ऊ एउटा शक्तिशाली मानिस
भएर उभियो
ऊ पर टल्किरहेको जून बनेर
सगरमाथाभन्दा माथिको शिखर बनेर
आफ्नो ब्रह्माण्ड सोचेका
मानिसबाट अलग्गिएर
निर्जीव सालिक बनेर
सजीव फूल बनेर
र, नै आज साराले उसलाई महसुस
गर्दछन् किनकि ऊ यहाँ छैन।
ऊ जब जीवित थियो
चिच्याउँथ्यो,
कराउँथ्यो,
पोल्यो भन्थ्यो,
अन्यायले आत्मा दुख्यो भन्थ्यो,
जीवनभरि नैतिकताको
पाठ सिकाउने ऊ मेहनती मानिस
उसैलाई अन्यायको जहर पिलाइयो
तर,
त्यस समय कोही आएन
उसको वरिपरि
कोही नाटक भनेर भागे
कोहीले उसैलाई दोषी बनाए
कोहीले बहुला भने
कोहीले सहनशीलताको गाथा सिकाए
तर
असली पीडामा मल्हम लिएर
कोही आएन
उसको चिच्याहटबाट जगत् रोयो
उसको स्वर सँगै बिस्तारै
जीवन भासियो
तब ऊ बिलायो
सृष्टिबाट टाढा अनि
सोध्न आए तमाम आफन्त
चिन्न थाले तमाम इस्टमित्र!
उसको फोटो पत्रिकाभरि फैलियो
बल्ल बुझे सबैले पीडा
तब ऊ आज शक्तिशाली
मानिस भएर उभियो धर्तीमा
तर जीवनको समाप्तिपछि
मृत्यु अंगालेपछि मात्र।