प्यारा छोराछोरी,
तिमीहरूले एसइई उत्तीर्ण गरेको खबरले हामीलाई अत्यन्तै हर्षित तुल्याएको छ। तिमीहरूको यो सफलतामा तिमीहरू र हामी मात्र होइन, हाम्रो पूरै नेपाली समाज नै प्रफुल्लित भएको छ। यस सुखद क्षणमा तिमीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना!
छोराछोरीहरू, हरेक खुसीले उपहारमा तिमीहरूलाई नवीन गन्तव्यको ताल्चा खोल्ने साँचो पनि साथै ल्याइदिएको हुन्छ। विगतमा झैँ यस पटक पनि त्यो साँचो तिमीहरूको हातमा पर्दै छ। त्यही साँचोले तिमीहरूको जीवनमा अर्को एउटा नयाँ सम्भावनाको ढोका उघार्ने छ। त्यसैको माध्यमबाट तिमीहरू कलेजको आँगनमा पाइला टेक्नेछौ; जहाँ कलेज, गुरुवर्ग, साथीसङ्गत र वातावरण सबै तिमीहरूका लागि नयाँ हुनेछन्।
नानीबाबुहरू, विद्यालय तिमीहरूका लागि एउटा नर्सरी थियो, जहाँ शिक्षक रूपी मालीले विद्यार्थी रूपी बिरुवालाई मलजल गरेर जोगाउनु हुन्थ्यो। तर कलेज भनेको नर्सरीमा हुर्किएका बिरुवालाई खुला मैदानमा सार्ने थलो हो। यहाँ आफू हुर्कन आफैँले आफ्नो मलजल गर्नुपर्छ। यो उद्यानमा देख्दा राम्रा तर खाँदा विषालु र देख्दा नराम्रा तर प्रयोग गर्दा बहुगुणी फलहरू पनि हुन्छन्। कुन वृक्षलाई कसरी प्रयोग गर्ने र कस्तो फल खाने भन्ने छनोट गर्ने जिम्मा अब तिमीहरूकै हो। सजग रहनू, नत्र एउटा भूलले तिमीहरूको पूरै भविष्यलाई बरबाद पारिदिन सक्छ। तसर्थ, निम्न कुरामा सोचविचार अघि बढ्नु।
साथीको छनोट
कलेजमा पुगेपछि सबैभन्दा पहिलो काम भनेकै उपयुक्त साथीहरूको छनोट गर्नु हो। साथीबिनाको कलेज एक्लो लाग्न सक्छ। अपरिचित मानिसलाई आफ्नो हितकारी साथी बनाउन आफैँमा सजिलो छैन। फेरि परिचय नै नगरी असल साथी छान्न पनि त सकिन्न। त्यसैले परिचय खण्डदेखि नै ऊ आफ्नो साथी बन्न योग्य छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ। ख्याल गर्नु नानीबाबुहरू! एक असल मित्रले सुखमा भन्दा ज्यादा दुःखमा साथ निभाउन खोज्छन्। खुसीमा रमाउने त हजार भेटिन्छन्। तिमीहरूलाई समस्या पर्दा सम्मुख भएर उभिन सक्ने मानिस नै तिमीहरूको असल मित्र हुन सक्छ।
असल मित्रले समस्याको गाँठो पार्दैनन्, बरु गाँठो फुकाउन लाग्छन्। अप्ठ्यारोबाट सजिलोतर्फ मोड्न सक्ने मानिसहरू नै असल मित्र हुन्। मित्र वा साथी छान्दा याद राख्नू, जसमा गोपनीयतालाई सुरक्षित राख्ने सामर्थ्य छैन। ऊ कदापि मित्र कहलाउन लायक हुन्न। साथी छान्दा समयमा विवेक पुर्याउन सकिएन भने जिन्दगी अस्ताउन लागेको सूर्यझैँ बन्छ, जसले अन्धकारबाहेक केही दिँदैन।
होसियार भएर सही साथी रोज्यौ भने जीवन उदाउँदो सूर्यझैँ देदीप्यमान हुनेछ। भनिन्छ नि ‘असल सङ्गतले नै सफलतालाई निर्धारण गर्छ।’ त्यसैले आफ्ना सारथिहरू छान्दा सधैँ सचेत रहनू। तिमीहरूको जीवनमा बाघ जस्ता हिंस्रक र स्याल जस्ता धूर्त साथीहरू भन्दा कुकुर जस्ता इमानदार साथीहरूको महत्त्व बढी हुन्छ।
लक्ष्य र आकर्षण
तिमीहरू अहिले युवा वयमा छौ। यो उमेरमा विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वाभाविक मानवीय कुरा हो। तर याद रहोस्, यो तिमीहरूको लक्ष्यको शिखर चुम्ने समय पनि हो। दुई वटा नाउमा खुट्टा राखेर नदी पार गर्न सकिँदैन। मलाई विश्वास छ, तिमीहरूले बिजुलीको उज्यालो निभाएर टुकी बाल्ने दुस्साहस गर्ने छैनौ। मुख्य लक्ष्य पूरा भएपछि तिमीहरूका सहायक लक्ष्यहरू स्वतः पूरा हुँदै जानेछन्।
कुलतबाट सावधानी
नयाँ कुरा सिक्ने र प्रयोग गर्ने रहर हुनु मान्छेको राम्रो गुण हो। तर यही रहरको आवरणमा कतिपय साथीहरूले तिमीहरूलाई नजानिँदो तरिकाले कुलतमा फसाउन सक्छन्। उनीहरूलाई बेलैमा चिन्न सकिएन भने कुलतको दलदलमा फसिन सक्छ। प्रायः एकान्तमा बस्न रुचाउने, बिना कारण साथीहरूमाझ झर्किने, अध्ययनमा ध्यान नदिने र फजुल खर्चमा उक्साइरहने साथीहरूसँग सचेत रहनू। उनीहरूले ‘आज एक दिन त हो नि’ भन्दै दुर्व्यसनको पासोमा पार्न सक्छन्।
यस्ता बहकाउमा लाग्यौ भने त्यहाँबाट फर्कन कठिन हुन्छ। गुरु, अभिभावक र सच्चा मित्रहरूको सल्लाहलाई आत्मसात् गर्दै कुलततर्फ उन्मुख गराउनेहरूको अनुरोधलाई अस्वीकार गर्नु बुद्धिमानी ठहरिन्छ। अन्धाधुन्ध कसैलाई आफ्नो जीवनको नजिक ल्याउनु भनेको खतरा निम्त्याउनु हो।
प्रविधिको सदुपयोग
मोबाइल र ल्यापटप आजका अनिवार्य आवश्यकता हुन्। यी भित्र अमृत पनि छन् र विष पनि। यसको सही प्रयोगले जीवनलाई सगरमाथाको उचाइसम्म पुर्याउँछ भने गलत प्रयोगले ओरालो यात्रा गराउँछ। प्रविधिलाई आफ्नो लक्ष्य प्राप्तिको साधन बनाउनू, कदापि यसको दास नबन्नू। अन्यथा, थाहै नपाई यसले तिमीहरूको समय र भविष्य सखाप पारिदिनेछ। याद राख्नू, गोहीको मुखमा परेपछि उम्कन सहज हुन्न।
परिणामको लागि धैर्यता
मेहनत गर्नु एउटा पक्ष हो, तर सधैँ मेहनत अनुसारकै परिणाम आउँछ भन्ने हुँदैन। कहिलेकाहीँ आफूलाई 'धेरै राम्रो गरेको छु' भन्ने लाग्छ, तर परीक्षकको नजरमा त्यो पर्याप्त नहुन सक्छ। हार्न तयार हुनेहरू नै जितको पङ्क्तिमा उभिन्छन्। प्रतियोगितामा भाग लिनु भनेको पनि हार स्वीकार गरेर जित्न तयार हुनु हो। यो सत्यलाई कहिल्यै नभुल्नू। याद राख, जीवन यात्रालाई सधैँ जितले मात्र सिकाउँछ भन्ने हुन्न, कहिलेकाहीँ हारबाट पनि सिक्नुपर्छ। वास्तवमा हार पनि जितकै एउटा अभिन्न अङ्ग न हो। सत्य यही हो, हारसँग नडराउने मान्छेले नै जित्ने सामर्थ्य राख्छ।
अर्थ व्यवस्थापन
जीवनको एउटा सुन्दर पाटो 'ज्ञान' हो भने अर्को उज्यालो पाटो 'अर्थ' (धन) हो। अर्थको अभावमा ज्ञान र ज्ञानको अभावमा अर्थ अधुरो रहन्छ। अर्थ व्यवस्थापन पनि जीवनको एउटा सुन्दर कला हो, जुन कलाको अभावमा जीवन फिक्का हुन्छ। जीवनयात्रामा आर्थिक अभाव भयो भन्दैमा कहिल्यै नआत्तिनू, किनकि अभावमा सहयोग लिन वा पुनः आर्जन गर्न सकिन्छ तर ज्ञान आर्जन गर्ने समय घर्कियो भने त्यो फर्कँदैन।
खर्च गर्दा सधैँ विचार गर्नू, यो तिमीहरूको 'आवश्यकता' हो कि 'विलासिता'? विलासितारूपी महले जीवनरूपी माखोलाई यसरी डुबाउँछ कि ऊ पुनः पखेटा फिँजाएर उड्न सक्दैन। त्यसैले तिमीहरू कहिल्यै महको माखो नबन्नु, बरु सिर्जनाको मुहान बन्नू। सम्झनू महाकविका भनाइलाई,
‘हातका मैला सुनका थैला के गर्नु धनले,
साग सिस्नु खाएको बेस आनन्द मनले।’
स्वदेश प्रेम र सिर्जना
आज धेरै युवाहरू अवसरको खोजीमा देश त्याग्ने मनोदशाले ग्रस्त छन्। तर यदि सबैले देश त्याग्ने हो भने यो देश बनाउने जिम्मेवारी कसले लिने? राज्यको लगानी र माटोको ऋण बिर्सेर केवल व्यक्तिगत सुखमा अल्झिनु हुँदैन। तिमीहरू यही माटोमा केही गर्न सक्ने सक्षम नागरिक बन्नू। नानीबाबु! देशलाई नागरिक चाहिन्छ, जसरी नागरिकलाई देश चाहिन्छ।
स्वास्थ्य र जिज्ञासा
सफलताको दौडमा आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्न नभुल्नू। तिमीहरू सफल हुनुभन्दा हाम्रा लागि तिमीहरू स्वस्थ र खुसी रहनु धेरै महत्त्वपूर्ण छ। साथै, जीवनमा कहिल्यै 'अन्धभक्त' नबन्नू। कुनै पनि कुरालाई स्वीकार गर्नुअघि 'के, किन र कसरी' भनेर प्रश्न गर्नू। जिज्ञासा र तर्कले नै मान्छेलाई भीडभन्दा अलग र बौद्धिक बनाउँछ। जिज्ञासाविहीन मानिसहरूको शरीर त बाँच्ला तर सार्थक जीवन बाँच्न सक्दैन।
हाम्रो चाहना र तिमीहरूको गन्तव्य
हामी हाम्रा अधुरा सपना तिमीहरूले पूरा गर्नुपर्छ भन्ने चाहनाको भारी बोकाउन चाहँदैनौँ। तिमीहरू हाम्रा अधुरा चाहना पूरा गर्ने साधन होइनौ, हुँदै होइनौ। तिमीहरू त आफ्ना रहरहरू पूरा गर्ने एउटा अमूल्य निधि हौ। तिमीहरूको लक्ष्य यस्तो होस्, जसले तिमीहरूलाई मात्र होइन, पूरै मानव जातिको हित गर्न सकोस्। तिमीहरूले आफ्नो जीवनलाई अरूले बाटो खनेपछि मात्र गुड्न सक्ने महँगो कार नबनाउनू, बरु आफ्नो बाटो आफैँ खन्ने शक्तिशाली 'डोजर' बनाउनू।
अन्त्यमा, छोराछोरीहरू! तिमीहरूले यस्तो काम गर्नु, जो संसारको सामु निर्धक्क गर्न सकियोस्। लुकेर गर्नुपर्ने कामबाट सधैँ सजग रहनू। कतै बाटो अलमलियौ भने सम्झनू, तिमीहरूका बाबुआमा र गुरुहरू सधैँ तिमीहरूका सारथिका रूपमा साथमै हुनेछौँ।
छैन नि केही हाम्रो नि अब महान् उद्देश्य,
माथिका कुरा मनन गरी बनाउनू भविष्य।
तिमीहरूको उज्ज्वल भविष्यको कामना गर्ने,
उही तिमीहरूकै बाबाआमा।