असोज सकिएर कात्तिक महिना सुरु भए लगत्तै चितवनले हल्का शीतलता महसुस गरेको थियो। दसैँमा आफन्तजनसँग टीका, जमरा र आशीर्वाद थाप्न टाढा-टाढाबाट आएका हुलका हुल मानिसहरू रमाइलो सकेर पोकापुन्तुरा र कोसेलीपात बोकी कर्मथलोतिर फर्कन हतारिइरहेका थिए। तिहार पनि नजिकिँदै थियो भने मानो रोपेर मुरी भित्र्याउने बेला भएकाले किसानहरूमा थप रौनकता छाएको थियो।
चितवनको पहेँलपुर माडी फाँटमा आँखाले देखुन्जेल परपरसम्म किसानका मेहनतका सिर्जनाहरू झुलिरहेका थिए। गर्मी सकिएपछिको साँझपख चल्ने सिरसिरे बतासले किसानको मनमा उमङ्ग र उत्सुकताको नयाँ तरङ्ग भरिदिएको थियो। मानौँ, उनीहरूका मनमा पलाएका आशाका किरणहरू धानका पहेँलपुर बालाहरूमा सूर्यको पहिलो स्पर्श परेझैँ टल्किरहेका छन्। तिहार लगत्तै धान काट्ने चटारो सुरु हुँदै थियो।
उत्तरी गोलार्धको अत्यन्तै चिसो क्षेत्र साइबेरियाबाट मालचरीका बथानहरू वर्षेनी अग्ला हिमालहरू नाघ्दै, लामो दुरी पार गरेर चिसो छल्न नेपाल भित्रिन्थे। मालचरीको 'कर्याङकुरुङ' आवाजसहितको आगमनले माडी फाँट वरपरका सिमसार क्षेत्रहरूमा बेग्लै रौनक छाउँथ्यो। रैथाने किसानहरू मालचरीको बथान देखेपछि धान काट्ने समय सुरु भएको लख काट्थे। बुढापाकाले भनेको सुनेको थिएँ– मालचरीको आगमनलाई नै आधार मानेर पुराना मानिसहरू ऋतु फेरिएको अनुमान लगाउँथे रे।
एक बिहान नुहाइधुवाइ सकेर कपडा सुकाउन घरको छततिर उक्लिएको थिएँ। काम सकेर परपरसम्म लहलह झुलेका पहेँलपुर धानको सुनौलो फाँट नियाल्दै टोलाइरहेको थिएँ। यसै क्रममा उत्तरतर्फको चुरेको डाँडो नाघेर एक हुल मालचरी चितवन प्रवेश गरेको सुन्दर दृश्यले मेरो मनै लोभ्यायो।
चर्को आवाज निकाल्दै, एकदमै अनुशासित ढङ्गले लामबद्ध भएर कहिले अङ्ग्रेजी 'यू' त कहिले 'भी' अनि कहिले 'डब्लू' आकारका नागबेली रूपमा करिब दुई-तीन हजारको सङ्ख्यामा आएका चराहरूले आकाशै गुञ्जायमान बनाइदिए। मालचरीको त्यो बथान देख्दा मलाई झलक्क केही समयअघि हेरेको नेपाली चलचित्रको एउटा गीत याद आयो– ‘मालचरीको बथान हजुर... बसाइँ सरी आए।’
धान काट्ने दिन थियो। घरमा बेग्लै रौनक थियो। आमा दिउँसोको खाजाको तारतम्य मिलाउनतिर लाग्नुभएको थियो। नयाँ पहेँले धानको चाम्रे खाजा! सम्झँदा मात्रै पनि मुखै रसाउने त्यो खाजाको प्रतीक्षा कति बेलासम्म गर्नुपर्ने हो कुन्नि? भन्दै भान्सातिरबाट आएको चाम्रेको मधुर वासनाले मन आनन्दित बनाउँदै थिए।
बुबाले भर्खरै चलनचल्तीमा आएको थ्रेसर मेसिन लगेर खेतमा जडान गरिसक्नु भएको थियो। दिदी खेतालाहरूसँग सम्पर्क गर्दै उनीहरू आउने-नआउने कुरा निश्चित गरिरहनुभएको थियो। म पनि बुबासँगै पहिले नै खेतमा पुगेर धान कटानीको तयारीमा मस्त थिएँ। धान काट्ने, बोक्ने, थ्रेसरमा हालेर धान चुट्ने, धान र पराल छुट्टाउने अनि कुन्यू लगाउने जस्ता तोकिएका आ-आफ्ना काममा सबैजना तल्लीन थिए।
आज पनि मलाई दसैँ-तिहारभन्दा धान काट्ने र दाइँ गर्ने दिन विशेष रमाइला लाग्छन्। कीर्तिपुरको घरको छतमा बसेर विगतको स्मृतिमा टोलाइरहँदा पछाडिबाट श्रीमतीले अँगालो हाल्दा मन झसङ्ग भयो।
‘के सोचिरहनुभएको?’ श्रीमतीले सोधिन्।
‘खास केही होइन, त्यत्तिकै विगतको बाल्यकाल सम्झेर टोलाएको,’ मैले भनेँ।
‘बाल्यकालको कुन कुराले यसरी एक्लै टोलाउने बनायो? हामीलाई पनि सुनाउनुहोस् न!’ उनले भनिन्।
‘तिमीलाई मालचरीको बारेमा केही थाहा छ?’ मैले अनायासै उनको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ।
उनले केही बेर सोचिन् र मन्द मुस्कानका साथ थपिन्, ‘नाम त कता-कता सुनेकी हुँ, तर उसको कथा विस्तृतमा थाहा छैन। भन्नुस् न, के हो मालचरी भनेको?’
मैले उनको हात आफ्नो हातमा लिँदै प्रेमिल स्वरमा भनेँ, ‘मालचरी हाम्रो देशको रैथाने चरा त होइन, तैपनि यो चराको हाम्रो देश र माटोसँग एउटा अगाध र शताब्दियौँ पुरानो नाता जोडिएको छ।’
‘यो त हिउँदको चिसो छल्न उत्तरी साइबेरियाको हिउँबाट हजारौँ माइलको यात्रा तय गर्दै, अग्ला हिमाली टाकुराहरू नाघेर हाम्रो माटोमा सुस्ताउन आउने एउटा विरही यात्रु हो। अर्थात्, यो चरा त एउटा हाम्रो प्रकृतिको अनौठो पर्यटक हो। जब यिनीहरू आकाशमा ठुलो बथान बनाएर लामबद्ध भई उड्छन्, तब आकाशै थर्किने गरी एउटा मधुर तर विरही धुन गुन्जिन्छ। त्यसैले हाम्रो गाउँघरतिर यसलाई कर्याङकुरुङ पनि भन्छन्।’
मेरो कुरा सुनेर उनले मधुर साँझको शीतलझैँ मन्द रूपमा टाउको हल्लाइन्, मानौँ उनले मालचरीको त्यो लामो यात्राको दुख र प्रेमलाई मनैदेखि महसुस गरिरहेकी छिन्।
मैले उनलाई मेरो विगतको त्यो सुनौलो समयतर्फ डोर्याएँ, ‘हामी साना छँदा खेतमा जब धान काटिसकिन्थ्यो, मालचरीका जोडीहरू खेतमा खसेका धानका दाना टिपेर आफ्नो आहारा जुटाउन एकाबिहानै आइपुग्थे। म प्रायः ती प्रेमिल जोडीहरूलाई हेर्न बिहानै खेततर्फ दौडिन्थेँ। खेतको आलीमा बस्थेँ अनि घाँसमा परेका शीतका थोपाहरूमा बिहानीको पहिलो किरण पर्दा टल्कने मोतीजस्ता दानाहरूलाई हत्केलामा थाप्ने कोसिस गर्थेँ। ठ्याक्कै त्यही बेला मालचरीका जोडीहरू पनि पखेटा फट्फट्टाउँदै खेतमा ओर्लिसक्थे।’
‘एक दिन बुबाले मलाई मालचरीका बारेमा एउटा लामो र रोचक कथा सुनाउनुभएको थियो,’ मैले विगतको पाना पल्टाउँदै श्रीमतीलाई भनेँ, ‘हाम्रा देशका रैथाने चराहरूभन्दा फरक स्वभाव भएका यी चराहरू दुई-तीन महिनाको जाडो छल्न न्यानो बासस्थानको खोजीमा नेपालसम्म आइपुग्छन्। 'लक्ष्मण सारस' को नामले समेत चिनिने यी चराहरूको छुट्टै धार्मिक र पौराणिक महत्त्व पनि रहेछ। बुबाका अनुसार, त्रेतायुगमा लक्ष्मण मुर्छित हुँदा उनलाई बचाउन हनुमानले हिमालयबाट सञ्जीवनी बुटी लिएर आउँदा यी चराहरू पनि उनीसँगै पछिपछि उडेर आएका थिए रे! त्यसैले अहिले पनि यिनीहरू त्यही हिमाली बाटो हुँदै हरेक वर्ष नेपाल आउने गर्छन्।’
तिब्बततिरको बौद्ध संस्कृतिमा त यसलाई शान्ति, लामो आयु र समृद्धिको प्रतीक मानिँदो रहेछ।
‘यिनीहरूको प्रेमको रोचकता संसारका अरू प्राणीको भन्दा निकै फरक रहेछ,’ मैले यसो भन्न नपाउँदै उनले थप जान्ने उत्सुकता व्यक्त गर्दै सोधिन्, ‘कस्तो रोचकता नि?’
‘प्रेममा यिनीहरू एकदमै वफादार हुन्छन् र जीवनमा एक पटक मात्र जोडी बाँध्छन्,’ मैले उनको आँखामा हेर्दै भनेँ, ‘यदि गुँडमा बसेको बेला वा उडानका क्रममा कुनै कारणवश जोडी मध्येको एकजनाको मृत्यु भयो भने, अर्कोले लामो समयसम्म रोएझैँ गरी अत्यन्तै दुखद आवाज निकाल्छ। आफ्नो साथीको वियोगमा उसले अन्नपानी त्याग्छ र त्यही पीडामा छटपटिँदै मृत्युवरण गर्छ। प्रेमको यस्तो उत्कृष्ट समर्पणलाई त मान्नै पर्छ बा!’
‘त्यसो भए त यिनीहरू प्रेमको सच्चा प्रतीक पो रहेछन् त हगि!’ उनीहरूको गहिरो प्रेमप्रति उच्च सम्मान प्रकट गर्दै उनले भनिन्। अनि अचानक मालचरीको त्यो समर्पणलाई आफूमा समाहित गर्दै भावुक स्वरमा सोधिन्, ‘साँच्ची, भोलि म कुनै कारणवश तपाईंबाट बिछोडिए भने तपाईं के गर्नुहुन्छ नि?’
‘तिमीबिना त मेरो हालत पनि त्यही विरही मालचरीको जस्तै त हुने होला नि!’ मैले उनलाई अझ नजिक खिच्दै प्रेमभाव प्रकट गरेँ।
‘आजकल पनि ती मालचरी हाम्रो आकाशमा आउँछन् त? अबका हिउँदमा उनीहरू आए भने मलाई पनि त्यो प्रेमको उत्सव देखाइदिनुस् न! मलाई उनीहरूको त्यो पवित्र प्रेमलीला आफ्नै आँखाले नियाल्ने रहर छ,’ उत्सुकताको पोको फुकाउँदै उनले भनिन्।
‘अहँ प्रिय! आजकल पहिलाजस्तो पूरै आकाश ढाक्ने गरी मालचरीका विशाल बथानहरू नेपाल ओर्लिँदैनन्,’ मैले मन भारी बनाउँदै भनेँ।
‘किन र? के उनीहरूलाई हाम्रो देश र यहाँको न्यानो आतिथ्य मन पर्न छाडेको हो र?’ उनको स्वरमा एउटा सात्त्विक आश्चर्य थियो।
‘होइन नि, उनीहरू बदलिएका होइनन्, बदलिएका त हामी हौँ। हाम्रै स्वार्थका कारण आज उनीहरू यहाँ आउन डराउँछन्।’
‘किन? हामीले त्यस्तो के अपराध गरेका छौँ र?’ उनले आँखाहरू ठुला पार्दै उत्सुकताको प्रश्न तेर्स्याइन्।
मैले एउटा लामो र चिसो सुस्केरा हाल्दै क्षोभ प्रकट गरेँ, ‘हामीले मालचरीको त्यो कञ्चन संसार र बासस्थान भत्कायौँ प्रिय! बढी उब्जाउको लोभ र आधुनिकताको अन्धो दौडमा हामीले खेतबारीमा जुन रासायनिक मल र विषादीको प्रयोग गर्यौँ, त्यसले उनीहरूको रैथाने पर्यावरण नै समाप्त पारिदियो। उनीहरूका लागि अनुकूल हुने त्यो कञ्चन पानी, रैथाने आहारा र स्वच्छ हावा हामी आफैँले नष्ट गरिदियौँ।’
‘मानव जाति कति साह्रो स्वार्थी बनेको हगि! आफ्नो विकासको अन्धो दौडमा उसले प्रकृतिका अरू निर्दोष सन्तानहरूको अस्तित्वको रत्तीभर ख्याल गर्दैन,’ उनको स्वरमा एउटा गहिरो उदासी र चित्कार थियो।
‘हो प्रिय, तिमी त धेरै पछि मात्र त्यो गाउँको बुहारी बनेर आयौ,’ मैले कीर्तिपुरको छतबाट टोलाउँदै अतीतको माडीलाई सम्झिएँ, ‘मैले बाल्यकालमा साक्षात् भोगेको माडी त प्रकृतिको एउटा सजीव टुक्रा थियो। जहाँ आँखै लोभ्याउने विशाल सिमसारहरू थिए, चराहरूको चिरबिर थियो। तर आज त्यो सुन्दरतालाई निलेर कंक्रिटका निर्जीव महलहरू ठडिएका छन्। सिमसारका छातीहरू पुरिएका छन्। आधुनिकताका नाममा आकाशतिर टाँगिएका बिजुलीका नङ्ग्राहरू (तारहरू) यी चराहरूका लागि मृत्युका पासो बनेका छन्। हामीले आफ्नो स्वार्थबाहेक अरू केही सोच्नै सकेनौँ यार।’
मेरो आँखामा विगतका तस्बिरहरू नाचिरहेका थिए, मैले भावुक हुँदै थपेँ, ‘कुनै समय खेतबारीमा जहर नघोलिँदा, यिनै मालचरीहरू बालीका शत्रु-किराहरू सखाप पारेर किसानका सच्चा सहयात्री बन्थे। आज मानिसले प्रकृतिको छातीमा हैकम जमाएर विनाशको बीउ रोपिरहँदा, यी चराहरू भने प्रकृतिसँग लय मिलाएर कसरी बाँच्नुपर्छ भन्ने एउटा मौन तर शक्तिशाली सन्देश छोडेर गइरहेका छन्।’
‘भनेपछि मालचरीबाट हामी मानिसले सिक्नुपर्ने कुराहरू त धेरै रहेछन् हगि!’ उनले गहिरो अनि चित्ताकर्षक भाव प्रकट गर्दै भनिन्।
‘हो नि प्रिय! आजको यो आधुनिक समाजमा, जहाँ सम्बन्धहरू अविश्वास र स्वार्थका कारण स-साना कुरामै सजिलै टुट्ने गर्छन्, त्यहाँ हिजोआजका हरेक प्रेमिल जोडीले सच्चा प्रेम, आपसी समर्पण, अटुट विश्वास र जीवनभरको बफादारिता त यिनै मालचरीहरूबाट सिकुन् जस्तो लाग्छ।’
‘के अब ती चराहरूलाई नेपालमा फेरि त्यही न्यानो आतिथ्य दिन सकिँदैन त?’ सम्भावनाको झिनो आशाको त्यान्द्रो तेर्स्याउँदै उनले सोधिन्।
‘किन नसकिनु? अवश्य सकिन्छ नि! राज्यको इच्छाशक्ति र जनताको चेतनास्तर बलियो बन्न सक्यो भने हामी ती अबोध पन्छीहरूलाई फेरि नेपालमा गौरवका साथ स्वागत गर्न सक्छौँ,’ मैले भरोसा दिलाउँदै भनेँ, ‘कम्तीमा तिनीहरूको बासस्थान र सिमसारको संरक्षण गर्ने अनि रासायनिक मल तथा विषादीको साटो जैविक विषादी र अर्गानिक पद्धतिको विकास गरेर खेतीपाती गर्न सकियो भने मात्रै पनि हामी तिनीहरूलाई पुरानै लयमा फर्काउन सक्छौँ।’
‘त्यसो हुन सक्यो भने त मेरो आँखाले मालचरीको त्यो पावन प्रेमालाप नियाल्ने रहर पनि पूरा हुने थियो,’ आफ्नो भरोसालाई आँखाहरूमा चम्काउँदै उनले मधुर स्वरमा भनिन्।
‘अवश्य! अवश्य फेरि त्यो स्वर्णिम दिन फर्किनेछ,’ मैले उनलाई आफ्नो अँगालोमा अझ नजिक खिच्दै भविष्यको सुन्दर चित्र कोरेँ, ‘अनि हामी सँगै चितवन जानेछौँ। आफ्नै घरको आँगनमा उभिएर जब हामी मालचरीहरू हिमाली छाती नाघ्दै नेपाल प्रवेश गर्दाको त्यो विहङ्गम मङ्गल धुन सुन्नेछौँ, तब प्रकृतिका ती निष्पाप यात्रीहरूको प्रेममा हाम्रो प्रेमको रैथाने रस पनि समाहित गरिदिनेछौँ।’