के रे!
गाउँ जाने रे!
त्यै पनि बीस वर्ष पछि!
कस्तो हुन्छ रे!
कस्तो हुने!
त्यस्तो केही हुन्न
तिम्ले चिनेका मान्छेहरू
लगभग हुने छैनन्
तिम्रा बालापनका साथीहरू
गाउँमा देखिने छैनन्
सबै सबै गए ...
सहरतिर खुसी खोज्न
तिमी जस्तै!
तिम्रो मस्तिष्कमा बसेको
बीस वर्ष अगाडिको गाउँको चित्र
अहिले फेरिएको छ
ढुङ्गाले छाएका,
खरले छाएका,
माटो र कमेरोले लिपेका घरहरू
देखिने छैनन्।
तिम्रा सम्झनाहरूमा भएका
बुढापाकाहरू
सबै सबै बितिसके
तरुनी, तन्नेरीहरू,
बालखाहरू
तिम्ले चिन्ने छैनौ
तिनीहरूले पनि तिम्लाई
चिन्ने छैनन्
नचिनेपछि
माया मोह कहाँ होला र!
बोल्नलाई साझा बुँदाहरू,
सम्झनाहरू
तिमी र तिनीहरूबीचमा हुने छैनन्।
हुन सक्छ,
तिनीहरू तिमीसँग नबोल्न पनि सक्छन्।
नबोल्दा,
आफ्नै गाउँमा
तिमी आफैँलाई अपरिचित लाग्न सक्ला।
मैले नकारात्मक सन्देश पो दिएँ कि है!
तिमीलाई तिम्रो जन्म गाउँ नजाऊ भन्न पो खोजेँ कि है!
त्यस्तो होइन है!
सत्य नलुकाएको मात्र हो।
बरु यसरी सोच
के तिमी बताससँग कुरा गर्न सक्छौ?
बतासलाई अनुभूति गर्न सक्छौ?
गाउँमा
अझै पनि उस्तै चिसो बतास चल्छ
तिम्रो बालापनमा हात, अनुहारको
छाला फुटाउने बतास भन्थ्यौ नि
त्यस्तै...
तिमीले सानोमा माछा मार्न जाने
खोला उस्तै छ
खै, माछा भने के छ कुन्नि!
गाउँबाट एक घण्टा उकालो चढेर पुगिने
देउराली उस्तै छ
उस्तै गरी देउरालीबाट
माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि
अझै पनि देखिन्छ
उस्तै गरी ती सेता हिमालहरू
अझै पनि उभिएकै छन्
के तिमी ती हिमालहरूसँग
आँखा जुधाएर
भावनाहरू साटासाट गर्न सक्छौ र!
तिमीले रुखहरूसँग कुरा गर्न सक्छौ र!
अझै पनि तिम्ले घाँस काट्न जाने
देउराली वरपरका पाखाहरूमा
खर्सुङका रुखहरू उस्तै भए जस्तो लाग्छ
ती खर्सुङका रुखहरू तिम्ले घाँस काटेका नै हुन् कि!
नयाँ पलाएर हुर्किएका हुन् कुन्नि!
अनि
तिम्रो घर छेउमा
तिमी खेल्ने चउर थियो नि
त्यो चउरमा तिम्रा बालापनका
पाइलाका डोबहरू
तिम्लाई खोज्न मन लाग्ला
ती डोबहरू भने भेट्ने छैनौ
त्यो चउर
सबै-सबै बनमाराले छोपेको छ।
तिमीले माटोको सुगन्ध थाहा पाउन सक्छौ?
माटोमा आफ्नोपन अनुभूति गर्न सक्छौ?
तिम्रो गाउँको माटो अझै उस्तै छ
त्यो माटोमा भने
तिमी हिँड्न सक्छौ,
बस्न सक्छौ,
हात हुँदै हृदयले छुन सक्छौ
आफ्नोपन अनुभूति गर्न सक्छौ।
तिम्ले सानोमा हिँडेका
भञ्ज्याङ जाने
उकालोमा छापिएका ढुङ्गाहरू
अझै उस्तै छन्
के तिमी ती ढुङ्गाहरूसँग
कुरा गर्न सक्छौ!
के तिमी गाउँको बिचमा रहेको
बरपिपलको चौतारीसँग कुरा गर्न सक्छौ!
के तिमी!
के तिमी बताससँग कुरा गर्न सक्छौ!
के तिमी माटोलाई अनुभूति गर्न सक्छौ!
के तिमी पाखाहरूसँग कुरा गर्न सक्छौ!
के तिमी
के तिमी ...!