म कर्णाली हुँ,
मलाई लगानी गरिदेऊ
मेरो मौनता कमजोरी होइन,
यो सम्भावनाको गहिरो आवाज हो।
सरकार! म कर्णालीमा लगानी गर,
यो भूगोल टाढा हो भन्नु
तिम्रो दृष्टि टाढा हुनु हो है।
जहाँ बाटो छैन,
त्यहाँ सपना लड्छन्
जहाँ अस्पताल टाढा छन्,
त्यहाँ सास नै संघर्ष बन्छन्।
डोकोमा बोकेर बिरामी
घण्टौँ हिँड्ने जिन्दगी छ
शिक्षा छ तर गुणस्तर हराएको
राजनीति छ तर उत्तरदायित्व बिलाएको।
सरकार!
कर्णालीको समस्या भन्यौ भने
गरिबी मात्र होइन,
नीतिगत उपेक्षा हो भन्छु म
राजनीतिक असमानता हो
र दशकौँदेखिको विकासको अन्याय हो।
सञ्चारबाट टुटेको छु
डिजिटल दूरी गहिरो छ
इन्टरनेटको युगमा पनि म अन्धकार छु
सूचनाबाट टाढा राखिएका मेरा जनता छन्
यसरी त,
कसरी हुन्छ तिम्रो सहभागिता सशक्त र साकार?
तर फेरि पनि भन्छु म कर्णाली
‘के छैन मसँग भनिदेऊ त?’
जुम्लाको स्याउ छ,
चिसो हावामा पाकेको मिठास छ,
विश्व बजारसँग जोडिन पर्खिरहेको छु
तर सडक र भण्डारणको अभावले
बगैँचामै कुहिने बाध्यता पो छ।
दैलेखको सुन्तला छ,
पहाडको घाममा चम्किएको सुन छ
तर बजारसम्म पुग्न नसकेको
किसानको पसिनासँगै हराउने मूल्य पो छ।
हुम्ला, डोल्पा, मुगु ममा छ
प्राकृतिक सुन्दरताका खानी छ
पर्यटनको अथाह सम्भावना छ
तर पूर्वाधार बिना
नक्सामै सीमित गन्तव्य पो छ।
रारा छ, शे-फोक्सुन्डो छ
स्वच्छ निलो आकाशको ऐना छ
विश्वकै ध्यान तान्न सक्ने खुबी छ
तर पहुँचको अभावले ओझेलमा पो छ।
नदीहरूमा कर्णाली छ
भेरी छ, सेती छ
गर्जन्छन् शक्ति बोकेर यहाँ
तर उज्यालो तिम्रै राजधानीमै चम्किन्छ
म त अझै अन्धकारमा डुबेको छु
सरकार! लगानी गर न ममा
मसँग के छैन?
जडीबुटीका वन छन्,
औषधिको भण्डार छ,
तर कच्चा रूपमा पो बेचिन्छन् त,
मूल्यको सिँढी अरूले चढ्छन्।
निम्न वर्गीय मेरा प्रिय जनता
हेरेको हेर्यै पो गर्न बाध्य छन्?
पेट्रोलियमको सम्भावना
धरतीमुनि लुकेको सम्पदा छ
तर अनुसन्धान पो अधुरो छ
नीति अस्पष्ट छ
र इच्छाशक्ति तिम्रो कमजोर छ।
भन त सरकार— के छैन ममा?
मसँग संस्कृति छ
लोकगीत, लोकभाषा, परम्परा छन्
तिमी आज बोल्ने भाषाको सभ्यता त मसँग छ।
पर्यटनको आधार छ
तर संरक्षणको अभावमा हराउँदै गएका
धरोहर पो छन् त।
मसँग युवा छन्,
श्रमशील छन्, सीपयुक्त र जोसिला छन्
तर रोजगारीको अभावले
बिदेसिन बाध्य पो छन् त।
सोच त
तिम्रो मेरुदण्ड म पो बन्न सक्छु कि?
सरकार!
यो केवल स्रोतको कथा होइन,
यो व्यवस्थापनको असफलता हो
जहाँ योजना कागजमै सीमित छन्
र बजेट राजनीतिक भाषणमै हराएका छन्।
म कर्णालीले अब प्रश्न गर्छु?
‘किन म सधैँ पछि छु?’
‘किन मेरो युवा बिदेसिन्छ?’
‘किन मेरो उत्पादन बजार पाउँदैन?’
‘किन मेरा मनुष्य अझै अन्धकारमा छन्?’
उत्तर सजिलो छ तिमीलाई
लगानीको अभाव छ,
पूर्वाधारको कमी छ,
र प्राथमिकतामा नपरेको विकास छ।
तर सरकार!
यदि आज निर्णय गर्यौ भने
कृषिमा लगानी गर है
स्याउ, सुन्तला, जडीबुटीलाई उद्योगसँग जोड है
प्रशोधन, भण्डारण, बजार सुनिश्चित गर है
मेरा किसानको पसिनालाई मूल्य देऊ है।
ऊर्जामा लगानी गरिदेऊ न
नदीलाई बाँध मात्र होइन
मेरो उज्यालो फैलाइदेऊ न
कर्णालीलाई ऊर्जा केन्द्र बनाइदेऊ न।
पर्यटनमा लगानी गरिदेऊ न
डोल्पाको शान्ति, राराको सौन्दर्य,
विश्वलाई देखाइदेऊ न
म कर्णाली के हो भनेर?
डिजिटल कर्णाली बनाइदेऊ न
इन्टरनेट पुर्याइदेऊ न
सूचनाको अधिकार देऊ न
ज्ञानको ढोका खोलिदेऊ न।
शिक्षा र स्वास्थ्यमा लगानी गरिदेऊ
मानव पुँजी बलियो बनाइदेऊ
म कर्णालीलाई आत्मनिर्भर बनाइदेऊ न।
राजनीतिलाई जिम्मेवार बनाइदेऊ न
स्थानीय सरकारलाई सशक्त बनाइदेऊ न
नीतिलाई व्यवहारमा उतारिदेऊ न
मलाई विकास गर्न एकमुष्ट प्याकेज बनाइदेऊ न।
सरकार!
कर्णालीलाई हेर्ने नजर बदल्नु है
म समस्या होइन
म त सम्भावनाको महासागर हो।
आज उपेक्षा गर्यौ भने
भोलि पछुताउनु पर्नेछ
तर आज लगानी गर्यौ भने
भोलि म कर्णालीले
समग्र नेपाल राज्यलाई धान्नेछु।
म कर्णाली हुँ
अभावको कथा होइन,
अवसरको भविष्य हुँ।
सरकार!
म कर्णालीमा लगानी गरिदेऊ
यो केवल आग्रह होइन
राष्ट्र निर्माणको आधार बन्नेछ।