‘बाबु! बाबु! मलाई यो सिट देऊ न!’
‘बाबु! ए बाबु! सुनेनौ कि!’– एक वृद्धा महिलाको करुणामय आवाज लगातार सुनेपछि तन्द्रामा पुग्नै लागेको म आँखा खोल्न बाध्य भएँ।
मैले ती वृद्धालाई एकतमासले हेरेँ- सेतो सुतीको साडी अनि साडीको स्वरूपलाई साथ दिने गरी फुलेका केश, चाउरी परेको मुहार अनि उस्तै चाउरी परेको उनको सेतो चोली, हल्लिरहेको गाडीमा कम्पन मिश्रित उनको आवाज। नाक चाहिँ फेरि ठ्याक्कै मेरै जस्तो चुच्चो रहेछ! नाकमा झुन्डिरहेको बुलाकीझैँ बसको डन्डीमा झुन्डिइरहेकी थिइन् उनी। उनलाई कुनै प्रतिक्रिया नदिई झ्याल बाहिर चियाएँ, गाडी यात्राको प्रस्थान बिन्दु बाह्रबिसेभन्दा निकै टाढा धुपु पुगिसकेको रहेछ।
‘बुढाबुढी मान्छे उभिन सक्दिनँ, सिट छोडिदेऊ न बाबु! पुण्य हुन्छ,’ उनले आफ्नो अनुरोध फेरि दोहोर्याइन्।
‘पछाडिका मान्छेलाई भन्नोस् न हजुरआमा,’ मैले पहिलो पटक प्रतिक्रिया जनाएँ। पछिल्ला दस दिनमा म र मेरो साथी सन्तोषले विराटनगरदेखि सङ्खुवासभा बाह्रबिसेको गाडी यात्रा, बाह्रबिसेदेखि सभापोखरीसम्मको पैदल धार्मिक यात्रा र सभापोखरीदेखि फेरि बाह्रबिसेसम्मको कष्टकर फिर्ती यात्रा तय गरेका थियौँ। बाह्रबिसे पुगेर विराटनगरको गाडी चढ्दासम्म हामी शारीरिक र मानसिक रूपमा अत्यन्तै थकित भइसकेका थियौँ। पाएको सिट छोडेर लामो यात्रा गर्ने हिम्मत ममा थिएन। सन्तोषले पनि इशारै इशारामा सिट छोड्न नसक्ने सङ्केत गर्यो।
‘पछाडि अघि नै सोधेकी नि बाबै! कसैले दिएनन्’ – असहाय आवाजमा तिनीले गुनासो गरिन्।
त्यसपछि मैले प्रतिक्रिया जनाइनँ। तिनी डन्डी समातेर उभिनै रहेकी थिइन्। गाडी आफ्नै चालमा लगातार अगाडि बढिरह्यो। कच्ची बाटोमा डन्डी समाउँदै आफूलाई सम्हाल्न ती हजुरआमाको सामर्थ्यले नपुगेको मैले प्रस्टै महसुस गरेँ। मैले आफ्नो ग्लानि भावलाई सम्हालेर राख्न सकिनँ र अन्ततः खोला माथिको उकालोमा पुग्दा खेरि उनलाई सिट दिने निर्णय गर्दै भनेँ – ‘हजुरआमा! भइगो। ल आउनुस्, बस्नुस् मेरो सिटमा।’
उनको मलिनो मुहार अचानक धपक्क बल्यो र आफ्नो हातलाई मेरो शिरमाथि राख्दै भनिन्– ‘संसारभरको सबै धर्म, सबै पुण्य बाबुलाई मिलोस्।’
‘हस्, हजुरआमा। तपाईंको आशीर्वाद लागोस्’– मैले प्रत्युत्तर दिएँ।
हजुरआमा सिटमा बसिन् अनि म चाहिँ डन्डीलाई आफ्नो भरोसा बनाउनमै मग्न भएँ। बिच–बिचमा हजुरआमाले केही भन्न खोजेकी हुन् कि जस्तो लागेको थियो तर मैले खासै चासो दिइनँ।
खाना खानका लागि बस खाँदबारीमा रोकियो। सन्तोष र म पनि खाना खानका लागि ओर्लियौँ र सादा खाना अर्डर गर्यौँ। हजुरआमा पनि पछि-पछि लौरी टेक्दै ओर्लिइन्।
‘बाबुको नाम के नि अनि घर कता?’– तिनले मेरो परिचय मागिन्।
‘मेरो नाम शिशिर अनि घर चाहिँ विराटनगर हो हजुरआमा’– मैले आफ्नो संक्षिप्त परिचय दिएँ।
‘ए नि त! के गर्न यता आ’का?’– उनको प्रश्नको सिलसिला जारी राखिन्।
‘सभापोखरीको मेला भर्न आ’का थियौँ,’ मैले उद्देश्य बताएँ।
‘मेरो घर नि त्यही सभापोखरी मुनिको गाउँमै हो नि! छ महिना भयो मालिक खस्नुभ’को। गाउँमा बस्नै मन लागेन अनि मधेस हिँडेकी,’ पहिरनले पहिल्यै भनिसकेको कथा तिनले दोहोर्याइन्।
‘अनि कसकोमा जान लाग्नुभ’को त? छोराछोरी कता छन् त अनि?’ मलाई अलिकति तिनका बारेमा जान्न मन लाग्यो।
‘खै! बाबु! के भनूँ र म। लामो कथा छ यसको,’ उनले सुस्केरा लिइन्।
हामीले अर्डर गरेको खाना आइसकेको थियो। हामी खाना खान मै केन्द्रित भयौँ। हजुरआमा भने रमिता हेर्दै त्यसै यता–उति गर्दै बसिन्।
‘केही नखाने हजुरआमा?’ मैले उनलाई सोधेँ। पैसा नभएर त्यसो गरेकी हुन् कि भन्ने मेरो आकलन थियो।
‘बाहुनकी छोरी, त्यस माथि मालिकको दुःख बारेको बेला कता होटलको भात खान्छु त। धर्म भ्रष्ट हुन्छ,’ तिनीले वास्तविक कारण उजागर गरिन्।
आ–आफ्नो विश्वास हो भनेर मलाई केही प्रतिक्रिया जनाउन मन लागेन। करिब आधा घण्टापछि बस पुनः हिँड्यो।
‘तपाईँको लामो कथा के हो सुनाउनु न! बाटो नि लामै छ। सकिएला नि यात्रा भरमा त,’ मैले कुराकानीको सिलसिलालाई जोडेँ।
‘कथा त सकिन्छ नै, यो जीवनको दुःख पो कहिले सकिएला!’– उनी थोरै भावुक देखिइन्।
‘मेरा माइती पनि त्यहीँ सभापोखरी मुनिकै खरेल, मालिकहरू पनि सोही गाउँका नेपाल थरी। सन्तानब्बे सालमा म जन्मेकी, दस सालमा त बिहे नि भइगयो। छोरी मान्छे पढ्ने जमाना नै थिएन। साउँ अक्षर पनि खुट्याउन सक्दिनँ म त। मालिक चाहिँ भागवत, रामायण, चिठी–पत्र मजाले पढ्न–लेख्न सक्नुहुन्थ्यो। सत्र सालमा एउटी छोरी जन्मिई। साह्रै राम्री, गोरी थिई। भगवानले अरू सन्तानको सुख दिनुभएन। आफूले नपढे पनि आफ्नी छोरी चाहिँ पढाउनु पर्छ भन्ने लाग्यो। गाउँ–समाजले त छोरी पढाउने भन्दा कुरा काटेको थियो तर मेरा मालिक साह्रै जाती र एकोहोरो। उहाँले जिद्दी गरेरै समाजलाई जित्नु भयो। सेतो सर्ट र निलो फ्रकमा छोरीलाई स्कुल जाँदै गरेको देख्दा आफूलाई साह्रै भाग्यमानी आमा ठान्थेँ म,’ बोल्दाबोल्दै उनी आँसु झार्न लागिन्। म उनको कथामा डुब्नै लागेको थिएँ। उनलाई अचानक आँसुमा देख्दा असहज महसुस भयो तर उनको पीडाको कारण पनि थाहा पाउनु थियो मलाई।
‘के भयो हजुरआमा? नरुनुस् न!’ मैले सान्त्वना दिने कोसिस गरेँ।
‘छोरी पढ्दै गई, बढ्दै गई। घरको सबै काम गरेर पढेर पनि फस्ट हुन्थी। मलाई र मालिकलाई नि साह्रै माया गर्थी। हरेक कुराको ख्याल राख्थी। दिउँसो ऊ स्कुल जाँदा त घर नै सुनसान लाग्थ्यो। बिस्तारै उसलाई बिहेका लागि कुरा आउन थाल्यो। तर हामीले नाइँ भनिरह्यौँ। कमसेकम एसएलसीसम्म पढाउने हाम्रो धोको थियो। पढाउन मन त त्यो भन्दा बढी थियो नि, गाउँमा त्यो भन्दा माथि पढ्ने स्कुल थिएन, टाढा पठाउन पनि गाह्रो। नभन्दै एसएलसी पनि राम्ररी नै पास गरी। सेकेन्ड डिभिजन भन्थे क्यारे! मलाई त संसार जितेजस्तै भ'को थियो।
त्यसपछि चाहिँ छोरीको बिहे गरिदिनु पर्छ भन्ने मालिक र मेरो सल्लाह भयो। एक्ली छोरी हो एक चोटि उसको नि मन बुझिहालौँ न भनेर सोध्दा त उल्कै गरी नि! बरु सभा खोलामा हाम फालेर मर्छु तर नर्स नबनी बिहे गर्दिनँ भनी। एक्ली सन्तानले त्यसो भन्दा बुबा–आमाको मन त चिरा चिरा भयो नि। उसको इच्छा पूरा गर्न हामीलाई मन नभएको होइन तर नर्स पढाइ मधेस तिर मात्र हुन्थ्यो। जमाना खराब थियो, डाँका लाग्छ, औँलो लाग्छ भन्थे। छोरीलाई मधेस पठाउन हिम्मत नै थिएन। त्यसैले मन नभई नभई पनि नाइँ भनिरह्यौ। छोरी त दिन रात रोएर मात्र बस्न थाली। खाने–सुत्ने टुङ्गो नै भएन। केही महिनामा त दुब्लाएर पातली भई। सन्तानलाई रोको देख्दा आमा–बुवालाई धेरै पीडा हुँदो रहेछ। बरु केही भए हामी नै रोएर बसौँला भनेर मधेस-धरान पढ्न बिदा गरियो।
बिदा त गरियो तर हरेक बेला उसैको मात्र झल्को लाग्न थाल्यो। गाईको बाच्छाले थुन चुसेको देख्दा, उसैको याद आउँथ्यो। बाख्राका पाठा–पाठी छुनुमुनु गर्दै नाचेको देख्दा, छोरी छुनुमुनु गर्दै आँगनमा नाचिरहेको जस्तो लाग्थ्यो। मालिक र म एक अर्कालाई हेर्दै टोलाएर बस्थ्यौँ।
‘छोरीको चिठी आएको छ है!’ एक दिन सबेरै मूलबाटोदेखि हुलाकी चिच्यायो।
म त छोरीको नाम सुन्ने बित्तिकै कति हो कति खुसी भ’की थिएँ। मालिकले चिठी ल्याएर, खाम खोलेर, चिठी पढ्न नथालुन्जेल त समय पनि रोकिए झैँ लागेको थियो। त्यस्तो साह्रो आतुरी भ’को थियो।
‘बुवा–आमा नमस्कार!
आशा गर्दछु कि सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। नर्सको पढाइ अलि अलि गाह्रै छ तर चिन्ता नलिनू। तपाईँहरूकी छोरी मेहनत गरेर पास भएरै छोड्छे। धेरै काम मात्र नगर्नू। आराम पनि गर्नू। आमाको खुट्टा दुख्ने रोग पनि म नर्स भए पछि निको पार्न सक्छु नि! कुरा काट्नेहरूको वास्ता नगर्नू। म दसैँको छुट्टीमा आउँछु। काँक्राको अचार चाहिँ हालेर राख्नू। हस् त आजलाई बिदा। बेलाबेलामा चिठी लेख्दै गर्छु।’
छोरीले सम्झेर बुझेर अनि हाम्रो ध्यान राखेर चिठी लेखेको देख्दा मालिक र म त फुरुङ्गै पर्यौँ नि! चिठी पढेर सकिसक्दा म र मालिक काँक्रा रोप्न बारीमा गइसकेका थियौँ।
भने जस्तै बेला–बेलामा चिठी लेखिरहन्थी, चाड–पर्वमा घर आइरहन्थी। मालिकले पनि मेसो मिलाएर आफै चिठी लेखेर पठाउनु हुन्थ्यो। छोरी सँगै नहुनुको मात्र पीडा थियो, जिन्दगीमा अरू खासै केही दुःख पीडा थिएन। बुहार्तन थिएन, जेठाजु–देवरहरूको आफ्नै व्यवहार थियो, गाउँघरमा हुने सामान्य खेती–किसानीलाई त के दुःख भन्नु? खान–लाउन कसैलाई गुहार्नु पर्ने अवस्था थिएन।
तर एक पटक दुई–तीन महिना भइसक्दा पनि छोरीको चिठी नै आएन। मालिकलाई खोजी–खबर गर्न भनेँ तर मालिकले केही भन्नु भएन। मालिक त बिस्तारै मसँग नै बोल्न छोड्नु भयो। तिज, दसैँ, तिहार, सबै आयो गयो तर छोरी आइन, मालिकलाई मधेस झरेर हालखबर बुझ्न भनेँ तर मान्नु भएन। गाउँलेको पनि गुहार मागेँ तर कसैले खासै मेसो ल्याएनन्। आफै मधेस झरूँ भने अनपढ केही थाहा नभ’की म अबला। मालिकले एक्लै हिँड्न पनि नदिने। मालिकको वचन तोड्नु पनि भएन, धर्म जाने डर। पाप–पुण्यको पनि त ख्याल राख्नुपर्यो।
‘अब त्यसलाई बिर्सिदे। हामी अपुताली हौँ। हाम्रो अब कोही सन्तान छैन। यही सोच्नु मै भलाइ छ’– एक दिन खाना पस्कँदै गर्दा मालिकले नसोचेको वाक्य बोल्नुभयो।
मेरो मुटुमा त सुई रोपे झैँ भयो नि! रिँगटा लागेर संसार नै घुमेजस्तो भयो।
‘आफ्नी फूल जस्ती छोरीलाई किन त्यस्तो भन्नुहुन्छ? के भयो? कतै अनिष्ट पो भयो कि?’ – डाँको छोडेर रुँदै मैले मालिकलाई सोधेँ।
बरु ढुङ्गा बोल्थ्यो होला तर मालिक छोरीका बारेमा बोल्नु भएन। त्यो दिन मात्र होइन, मालिक छोरीको कुरा आउने बित्तिकै सधैँ चुप रहनुहुन्थ्यो। मालिकले मेरो माया त गर्नुहुन्थ्यो तर देखाउनु हुन्नथ्यो। छोरीलाई त देखाएरै माया गर्ने मान्छे, किन कठोर हुनुभयो, बुझ्नै सकिनँ। दिन बिते, रात बिते, वर्षौँ–वर्ष बिते तर मैले कसै गरी छोरीका बारेमा थाहा पाउन सकिनँ। मालिक पनि बिरामी पर्दै जानुभयो। म डाँडामा गएर एक्लै रुन्थेँ। छोरी कहाँ छ्यौ भनेर चिच्याएर बोलाउन मन लाग्थ्यो। मेरो खुट्टा दुखेको निको पार्छु भन्थी तर उल्टै मुटु दुखाएर कहाँ हराई हराई।
छ महिनाअघि मालिकलाई बिरामले पहिले भन्दा गाह्रो पार्यो। अस्पताल लाने तयारी हुँदै थियो, मेरो काखैमा प्राण उड्यो। अन्तिम बेला सुस्केराले ‘छोरी! छोरी!’ भने जस्तै लाग्यो। क्रिया कर्म सकिएको दिन राति सपनामा आउनु भयो। केही भन्न खोज्दै हुनुहुन्थ्यो। तर स्याल कराएको आवाजले ब्युँझिहालेछु। हिजो रातिको सपनामा पनि मालिक फेरि आउनुभयो।
‘तँ यहाँ बसिस् भने मेरो आत्माले तँलाई सताउँछ। छोरी मधेसमा छे’– यति भनेर अलप भइहाल्नु भयो। मालिक! मालिक! भनेर वहाँलाई खोज्दै सपनीमै भौँतारिएछु। झरी पर्दा टिनको आवाजले निद्रा खुले पछि म रातभर निदाउन सकिनँ। विधवा भएपछि म पनि झन्-झन् गल्दै ग’की छु। मेरा पनि खै कति दिन बाँकी छन् थाहा छैन। जे होला होला! छोरीलाई खोजेरै छाड्छु भन्ने निर्णय गरेँ अनि आजै मधेस लागेकी हुँ। छोरीलाई भेटे पछि मात्र म ढुक्कले मर्न सक्छु। बरु बाबु, तिमी त मधेसकै मान्छे, मेरी छोरी खोज्न सहयोग गरिदेऊ न, पुण्य होला,’ हजुरआमा त आफ्नो जीवन कहानी सुनाएर मलाई गम्लङ्ङ अँगालो हालेर घ्वाँ-घ्वाँ रुन थालिन्।
वरिपरिका यात्रुले पनि सायद हजुरआमाको कथा सुने होलान्। सबैले छोरी खोज्नमा सहयोग गर्ने आश्वासन दिए। म भने आफूभित्र छल्किरहेको भावनालाई बुझ्न सङ्घर्ष गरिरहेको थिएँ। कस्तो भावना थियो त्यो? सहानुभूतिको? दयाको? उत्सुकताको?
गाडी भेडेटार पुग्नै लागेको थियो। मधेस आउनै लागेको थियो।
‘तपाईँ मधेस कता उत्रिने नि?’– मैले हजुरआमालाई उनको गन्तव्य बारे सोधेँ।
‘धरान उत्रिन्छु बाबु! छोरी त्यही पढ्थी। हुन त पैँतिस सालको कुरा हो। अझैसम्म त्यतै छे कि? बस्न पनि त्यहाँ धर्मशाला छ रे!’ उनले सुनाइन्।
‘ए! हुन्छ नि हजुरआमा, छोरीलाई राम्ररी खोज्नु होला। हामी चाहिँ धरानदेखि अझै टाढा विराटनगरमा उत्रिन्छौँ है’– मैले शुभेच्छा जाहेर गर्दै भनेँ। उनकी छोरी भेटिउन् भन्ने मेरो र सन्तोषको पनि चाहना थियो तर हामी अल्लारे केटामा उनकी छोरी खोज्न सहयोग गर्न सक्ने क्षमता थिएन।
***
समय–काल बित्दै गयो। मैले त्यो घटना पनि बिर्सिएँ र आफ्नो सामान्य दैनिकीमा फर्किएँ। सन्तोष वैदेशिक रोजगारीमा गयो। म विराटनगरमै सानोतिनो जागिर गर्न थालेँ।
कुनै एक दिनको बिहानीपख म निद्रामै मग्न थिएँ। कसैले ढोकामा जोडतोडका साथ ढकढक्याइरहेको आवाजले म बिउँझिएँ।
‘शिशिर! हेर त! को आएछ?’ आमाले किचनबाटै ढोका खोल्न आदेश दिनुभयो।
‘ह्या आमा! म सुतिरा’छु क्या। एक छिन सुत्न दिनु न!’ मैले आमालाई गुनासो गरेँ। केही क्षण भए पनि वास्तविकताबाट भागेर धुमिल प्रातस्वप्नमा रमाउनुको मजा बेग्लै लाग्छ मलाई। जिम्मेवारीले भारी भएको मगजलाई स्वनिर्देशित सपनामा माथि-माथि आकाशमा हल्का भएर उडिरहँदा केही क्षणका लागि भए पनि आनन्द आउने रहेछ। कुलत नै नाम त दिन चाहन्नँ म तर सायद आदत हो त्यो।
‘महाशय त किन उठिसिन्छ त? बाह्र बजेसम्मै सुत्ने कि?’– आमाको व्यङ्ग्यसँगै ढोकाको ढकढक्याइको आवाज पुनः दोहोरियो।
कपडा लगाएर आँखा मिच्दै ढोका खोल्दै गर्दा मैले जे दृश्य देखिरहेको थिएँ, त्यसलाई मैले विश्वास गर्नै सकिनँ। ढोकामा तिनै वृद्धा महिला थिइन्, जसलाई मैले सभापोखरी मेलाबाट बसमा विराटनगर फर्किँदै गर्दा भेटेको थिएँ। उनको हुलिया, पहिरन अनि जीवन कहानीले विस्मृत अतीत पनि ताजा भएर आएको थियो।
‘मलाई चिन्नुभयो? अनि तपाईँ किन यहाँ?’– मैले उनलाई प्रश्न चिन्ह खडा गरेँ।
उनले मलाई एक छिन नियालेर हेरिन् अनि भनिन्– ‘खै बाबु! म बुढी मान्छे, मान्छे बिर्सने बानी छ। चिनिनँ।’
‘म त्यही के त। त्यही शिशिर जसले बसमा तपाईँलाई सिट दिएको थियो। सभापोखरी मेला भरेर हामी फर्कँदै थियौँ। छोरी खोज्न मधेस झरेकी भन्नु भाथ्यो त!’– मैले केही वर्ष पहिलेको इतिहास खोतलेँ।
‘ए! ए!’ उनले छोटकरीमा भनिन्। हजुरआमाले खासै सम्झेजस्तो लागेन। उनैले भनेजस्तो बिर्सने बानीले गाँज्दै लगेको जस्तो आभास भयो।
‘अनि तपाईँ किन यहाँ त? छोरी भेट्नुभयो त?' मेरो सुषुप्त उत्सुकता जागृत भयो।
‘यो घरका मान्छेलाई थाहा छ रे! तिमीलाई नि थाहा छ कि? खै त बा–आमा?’ उनले अनपेक्षित प्रतिप्रश्न गरिन्।
‘हन! यत्रो बेर कोसँग बोलेर बस्छ?’ ढोकाको गुनगुन सुनेर आमा फतफताउँदै आउनुभयो।
त्यसपछि जे भयो त्यो दृश्य आज–पर्यन्त मेरो मानसपटलमा घुमिरहेको छ। मेरी आमाले ती वृद्धालाई देख्ने बित्तिकै उनलाई अँगालो हालेर यसरी भाव विह्वल हुनुभयो कि सारा टोल नै गुञ्जायमान भयो। वृद्धाले पनि निःशब्द भएर आमालाई कसिलो अँगालो हालिन्। तिनको पनि भाव गङ्गाको बाँध विस्फोट भयो र चिच्याइन्– ‘छोरी! मेरी छोरी! कहाँ थियौ यत्रो वर्ष? मेरो माया किन मार्यौ नानी? एक दिन पनि तिमीलाई मेरो याद आएन? मेरी नानीलाई बल्लबल्ल भेटेँ। अब मर्दा पनि शान्तिले मर्न पाउने भएँ।’
मैले बुझिहालेँ कि ती वृद्धाकी छोरी मेरी आमा नै हुनुहुन्थ्यो तर बस यात्राका क्रममा ती वृद्धाले दिएका विवरण मलाई आमाले कहिल्यै भन्नुभएन। मलाई दिइएको जानकारी अनुसार मेरा बुवा र आमा दुवै अनाथ हुनुहुन्थ्यो र अनाथालयमा हुर्किनुभएको थियो। दशकौँ पछि आमा–छोरीको भेट हुँदा पनि सहजै एक–अर्कालाई चिनेको कुराले भने मलाई अचम्मित गरेन। आमाले सन्तानको रौँ पनि कतै बाटामा झरेको देखे सहजै चिन्छिन् रे! सन्तानले आमाको अनुहार त के, शरीरको सुगन्ध समेत कहिल्यै भुल्न सक्दैनन् रे!
‘म ठुलो परिबन्दमा परेँ आमा। कुनै दिन थिएन मैले तपाईँका बारेमा नसोचेको तर मैले चाहेजस्तो भएन आमा। समय क्रूर भएर निस्कियो’– आमाले आफ्नो विवशता खुलाउँदै हजुरआमालाई भित्र सोफामा डोहोर्याएर लैजानु भयो।
‘के परिबन्दमा पर्यौ छोरी? आफ्नी आमालाई भेट्नै नमिल्ने कस्तो निठुर परिबन्द थियो र?’ – हजुरआमासँग प्रश्नहरूका पहाड थिए।
‘धरानमा नर्स पढ्दा दोस्रो वर्ष त्यतै तिरको एउटा केटोसँग माया बस्यो। एक–अर्कासँग बाँच्नै नसक्ने भयौँ हामी। माया गरेर बिहे गर्नु त्यो समयमा कहाँ सजिलो थियो र आमा? बिहे गर्ने निर्णय अनि केटा र उसको परिवार बारे जानकारी गराउँदै डराई-डराई बुवालाई चिठी लेखेकी थिएँ। तर त्यसको उत्तर धेरै समयसम्म आएन’– आमा परिबन्दबारे खुल्दै जानुभयो।
‘जन्मेकी एउटी मात्र छोरी तिमी। माया गरेरै बिहे गरे पनि हामीलाई मन्जुर हुन्थ्यो होला। केही समय पक्कै रिसाउँथ्यौ होला तर आमा–बुवाको मन नौनी हो, माया–ममताको न्यानोले पग्लिहाल्थ्यो नि!’ हजुरआमा अझै सुँकसुँकाइरहनु भएको थियो।
‘मैले पनि त्यही सोचेकी थिएँ आमा तर धेरै महिना चिठीको उत्तर नआए पछि मनमा चिसो पस्न थालेको थियो। एक दिन चिठी पनि आयो तर सोचेको भन्दा बेग्लै तरिकाले आयो– ‘तँ मेरा लागि मरिस्, म यो खबर आमालाई कुनै हालतमा पनि सुनाउँदिनँ। त्यसले सहन सक्दिन। तैँले पनि कुनै माध्यमबाट सुनाउने कोसिस नगरेस्।’
‘माया लगाउँदैमा मेरा मालिकले त्यस्तो त नलेख्नु पर्ने। भन न छोरी के भएको हो साँच्चै?’ हजुरआमालाई आफ्ना मालिकले लेखेका ती शब्दप्रति विश्वास नै भएन।
‘मैले माया गरेको, मैले बिहे गरेको मान्छे यो समाजका लागि कथित तल्लो जातको मान्छे हुनुहुन्छ। तपाईंका ज्वाइँको थर 'नेपाली' हो’– आमाले वास्तविक रहस्य खोल्नुभयो। अचानक ती वृद्धा उठेर ढोका बाहिर गइन् र पुनः जोड जोडले रुन लागिन्। उदाउँदै गरेको सूर्यलाई हात थाप्दै बिलौना गरिन्– ‘हे सुर्जे भगवान्! हे प्रभु! कुन जन्ममा के पाप गरेकी रहिछु र यो अनिष्ट सुन्नुपर्यो। बरु यसलाई नभेटेकी भए नै हुन्थ्यो नि!’
‘मालिकका लागि त मरेकी थिइस् थिइस्, अब मेरा लागि नि मरिस्। मालिकलाई पनि यसैको पीडाले त होला नि चाँडै माथि लगेको। हे मेरा खसम, हे मेरा मालिक मलाई पनि चाँडै सँगै लैजानु है। अब यो संसारमा मेरो काम छैन’– लौरो टेक्दै बाटोतर्फ लम्कँदै गर्दा पनि उनको बिलौना रोकिने छाँटकाँट थिएन। यता मेरी आमाका सुकिसकेका आँसु पुनः बग्न थाले। आँसु दास रहेछ परिस्थितिको; कहिले खुसीमा बग्ने, कहिले दुःखमा बग्ने, कहिले शोकमा बग्ने, कहिले अफसोसमा बग्ने।
आमा र म एकछिनसम्म मौन रह्यौँ। धेरै चिज छिटो छिटो भइरहेका थिए।
आमाले नजिकै आएर मेरो गालामा म्वाइँ खानुभयो र भन्नुभयो– ‘म अभागिनीको भागमा त आमा–बुवाको माया यस्तै रह्यो। तिमीलाई चाहिँ बुवा-आमाको मायाको कहिल्यै कमी हुने छैन।’
हुन पनि मेरी आमाले धेरै कुरा भोग्नु भएको रहेछ। ‘नेपाल’ की छोरी, ‘नेपाली’ की बुहारी हुनुभयो तर एउटा ईकार थपिँदा यो समाजले स्वीकार नगर्ने परिस्थिति बनेछ, आफ्नै बुवाले पनि। उहाँको नर्सिङदेखि सिलाइ–कटाइसम्मको यात्रा, 'नेपाल' देखि 'नेपाली' सम्मको ‘मात्रा’ परिवर्तनको यात्रा, समाज परिवर्तनको यात्रा रहेछ। यत्रो गहिरो इतिहास लुकाएकोमा उहाँप्रति मनमनै आक्रोशित भएँ तर फेरि उहाँको परिबन्द, धैर्यता, त्याग, र साहसलाई सम्झिएँ, त्यो आक्रोश आफै मौन सम्मानमा बदलियो। कामको सिलसिलामा बाहिर रहनुभएका बुवालाई पनि अचानक सम्झिएँ मैले।
***
(वर्तमान समय कार्यालयमा)
‘ओहो! कस्तो गहन र मर्मस्पर्शी भोगाइ रहेछ शिशिर! मैले त एकछिनका लागि कुर्सी नै त मागेको थिएँ, तर तिमीले त अतीतमा डुबुल्की लगाउँदै समाजको द्वैध चरित्रको पर्दाफास नै गरिदियौ नि!’
‘खै सुशील दाइ! हजुरले कुर्सी माग्दा अचानक मलाई त्यो दिनको याद आयो। हजुर मेरो जिग्री दाइ हो नि त! त्यसैले सेयर गर्न मन लाग्यो। ‘
‘अनि तिम्री ती हजुरआमा कहाँ होलिन् आजभोलि?’
‘खसिसकिन् रे! धर्मशालादेखि नै खबर आएको थियो पोहोर।’
‘तिमीले उनलाई क्षमा गरिदियौ त?’
‘के भनूँ र दाइ! उनलाई गल्तीको कहिल्यै बोध नै भएन। क्षमाको पनि त आफ्नै एउटा गरिमा हुन्छ। यो पाप–पुण्य, कर्मभन्दा पनि दृष्टिकोण, सन्दर्भ र चेतनाको ऐना रहेछ। पाप नै सही दाइ, क्षमा दिन सकिनँ मैले चाहिँ।’
अस्तु।