कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानी माजिद अन्सारीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति बागमतीको बाढी होल्डिङ सेन्टरमा छिरेर सुकुम्बासीहरू बिचल्लीमा परेपछि अन्सारी सहित केही जेनजी युवाहरूल त्यहाँ पुगेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार माजिदसहित नहेन्द्र खड्का र सरिश्मा थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
'बाढी पसेका कारण होल्डिङ सेन्टरमा रहेकाहरुलाई सिफ्ट गर्ने काम भइरहेको थियो। उहाँहरूले हो-हल्ला गरेको भनेर त्यहाँ खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो,' एसपी भट्टराईले भने।
माजिदलाई केही प्रहरीहरूले नियन्त्रणमा लछारपछार गर्दै गाडीमा हालेको भिडिओ पनि सार्वजनिक भएको छ।
उक्त भिडिओमा माजिदको अनुहारबाट रगत आएको पनि देखिएको छ।
माजिदले अहिले आफूहरू कीर्तिपुरको प्रहरी बिटमा रहेको बताए। 'कुटपिट पनि भएको छ। नाक मुखबाट रगत आइरहेको छ,' उनले भने।
अर्का जेनजी अभियानी अमित ऊर्जाले होल्डिङ सेन्टरमा सुकुम्बासीहरुको अवस्था बुझ्न जाँदा जेनजी मुभमेन्ट अलायन्सका प्रतिनिधिहरूमाथि प्रहरीले कुटपिट गरेको बताएका छन्।
'नागरिकको आवाज दबाउन राज्य शक्तिको दुरुपयोग गर्ने, प्रश्न उठाउनेलाई लाठीले जवाफ दिने र शान्तिपूर्ण रूपमा अनुगमन गर्न गएकामाथि हिंसा गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष आक्रमण हो,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।