्ने गरी। आधा दिनको यात्रापछि मुना र मदन आइपुगे आफ्नो घर जहाँ मदन जन्मिएको थियो। बा-आमाले विधिवत् भित्र्याए घरमा। नयाँ दुलही भए पनि पहिले नै धेरै पल्ट देख-भेट भइसकेको थियो मुनासँग।
मिठो मसिनो पाकेको थियो भान्सामा। सबैजना सँगै बसेर गरे भान्सा। केही बेर कुराकानी गरेर लागे सबैजना आ-आफ्नो बिस्तरामा।
पहिला पटक आए पनि यो पटक मुनाको लागि विशेष थियो त्यो घर जुन घरमा तामझाम, बाजागाजा नभए पनि उनी नयाँ दुलही बनेर भित्रिएकी छन्।
नवदुलही, नयाँ घर, जिन्दगीको नयाँ अध्यायको शुभारम्भ पतिको घरमा पहिलो पटक रात बिताउँदै छिन्। यो पनि थाहा छ मुनालाई, भोलि बिहानै पति उनलाई छोडेर केही समयको लागि जाँदैछ टाढा। धेरै टाढा- देशदेखि पनि धेरै टाढा। अनेकन् कुराहरूको तुफान चलेको मनमा के आउँथ्यो निद्रा!
बिस्तारै साउतीमा बोली मुना, ‘मदन, तिमी गएपछि म एक्लै कसरी बस्ने यो घरमा?’
‘हा! के भन्छे?’
‘छ नि पूरा परिवार, बा-आमा, भाइ-बहिनी।’
मुना बोलिन्, ‘हुनुहुन्छ सबैजना, मलाई थाहा छ तर तिमी बिना...’
मदनले मुनाको टाउकोमा सुमसुम्याउँदै बोले, ‘के गर्नु त! म रहरले, खुसीले तिमीलाई एक्लो बनाएर जान खोजेको होइन। मेरो व्यक्तिगत स्वार्थ पूर्तिको निम्ति मात्रै जान लागेको पनि होइन नि। मुना, हाम्रै सुन्दर भविष्यको खातिर हो जान लागेको म तिमीलाई छोडेर, त्यो पनि जाबो दुई वर्षको निम्ति।’
उनीहरूले आँखा झिमिक्क नगरेर रात बिताए।
भोलिपल्ट बिहानै मदन काठमाडौँको निम्ति निस्कियो, सिंगो परिवारलाई दुःखी तुल्याएर। अझ धेरै दुखी मुनालाई बनाएर। केही नबोलेर पनि मौनतामा धेरै बोलेर बस लाग्ने ठाउँसम्म पुर्याउन आइन् मुना। थुप्रै आँसुको थोपाहरू खर्चेर गरिन् बिदाइ। मदनलाई बसमा चढाएर पठाइन् काठमाडौँ। आफू फर्के एक्लै उहीँ बाटो जुन बाटोमा केही बेर अघि दुई जना सँगसँगै हिँड्दै थिए।
मदन काठमाडौँ हुँदै भनेको मितिमा उडे बादल पारिको देशमा जहाँ कल्पनाको पाटाभरि सफल सपनाको फूलहरू फुल्दै थियो। उता पुगेर कल गरे मदनले। आफू भने जस्तै ठाउँमा आइपुगेको, सबै कुराहरू भने बमोजिम भएको खुसीको कुरा सुनाए। सबै खुसी भए। विशेष खुसी मुनामा हुनु स्वाभाविक थियो।
यसरी एउटै रथको दुई पाङ्ग्रा तन टाढा रहे पनि मनलाई सधैँ एकै ठाउँमा उपस्थिति गराएर जीवन यात्रालाई अघि बढाइरहे। मदन बिनाको दिनहरू महिना जस्तो लाग्थ्यो मुनलाई। मदन गएको महिना बित्नु भनेको मुनालाई वर्ष बितेको जस्तो भान हुन्थ्यो। अपरिपक्व उमेरमा गरेको प्रेमले साँच्चै रंग लिँदै थियो। हरेक दिन जस्तो कुरा गर्थे; यताको कुरा, उताको कुरा, दुःख र सुखको कुरा। सँगै हुँदाको कुरा, सँगै नहुँदाको कुरा।
मदन गएको एक महिना भइसकेको थियो। अरू बेलामा जसरी नियमित हुनुपर्ने महिनावारी बेलामा नभएकोले मुना अलि आत्तिएकी थिइन्। यो कुरा सासूलाई सुनाएपछि थाहा भयो उनी दुई जिउकी भएकी रहेछिन्।
यो कुरा मदनलाई पनि सुनाइन्। मदन खुसी नहुने कुरा नै थिएन। खुसी साटासाट गरे भाइबर, म्यासेन्जर, ह्वाट्सएपबाट।
संगत र कर्मका तालमेलले बिस्तारै मुनालाई मदनको परिवार राम्रो लाग्दै थियो। पुराना सत्यहरू नयाँ सत्यहरूमा रूपान्तरण गर्दै जिन्दगीको मोड, घुम्ती अनि ‘टर्निङ प्वाइन्ट’ मा जे-जस्तो भए पनि खुसी भएर जीवन यात्रालाई निरन्तरता दिँदै थिइन्।
दिन, हप्ता, महिना मिलेर मुनाको गर्भमा हुर्कँदै गरेको शिशु छोराको रूप लिएर नौ महिनापछि जन्मियो। यो खबरले मदन दंग भएको थियो। पटक पटक फोन गरेर मुनालाई हैरान नै पारेको थियो।
छोरा जन्मँदा मदन परदेश हिँडेको लगभग एक वर्ष भएको थियो। अब एक वर्षपछि उनी छुट्टीमा आउने कुरा भएको थियो। छोरा जन्मेपछि अझै बेसी जिम्मेवारी थपेको कुरा गर्थ्यो बेला बखत मुनासँग।
बिस्तारै छोरा हुर्कँदै थियो। उता विदेशमा रहेको मदन घर फर्कने दिन नजिकिँदै थियो। दोहोरो खुसीको भेलमा मज्जाले बग्दै थिइन् मुना। आजभोलि भन्दाभन्दै मदन घर आउने दिन नजिकिँदै गर्दा फोनबाट वार्तालाप हुन्थ्यो पटक पटक।
‘मुना, बाबुलाई यो किने। तिमीलाई यो किने। यति बेला आइपुग्छु म’ भन्थ्यो मदनले।
अजीवको छ जीवनको यात्रा। अज्ञात छ जीवनको परिभाषा। जीवनका मोड कहाँ पुगेर मोडिन्छ। कस्तो-कस्तो ठाउँमा पुगेर दुर्घटना हुन्छ। यस्तो नभएको भए, उस्तो चाहिँ भएको भए। के-के अनुमानित कल्पनाको तराजुमा तौलिन्छ। सोचिरहेको हुन्छ एक थोक, भइदिन्छ अर्कै थोक। विचित्र छ जिन्दगी।
नेपाल आउँछु भनेको दुई दिन अघिदेखि एक्कासि मदनको फोन लाग्न छोड्यो। उनले चलाउने सामाजिक सञ्जालको हरेक आइडीहरू डियाक्टिभ हुन पुग्यो। एकाएक मुनाले बहँदै गरेको खुसीको खोलामा विरहको भेल सुसाउन थाल्यो। चकमन्न दिन नै अँध्यारो रात झैँ हुन लाग्यो। कसलाई के भन्ने? कोसँग गएर गुहार माग्ने? एक्लै भुतभुताएर चिच्याउनु मन लाग्यो। रुन मन लाग्यो। सबैकुरा घरको सबै परिवारलाई सुनाइन्। सुनेर गर्ने त केही थिएन परिवारमा।
सासूससुराले सान्त्वना दिए- ‘आउँछ होला। केही विपत्तिमा परेर होला कि सायद। नत्र त्यस्तो निष्ठुरी मान्छे त होइन मदन।’
बा-आमा, भाइ-बहिनी सबैले सम्झाएबुझाए मुनालाई। सम्झाउन सजिलो छ सम्झाउनेहरूलाई तर सम्झिनु पर्नेलाई थाहा हुन्छ सम्झिनुको पीडा।
झिनो आशा बोकी बाँच्दै गर्दा धेरै दिनहरू बिते। दिनले हप्ता, महिना अनि वर्षको रूप धारण गर्दै जिन्दगीलाई पुरानो बनाउँदै गइन्। आफू जति पुरानो हुँदै गए पनि मदनसँग बिताएको समयहरू मिठो याद बनेर जिस्काउन आइपुग्थ्यो। आफै जानाजानी हराएको मदनको खोजीमा पठाउने म्यानपावरदेखि मदन पुगेको देशको नेपाली दूतावाससम्म निकै पटक हारगुहार गरिन्। खोजीको निम्ति सहयोग मागिन्।
दूतावासको सहयोगले केही कुरा जानकारीमा आयो। मदन जुन कम्पनीमा पुगेको थियो, त्यहाँ केही महिना काम गरेर कम्पनीमा झुटो बहाना देखाएर पासपोर्ट हात पारेर कम्पनीबाट भागेको कुरा खुल्नमा आयो।
त्यसपछिका दिन यता मदन कहाँ गयो? अन्तै देशमा गयो कि सोही देशमा छ भन्ने कुरा अज्ञात रहँदै आयो। कसरी लामो समयसम्म परिवारको सम्पर्कमा रह्यो? पछि एकाएक बेपत्ता किन भयो? मुना मात्रै होइन, सिंगो मुनाको परिवार अन्योलमा छन्। कहाँ छन्? कता छन्? के गर्दै छन्? आपत-विपत छन् कि सहज अवस्थामा छन्? कसैलाई केही थाहा छैन।
छोरा आठ वर्षको हुँदैछ। अत्तोपत्तो छैन मदन फर्कने कुराको।
छोराले प्रश्न गर्ने भनेको आमालाई हो। छोराको प्रश्नहरू सुन्दा-सुन्दा थाकेकी छन् मुना। हार्न खोज्दैछिन् जीवनदेखि। व्याकुल छिन् उनी। सम्झेर पटक-पटक अर्ध मुर्छित हुन्छन्। छोराको अबोध परिवेश नियालेर बुझाउने गरेकी छन् मनलाई।
मुना पुकार्दै छिन् समयसँग हरपल र प्रश्न गर्दै छिन् मदनलाई- तिमी कहिले आउँछौ?