मिति: २०८२ चैत्र १९ गते
स्थान: तिम्रो रित्तो कोठा
मेरी प्यारी छोरी,
मेरी प्यारी छोरी, मेरो मुटुको एउटा सानो टुक्रा, आज तिमी हामीबाट भौतिक रूपमा टाढा भएको पनि धेरै समय भइसकेको छ। तर विश्वास गर, मेरा लागि समय त्यही दिन रोकिएको छ जुन दिन तिम्रो त्यो निर्दोष हाँसोलाई यो पापी संसारले सदाका लागि खोसेर लग्यो।
आज तिम्रो यो सानो रित्तो कोठामा बसेर, तिम्रा ती पुराना किताबहरू र तिमीले चलाउने गरेका सामानहरू सुमसुम्याउँदै गर्दा मलाई लागिरहेछ— तिमी कतैबाट ‘बुबा’ भन्दै दौडिएर आउने छौ र मेरो काखमा टाउको राखेर आफ्ना दिनभरिका कुराहरू सुनाउनेछौ। तर विडम्बना, तिम्रो त्यो रित्तो ओछ्यान र भित्तामा झुन्डिएको तिम्रो मुस्कुराइरहेको तस्बिरले मलाई पल–पल गिज्याइरहेको छ। यो पत्र तिमीले कहिल्यै पढ्न पाउने छैनौ भन्ने जान्दाजान्दै पनि म आज आफ्ना मनका गुम्सिएका पीडा र यो समाजप्रतिको आक्रोशलाई कागजमा उतार्न बाध्य छु।
छोरी, जब तिमी मेरो हात समातेर पहिलो पटक ताते–ताते गर्दै हिँड्न सिकेकी थियौ, मैले सोचेको थिएँ कि म तिमीलाई यो संसारका सबै खुसीहरू दिने छु। एउटा बुबाको नाताले मैले तिमीलाई सधैँ सुरक्षाको घेराभित्र राख्ने सपना देखेको थिएँ। तिमीलाई सानो चोट लाग्दा पनि मेरो मुटु काँप्थ्यो। तर म कति असहाय र लाचार बुबा रहेछु जुन समाजमा मैले तिमीलाई ठुलो बनाएँ, जुन हावापानीमा तिमीलाई हुर्काएँ, त्यही समाजका केही मानवरूपी दानवहरूले तिम्रो सपना र तिम्रो अमूल्य जीवन नै लुटेर लगे।
हिंसा— यो शब्द सुन्दा मात्र पनि अहिले मेरो आङ सिरिङ्ग हुन्छ। तिमीमाथि भएको त्यो अन्याय र त्यो निर्दयी व्यवहार सम्झिँदा मेरो मुटु छियाछिया हुन्छ। तिमी त फूल जस्ती थियौ, तिमीलाई फुल्न नदिई निमोठ्नेहरूलाई देख्दा यो समाज र हाम्रो देशको कानुनप्रति मेरो विश्वास पूरै डगमगाएको छ। के एउटी छोरी भएर जन्मिनु नै तिम्रो सबैभन्दा ठुलो गल्ती थियो र? के यो धर्तीमा स्वतन्त्र भएर बाँच्न पाउनु र आफ्ना सपनाहरू पूरा गर्नु तिम्रो अधिकार थिएन?
मलाई अचम्म लाग्छ यो समाजको दोहोरो चरित्र देखेर। जब तिमीमाथि त्यो जघन्य अपराध भयो, जब तिमीलाई न्यायको खाँचो थियो, तब यहाँका मानिसहरू तिम्रो न्यायका लागि सडकमा उत्रिनुको साटो तिम्रै चरित्रमाथि हिलो छ्याप्न व्यस्त भए। कसैले भने— ‘छोरी मान्छे भएर किन त्यति रातिसम्म बाहिर बसेकी?’ कसैले प्रश्न उठाए— ‘उसले कस्तो लुगा लगाएकी थिई?’
छोरी, यी घिनलाग्दा प्रश्नहरू सुन्दा मलाई यो समाजको चेतनाप्रति घृणा लागेर आउँछ। अपराधीलाई अपराधी भन्नुको सट्टा, यो समाजले पीडितलाई नै दोषी देखाउने प्रयास गर्यो। मलाई एउटा बुबाको रूपमा ढाडस दिनुको सट्टा, मानिसहरूले मलाई नै ‘आफ्नी छोरीलाई संस्कार सिकाउन नसक्ने’ भनेर औँला उठाए। उनीहरूले बिर्सिए कि संस्कार त ती अपराधीहरूलाई सिकाउनुपर्ने थियो, जसले एउटी निर्दोष बालिकाको जीवन बरबाद पारे। यो समाजको नजरमा छोरीहरू सधैँ कमजोर र प्रश्नको घेरामा हुनुपर्ने रहेछ। अपराधी खुलेआम घुमिरहँदा पनि कसैले चुँ सम्म बोलेनन्, तर तिम्रो अस्तित्वमाथि हिलो छ्याप्न सबैजना अगाडि सरे।
धिक्कार छ यो देशको व्यवस्था र न्याय प्रणालीलाई! जहाँ एउटी छोरी मारिँदा, बलात्कार हुँदा वा हिंसाको सिकार हुँदा फाइलहरू सरकारी दराजमा धुलो लागेर थन्किन्छन् तर अपराधीहरू राजनीतिको ओत लागेर वा पैसाको बलमा समाजमा छाती फुलाएर हिँड्छन्। म न्यायको ढोका ढकढक्याउन जाँदा पुलिसको रुखो व्यवहार र अदालतको वर्षौँसम्म लम्बिने तारिखहरू देख्दा लाग्छ— यहाँ न्याय किनिन्छ, न्याय पाइँदैन। हाम्रो जस्तो गरिब र पहुँच नभएका मानिसहरूको आँसुको यहाँ कुनै मूल्य छैन।
यहाँ त मात्रै पावर, पैसा र सोर्सफोर्सको बोलवाला छ। एउटा बुबा आफ्नो सन्तानको न्यायका लागि भौँतारिँदा प्रशासनले उसलाई एउटा मान्छेको रूपमा समेत व्यवहार गर्दैन। हरेक पटक म प्रहरी चौकी जाँदा मलाई नयाँ–नयाँ बहाना बनाएर फर्काइन्छ। कहिले प्रमाण पुगेन भनिन्छ, कहिले पोस्टमार्टम रिपोर्टमा शंका गरिन्छ। तर उनीहरूले यो बुझ्दैनन् कि हरेक दिनको ढिलासुस्तीले मेरो घाउमा कति नुन छर्किरहेको छ। के यो व्यवस्था अपराधीहरूलाई संरक्षण गर्नका लागि मात्र बनेको हो?
के यही हो हामीले गर्व गर्ने ‘सभ्य’ समाज? जहाँ दिउँसै छोरीहरू असुरक्षित छन् र कुनै घटना घटिसकेपछि सबैजना रमिते बन्छन्? तिमी त गयौ छोरी तर मलाई यो समाजले बाँच्नु न मर्नुको दोसाँधमा पुर्याएको छ। म बाटोमा हिँड्दा मानिसहरू सहानुभूति दिने बहानामा मलाई यसरी हेर्छन् मानौँ म कुनै ठुलो पापको भारी बोकेर हिँडिरहेको छु। कतिपय छिमेकीहरू त मलाई देख्ने बित्तिकै बाटो काट्छन्, मानौँ मेरो घरमा परेको यो विपत्ति उनीहरूलाई पनि सर्ने छ। यो एक्लोपन र यो सामाजिक बहिष्कारले मलाई भित्रभित्रै खाइसक्यो। तर मेरो पीडा बुझ्ने यहाँ कोही छैन। सबैलाई आफ्नै स्वार्थको चिन्ता छ। तिम्रो न्यायका लागि सुरुमा केही दिन मैनबत्ती बालेर सडकमा आउनेहरू पनि अहिले हराइसके। उनीहरूका लागि यो एउटा समाचार मात्र थियो, तर मेरो लागि त मेरो पूरै संसार उजाडिएको क्षण थियो।
तिमीलाई थाहा छ छोरी, तिम्रो त्यो हाँसो, तिम्रो पढ्ने तीव्र इच्छा र तिम्रो भविष्यका ती ठुला सपनाहरू... सबै अधुरै रहे। तिमी भन्थ्यौ नि— ‘बुबा, म पढेर ठुलो मान्छे बन्छु र तपाईँलाई सुख दिन्छु।’ तिम्रा ती शब्दहरू आज मेरो कानमा गुन्जिरहन्छन्। तर आज तिम्रा ती सपनाहरू चिताको आगोसँगै खरानी भए। मलाई माफ गरिदेऊ छोरी, म तिमीलाई बचाउन सकिनँ। एउटा बुबा हुनुको नाताले मेरो सबैभन्दा ठुलो धर्म तिम्रो रक्षा गर्नु थियो तर म यो पापी संसारको अगाडि हार्न पुगेँ। मैले तिमीलाई एउटा यस्तो संसारमा जन्माएछु जहाँ राक्षसहरू मान्छेको भेषमा घुम्छन् र जहाँ रक्षकहरू नै भक्षक बन्छन्। तिम्रो मृत्युसँगै मेरो यो व्यवस्था, यो धर्म र यो मानवताप्रतिको विश्वास पनि जलेर खरानी भयो।
तर छोरी, मेरो यो आँसुलाई मेरो कमजोरी नसम्झ। म लड्न त छोड्दिनँ तर यो समाज र कानुनसँग मेरो अब कुनै आशा बाँकी छैन। म अब तिम्रो न्यायका लागि मात्र होइन, यो समाजमा रहेका हरेक छोरीहरूको सुरक्षाका लागि आवाज उठाइरहने छु। म चाहन्न कि भोलि अरू कुनै बुबाले आफ्नी छोरीको रित्तो कोठामा बसेर यसरी आँसुको मसीले चिठी लेख्नुपरोस्। म चाहन्न कि कुनै आमाले आफ्नी छोरीको न्यायका लागि सडकमा हारगुहार गर्नुपरोस्।
यो पत्र तिम्रो लागि मात्र होइन, यो सुतिरहेको समाजको चेत खुलाउनका लागि एउटा ठुलो धिक्कार हो। यो ती अपराधीहरूका लागि एउटा चेतावनी हो, जसले सोच्छन् कि उनीहरूले न्यायलाई किन्न सक्छन्।
आज राति पनि म तिम्रो तस्बिर हेर्दै टोलाउँछु। घरको सुनसानपनले मलाई खान खोज्छ। तिम्रो आमाको आँसु अझै ओभानो भएको छैन। उनी अझै पनि ढोकामा कसैले ढकढक गर्दा ‘मेरी छोरी आइन् कि’ भनेर आस गर्छिन्। हामी दुवै जना एउटा जिउँदो लास जस्तै भएका छौँ। यो समाजले हामीलाई कतिसम्म गिरायौ भने, हामीलाई अब कसैसँग बोल्न पनि डर लाग्छ। तर पनि मेरो मनको एउटा कुनामा अझै पनि आशा छ कि कतै न कतै सत्यको जित हुनेछ। ढिलो होला तर तिमीलाई अन्याय गर्नेहरूले एकदिन अवश्य सजाय पाउनेछन्। भगवान् छन् कि छैनन् मलाई थाहा छैन, तर यो प्रकृतिको न्यायमा म अलिकति विश्वास राख्न चाहन्छु।
मेरी प्यारी छोरी, जहाँ छौ शान्तिमा बस है। त्यहाँ पक्कै पनि यो संसार जस्तो हिंसा, भेदभाव र अन्याय छैन होला। त्यहाँ छोरीहरू सुरक्षित होलान्, त्यहाँ उनीहरूले आफ्ना सपनाहरू पूरा गर्न पाउँछन् होला। तिम्रो बुबा तिमीलाई सधैँ माया गरिरहने छन् र तिम्रो न्यायको लागि अन्तिम साससम्म लडिरहने छन्। तिमी मेरो मनमा, मेरो धड्कनमा र मेरो हरेक सम्झनामा सधैँ जीवित रहने छौ। यो संसारले तिमीलाई बिर्सिन सक्छ, यो समाजले तिम्रो नाममा हिलो छ्याप्न सक्छ, तर मेरो लागि तिमी सधैँ त्यही सानी, प्यारी र निर्दोष राजकुमारी हौ, जसलाई मैले आफ्नो मुटुमा सजाएर राखेको थिएँ।
अलबिदा छोरी, अर्को जन्ममा फेरि भेटौँला तर यो पटक यस्तो समाजमा होइन जहाँ छोरीहरूले हरेक पाइलामा मृत्युसँग जुध्नुपर्छ।
तिमीलाई सधैँ सम्झिरहने
तिम्रो बुबा।