जब बाको पाखुरामा बल थियो
बा सबैको प्रिय थिए
बाको अनुहार र उपस्थित सबैलाई मन पर्थ्यो
बाको नाम परपर गाउँसम्म पनि सुनिन्थ्यो
छिमेकीहरू कोही पैसा माग्न आउँथे
कोही अर्ति उपदेश सुन्न आउँथे
कोही बा’का कुरा सुन्न मात्रै पनि आउँथे
उति बेला मलाई लाग्थ्यो
बा यो समाज कै ठुलो मान्छे हुन्
र सबैलाई मेरो बा चाहिन्छ
मेरा बा
गाउँभरिका बच्चाहरूको पनि मन पर्ने बाजे थिए
जब बा बजारबाट घर फर्किनु हुन्थ्यो
गाउँभरिका बच्चाहरू बाको खल्तीमा झुमिन्थे
र बाले ल्याइदिएको मिस्री, मिठाई खान्थे
अचेल बाको पाखुरामा बल छैन
बाको अनुहारमा चमकता छैन
बाको शरीर पनि लुलो भाको छ
मान्छे चिन्न छोडिसके
कान धेरै कम सुन्नु हुन्छ
र त मेरा बा एक्लो हुनु भको छ
हिजो बाले आफू रित्तिएर
अरूको खुसी किनिदिएका कयौँ उदाहरणहरू छन्
तर तिनै किनियाका खुसीहरूलाई
आज बा’को अनुहार याद छैन
बालाई सन्चो बिसन्चो भन्न पनि
अचेल उनीहरूका ओठहरू झिँजो मान्छन्
हिजो बाको कोटको खल्तीमा झुम्मिनेहरू
आज बाको अनुहारदेखि घिनाउँछन्
बा खोक्दा रिसाउँछन्, गाली गर्छन्, सराप्छन्
समयको नियति पनि कस्तो है
हिजो सबैको प्रिय मेरा बा
आज सबैको गालीको पात्र बन्न पुगे
हिजो मेरो बाको उपस्थितिमा रमाउनेहरू
आज मेरो बा नदेखिए पनि हुन्थ्यो भन्छन्
कठै!
कस्तो विचित्रको छ है यो समाज, मान्छे र
यहाँको चलन
हिजो बा भरी-भरी थिए र त सबैको थिए
आज बा रित्तो-रित्तो छन् र त कसैका छैनन्।