करिब बाह्र वर्षको सहर बसाइँपछि कोलाहल र व्यस्त दिनचर्याबाट अल्लि टाढा बस्न मन लागेर आफू पहिला बसेको कीर्तिपुरमा डेरा सरेको थिएँ।
कीर्तिपुर साह्रै मन पर्ने ठाउँ, दशकपछि आउँदा बाल्यकालका साथी भेटे जस्तो लाग्ने कीर्तिपुरसँगको प्रेमले नै मलाई पुनः तानेको थियो। डेरा सर्दाको भोलिपल्ट बिहानै आफू १०–११ वर्ष बसेको घर हुँदै बाघभैरवतिर जान खोजेको थिएँ।
अकस्मात रिनासँग आँखा जुध्यो।
ऊ कौसीमा त्यसै गरी बसेकी थिई, जसरी पहिला प्रभु आउने बाटो हेरिरहन्थी, मात्र फरक थियो त उसको मुहारको चमकता। उसले मलाई चिनिन। म सिधै गोविन्द दाइको पसलतिर हानिएँ, नेवार बस्तीमा जमेको काँठे बाहुन थिए। छोटो मिठो भलाकुसारी भयो। दाइले रिनाले अझै बिहे गरेकी छैन भनेपछि मलाई एकाएक बाइस वर्षअघिको घटना फिल्मको रिल घुमेझैँ घुम्न थाल्यो।
सधैँजसो नयाँ बजारमा गाडी झरेर माथि सिँढी उक्लँदै थिएँ, भाइ म आउने बाटो कुरेर बसेको रहेछ। मलाई देख्नेबित्तिकै एकै सासमा बोल्न थाल्यो, 'दाइ भगवानलाई त पुलिसले लग्यो, तपाईंलाई बोलाका छन्।'
हतारिँदै कीर्तिपुर पुलिस चौकी पुगेँ।
भगवान र रिना प्रेममा रहेछन् भन्ने कुरो त्यहीँ पुगेपछि थाहा पाएँ।
आफूले भगवानलाई साँचो प्रेम गरेको र बिहे पनि उसित नै गर्ने, उबाहेक कसैसँग पनि बिहे नगर्ने भनी घरपरिवारले अहिले खोजेको केटासँग बिहे गर्नुपर्दछ भने बरू झुन्डिएर मर्छु भनेर घरबाट डोरी लिएर निस्केकी रिना नफर्किएपछि परिवारको उजुरीको आधारमा सोधपुछका लागि बोलाइएको रहेछ। केटाको स्थानीय अभिभावकका नाताले सरसल्लाहका लागि मलाई बोलाएका रहेछन्। पछि विद्यार्थी र स्थानीय त्रि.वि. जङ्गलतिर परिचालन भए र रिनालाई त्यहीँ सकुशल ल्याए। भगवानको बुबालाई प्रहरीले पहिल्यै खबर गरिसकेको रहेछ। भोलि सिधै कीर्तिपुर चौकीमा आउन भनिएको रहेछ। त्यसैले थप दुर्घटना नहोस् भन्नका लागि भगवानलाई त्यहीँ राख्ने र रिनालाई उनकै सानाबा सानीआमाको जिम्मा लगाएर त्यो दिन बिदाबारी भइयो।
रिनाका सानाबा त्रि.वि.मा क्यान्टिन चलाउने हुँदा हाम्रो बाक्लै भेटघाट हुन्थ्यो। हामी दुवै जनाको पहिल्यै चिनजान भएको हुनाले पनि परिस्थितिलाई सहजीकरण गर्नमा एकअर्कामा घनीभूत लागेका थियौँ।
रिना नेवारकी छोरी, घर पूर्व, यता सानाबा सानीआमाको छोराछोरी रहेनछन्, सानैदेखि यतै कीर्तिपुर बसेर पढेकी। सानाबा सानीआमाको छोरा भने पनि छोरी भने पनि रिना मात्रै। भगवान र रिना कीर्तिपुरमा ११ कक्षा सँगै पढ्ने। भगवानको अभिभावक या नजिकको जे भने पनि म आफै थिएँ। छ वटी छोरी हुँदा पनि छोरा नभएपछि पण्डित कृष्णप्रसाद उपाध्यायको दोस्रो श्रीमतीको पनि चौथो सन्तान र एक मात्र छोरा थिए भगवान। निकै संस्कार, संस्कृति सँगसँगै रूढिवादीमा पनि कट्टर। छोराले आफ्नै पेसा धानोस् भनेर विद्यापीठमा पढाउन चाहन्थे तर छोराको जिद्दीले गर्दा कर्मसमा भर्ना गरिएको थियो। हाम्रो गाउँका अग्रज दाइहरू तीन जना जो काठमाडौँ पढ्न आएका थिए, उनीहरू सबैले काठमाडौँकै नेवारी केटीहरूसँग प्रेम विवाह गरेका थिए। पण्डितनी बज्यैले त उता गाउँमा उनीहरूको घरमा जाँदा पानी पनि खाँदिनथिन्। बुढाले भगवानको भर्ना गर्न आउने बेलामा मलाई समेत जिस्काएका थिए, 'के हो बाबु, हाम्रो गाउँका जो–जो काठमाडौँ आछन् सबका सबले नेवार्नी ब्या गरे। बाबुको त त्यस्तो केही छैन नि?' भन्दै निकै चासो र चिन्ता राख्याथे।
'हेर्नु है बाबु यिनीहरू पनि त्यस्ता दायाँ–बायाँतिर लाग्लान्... अहिलेसम्म बाउबाजेले आर्जेको इज्जत फेरि... बाबु शङ्कर यसको ख्याल गर्नु, कुनै गलत काममा लाग्यो भने दुई–चार झापड लगाए पनि म केही भन्ने छैन।'
मेरो भाइतिर देखाउँदै: 'जस्तो तिम्रो भाइ नारन त्यस्तै उ भगवान' भन्दै तिम्रै जिम्मा लगाएँ भनेर गएको तीन महिना भएको थिएन, यता आफूलाई फसाद आइलाग्यो।
रात्रि बसमा काठमाडौँ हिँडेका पण्डित कृष्ण झिसमिसेमै कोठा ढकढक गर्न आइपुगे। लामो सुस्केरा हाल्दै टोपीले पसिना पुछेर झोला र टोपी भुइँमा फाल्दै अत्तालिन थाले। हतारहतार नुहाइधुवाइ वरिपरि पण्डित बाजेले आफ्नो नित्यकर्म सकेपछि रिनाका सानाबालाई बोलायौँ। बुढाले आफ्नो संस्कृत पढ्दाका साथीलाई पनि फोन गरी बोलाए। उनी पनि त्रि.वि. नेपाली विभागकै प्राध्यापक रहेछन्, ट्याङलाफाँटमा बस्दा रहेछन्, तुरून्तै आइहाले। संयोगबस रिनाका सानाबा र ती प्राध्यापकको पहिल्यैदेखि राम्रो चिनाजानी रहेछ। पण्डित बाजेको छटपटी र चिन्ता सम्हाली नसक्नु थियो। म पनि यस्ता लफडामा कहिल्यै नपरेको, केटाका बाबु नै आइसकेपछि मेरो काँध धेरै हल्का भयो। पण्डित बाजेका साथी हेर्दा निकै धुर्त र चल्दापुर्जा थिए। घरि पण्डित बाजेसँग त, घरि रिनाका सानाबासँग, घरि तीन जनाको बैठक सकाएपछि रिनालाई बोलाउँदै भन्न थाले, 'अहिले बिहे गर्ने उमेर पनि भको छैन, कानुनले पनि दिन्न, तेरो ढिपीले यहाँ सबै जेल जान्छन्। १२ कक्षा सकाउ अनि गरौँला। पहिला पढ नानी, केटाको जिम्मा म भएँ भन्दै रिनालाई फकाउन र सम्झाउन थाले।'
मलिन अनुहारकी रिना सकीनसकी टाउको उठाउँदै ठूलो आड, आशा र भरोसाको भावमा पुलुक्क उनको अनुहारमा हेरेर मौन सहमति दिई।
पण्डित बाजेले आफ्नो छोरा बुझिलिए। केही दिन गाउँ लगेर सम्झाइबुझाइ गरी पठाउँछु भनेको भगवान फर्किएन। उतै गाउँमै पढ्न थाल्यो। पण्डित बाजेको रूढिवादी सोच, जातीय घृणाको फैलिएको जरा, उनका साथीको धुर्त्याइँले रिनाको बाल मनोविज्ञानको विश्वासमा जे–जसो गरे पनि यी दुई जोडीको प्रेमको गोरेटोमा तगारो लाग्न थालेको भेउ पाइसकेको थिएँ। किनकि पण्डित बाजेले मलाई समेत यस्ता नेवार्नीसँग बिहे गर्नु हुँदैन, कुलको इज्जत माटोमै फाल्ने भयो भन्दै सम्झाइदिन धेरै पटक भनेका थिए। केटा र केटी एकअर्कालाई साँचो प्रेम गर्छन् भन्ने कुरा भाइमार्फत र स्वयम् भगवानले भनेपछि मलाई पनि अब यो प्रेम झाँगियोस्, उमेरमा परिपक्वता आओस् र यी दुई जोडीको प्रेम जीवन्त रहोस् भन्ने कामना गरेको थिएँ तर कथाले अर्कै मोड लियो। छोराप्रति त के यो कुरामा मप्रति पनि विश्वस्त हुन सकेनन् बुढा अनि मुखले जे भने पनि छोरालाई त्यही दिन साथमै लिएर गाउँ लागे।
रिनालाई नभेटी मेरो मन मानेन, गएँ भेटेँ, उनका कुरा सुनेँ। महिला अधिकारकर्मीसँगै साहित्य सिर्जनामा लागेकी रहिछन्। उनी भन्दै गइन्, 'दाइ विवाह भएन तर मेरो प्रेम गाढा थियो र अझै छ।'
देखिने सम्बन्धको अन्त्य भयो तर समर्पणको होइन।
'मेरो अधुरो प्रेमको आजीवन प्रतिज्ञा' भन्दै मौन भइन्।
बाल मस्तिष्कमा रोपिएको प्रेमको अङ्कुरको पाठ विश्वविद्यालयमा लिएको डिग्रीभन्दा कम थिएन। म आफूलाई सम्हाल्न नसकेर गहभरि आँसु बनाउँदै डेरातिर फर्किएँ, हइबरै...।