'मन उदास हुँदा तपाईं के गर्नुहुन्छ?' आँखाको किनारबाट पग्लदै गरेको गाजललाई टिस्यु पेपरले मिलाउँदै उसले प्रश्न गरी।
मैले मौनता साधेँ, किनकि केही प्रश्नहरूको उत्तर शब्दमा भन्दा बढी सन्नाटामा लुकेका हुन्छन्।
अमेरिकानो सिङ्गल सट थियो तर प्रश्न चाहिँ डबल सट। अनुहार र आवाजमा कोमलता भएर के गर्नु शब्द कठोर भएपछि। सुन्दा सामान्य प्रश्न जस्तो भए पनि यसले मेरो नियत र जीवन भोगाइलाई बिम्बित गर्ने खालको थियो।
प्रश्नको कडापनले कफीको कडापनलाई नै अलमलमा पार्यो। दिमाग र मनमा दबाब परेपछि शरीरका अरू अंगहरूले गतिलोसँग काम गर्दा रहेन छन्।
मैले लामो श्वास फेर्दै क्याफे बाहिरको धमिलो आकाशतिर हेरेँ। त्यहाँ उडिरहेका चराहरू कति स्वतन्त्र थिए, कुनै गन्तव्यको बोझ नबोकी। मैले मुस्कुराउने असफल प्रयास गर्दै भनेँ- 'रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिँदा राम्रो नि।'
'भन्नाले'
'भन्नाले, म मनलाई यति धेरै व्यस्त राख्छु कि उदासीले मलाई भेट्ने समय नै पाउँदैन। जब एक्लोपनले घेर्न खोज्छ, म आफैसँग संवाद गर्छु, आफ्ना अधुरा सपनाहरूलाई कागजमा उतार्छु वा कुनै पुरानो किताबका पानाहरू पल्टाउँछु। या तारादेवी, अरूणा लामा र नारायण गोपालका स्वरहरूलाई ध्यानस्थ भएर सुन्छु। उदासी त केवल एउटा छाया हो, जबसम्म हामी प्रकाशको खोजीमा रहन्छौँ, तबसम्म यसले हामीलाई छुने हिम्मत गर्न सक्दैन।'
आफैले दिएको डिप्लोम्याटिक जबाफप्रति मैले आफैलाई कृतज्ञता व्यक्त गरे। कुनै बेला शब्दहरू बोल्छु भनेर होइन आफै ओठमा आइदिँदा रहेछन्।
मेरो जबाफ सुनेर उनी केहीबेर मौन भइन्। तर उनको मौनता बोलिरहेको थियो। उनले कुन प्रायोजनले सोधेको प्रश्नको जबाफ कहाँ कहाँसम्म पुगिसकेको थियो। आफूले चाहेको कुरा नपाउँदा उनलाई पीडानुभूति भइरहेको थियो। उनको अनुहारमा उदासी र मौनता लम्बिँदै जान थालेपछि मैले वातावरणलाई अर्को रङ्ग दिन खोजे।
'मन उदास भएर के गर्नु भन्दा पनि मन नै उदास हुन दिँदैन। भएन त काइदा।'
अपेक्षाकृत जबाफ नपाएपछि। उनले प्रसंग लम्ब्याउन नै चाहिनन्। सन्दर्भलाई मोड्दै कफीको कपमा नजर डुबाइन्। सायद मेरा शब्दहरूले उनको मनको गहिराइ छुन सकेनन् वा उनले खोजेको उत्तर अर्कै थियो।
अमेरिकानो कलरको कुर्ता सुरूवालमा क्यापाचिनो कलरको शरीर चट्ट मिलेको छ। मिलेको मात्रै नभनौं धपक्क बलेको छ। सुन्दरताको बयान मलाई खासै गर्न आउँदैन। सुन्दरतासँग मेरो सम्बन्ध त्यति राम्रो पनि त कहाँ छ र? खोइ कुन जुगमा हाम्रो दुश्मनी भएको थियो। यसो कृत्रिम कुराहरू प्रयोग गरे नजिक ल्याउन खोज्छु तर कहिल्यै सकिन।
खैर सुन्दरतासँग दोस्ती नगर्नुको क्षति मैले जीवनमा के भोग्नुपरेको छ र? यस्तै यस्तै सोच्दै म उनको अनुहारमा घोरिएँ। आँखाको डिलमा सजिएको गाजलले सायद उनकै जस्तै कुनै गहिरो कथा बोकेको हुनुपर्छ।
क्याफे साँघुरो भएर होला एक दर्जन मानिस हुँदा नै पूरै भरिभराउ देखिन्छ। ठूलो भएर खाली हुनुभन्दा सानै भएर भरिभराउ हुँदा सुन्दर देखिँदो रहेछ। जीवनमा पनि साना साना कुरामा मन अडाउन सके खुसीले भरिन्थ्यो होला। कहाँ सकिन्छ र! बुद्ध बन्न। मान्छेको मन त कहिल्यै नअघाउने सागर जस्तै रहेछ, जति भरे पनि रित्तै देखिने।
उनी आफ्नो कफीको कपमा घोरिइरहेकी थिइन्, मानौँ त्यसको बाफभित्र कुनै अनन्त रहस्य लुकेको छ। म भने उनको अनुहारको भाव पढ्ने असफल प्रयास गरिरहेँ। सायद हामी दुवै आ-आफ्ना मौनताका पर्खालभित्र कैद थियौँ, जहाँ शब्दहरूले प्रवेश पाउने ठाउँ नै थिएन। बाहिर सडकको कोलाहल र भित्रको यो शान्तिको विरोधाभासले मलाई झन् बढी विचलित बनाइरहेको थियो।
साठीको दशकको सुरूआती दिनमा रेडियोको युग थियो। त्यतिबेला म रेडियोमा निकै गुन्जन्थेँ। रेडियोको आयातन फराकिलो हुँदै गएको त्यो समयमा मेरो स्वरले धेरैका कानमा बास पाएको थियो। त्यो आवाज केवल तरंग मात्र थिएन, मानिसहरूको भावनासँग जोडिएको एक अदृश्य धागो थियो। एकदिन रेडियो स्टेशन बाहिर एउटी युवतीले मलाई पर्खिरहेकी थिइन्, जसको आँखामा मेरो स्वरप्रतिको अगाध श्रद्धा र जिज्ञासा प्रस्ट झल्किन्थ्यो। मेरो कार्यक्रमका लागि भनेर उनले गजलले भरिएको डायरी मलाई दिएकी थिइन्। मैले केही नमिलेका उनका गजलहरु मिलाएर कार्यक्रममा बाचन गरेको थिए ।
त्यसपछि हाम्रो भेटघाटको सिलसिला बाक्लिँदै गयो। रेडियोका ती अदृश्य तरंगहरूले हामीलाई नजिक ल्याएका थिए। हामीले विभिन्न बहाना बनाएर भेट्न थाल्यौं। समयको वेगसँगै ती भेटहरू केवल संयोग रहेनन्, बरू जीवनका अपरिहार्य आवश्यकता बन्न पुगे। हामीले धेरै पारिसम्मका नयाँ नयाँ सपना देख्न थाल्यौं।
भविष्यका मिठा योजना बनाउन थाल्यौं। जीवनमा प्रेमका धुनहरू मिसाएर गुनगुनाउन थाल्यौं। उनीसँगको भेटघाट पश्चात एकाएक मेरो कार्यक्रममा बज्ने गीतको शैली बदलियो। समयको नदी एउटै गतिमा अगाडि बढिरहेको थियो। तर एकदिन एकाएक त्यो नदीको धार मोडियो। उनले जान्छु नभनेरै मबाट टाढा भइन्। अर्थात् उनी र म घण्टौं जोडिने फोन उनले सधैंका लागि बन्द गरिन्। एकातिर उनको फोन बन्द भयो अर्कातिर मेरो खुसी। म धेरै छट्पटाएँ। धेरै रोएँ। उनलाई कैयौं दुरदुरसम्म खोजेँ। रेडियोमा उनले मात्रै बुझ्ने गरी कैयौं तडपहरूलाई अभिव्यक्त गरेँ। तर कतै पत्तो पाइनँ। कतै उनको आवाज सुनिनँ। खोज्नु, रूनु अनि तड्पिनुको पनि सीमा हुँदो रहेछ। मैले सबै सीमा पार गरेर जिन्दगीलाई नयाँ ढंगले बाँच्नका लागि तयार बनाएँ।
पुराना स्मृतिहरूलाई थान्को लगाएर बाँच्न थालेको २० वर्षपछि अचानक काठमाडौं सुन्धारामा भेट भएको थियो हाम्रो। वसन्तपुर डबली भित्रको क्याफेलाई साक्षी राखेर हामीले विगतलाई मिठो तरिकाले सम्झियौं।
'अनि एकाएक तिम्रो फोन बन्द भयो र तिमी पनि हरायौ त'
जुन प्रश्न मेरा लागि नारायणहिटी दरबारको रहस्यभन्दा बढी पेचिलो थियो, त्यो प्रश्न मैले धेरै वर्षदेखि सोधौंला भनेर साँचेको थिएँ।
उनले लामो श्वास फेरिन् र मेरो आँखामा हेर्दै भनिन्, 'त्यो बेला मलाई रेडियोमा आफ्नो नाम र सृजना बजाउने ठूलो रहर थियो। तपाईंसँग मायाको बहाना बनाएर मैले मेरो रहर पूरा गरेँ। तपाईंसँग जीवनका नयाँ नयाँ रहर बनाउनु अगाडि नै मैले अरूसँगै त्यो सपना देखिसकेकी थिएँ।'
उनको कुराले म झसङ्ग भएँ।
मेरो प्रेम केवल एउटा भर्याङ मात्र रहेछ, जसलाई टेकेर उनी आफ्नो महत्वाकांक्षाको शिखर चढेकी थिइन्।
त्यो सत्य सुन्दा मेरो मुटुको ढुकढुकी केही क्षणका लागि थामिए जस्तो भयो। बाहिर बसन्तपुरको भीडमा मानिसहरू हतारिइरहेका थिए, तर मेरो समय भने उही २० वर्ष पुरानो विन्दुमा अडिएको थियो। मैले जसलाई जीवनको अर्थ सम्झेर समर्पण गरेको थिएँ, उनी त केवल एक कुशल खेलाडी रहिछन्।
'तपाईंका कुरा सुन्दा सम्बन्धको गहिराइमा धेरै डुबुल्की मार्नुभएको महसुस गरेर म टाढिएँ। जीवनमा आफ्नो रहर पूरा गर्नका लागि अरूको मनसँग खेल्ने घृणित कार्य गरेकोमा मलाई निकै पश्चाताप छ।'
उनको स्वीकारोक्तिले मलाई त्यति धेरै पीडा दिएन।
'जीवनमा कुनै समय यो मान्छे नभए बाँचिदैन जस्तो लाग्दोरहेछ तर पनि त्यो मान्छे नभए पनि बाँच्न सकिँदो रहेछ। केही दिन तिमीलाई सम्झिएँ तर सधैं सम्झिएर बाँच्न मनले मानेन। मैले मेरो जीवनको लय विस्तारै भेटाउँदै गएँ। लगभग पूरै बिर्सिएको अवस्थामा तिमीलाई भेटेँ' मैले मनको कुनामा कुनै कुरा नराखी शान्त भावमा भनें।
हामीसँग लामो समय गफिनका लागि समय थिएन। अनि शब्दहरू पनि त थिएनन्।
छुट्टिने बेलामा एउटा पुस्तक दिँदै भनिन्।
'यो गजल संग्रह तपाईंले आफ्नो कार्यक्रममा मेरा गजल वाचन गरेकै कारण उत्प्रेरित भएर मैले प्रकाशन गरेकी हुँ। केही पुरस्कार पनि पाएँ अनि यो चाहिँ चौथो संस्करण हो।'
'विमर्श' गजल संग्रह प्रकाशन गरेर उसले ख्याति समेत कमाइसकेकी रहिछ।
क्याफेबाट निस्कँदै गर्दा मेरो मोबाईल भाइब्रेट भइरहेको थियो। घरबाट छोराको फोन रहेछ, स्क्रिनमा लेखिएको थियो 'विमर्श आचार्य'