म भर्खरै स्नातक तह उत्तीर्ण गरेर उच्च शिक्षाका लागि विदेश जाने तयारीमा थिएँ। बागलुङको एउटा सामान्य परिवारमा मेरो जन्म भएको थियो। घर बागलुङ भए तापनि काठमाडौँमा बसोबास गरेको झन्डै २३ वर्ष भइसकेछ। म जन्मेकै वर्ष बाबा-मामु बागलुङ छोडेर काठमाडौँ आउनुभएको रहेछ। सानैदेखि यतै हुर्किएकाले होला, मलाई बागलुङको रहनसहन र बोलीचाली केही पनि आएन। दसैँ-तिहारमा मात्र बागलुङ जाने गरिन्थ्यो।
मैले ‘अब म उच्च शिक्षाका लागि र अलिअलि पैसा कमाउन विदेश जान्छु’ भन्दा घरबाट सधैँ रोक्ने प्रयास हुन्थ्यो। बाबा-मामु भन्नुहुन्थ्यो, ‘बाहिर गएर भाँडा माझ्न किन जानू पर्यो?’
त्यसमाथि बाबा लोक सेवा आयोगमा अधिकृत हुनुहुन्थ्यो। बाबा र मामुले सधैँ मलाई लोक सेवा पढ्नुपर्छ र नाम निकालेपछि मात्र भविष्य बन्छ भनिरहनु हुन्थ्यो। तर मलाई नेपालमा भन्दा विदेशकै बढी रुचि थियो— त्यहाँको शिक्षा, व्यवस्थापन र प्रणालीका कारण।
शनिबारको दिन थियो, म घरमा यत्तिकै किताब पढ्दै बसिरहेको थिएँ। म सानैदेखि उपन्यासहरू पढ्न र पढेका किताबहरूलाई सम्हालेर राख्न खुब मन पराउँथेँ। अहिले पनि मेरो त्यो बानी कायमै छ।
दिउँसोको करिब १ बजेतिर मेरो फोन बज्यो। नचिनेको नम्बर भएकाले उठाऊँ कि नउठाऊँ भनी मनमा कुरा खेल्दाखेल्दै फोन काटियो। ५ मिनेटपछि फेरि फोन आयो र यस पटक भने म उठाउन बाध्य भएँ। लाग्यो, केही आपत्कालीन काम होला।
त्यो फोन लोक सेवा आयोगबाट आएको रहेछ। बाबाले मलाई लोक सेवाको परीक्षामा निरीक्षकको भूमिका निभाउन नाम टिपाइदिनु भएको रहेछ। फोनमा कुरा गर्दै गर्दा उताबाट भनियो, ‘हजुर जहाँ हुनुहुन्छ, छिट्टै कार्यालयमा आइपुग्नुहोला।’
त्यो फोन आएपछि म हतार-हतार कार्यालयतिर लागेँ। म कलंकीमा बस्थेँ। कलंकीबाट अनामनगर आइपुग्न लोकल गाडीमा करिब १ घण्टा जति लाग्ने गर्थ्यो, तर त्यो दिन भने डेढ घण्टा लगाइदियो। म हतारिँदै कार्यालय त पुगेँ तर परीक्षा आधा घण्टा अगाडि नै सुरु भइसकेको रहेछ।
लोक सेवा आयोगको परीक्षामा निरीक्षकका रूपमा बस्न लागेको मेरो यो पहिलो पटक थियो। मनमा डर र कस्तो होला भन्ने अनेकौँ प्रश्नहरू खेलिरहेका थिए। हस्याङफस्याङ गर्दै म अफिसमा छिर्ने बित्तिकै त्यहाँका एकजना सरले मलाई भन्नुभयो, ‘कक्षामा लगिदिन्छु, आउनुस्।’ उहाँले कक्षाको ढोका अगाडिसम्म पुर्याइदिएर ‘यही कक्षा हो हजुरको’ भन्दै छोडिदिनुभयो। मनमा डर अझै बढेको महसुस भयो र म बिस्तारै कक्षाभित्र पसेँ।
कक्षाभित्र पस्ने बित्तिकै मैले बैजनी रङको टिसर्ट र निलो जिन्स लगाएकी एक युवती उभिरहेकी देखेँ। म उनी भएतिर गएँ। हतारमा भएकाले मैले सुरुमै भनिहालेँ, ‘मेरो निरीक्षक बस्न आएको यो पहिलो पटक हो।’
उनी मुस्कुराइन् र मधुरो आवाजमा भनिन्, ‘ए हो र! त्यसैले ढिला आउनुभएको हो कि क्या हो?’
मैले पनि मुस्कुराउँदै सबै कुरा बेलिबिस्तार लगाएँ कसरी ढिला भयो भनेर। उनी र म गरेर हामी दुई जना निरीक्षक त्यही एउटै कक्षामा रहेछौँ। त्यसपछि उनले मलाई हाजिर कसरी गर्ने र निरीक्षक बस्दा के-कस्ता कर्तव्यहरू पूरा गर्नुपर्छ भन्ने कुरा सिकाउन थालिन्। परीक्षा ३ घण्टाको थियो। १ घण्टा बितिसकेको थियो र बाँकी २ घण्टा चुपचाप बसेर नै बिताइयो।
त्यो २ घण्टामा मैले उनलाई नजिकबाट नियाल्ने मौका पाएँ। २३ वर्षको उमेरसम्म आइपुग्दा म कुनै पनि युवतीप्रति यसरी आकर्षित भएको थिइनँ, तर उनी मलाई अलिक फरक लागिन्। उनका ठुला-ठुला आँखा, मिलेका परेला, लोभलाग्दो मुस्कान, हल्का चुच्चो परेको नाक, मिलेको जीउडाल र मुस्कुराइरहेको त्यो अनुहार! साँच्चै नै, यति सुन्दर युवती मैले आजसम्म देखेको थिइनँ। परीक्षा हलमा उभिएको त थिएँ, तर मेरो ध्यान केवल उनीतिरै केन्द्रित थियो। उनकै बारेमा सोच्दै गर्दा कति बेला २ घण्टा बित्यो, पत्तै भएन।
अन्तिम घण्टी बज्दा म झसंग भएँ। उनले मलाई भनिन्, ‘कापीहरू मिलाउन सहयोग गर्नुस् न।’
हामी दुवैले मिलेर कापी मिलायौँ र कार्यालयबाट बिदा भयौँ।
कार्यालयबाट निस्किँदै गर्दा मलाई उनीसँग अझै कुरा गर्न मन थियो, त्यसैले उनीसँगै हिँड्ने निर्णय गरेँ। उनी ललितपुरमा बस्ने रहिछिन् र अनामनगरबाट हिँड्दै रत्नपार्कसम्म जान लागेकी रहिछिन्। म कलंकी बस्थेँ र त्यो दिन बाबाले ‘म लिन आउँछु, त्यहीँ बस्नु’ भन्नुभएको थियो। तर उनकै साथ पाउन मैले रत्नपार्कसम्म सँगै हिँड्ने निधो गरेँ।
बाटोमा कुरा गर्दै जाँदा थाहा भयो, उनले पनि भर्खरै स्नातक तह उत्तीर्ण गरेकी रहिछिन्। अहिले कुनै काम नभएकाले लोक सेवामा निरीक्षक बस्दा अलिअलि गोजी खर्च पनि हुने र समय पनि बित्ने भएकाले जोडिएकी रहिछिन्। स्नातक तह पास भएका सबै विद्यार्थीहरूलाई अब यही नेपालमै केही गर्ने कि बाहिर जाने भन्ने कुरामा सबैलाई सुविधा रहेछ। उनीसँग बोल्दा बोलिरहन मन लाग्ने, बाटो अझै लम्बिए हुन्थ्यो जस्तो लाग्ने!
कुरा गर्दागर्दै रत्नपार्क आइपुग्यो। उनले ‘राम्रोसँग जानुस् हजुर’ भन्दै मुस्कानका साथ बिदा मागिन्।
अब म भने बाबालाई फोन गरेर ‘म रत्नपार्क आएको छु, यहीँ लिन आउनुहोला’ भन्दै कुरेर बसेँ। उनी त बिदा भएर गइन्, तर उनका यादहरूले मलाई छोडेनन्।
घर फर्किँदै गर्दा बाबाले सोध्नुभयो, ‘कस्तो भयो त आजको दिन?’
मलाई सुरुमा उनकै याद आयो। मैले भनेँ, ‘अँ राम्रो भयो बाबा, धेरै कुरा सिक्न पाएँ।’
वास्तवमा बाबाले मलाई निरीक्षकका रूपमा खटाउनुको पछाडि एउटा उद्देश्य थियो। म निरीक्षक बसेँ भने लोक सेवाको परीक्षा दिन आउनेहरूलाई देखेर मलाई पनि पढ्ने इच्छा जाग्नेछ र विदेश जाने कुरा छोड्नेछु भन्ने बाबालाई ठुलो आशा थियो। तर आज ठ्याक्कै उल्टो भयो। उनीहरूले लिएको तनाव र यो पटक चाहिँ नाम निस्किन्छ कि भन्ने आशामा दिएको परीक्षा देखेर मलाई झन् नराम्रो लाग्यो।
घर पुगेर खाना खाएपछि पनि उनकै झल्को मात्र आइरह्यो। एक्कासि मनमा एउटा प्रश्न उठ्यो— भोलि पनि त्यही कक्षामा ड्युटी पर्छ होला कि परिवर्तन हुन्छ होला? मैले उनको फोन नम्बर पनि मागेको थिइनँ। भोलि कतै अर्को कोठामा ड्युटी पर्यो भने उनीसँग कसरी संवाद अगाडि बढाउने? मलाई केही थाहा थिएन।
भोलिपल्ट बिहानै खाना खाएर म कार्यालयका लागि निस्किएँ। परीक्षा २ बजेदेखि भए तापनि १ बजे नै पुग्नुपर्ने नियम रहेछ। त्यसैले म १ बजे नै पुगेँ। म कार्यालय पुग्दा कोही पनि आएका थिएनन्, त्यसैले म चिया खान बाहिर निस्किएँ। मेरो मनमा ‘आज उनीसँग भेट हुन्छ कि हुन्न होला?’ भन्ने प्रश्न खेलिरहेको थियो।
म चियाको चुस्की लिइरहेको थिएँ, एक्कासि बाहिरबाट आवाज आयो, ‘प्रदीप सर, जाने होइन?’
मैले फर्किएर हेरेँ— उनी नै रहिछिन्! मलाई खुसी लाग्यो। हिजोभन्दा आज उनी अझ धेरै सुन्दरी देखिएकी थिइन्। गुलाबी सर्ट, कालो पाइन्ट र थोरै हिल भएको जुत्तामा उनी निकै सुहाएकी थिइन्। मैले हतार-हतार भनेँ, ‘अँ जाने मिस, एकछिन कुर्नुस् है त।’
चियाको पैसा तिरेर म उनीसँगै कार्यालयभित्र छिरेँ। उनलाई सोध्दा ‘आज पनि हिजोकै कक्षामा हाम्रो ड्युटी छ’ भन्ने सुन्दा मेरो खुसीको ठेगान नै रहेन।
परीक्षाको समयमा उनीसँग बोल्न खासै मिल्दैनथ्यो। त्यसैले परीक्षा सकिएपछि ‘एकछिन चिया खाएर जाऔँ है’ भनेर प्रस्ताव राख्छु भन्ने सोचिरहेको थिएँ। ३ घण्टाको परीक्षा सकियो। हामी कार्यालयबाट बाहिर निस्किँदा उनले भनिन्, ‘आज मलाई अलि हतार छ सर, त्यसैले म यहीँबाट इनड्राइभ गरेर जान्छु है त।’
मैले सोचेका सबै कुराहरू त्यहीँ टुक्रिएको महसुस भयो। तर मैले हिम्मत हारिनँ। बिस्तारै नरम बोलीमा भनेँ, ‘तिमीसँग भेटेर धेरै खुसी लाग्यो। अझै भेट हुन्छ भन्ने आशा बोकेको छु। कुराकानी भइरहनका लागि मलाई ह्वाट्सएपमा तिमीसँग जोडिन मन छ, नम्बर दिन्छौ मलाई?’
उनी मुस्कुराइन् र भनिन्, ‘अँ भइहाल्छ नि, टिप्नुस् त।’
उनले नम्बर दिइन् र मबाट बिदा भएर गइन्।
बेलुका घर पुगेर मैले उनलाई ह्वाट्सएपमा मेसेज गरेँ, ‘राम्रोसँग पुग्यौ?’
उनले करिब १ घण्टापछि मेसेजको जवाफ दिइन्, ‘अँ, राम्रोसँग पुगेँ।’
म सामाजिक सञ्जालमा खासै सक्रिय हुन्नथेँ, त्यसैले मेरो कुनै पनि प्रोफाइलमा फोटोहरू थिएनन्। तर उनी भने सबैतिर निकै सक्रिय रहिछिन्। उनको प्रोफाइल हेर्नकै लागि भए पनि मैले सबैतिर आफ्ना निष्क्रिय एकाउन्टहरू ब्युँताएँ र उनलाई खोजेर उनको आइडी हेरेँ।
उनको प्रोफाइल नियाल्दा मलाई उनी झन् सुन्दर र गुणले भरिपूर्ण जस्ती लागिन्। नाच्न, गाउन र बोल्नमा मात्र होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा त उनी एउटी खेलाडी पनि रहिछिन्! यता म केही नजान्ने, उता उनी हरेक कुरामा पोख्त! मलाई आफ्नै अवस्था देखेर मनमनै हाँसो उठिरहेको थियो।
यो उमेरसम्म आइपुग्दा मलाई यत्तिको राम्री र हरेक क्षेत्रमा अगाडि बढेकी कोही पनि लागेको थिएन। मलाई प्रेमको परिभाषा त खासै थाहा थिएन, तर उनीसँग आत्मीयता बढाउन मन भित्रैदेखि आतुर थियो।
बिस्तारै हामी मेसेजमै भए पनि एक-अर्काका बारेमा कुराहरू बुझ्दै जान थाल्यौँ।
मेरो मनमा ‘अब उनीसँग अर्को भेट कहिले होला?’ भन्ने प्रश्न मात्र खेलिरहेको हुन्थ्यो। त्यत्तिकैमा एकदिन फोनमा मेसेजको घण्टी बज्यो। उनले लेखेकी रहिछिन्— उनी अबको ६ महिनाका लागि कामको सिलसिलामा ताप्लेजुङ जानु पर्ने भएको छ।
त्यो मेसेज देख्ने बित्तिकै मेरो मन खिन्न भयो। अब उनीसँग ६ महिनासम्म भेट हुन पाउनेछैन भन्ने कुराले मनमा चसक्क बिझायो।
यता म पनि अस्ट्रेलिया जाने तयारीमा जुट्न थालेँ। त्यति बेला भिसा रिजेक्सनको दर निकै उच्च भएकाले मनमा कतै भिसा रिजेक्ट त हुने होइन भन्ने डर पनि उत्तिकै थियो। घरमा बाबालाई मेरो यो तयारीबारे केही थाहा थिएन, तर मामुले भने आवश्यक कागजातहरू मिलाउन मलाई भित्रभित्रै सघाइरहनु भएको थियो।
अचेल पनि मेरो आँखाअगाडि उनकै तस्बिर आइरहन्छ र उनकै यादहरूले सताइराख्छ। उनलाई सम्झिँदा मेरो अनुहारमा एउटा छुट्टै चमक र मन्द मुस्कान आउँथ्यो। मेरो यो सुर ताल देखेर मामुले सोध्नुहुन्थ्यो, ‘के भयो तँलाई? किन एक्लै मुस्कुराइरहेको छस्?’ मामुले सोधेपछि मात्र मलाई मेरो अनुहारको भाव यति छिट्टै परिवर्तन भइसकेछ भन्ने महसुस हुन्थ्यो।
अहिले मेरो मनमा अनेकौँ प्रश्नहरूले सताइरहेका छन्:
के अब उनीसँग फेरि भेट होला त?
भेट भए पनि कहिले होला?
के म मेरो मनमा लागेका यी भावनाहरू उनीसामु प्रस्टसँग भन्न सकुँला?
अनि मेरो कुरा सुनेर उनले मेरो बारेमा के सोच्छिन् होला?
यिनै अनुत्तरित प्रश्नहरूको भुमरीमा मेरो मन अल्झिरहेको छ।