आज माघ महिनाको पहिलो रात, चौपट्ट जाडो छ। मेरो विवाहको तयारीका लागि दिनभरि खटेका मेरा परिवार र आफन्तहरू सबै जना निदाइसकेका छन्। म भने अझै निदाउन सकेकी छैन। मनमा अनेकौँ विचारहरू रुमलिदा मेरो निद्रा हराएको छ।
भोलि मेरो विवाहको दिन।
हिजो मात्र रेडियोमा एउटा मन छुने गीत बजिरहेको थियो— ‘माइती घर तिम्रो होइन पराई घर जाऊ, बिदा लिई कहिलेकाहीँ जन्म घर आऊ।’
यो गीत पहिले पनि धेरै पटक सुनेकी थिएँ। त्यति बेला यसका शब्दहरू केवल गीतका शब्द जस्ता साधारण लाग्थे। तर हिजोदेखि यसका प्रत्येक शब्द मनमा यसरी गाडिएका छन् कि सम्झिँदै आँखा रसाउँछन्।
मनभित्र भविष्यसँग जोडिएका अनेक प्रश्नहरू उठिरहेका छन्।
साँच्चै विवाहपछि जाने घर पराई नै हुन्छ त? त्यहाँ मेरा आफ्ना कोही हुँदैनन् र? भनिन्छ, विवाहपछि श्रीमान् नै सबैभन्दा आफ्ना हुन्छन्। यदि त्यही सत्य हो भने त्यो घर कसरी पराई भयो?
यस्तै प्रश्नहरूको उत्तर खोज्दै आजको रात बित्ने भयो।
यो जन्मघर छोड्ने कुरा सोच्दा सबैभन्दा पहिले धमिराको याद आउँछ। घरका काठमा कतै धमिरा देखेँ भने म तुरुन्त कोट्याइ-कोट्याइ निकालेर फाल्छु। आमाले भन्ने गर्नुहुन्छ— ‘छोडी दे न, तँ बिहे गएर गएपछि पनि यी धमिरा मार्न आउँछेस् र?’
आमाका यस्ता कुरा सुन्दा मन झस्किन्छ। म गएपछि यो घरका काठलाई कसले जोगाउला भन्ने चिन्ता झन् गहिरिँदै जान्छ। के अब धमिराले यस घरमा निर्भय राज गर्न थाल्लान्?
यी कपडामा फूलबुट्टा भरेर बनाएका टेबुलक्लोथ र पलङको लेस अब कसले बनाउने होला? टेबलमाथि सजिने ती रङ्गिन फूलदानीहरू कसले बुन्ने होला? फूलबारीमा फक्रिँदै गरेका फूलहरू कसले स्याहार्ने होला? आमाका हात समातेर हाटबजार जाने अब को होला?
यस्तै-यस्तै साना-साना कुरामा नै परिवारको माया अडिएको हुन्छ। यिनलाई चटक्क छोडेर जान साह्रै कठिन हुँदो रहेछ।
म यही घरमा जन्मिएकी त होइन। पर बजारको अर्कै सगोलको घरमा मेरो जन्म भएको रहेछ। त्यसपछि बुवाले यहाँ सानो घर बनाएर हामी सरेका रहेछौँ। मैले बुझ्ने भएपछि त्यो सानो घर भत्काएर यो ठुलो घर बनाइएको थियो।
यही घर, यही माटो, यही आकाशमुनि म बाँच्दै आएकी छु। यसमा खाँबा गाड्दादेखि दुई तले घर बनिसक्दा सम्मका दृश्यहरू मेरा आँखा अगाडि अझै नाचिरहेका छन्। माटोको भुइँबाट इँटा-सिमेन्टको गाह्रो बन्दासम्म देखेको परिवर्तन अझै मनमा ताजा छ। पहिलो पटक घरमा बिजुली बत्ती बलेको त्यो रातको सम्झनाले अझै मनलाई उज्यालो बनाउँछ। टेलिभिजन किनेर भित्र्याउँदाको खुसीले अझै अन्तर्मन मुस्कुराउँछ।
मभन्दा अघि दुई दाइहरू जन्मिसकेका थिए। दुई छोरापछि जन्मिएकी म घरकी कान्छी, सबैकी प्यारी छोरी थिएँ। घर र मावल दुवैतिरका हजुरबुवा-हजुरआमाकी म एक मात्र नातिनी थिएँ। मामा-माइजूकी एक मात्र भान्जी अनि धेरै दाजु-भाइहरूकी एक मात्र चेली। दाजु-भाइ सबैमा माझमा रहँदा म एक्ली भाग्यमानी चेली हुँ जस्तै लाग्छ। तर उनीहरूबाट टाढा हुने कल्पना मात्रले पनि मन टुहुरो बनाइदिन्छ।
बुवा-आमाको साथैमा म हुर्किएँ। दाजुहरू घरछेउकै विद्यालय पढ्न जान्थेँ। म सानी थिएँ; दिनभरि आमाका साथमा रहन्थेँ। मलाई पनि पढ्न जान साह्रै मन लाग्थ्यो। धेरै जिद्दी गरेपछि बुवाले चार वर्षकै उमेरमा कक्षा १ मा भर्ती गरिदिनुभयो। त्यो दिनबाट मेरो संसार झन्झन् फराकिलो हुँदै गयो। धेरै साथीहरू भेटिए, गुरु-गुरुमाहरूको माया पाउन थालेँ। मलाई मन पर्ने नयाँ किताब र कापीको सुगन्ध पाउन थालेँ। घरकी सबैभन्दा सानी केटी, शिक्षाको ठुलो संसार प्रवेश गरेकी थिएँ।
हाम्रा बुवा साह्रै आदर्शवादी हुनुहुन्थ्यो। म जन्मिनुभन्दा अघि बुवाले सरकारी कार्यालयमा जागिर खान सुरु गर्नु भएको थियो रे। तर घुसको चलन देखेर दुःखी हुँदै केही महिनामै जागिर छाड्नुभयो रे। त्यसपछि न घुस खानुपर्ने, न त खुवाउनुपर्ने शिक्षक पेसा अँगाल्नु भएछ।
बुवाको सिद्धान्त स्पष्ट थियो— ‘बरु आर्थिक अभाव सहिन्छ, तर गरिब दुःखी जनताको आँसुको पैसामा परिवार पालिँदैन।’
बुवाले गाउँघरका धेरै विद्यार्थीलाई घरमै ट्युसन पढाउनुहुन्थ्यो। हाम्रो घर नै जीवन्त पाठशाला थियो। नबुझेको पढाइका कुरा बुवालाई सोधेर बुझ्न हामीलाई गाह्रो थिएन। यस्तो सौभाग्य सबैलाई कहाँ मिल्छ र!
मेरो स्कुलको पढाइ सकियो, एसएलसी पास गरेँ। घर छेउको क्याम्पस भर्ना भएँ। साथीहरू बढे, ज्ञान पनि बढ्दै गयो। आइए र बिएको पढाइ कहिले सकियो पत्तै पाइएन।
बिए पढ्दापढ्दै क्याम्पस राजनीतिले मलाई पनि तान्यो। साथीहरूको सहयोगमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा निर्वाचित भएँ। समूहमा काम गर्ने ठुलो अनुभव पाएँ।
पढाइको विषय अर्थशास्त्र र नेपाली भाषा-साहित्य रोजेकी थिएँ। अर्थको हिसाबकिताबमा भन्दा पनि नेपाली साहित्यमा मेरो विशेष रुचि थियो। पद्य कविता लय हालेर वाचन गर्न र तिनको भावको गहिराइसम्म पुग्न साह्रै मन पर्थ्यो।
बिएपछि एमए पढ्न विराटनगर गएँ र दाजुहरूसँग डेरामा बसेँ। प्रथम वर्षको परीक्षा पनि सकिसकेँ। परीक्षामा राम्रै लेखेकी छु, दुई-तीन महिनामा नजिता प्रकाशन हुन्छ।
यही बिचमा मेरो विवाहको कुरा पनि अघि बढिरहेको थियो।
हाम्रा हजुरआमाहरूका पालामा आठ-नौ वर्षमै बिहे हुन्थ्यो रे। सानी दुलहीहरूलाई लगाइदिएको सारी सम्हाल्न पनि धौ-धौ पर्थ्यो रे। त्यही संस्कारमा हुर्किनुभएका हजुरआमाहरूले म क्याम्पस पढ्न थाल्दा नै बुवा-आमालाई भन्ने गर्नुहुन्थ्यो— ‘छोरीलाई बुढी कन्या बनाएर नराख है।’
मायाका खानी हजुरआमाहरूले जे भने पनि अन्ततः मेरो नराम्रो सोचेको हुँदैन थियो। म उहाँहरूका कुरा नसुने जस्तो गरी मनमनै हाँसेर टारिदिन्थेँ।
हजुरआमाहरूको तुलनामा म भाग्यमानी हुँ भन्ने लाग्छ। विवाहभन्दा पहिले पढ्न पाएँ।
कहिलेकाहीँ मनमा आउँछ— पढाइ पूरा गरेर, जागिर खाएर, आत्मनिर्भर भएर मात्र विवाह गरेको भए कस्तो हुन्थ्यो होला? तर अर्को मनले भन्छ— घर सम्हाल्दै परिवार सुखी बनाउने काम पनि कम ठुलो जिम्मेवारी होइन।
हाम्रो समाज बदलिँदो क्रममा छ। विवाहपछि पनि छोरी मान्छेहरू पढेका उदाहरणहरू जताततै देखिन थालेका छन्। मेरो पनि त्यही बाटोमा छ— एमए पास गरेरै छाड्ने अठोट गरेको छु।
विवाह भन्ने पनि कस्तो चलन है? छोरीले जन्मघरमा बाल्यकाल मात्र बिताउँछे, ती जीवनका रमणीय र स्मरणीय वर्षहरू हुन्छन्। बाँकी लामो जीवन भने कर्म घरमा नयाँ परिवारलाई आफ्नो बनाउँदै बिताउँछे।
दाजुभाइहरूकी एक्ली चेली म, विवाहपछि पनि टाढा जान नपरोस् भन्ने चाहना सबैको थियो। दाजुभाइले कामना गरेर हो कि म जन्मिँदा मेरो टाउको दक्षिण दिशातिर फर्केर हो, मेरो विवाह दक्षिणतिर नजिकैको गाउँमा हुँदैछ। टाढा जाँदिन भन्ने थाहा छ, तै पनि मनमा किन यसरी पिर पलाएको होला।
विवाह भएर घर गएका मेरा अरू साथीहरू जस्तै अब दसैँमा म पनि माइती आउनेछु। बुवा-आमासहित सबै आफन्तका हातबाट टीका, जमरा, आशीर्वाद थाप्न आउनेछु।
तिहारमा मेरा दाजुभाइलाई तेलको घेरा हाली, ओखर फोरेर, सप्तरङ्गी टीका लगाइदिन आउनेछु।
मामाकी एक्ली भान्जी म। मेरा भविष्यका बारेमा उहाँ सधैँ पिर गर्नुहुन्छ। भान्जी नजिकैको गाउँमा जाने भई भनेर अहिले उहाँ केही ढुक्क हुनुभएको छ। मामाघरका हजुरबुवाले सिकाउनुभएका संस्कार र मर्यादा पनि मसँगै नयाँ घर जानेछन्। हजुरआमाहरूको अथक परिश्रम र समर्पणबाट सिकेका जीवनका पाठ पनि साथमै रहनेछन्। आमाको लगनशीलता, धैर्य र स्नेहबाट सिकेका राम्रा बानीहरू पनि मसँगै नयाँ घर जानेछन्।
हाम्री आमा जति नै दुःख–सुख सहने र कडा मिहिनेत गर्ने हुनुहुन्छ, तर मन भने साह्रै कोमल छ। जन्मेदेखि सँगै हुर्केकी छोरी विवाह भएर बिदा हुँदा उहाँले त्यो क्षण कसरी सहनुहोला?
बुवाको मन पनि कहाँ दह्रो छ र! टेलिभिजनमा दुःखान्त चलचित्र हेर्दाहेर्दै आँखाभरि आँसु पार्नुहुन्छ। धारावाहिक हेर्दा लुकी-लुकी आँखा पुछ्नुहुन्छ। मलाई भने कथाले भन्दा पनि बुवाका रसाएका आँखाले रुवाउँछन्।
यस्ता बा-आमाले आफ्नी कान्छी छोरीलाई कसरी बिदाइ गर्नुहोला? सोच्दा छाती भारी हुन्छ।
जन्मेदेखि आजसम्मका २३ वर्षले मलाई माया, संस्कार, शिक्षा, आत्मविश्वास र असंख्य सम्झनाहरू दिए। अब ती सबैलाई साथ लिएर म जीवनको अर्को यात्रामा निस्कँदै छु।
आजको रातले मलाई एउटा सत्य कुरा बुझाएको छ— मानिस घर छोडेर जान्छ, तर घर मनबाट कहिल्यै छुट्दैन। जीवन निरन्तर अघि बढ्छ। नयाँ सम्बन्धहरू जोडिन्छन्, जिम्मेवारीहरू थपिन्छन्। तर मनको एउटा कुनामा उही जन्मघरका सम्झना र माया सधैँ बसिरहन्छन्।