सरकारले 'बागमतीको डुबानबाट बचाउने' भन्दै काठमाडौं उपत्यकाका नदी/खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँका बासिन्दालाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो।
तीमध्ये कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी अहिले बागमतीको डुबानकै कारण यहाँबाट पनि विस्थापित हुनुपर्ने अवस्था आएको छ।
शनिबार बिहानको झरीले बागमती नदी किनारमै रहेको कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा परेपछि यहाँ बसिरहेका ५६ परिवार फेरि विस्थापित हुनुपर्ने अवस्थामा पुगेका हुन्। शनिबार बिहान १ बजेतिर होल्डिङ सेन्टरमा पानी पस्न थालेपछि रातभरि सुत्न नपाएको उनीहरूले बताएका छन्।
अचानक कम्मरभन्दा माथिसम्म पानी जमेपछि बगाउने डरले उनीहरू ओढ्ने-ओछ्याउने समेत छाडेर बाहिर निस्किएका थिए। कतिले ओढ्ने-ओछ्याउनेसम्म निकाल्न भ्याए।
होल्डिङ सेन्टरमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी केही दिनअघि नै त्यहाँबाट फर्किसकेका थिए भने कीर्तिपुर प्रहरी वृत्तले खटाएका एक जना मात्र सुरक्षाकर्मी त्यहाँ उपस्थित थिए।
बाढीको जोखिम बढेपछि सुरूमा बालबालिकाहरूलाई सुरक्षित स्थानतर्फ लगिएको थियो।
सेन्टरमा आश्रित निरज थापामगरले राति नै उद्धारका लागि सञ्चारमाध्यम र सरोकारवालाहरूलाई गुहारे पनि रातभर कोही नपुगेको बताए।
'हामीले राति नै कति धेरै मिडियालाई फोन गर्यौं, तर कोही आएनन्,' उनले भने, 'बिहान मात्र उद्धार टोली आइपुग्यो।'
बिहान आइपुगेको सशस्त्र र नेपाल प्रहरीको टोलीले उनीहरूलाई त्रिभुवन विश्वविद्यालयको भवनमा सारेको थियो। रातभरको पानीले भिजेका लुगा शरीरमै सुकाएका पीडितहरूलाई प्रहरीले सामान निकाल्न सघाएका थिए। त्यसपछि अन्य सर्वसाधारण पनि घटनास्थल पुगेको निरज बताउँछन्।
'भएका एक–दुई जोर लुगा र ओढ्नी ओछयाउनी भिजेपछि दिनभर विवाद भयो,' उनले भने, 'हाम्रो पक्षमा बोल्नेहरूलाई नियन्त्रणमा लिइयो।'
शनिबार दिउँसो नै केही जेनजी अभियानी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था बुझ्न जाँदा प्रहरीले उनीहरूमाथि धरपकड गरेको थियो। धरपकडमा जेनजी मुभमेन्ट अलायन्सका माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिएको थियो।
यी तीन जनामध्ये सरिश्मा र नहेन्द्रलाई रिहा गरिएको छ। माजिद अन्सारीलाई भने प्रहरी कुटपिटमा नाक र मुखबाट रगत बगेको र आँखामा समेत चोट लागेकाले थप उपचार निम्ति टिचिङ अस्पताल लगिएको जेनजी अभियानी तथा अधिवक्ता अरनव चौधरीले बताएका छन्।
यो घटनापछि दिनभरजसो होल्डिङ सेन्टर क्षेत्र तनावग्रस्त रह्यो।
'तपाईहरूलाई यहाँ डुबानमा पर्दा बचाउन अभियानी र पत्रकारहरू आउँदैनन्। हामी नै आउने हो। हामीले भनेको मान्नुहोस्। जे भन्छौं त्यही गर्नुहोस्। धेरै नबोल्नुहोस् भनेर प्रहरीहरूले भन्नुभयो,' निरजले सुनाए, 'सुरूमा त मिडियालाई पनि छिर्न रोक लगाइएको थियो। केही बेर विवाद भएपछि भित्र छिर्न दिइयो।'
सुकुम्बासीहरूको विरोधपछि प्रधानमन्त्री कार्यालय र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरू कीर्तिपुर पुगेका थिए। त्यसपछि साँझपख उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्ने सहमति भयो।
सहमति अनुसार केही परिवारलाई भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा सारिएको निरजले जानकारी दिए।
'हामी अहिले खरिपाटी जाँदैछौं। हामीलाई सुरक्षित बासस्थान चाहिएको हो,' निरजले आक्रोश पोखे, 'सरकारले बागमतीको डुबाउनबाट बचाउने भन्दै हाम्रो पुरानो घर, बस्ती उजाड्यो, अहिले यही ठाउँ पनि डुबानमा परेर हाम्रो बिचल्ली भयो। पहिले विस्थापित हुँदा जोगाएर ल्याएका एक–दुई जोर लुगा पनि सखाप भयो।'
शुक्रबार रातिदेखि नसुतेका यहाँका सुकुम्बासी अब के गर्ने भनेर सोच्न पनि सकेका छैनन्। बिस्तारै यो विषयमा छलफल गरेर एकजुट हुने र देशभरका सुकुम्बासीलाई पनि एकजुट गराउनेतर्फ पहल गर्ने उनीहरूको भनाइ छ।
कीर्तिपुर होल्डिङ सेन्टरकै अर्का सुकुम्बासी दलमर्दन कामीले 'तत्काल समस्या समाधान गर्छु भनेर ल्याएको सरकारले बिरालोले बच्चा सारेजस्तो यताबाट उता सार्ने काम मात्र गरिरहेकाले प्रतिरोध गर्ने' बताए।
'सरकारले हामीलाई मान्छे नै गनेन,' उनले भने, 'यो क्षेत्र डुबानको जोखिममा छ भन्ने थाहा पाउँदा पाउँदै राज्यले लापरबाहीपूर्वक हामीलाई यहाँ ल्याएर राख्यो। पहिले डुबानको डर देखाउँदै सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारलाई यो ठाउँ पनि डुबानको जोखिममा छ भन्ने थाहा थिएन र?'
उनले अगाडि भने, 'गरिब सुकुम्बासी हुन्, मरे पनि केही फरक पर्दैन भन्ने राज्यको व्यवहार देखियो। सरकारबाट मानवता र न्याय पाउन धनी नै हुनुपर्ने रहेछ।'
गएरातिको वर्षाले होल्डिङ सेन्टर डुबानमा पर्दा पनि विरोध नभएसम्म सरकारले चासो नदिएकोमा उनले आक्रोश व्यक्त गरे।
'हामीले विरोध नगरेका भए सरकारले हामीलाई मर्नकै लागि यहाँ छाडिदिने रहेछन्,' उनले भने, 'हामी सुकुम्बासी भए पनि यही देशका नागरिक हौं, चुप लागेर बस्दैनौं।'
त्यस्तै, ४९ वर्षीया लिला सार्कीले पनि सरकारले आफूहरूमाथि पटक-पटक अत्याचार गरिरहेको बताइन्।
'पहिले घर भत्काइदियो, अहिले बस्न दिएको ठाउँमा पनि पानी पर्नासाथ बाढी पस्छ,' उनले भनिन्, 'हामी जति चिच्चाए पनि सरकारले सुन्दैन। यसरी दिनदिनै पीडा दिएर मार्नुभन्दा सरकारले एकैचोटि मारिदिए हुन्थ्यो।'
यसबीच अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले डुबानमा परेका कीर्तिपुरका सुकुम्बासीलाई भक्तपुरको बोडे र खरिपाटीमा स्थानान्तरण भइरहेको पुष्टि गरे।
'बोडे र खरिपाटीको होल्डिङ सेन्टर खाली भएकाले उनीहरूलाई त्यता लागिएको हो,' महर्जनले भने।
उनका अनुसार यसअघि बोडेमा रहेका सुकुम्बासीहरू गत असार २२ गते नै सेन्टर छाडेर गइसकेका थिए भने खरिपाटीमा पनि खानपिनको टुंगो नभएपछि आधाभन्दा बढीले सेन्टर छाडेका थिए।
अहिले खाली भएका तिनै स्थानमा कीर्तिपुरका डुबान पीडितहरूलाई राख्ने तयारी भइरहेको र कतिपय पुग्ने क्रममा रहेको समितिले जनाएको छ।
दुई महिनाअघि आफ्नो एकल निर्णयबाट सुकुम्बासी बस्ती खाली गराउन प्रहरी-प्रशासनलाई निर्देशन दिएपछि प्रधानमन्त्री बालेन शाहले फेसबुकमा स्ट्याटस लेखेका थिए।
हरेक वर्ष बाढीका कारण काठमाडौं नदी किनारका हजारौं मानिस डुबानमा परेको उल्लेख गर्दै बालेनले लेखेका थिए, 'थापाथली, गैरीगाउँ, मनोहरा लगायत खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।'
उनले यो पनि भनेका थिए, 'हामी सरकारमा छौं; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौं। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं। वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस्।'
प्रधानमन्त्री बालेनले 'ढुक्क हुनुहोस्' भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएर २६ सयभन्दा बढी परिवारलाई बेघर बनाएको दुई महिना बितिसकेको छ। तर यो दुई महिनामा सरकारले सुकुम्बासी समस्या सुल्झाउनुको साटो झन् झन् बल्झाउँदैछ।
-1783737468.jpeg)
-1783737470.jpeg)
-1783737471.jpeg)
-1783737472.jpeg)
-1783737473.jpeg)
-1783737476.jpeg)
-1783737478.jpeg)
-1783737480.jpeg)
-1783737481.jpeg)
-1783737484.jpeg)
-1783737484.jpeg)
-ink-1783740459.jpeg)
-ink-1783740459.jpeg)
-ink-1783740462.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762017.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762019.jpeg)
यो पनि पढ्नुहोस्: