आरम्भमा—
कुनै मापन थिएन
न उचाइ, न गहिराइ,
न कोही माथि, न कोही तल
मात्र अस्तित्व थियो—
अपरिमेय,
निर्विकल्प।
तर एकदिन
चेतनाले आँखा खोल्यो,
र पहिलो पटक
आकाशलाई दुई भागमा बाँड्यो—
‘मेरो’
र ‘अरूको।’
त्यही क्षण
तुलनाको जन्म भयो।
ऊ सम्झन्छ—
सानो छँदा,
कसैले भनेको थियो—
‘हेर, ऊ त तिमीभन्दा कति राम्रो।’
त्यो वाक्य
हावाजस्तो आयो,
तर भित्र कतै
ढुंगाजस्तो बस्यो।
त्यसपछि
उसको हाँसोसँग,
उसको अंकसँग,
उसको सफलतासँग
आफैँलाई नाप्न थाल्यो
र बिस्तारै
आफूबाट टाढिँदै गयो।
फूल,
शून्यतासँग संवाद गर्दै फुल्छ,
उसले कहिल्यै
आफ्नो रंग तौलँदैन।
नदी,
किनारहरूको निस्तब्ध स्वीकार गर्दै
अनन्ततर्फ बग्छ—
उसलाई थाहा छैन
सागर ठुलो कि सानो।
प्रकृति,
कहिल्यै तुलना गर्दैन—
त्यो केवल पूरा हुन्छ।
तर मानिस—
ऊ संख्या बनाउँछ,
मापन कोर्छ,
सीमा खिच्छ
र त्यसैमा
आफ्नै आत्मालाई थुन्छ
आफ्नै छायासँग पनि
ऊ प्रतिस्पर्धा गर्न थाल्छ।
तुलना—
एक सूक्ष्म रेखा,
जहाँ ज्ञान र भ्रम
एकअर्कासँग ठोक्किन्छन्।
यो प्रकाश हो,
जसले दिशा देखाउँछ—
त्यो अँध्यारो हो,
जसले अस्तित्व नाप्छ।
दिन रातलाई हराउँदैन,
रात दिनसँग हार्दैन—
तिनीहरू केवल
एकै चक्रका दुई श्वास हुन्।
हामीले जित र हार बनायौँ,
जहाँ,
केवल प्रवाह थियो।
हे चेतन मानव!
तिमी किन
अनन्तलाई
तराजुमा अटाउन खोज्छौ?
तिमी,
तिमी न त तुलना हौ,
न त परिणाम—
तिमी त एक प्रक्रिया हौ,
अपूर्णताभित्रको पूर्णता।
यदि तुलना गर्नै पर्छ भने—
आजसँग गर,
हिजोसँग होइन,
अरूसँग होइन।
आफ्नै हिजोको हात समात,
र हेर—
आज कति टाढा आइपुगेछौ।
किनकि समय मात्र
त्यो ऐना हो
जसले बिना तर्क,
सत्य देखाउँछ।
अन्त्यमा—
सबै सीमाहरू भत्किन्छन्,
सबै तराजुहरू शून्य हुन्छन्,
र बाँकी रहन्छ—
न त ऊ,
न त तिमीभन्दा राम्रो कोही—
केवल
एक श्वास:
‘म छु।’