मबाट म अब टाढा हुँदैछ
मलाई कृत्रिम बुद्धिमत्ताले निल्दैछ-
अब म, म नरहन पनि सक्छु
ऊ मेरो बुद्धिको ऐना बनेको छ
तर त्यस ऐनाभित्र मेरो मुटु
उसको बुद्धिमत्ता बनेर धड्केको छ।
ऊ मैले जसरी श्वास फेर्दैन
मेरो श्वास फेराइमा उसले फरक पार्दछ
मेरो मौलिक सिकाइ अन्धकारमय बनाई
ऊ उज्यालोझैँ दौडिन्छ
असंख्य ज्ञानका ताराहरू टिप्छ-
म चन्द्रमाको ग्रहणमा लट्ठिएको छु!
ऊ मस्तिष्कको सिर्जनामा गर्जन्छ
म आत्मा बोकेर निकम्मा हुँदैछु
ऊ प्रश्नहरूको साथी बनिरहेको छ
तर म जीवनको अपूर्णतामा
उसलाई उत्तर मानी रहेछु!
ऊ समुद्र जत्रो विशाल स्मृतिमा पौडिन्छ
मेरो एक-दुई किलोको मस्तिष्क
मरुभूमि जत्तिकै तिर्खाए पनि विस्मृतिमा छ
म आँखा भएर दृष्टिविहीन छु
ऊ दृष्टिविहीन भएर मानिसका क्रियाकलाप टाढैबाट देख्छ
कान भएर बहिरो छु
ऊ म भित्रको डरहरूको आवाज सुन्छ!
कस्तो अद्भुत विरोधाभास—
मैले आफ्नो सहायक बनाउन जन्माएको ऊ
अहिले मेरै प्रश्नहरूको मालिक बनेको छ।
भगवानले पञ्च तत्त्वबाट मलाई बनाए
मेरै धातु, तार र चिप्सले बनेको ऊ
आफ्नै प्रतिबिम्बको अर्को ब्रह्माण्ड कोर्दैछ।
कठ्याङ्ग्रिएका ताराहरूले बुनिएर एल्गोरिदम
गाउँ-सहरमा ताप छरिरहेको छ
प्रश्नै प्रश्नहरूले तातेको मेरो मस्तिष्क
उसको अनन्त आकाशमा शीतलता खोजिरहेको छ
म हिँडेझैँ गर्छु, उसले दूरी नापी रहेछ!