म सन्चै छु आमा,
तर सधैँ फोन उठाउन सक्दिनँ
आएको तिम्रो कललाई
‘एकछिन है आमा’ भनेर राखिदिन्छु।
त्यसपछि त्यो एकछिन
घण्टौँ बन्छ,
कहिलेकाहीँ त पूरा दिन नै बित्छ।
छोरी बदलिइछे भनेर
नसोच है आमा,
म बदलिएकी होइन,
जिम्मेवारीहरूले अलि धेरै घेरेका छन्।
बिहान घामसँगै उठ्छु
आफ्ना सपनाहरूको भारी बोकेर
अफिस पुग्छु
दिनभरि अरूका काम पूरा गर्दा गर्दै
आफ्ना थकाइहरू लुकाइरहेकी हुन्छु।
घर फर्किएपछि
फेरि अर्को संसार पर्खिरहेको हुन्छ—
साना हातहरू,
नानीहरूको हाँसो,
अधुरा गृहकार्य,
र धेरै साना—साना जिम्मेवारीहरू।
कहिलेकाहीँ सोच्छु,
म यति धेरै किन दौडिरहेकी छु?
त्यस बेला सम्झना आउँछ
एक समय तिमी पनि
यस्तै दौडिएकी थियौ
हाम्रो भविष्यका लागि।
आमा,
तिमीले सिकाएको त्याग
आज म आफ्नै जीवनमा बाँचिरहेकी छु।
मोबाइलमा धेरै कुरा नगरे पनि
मनभित्र तिमी सधैँ हुन्छौ
खुसी हुँदा,
दुखी हुँदा,
गाह्रो पर्दा,
आँखा रसाउँदा,
सबैभन्दा पहिले सम्झिने
अनुहार तिम्रै हो।
जिन्दगीको भीडमा
मान्छेहरू धेरै भेटिन्छन्
तर मन थामिदिने एउटा आवाज
तिम्रो मात्र हुन्छ।
राती सबै सुतिसकेपछि
जब थकाइले शरीर गलाउँछ
म फोनको स्क्रिन हेर्छु
तिम्रो मिस्डकल देख्छु
र मनभित्र एउटा सानो अपराधबोध जाग्छ।
‘आमालाई फोन गर्नुपर्थ्यो .....’
तर फेरि सोच्दै निदाउँछु,
भोली पक्का गर्छु भनेर।
आमा,
यदि कहिलेकाहीँ म टाढा देखिएँ भने
त्यो दूरी मायाको होइन,
समयको हो
किनकि
मेरो हरेक सफलतामा तिमी छौ,
मेरो हरेक संघर्षमा तिमी छौ,
मेरो हरेक प्रार्थनामा तिमी छौ।
र यो जीवन जति नै व्यस्त भए पनि
मेरो मनको सबैभन्दा सुरक्षित ठाउँ
अहिलेसम्म पनि
तिम्रै काख हो, आमा।