गढैया पोखरीमा पञ्चैबाजासहित रथ परिक्रमा गर्ने पर्वसँग मेरो जीवनकहानीको एक महत्वपूर्ण पक्ष जोडिएको छ। सानो चिकन लिट्टी पसल चलाएर समय काट्दै अहिले तन्किँदै गरेका रहरहरू पनि त्यही विगतसँग जोडिएर आउँछन्।
म सानै हुँदा आमाको उमेर उहाँको खास उमेरभन्दा २० वर्ष पाको देखिन्थ्यो। तर मलाई उहाँको खास उमेर पत्ता लगाउन चाहिँ निकै सकस परेको हो।
म उहाँलाई कति वर्षको हुनुभयो आमा भनेर सोध्ने गर्थेँ। उहाँ गढैया पोखरीमा पञ्चैबाजासहित रथ परिक्रमा गर्न थालेको वर्ष जन्मिएकी हुँ रे। साल त थाहा भएन भन्नु हुन्थ्यो।
म बाबालाई कति वर्ष पहिले गढैया पोखरीमा रथ परिक्रमा गरेको हो भनेर प्रश्न तेर्स्याउँथेँ। उहाँलाई पनि त्यो समय यकिन हुन्न थियो। अनि त्यही प्रश्न बोकेर हजुरबासम्म पुगेकी थिएँ। उहाँले पनि त स्पष्ट जवाफ दिन सक्नु हुन्नथ्यो। अनि म आमासँग जिद्दी गरेर आफैँ गढैया ताल घुम्न गएकी थिएँ। त्यहाँ मेरो नजरले उ बेलाको शिलालेख खोजिरह्यो।
वरपर नियालेर हेरिरहँदा अलिक एकान्तमा अक्षरहरू पुछिन लागेको स्तम्भ देखियो। मैले त्यहीँ नियालेर हेरेँ। त्यहाँ ‘२०१५ सालमा आम नागरिकबाट सम्मानपूर्वक पञ्चे बाजासहित परिक्रमा गर्ने असल कार्यको थालनी गरियो।’ भनेर लेखिएको थियो। अनि हरेक बाह्र वर्षमा गढैया ताल र तालको परिक्रमा गरिने योजना त्यहीँ नै लेखिएको थियो। यसरी शिलापत्रमा नै लेखिएर अकाट्य बनेको परम्परा रहेछ।
त्यसयता मैले जानेदेखि नै हरेक १२ वर्षमा अझै यो उल्लासमय शृङ्खला चल्दै आएको छ। समय समयमा मैले पनि आफूलाई कुनै न कुनै बहानामा उपस्थित भई परिक्रमामा संलग्न गराउने अवसर जुटाउँदै आएकी छु। पोखरीको परिक्रमामा रमाउँदा साँच्चै कस्तो आनन्द र सुन्दर कल्पनाको झङ्कार हुने गर्छ मलाई। सबै भक्तहरू आपसमा बल गरेर रथ तान्छन्। पञ्चेबाजाको धुनले आकाश नै गुञ्जायमान हुन्छ। ‘जय माताजी, जय हनुमानजी, जय शिव शम्भो र जय जगतनायक नारायण’ भनेको कर्तल ध्वनि होहल्ला र भीडबाट निस्किएर आकाशमार्गबाट सिधै देवधामतिर पुग्दैछ भन्ने अनुभूति हुने गर्थ्यो मलाई। यस्तो उल्लासमय स्थानमा पुग्दा उस्तै लाग्छ अहिले पनि।
सात वर्ष पहिलेको कुरा हुनुपर्छ। त्यो वर्ष पनि १२ वर्षे मेला थियो। मेरा सहेलीहरूसँग सल्लाह गरेरै हामी गढैया पोखरीमा पञ्चैबाजासहित रथ परिक्रमा कार्यक्रममा सामेल हुने निधो गरेका थियौँ। सहेलीहरूका लागि त त्यो वर्ष पनि परिक्रमाको रमाइलो मात्र भयो होला। तर यो वर्षको रथ परिक्रमा मेरा लागि चाहिँ सिङ्गो जीवनकै अर्को घुम्तीको कारण बन्न पुग्यो।
मैले त्यहीँ हो उनलाई देखेको। रथको डोरी तान्ने क्रममा चिप्लिएर म झण्डै भुइँमा लडेकी थिएँ। नजिकै रहेका उनले मलाई च्याप्प समाएर जमिनमा लोट्नबाट बचाएका थिए। त्यो बेला म जमिनमा ढलेकी भए भीडमा किचिएर अचार हुन्थेँ भन्ने सोच्दा अहिले पनि आङ सिरिङ्ङ हुन्छ। त्यो भीडमा मेरा सहेलीहरू कता पुगे कता।
भीडमा भएको त्यो भयानक दुर्घटनाको समयमा त कसैको पनि याद नआउने रहेछ। मेरो होसहवास उडेको थियो। उठ्न मात्र सक्ने पनि तागत नै थिएन। शिथिल भएकी म यतिबेला भने उनैको काखमा पसिना पसिना भएर लोटेकी थिएँ। जब मैले आफू अर्काको काखमा छु भन्ने थाहा पाएँ अनि हतारहतार समालिएर उठ्न खोजेँ। उनले पनि अप्ठ्यारो मानिरहेका हुन सक्छन्, मलाई छोडिदिएँ।
त्यतिबेला म मेरी आमाको काखमा भइदिएको भए सुक्क-सुक्क गर्दै आँखा पुछी मागिरहेकी हुन्थेँ हुँला। अथवा मेरी आमाले पक्का पनि कपाल मुसार्दै ‘धन्न बच्यौ मेरी छुनुमुनु’ भन्नु हुन्थ्यो होला। आखिर जीवन त यस्तै अनेक दुर्घटनाहरूबाट जोगिँदै अहिलेसम्म बाँचेको त हुने रहेछ नि।
त्यसैले भगवानले मलाई यो दुर्घटनाबाट बचाउन मेरो रक्षक पठाइदिएको जस्तो लाग्यो। भगवानको योजनाअनुसार नै त्यसो भएको हुनसक्छ नि त। मलाई जमिनमा लोट्नबाट बचाउने व्यक्तिलाई नै मेरो जीवनको माली भनेर तोकी पठाएको हुनसक्छ भन्ने लाग्न थाल्यो। यसपछि मलाई उनको खोजी गर्न मन लाग्यो। त्यस्तो भीडमा अझ आफू अप्ठ्यारो परेको समयमा छोटो समयका लागि भेटिएको अनजान व्यक्तिको खोजी कहाँ सजिलो हुँदो रहेछ र?
मैले मेरो जीवन बचाउने ती देवदूतको निकै खोजी गरेँ। गाउँमा जाँदा होस् वा शहरमा जाँदा होस् मेरो ध्यान उनकै आकृतिको प्रतीक्षामा रहने। उस्तै अनुहार भएको कोही देख्दा झल्को आउने।
एकदिन अनायास इदगाह चोकमा फलफूल बेचिरहेको कसैलाई उनी जस्तै लाग्यो। म फलफूल किन्ने बहाना बनाएर टोकरीमा फलफूल बेचिरहेको उनको नजिकै पुगेँ। मेरो ध्यान त उनको अनुहारमा थियो। खासमा भन्ने हो भने मैले अनुहार नै कति याद गरेकी थिए होला र? तैपनि देखेँ भने पक्कै पनि ठम्याउन सक्ने हिम्मत हारेकी थिइनँ। हाम्रो आँखा चार भयो। मैले त उनलाई चिनिहालेँ। खुसीले एक्कासि मेरो मन लट्टाइ छाडेको चङ्गा जस्तै भयो। अनि श्रद्धाले मेरो तन चाहिँ लुलो भयो। उनलाई झुकेर प्रणाम गर्न मन लाग्यो। मैले आफ्नो झुकेको माथलाई उचो गर्न नै सकिनँ। एकछिन त्यत्तिकै टोलाउन पुगेँछु। चारैतिर मान्छेहरू हिँडिरहेका थिए।
विस्तारै शिर उठाएर हेरेँ। उनी पनि मलाई नै नियालिरहेका थिए। उनलाई पनि अचम्म पार्ने गरी मैले के गरेकी हुँली यस्तो भनेर आफैँप्रति लज्जाबोध भयो।
मैले आफ्नो मनलाई जेनतेन सम्हालेँ। उनले आफूलाई बचाएर नयाँ जीवनदान दिएकोमा दिलैदेखि कृतज्ञता प्रकट गरेँ। जीवन के रहेछ र धन्य मेरो भगवान् भन्दा नभन्दै दुई थोपा आँसु खसिसकेछन्। उनले पुछिदिँदै हाम्रो त्यो भेट संयोग मात्र हो भनेर थपथपाए। त्यसपछि म त्यहाँ टिक्नै सकिन र अलिक पर दौडिएँ।
मनले फेरि उनकै नजिकै जाउँ जाउँ लागिरह्यो। उतै फर्किएर उनलाई हेरेँ। उनी पनि मलाई नै हेरिरहेका थिए। सायद यो आपसमा भावनाको लगनगाँठो कसिएको सङ्केत हुनुपर्छ। यसपछि हामी नजिक हुन थाल्यौँ।
मेरो घरमा ‘छोरी हुर्किसकी अब विवाह गर्नु पर्छ’ भन्ने चर्चा चलेको दुई वर्ष भइसकेको थियो। मैले आँट गरेर उनैसँग मेरो विवाह होस् भनेर मनको आवाज सुनाउन सकिनँ। अरकच्च परेकी मलाई उनकै साथको आवश्यकता अनुभूति भयो।
एकदिन आँट गरेर घरमा माग्न आउन अनुरोध गरेँ। नभन्दै उनको परिवार मगनीमा आयो। मैले त मन समर्पण गरिसकेकै थिएँ। औपचारिकता दिन मात्र बाँकी थियो हाम्रा लागि। परिस्थिति हामी दुवैको अनुकूल बनेर आयो। अर्थात् हाम्रो बिहेवारीको कुरा मात्र चलेन छिनोफानो भइहाल्यो।
हाम्रो कुरा छिनेको दिन म आनन्दले विभोर भएकी थिएँ। सायद भगवानले खटाएकै मालीका लागि फूल हुन पाएकोमा मलाई यति आनन्द लागेको होला। अब हाम्रो दाम्पत्य जीवनको सहयात्रा प्रारम्भ भयो। जीवनका सुखदुःख आपसमा बाँडेर भोगचलन गर्ने साझा प्रयत्न हाम्रो अभीष्ट थियो। घरको अवस्था धेरै राम्रो थिएन। त्यसैले पैत्रिक जग्गाजमिनको भर गरेर गुजारा गर्न कठिन देखियो। दिन प्रतिदिन हाम्रा आवश्यकता र परिवारको व्यवस्थापनका बीचमा तालमेल नमिले जस्तो हुँदै आयो। यही बहानामा खटपट होला र परिवारको अन्तरसम्बन्ध भत्किएला भन्ने मलाई डर लाग्न थाल्यो।
मैले नै उनलाई सुझाएँ। ‘अब हामी आफ्नैँ व्यवसाय गरेर पेट पाल्न थालौँ। चाहिएका बखत घर चलाउन बचेको खर्च पनि पठाउने गरौँ। यसो गरेमा हामी परिवारको भरोसा बन्न सक्छौँ र हाम्रो अलग्गै जीवन निर्वाह गर्ने बानी पनि बस्दै जान्छ।’
मेरो कुराले उनको मन छोएछ क्यारे। एकछिन गमेर हुन्छ नि त त्यसै गरौँ भने। बरू के उद्यम गर्ने भन्नेमा लामो मन्थन भयो। लिची खेती गर्ने कि, गाईपालन गर्ने कि, कुखुरा पाल्ने कि अथवा खसीबाख्रा पाल्ने? सानो पसल चलाउने कि, बजारबाट खरिद गरी फलफूल पसल गर्ने कि अथवा सानो चिया पसल थाल्ने?
हामीसँग लगानी गर्ने पैसा नै थिएन। साहूकहाँ मागेर चलाउन पनि त उनले पत्याउनु पर्यो। फेरि धेरै ठूलो रकम त ब्याज तिर्नै हम्मे-हम्मे पर्ला नि। यस्तै मन्थन गरेर अन्तिममा कम लगानीमा गर्न सकिने चिकन लिट्टी पसल थाल्ने निधो भयो। लगानी पनि धेरै नचाहिने चिया र लिट्टी त घरमा पनि बनाएकै हो। धेरै मेहनत र नयाँ सिप पनि चाहिएन। मलाई यो सहमतिमा निकै खुसी लाग्यो।
उनी हाम्रो नयाँ सोचका लागि उपयुक्त चोकको खोजी गर्न गए। नजिककैको बजारमा धेरै ठाउँ हेरेछन्। भनेजस्तो कहीँ मिलेन रे।
अर्को दिन ठाउँ खोजी गर्न हामी दुवै सँगै निस्कियौँ। आपसमा बोलचाल पनि त्यति नगरी भगवानलाई पुकार्दै र सोचमग्न बन्दै हामी इदगाह चोकमा पुगेछौँ। इदगाह चोक, मैले उनलाई खोज्दा खोज्दा बल्लतल्ल भेटेको ठाउँ। विगत सम्झिएँ र उनीतिर पुलुक्क हेरेँ।
यही ठाउँमा हामीले केही गर्न पाए त भन्ने लाग्यो। बाटोको छेउतिर ठूलो भवन बन्न लागेको थियो। सडकको अर्कातिर माइथानमा टङ्टङ् घण्टी बजिरहेको सुनिन्थ्यो। नजिकै अजङ्गको बरको रूख झ्याम्म परेर शीतल छोडिरहेको थियो।
‘मलाई त यतै बस्न पाए हुने जस्तो लाग्यो’ भनेर सुनाएँ। उनले पनि यही ठाउँ मन पराएका रहेछन्। यहाँ पनि हाम्रो रोजाइ मिल्यो।
सडकको छेउमा रहेको सानो खाली जग्गा वरिपरिको फोहर फाल्ने ठाउँ बनेको थियो। यसरी बेवास्तामा सडाएर राखेको ठाउँ कसको रहेछ भनेर खोजी गर्न थाल्यौँ। अलिक पर पसल गर्ने काना साहूको पूर्ख्यौली अंश रहेछ। आफ्नो कमाइ नै सम्हाल्न भ्याइ नभ्याइ भएकाले यो जग्गा हेलामा परेको रे। हामी त्यहाँ सानो झुपडी बनाएर चिकन लिट्टी बेच्छौँ भन्ने अनुरोध गर्यौँ।
‘दुनियाँको फोहर फाल्ने मैदान भएको छ। तिमीहरूले सम्हाले कम्तीमा फोहर फाल्न त पाउँदैनन्’ भन्दै उनले साहूनीतिर नजर लगाए। उनले पनि सहमति जनाइन्। यसपछि ल ल हुन्छ, तर राम्रो चल्न थालेपछि चाहिँ मलाई थोरबहुत किराया पनि दिनु पर्छ नि भने। हामी खुसीले फुरुङ्ग भएर ‘भइहाल्छ नि’ भन्दै बाटो लाग्यौँ।
तीन दिन जति हामी काममा खट्यौँ। उनले बाँस काटेर ल्याए, मैले सघाएँ। एकदिन बाबाको पनि सहयोग लियौँ र सानो याक्सा तयार भयो। यसपछि एउटा चियादानी र चिया छान्ने जाली १२ ओटा कपसँगै चिनी, चिया रङ र यस्तै अत्यावश्यक चुलोका सामग्री, बस्ने मुढा र कुर्सीहरू जोहो गरियो।
पहिलो दिन २२ कप चिया बिक्री भयो। विस्तारै यो क्रम बढ्दै आयो। केही बिस्कुट, खजुरी र पकौडा थप्दै आयौँ। १५ दिनपछि बल्ल चिकन लिट्टी तयार गरेर बिक्री सुरु भयो। दैनिक हुने सामान्य मुनाफाले पनि हाम्रो हर्ष बढ्न थाल्यो। आखिर गरे नहुने त के रहेछ र भन्दै हामी मिलेर हाम्रो चिकन लिट्टी पसल चलाइरहेका छौँ। हाम्रो सिपको प्रचार दिनप्रतिदिन अझ बढ्दै आयो।
एक दिन चार जनाको सुन्दर परिवार ग्राहक बनेर आयो। मैले उनीहरूका मागअनुसारका खानेपिउने कुरा तत्कालै तयार गर्दै सेवा दिएँ। उनीहरू हामीप्रति निकै प्रसन्न भएर धन्यवाद भन्दै निस्किए। मैले उनीहरूको सानो परिवारको मिलन र आत्मीयता पनि नियाली रहेकी थिएँ। सानो बच्चा रुन खोज्दा बाँकी तीनै जना मिलेर फकाउँथे। एकले अर्कालाई माया र सम्मान गर्थे। मलाई पनि आफ्नो संसार यस्तै बनाउन मन लाग्यो।
अर्को हप्ता यस्तै अर्का ४ जना युवा युवती आए। सबै फरासिला र आपसमा हाँसिमजाक गर्दै मैले पकाएको चिकन लिट्टी मिठो मानेर खाए। थाहै नपाई मैले आफ्नो उमेरसँग उनीहरूलाई दाँज्न पुगेँछु। उमेरमा हाम्रो खासै अन्तर थिएन। उनीहरू निस्फिक्री थिए। सबै खुसी र ढुक्क थिए। म उनीहरूलाई सेवा दिएर आफ्नो परिवार पाल्ने जोहो गरिरहेकी थिएँ।
करिब तीन महिनापछि एउटा चिल्लो कार हाम्रो पसल नजिक आएर रोकिन्छ। म गिलास सफा गर्दै थिएँ। त्यो काम छोडेर उता हेरेँ। उनी चिया र चिकन लिट्टी माग्दै बसे अनि मेरो सानो झुपडी पसलको सबैतिर नियालेर हेरे। मलाई उनले आफैँलाई घुरेर हेर जस्तो लाग्यो। पसलको चुलो र खानेकुरा राख्ने ठाउँ पनि अलिक सफा थिएन। भाँडा धुने ठाउँ त त्यसै पनि काम भइरहेकाले उस्तै थियो। मलाई मेरो पसल सफा बनाएर उनको गाडी जस्तै टिलिक्क बनाउन मन लाग्यो।
मैले दिएको चिकन लिट्टी उनले खाँदै भने, ‘यो मेरो तेस्रो पटक हो। पहिलेभन्दा अझ सफा बनाउनु भएछ। आज त लिट्टी पनि झन् मिठो लाग्यो।’ मैले सन्तोषको सास फेरेँ।
मेरो मनले पसलमा आउने ग्राहकले सुन्दर परिवेश र स्वादिलो खानेकुरा खोज्दा रहेछन् भन्ने ठम्यायो। अनि अर्को मनले यो सफा गर्ने धन्दा छोडेर त्यस्तै चिल्लो कारमा गएर उनी जस्तै स्वाद लिने ग्राहक बन्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्यो।
मैले ती ग्राहकको अनुहार पुलुक्क हेरेँ। उनी आफ्नै धुनमा मस्त चपाइरहेका थिए। एक सर्को चियाको चुस्की लिएर मोबाइलमा व्यस्त देखिन्थे। फेरि मोबाइलबाट आँखा नहटाई हातले चिकन लिट्टी खोज्दै हुन्थे। कुनै बेला उनको हात प्लेटभन्दा बाहिर भुइँमा पर्थ्यो। मलाई उनको हात सही ठाउँमा पुग्ने गरी प्लेट सारिदिन मन लाग्यो।
झट्ट सम्झिएँ। मेरो काम त मागेको खानेकुरा तयार गरेर दिने मात्र हो। आफू अनुकूल लिएर खाने त उनको काम हो नि। अस्ति सुन्दर परिवार आएर रमाइलो र आत्मीय परिवेशमा केही खाएर खुसीसाथ गएको सम्झिएँ। त्यतिबेला पनि त्यो परिवारको आमाका रूपमा आफूलाई कल्पना गरेकी थिएँ। त्यसको केही दिनपछि आएका समवयी चार जना ग्राहकसँग आफूलाई दाँजेकी थिएँ।
आज अनायास चिल्लो कारका ग्राहकलाई यसरी नियाल्दै थिएँ। मेरी आमाको उमेरसम्म पुग्दा म पनि यस्तै गाडी चढ्न सक्छु कि सक्दिन होला?
सब्जी लिन गएका उनी सब्जीमण्डीबाट मैलो झोलामा चिकन लिट्टीका सामग्रीहरू झुण्ड्याएर टुप्लुक्क आइपुग्छन्। म उनलाई शिरदेखि पाउसम्म हेर्छु। उनले झुण्ड्याएको सब्जीको मैलो झोला नियाल्छु। यसपछि मोबाइलमा व्यस्त मेरा ग्राहकलाई हेर्छु। खै किन हो यतिबेला उनले पनि मलाई नै हेरिरहेका रहेछन्। फेरि हाम्रा आँखा जुध्छन्।
अन्यमनस्क भावमा मेरा दुवै ओठ खुल्छन्। अनि अनजानमै सोध्न पुग्छु, ‘चिकन लिट्टीसँगै थप के लिनुहुन्छ? माग्नु भए पाउनु हुनेछ।’
‘धत् म के भन्दैछु’ म उताको जवाफ नपर्खी जिब्रो टोक्दै धारातिर लम्किन्छु।