कविता
तुलना गर्नै नसकिने रहेछ, सहर र गाउँ
साथ, सहयोग र सद्भावले भरिपूर्ण त्यो ठाउँ
जीवनकै महत्वपूर्ण समय बिताएको मेरो गाउँ
दौतरी र छिमेकीको अगाध माया पाइने त्यो ठाउँ
धन र मन सँगै जोख्दा,कसको बढी आउला र भाउ?
मानस पटलमा प्रतिविम्ब आउँदा, कसरी हटाऊँ
सुख, दुःख र गन्थन सजिलै पोख्न मिल्ने ठाउँ
भोक र प्यासले नमर्ने, विचित्र छ है गाउँ
गल्तीमा सच्चिने मौका र पीडामा आँसु पुछ्ने हात, खोज्न कहाँ जाऊँ
पाठशाला जस्तै सुख, दु:ख, न्याय र अन्याय सिकाउने, मेरो गाउँ
मठ, मन्दिरका धुन र नदीका सुस्केरा, कसलाई सुनाउ
बाध्यता र रहरले छोड्नु पर्ने रहेछ, आफू जन्मेको ठाउँ
आफ्नो गाउँ, ठाउँ भन्दा सहर राम्रो रे, म कसरी पत्याऊँ
जस्तो सुकै अनकन्टार हुँदा पनि, फेरि जन्मिन त्यही पाऊँ
बाल्यकालको कर्तुत सम्झी, हाँस्ने,रूने कथा, कसलाई सुनाऊँ
केही खबर फैलिना साथ, जुरूक्क एक जुट हुने, मेरो गाउँ
झन्झट र सुविधा बीच तुलना गर्दै लालचमा, मलाई नफसाऊँ
प्रकृति, सौन्दर्य र बाल लिलाको याद आउँदा, कसरी यो मन बहलाऊँ
कर्म, बुद्धि र भाग्यले पुर्याउने रहेछ नसोचेको ठाउँ
बुढेसकाल बिताउने अभिलाषा पूरा होस्, आफ्नै जन्मेको गाउँ