आदरणीय आमा,
शिर नुगाई पाउ परी ढोग।
यो चिठीले हजुरका हातहरू भेट्दा सायद बिहानको घाम आँगनमा फैलिएको हुनेछ। हजुरले घरको आँगन बढारिसक्नुभएको होला, तुलसीको मठमा पानी चढाएर भगवानसँग सबै सन्तानको सुखको कामना गरिरहनुभएको होला।
बाबु गोठतिर लाग्नुभएको होला, भाइबहिनी आ–आफ्नो काममा व्यस्त होलान्। गाउँका बाटाहरूमा बिहानको चहलपहल सुरु भइसकेको होला। यता म भने हजारौँ किलोमिटर टाढा एउटा सानो कोठामा बसेर हजुरको सम्झनासँग कुरा गरिरहेको छु।
आमा, मानिसलाई जन्मेको ठाउँ किन यति प्यारो लाग्दो रहेछ भन्ने कुरा मैले घर छोडेपछि मात्र बुझ्न पाएँ। घरमा हुँदा गाउँ सामान्य लाग्थ्यो, खेतबारी सामान्य लाग्थ्यो, खोलानाला, डाँडाकाँडा, वनपाखा सबै सामान्य लाग्थे। तर आज ती सबै सम्झना जीवनकै सबैभन्दा बहुमूल्य सम्पत्ति बनेर मनभित्र बसेका छन्।
संसारका अग्ला भवनहरू देखेँ, फराकिला सडकहरू देखेँ, झिलिमिली बत्तीहरू देखेँ, तर हाम्रो गाउँको साँझमा गाईबस्तु फर्किँदा उड्ने धुलोभन्दा सुन्दर दृश्य कतै भेटिनँ।
मलाई अझै पनि त्यो बिहान सम्झना छ, जब म घरबाट परदेश हिँडेको थिएँ। हजुरले धेरै नरोऊ भनेर मुस्कुराउने प्रयास गर्नुभएको थियो, तर आँखाले मनको कुरा लुकाउन सकेन। बाबुले केही बेर मौन बसेर अन्तिममा भन्नुभएको थियो, ‘सत्यको बाटो कहिल्यै नछोड्नु।’ त्यो एउटा वाक्यले आजसम्म मलाई गलत बाटोमा जान दिएको छैन।
यहाँ जीवन घडीको सुईजस्तै दौडिन्छ। बिहान कहिले हुन्छ, बेलुका कहिले पर्छ, थाहै हुँदैन। काम, थकान र जिम्मेवारीको चक्रमा दिन बित्छ। तर राति जब सबै शान्त हुन्छ, मन भने आफ्नै गाउँ पुगिहाल्छ। त्यो बेला निद्रा लाग्नुभन्दा पहिले हजुरको अनुहार, बाबुको बोली, घरको आँगन, तुलसीको मठ, गोठको गन्ध, अनि हाम्रो पुरानो घरका भित्ताहरू एकपछि अर्को सम्झनामा आउँछन्।
आमा, परदेशले मलाई एउटा ठुलो पाठ सिकाएको छ— सुख पैसाले मात्र किन्न सकिँदैन। यहाँ धेरै मानिससँग पैसा छ, सुविधा छ तर आफ्नोपनको अभाव छ। एउटै कोठामा धेरै जना बस्छौँ, तर सबै आफ्नै चिन्तामा हराएका हुन्छन्। कसैलाई कसैको पीडा सुन्ने फुर्सद छैन।
त्यही बेला गाउँ सम्झिन्छु, जहाँ कसैको घरमा दुःख पर्दा सिंगो गाउँ जम्मा हुन्थ्यो। हाम्रो गाउँको त्यो पुरानो चौतारो अझै उस्तै होला कि बदलिएको होला? बरको छहारीमुनि बाजेबुढाहरू अझै साँझपख बसेर गफ गर्नुहुन्छ कि? कि अहिले त्यहाँ पनि पहिलेजस्तो चहलपहल छैन? समयले धेरै कुरा बदलेको होला, तर मेरो मनमा बसेको गाउँ भने अझै उस्तै छ— हरियो, शान्त, आत्मीय र आफ्नै।
यहाँ कहिलेकाहीँ वर्षा पर्दा झ्यालबाट बाहिर हेर्छु। पानीका थोपा झर्दा मलाई हाम्रो गाउँको असार सम्झना आउँछ। खेतका गराहरूमा पानी भरिएको, किसानहरू रोपाइँमा व्यस्त, महिलाहरूले रोपाइँ गीत गाउँदै काम गरिरहेका, टाढाबाट सुनिने मादलको ताल अनि हिलोले भरिएका हाँसिला अनुहार— यी सबै सम्झनाले मन भरिन्छ। त्यहाँको थकानमा पनि आनन्द थियो। यहाँको आराममा पनि एक प्रकारको खालीपन छ।
आमा, सानो हुँदा मैले कहिल्यै बुझिनँ कि हजुरले आफ्ना चाहनाहरू किन सधैँ हाम्रो लागि त्याग्नुभयो। अहिले आफैँ संघर्ष गरिरहेको छु, अनि बुझेँ— आमाको खुसी आफ्ना सन्तानको खुसीमै लुकेको हुँदो रहेछ। आफूले पुरानो लुगा लगाएर पनि छोराछोरीलाई नयाँ लुगा किनिदिने मन, आफूले कम खाएर पनि उनीहरूको पेट भरिदिने माया संसारको कुनै शब्दले बयान गर्न सक्दैन।
आज म जति टाढा भए पनि हरेक सफलताको सपना हजुरकै लागि देख्छु। कुनै दिन घर फर्किएर बाबुको थकित काँधलाई विश्राम दिन पाऊँ, हजुरका हातका चिराहरूमा अब कामको पीडा होइन, आरामको मुस्कान देख्न पाऊँ भन्ने चाहना नै मेरो सबैभन्दा ठुलो लक्ष्य बनेको छ।
रात गहिरिँदै गएको छ। झ्यालबाहिर सहरका बत्तीहरू अझै झिलिमिली बलिरहेका छन्। सडकमा गाडीहरूको आवाज पनि रोकिएको छैन। यति धेरै उज्यालोका बिचमा पनि मेरो मन भने अँध्यारो गाउँको एउटा सानो आँगनमा पुगेको छ, जहाँ बिजुली जानासाथ हामी सबै दियोको उज्यालोमा गोलो बसेर कथा सुन्थ्यौँ। बाबुले कहिलेकाहीँ पुराना दिनहरूको कुरा गर्नुहुन्थ्यो, हजुरले लोककथा सुनाउनुहुन्थ्यो, हामी भाइबहिनी हाँस्दै सुन्दै निदाउँथ्यौँ। अहिले बुझ्दै छु— त्यो समय गरिब थियो, तर जीवन धनी थियो।
हामीसँग धेरै पैसा थिएन, तर खुसीको कमी पनि थिएन। बिहान विद्यालय जानुअघि गोठको काम सकाउने, बाटोमा साथीहरू भेट्ने, उकालो–ओरालो गर्दै विद्यालय पुग्ने, फर्कँदा वनबाट दाउरा बोकेर आउने— यी सबै काम त्यति बेला सामान्य लाग्थे। आज ती नै सम्झनाहरू जीवनका अमूल्य निधि बनेका छन्।
आमा, सम्झनुहुन्छ? वर्षा लागेपछि खोलामा पानी बढ्थ्यो। हजुरले ‘खोलातिर धेरै नजानू’ भनेर बारम्बार सम्झाउनुहुन्थ्यो। तर हामी साथीहरू कहाँ मान्थ्यौँ र! पानीमा कुद्ने, माछा समात्ने, भिजेर घर फर्किने अनि हजुरको गालीसँगै तातो खाना खाने— त्यो गालीमा पनि कति धेरै माया लुकेको रहेछ भन्ने अहिले मात्र बुझ्न सकेको छु।
यहाँ मानिससँग समय छैन। छिमेकीको नामसमेत थाहा नपाई वर्षौँ बित्ने रहेछन्। तर हाम्रो गाउँमा कसैको घरमा नयाँ पाहुना आए पनि सबैले चासो लिने गर्थे। कसैको घरमा दुःख परे सबैभन्दा पहिले छिमेकी पुग्थे। कसैको खेतमा काम धेरै भए ‘पर्म’ लगाएर गाउँलेहरू सघाउन पुग्थे।
अहिले ती दृश्यहरू हराउँदै गएको समाचार सुन्दा मन पोल्छ। परदेशले मलाई पैसा कमाउन सिकायो, तर त्योभन्दा ठुलो कुरा, यसले घरको मूल्य बुझ्न सिकायो। घर भनेको केवल इँटा, ढुंगा र छाना होइन रहेछ। घर भनेको बाबुको पसिना, आमाको माया, भाइबहिनीको हाँसो, आँगनको धुलो, गोठको गन्ध, चुलोको धुवाँ र साँझपख घर फर्किने आफ्नोपन रहेछ।
यहाँ कहिलेकाहीँ नेपाली गीत सुन्ने बित्तिकै आँखा रसाउँछन्। गीतमा गाउँको कुरा आउँछ, आमाको कुरा आउँछ, हिमालको कुरा आउँछ। त्यसपछि काममा जाँदा पनि मन त्यहीँ अल्झिरहन्छ। धेरै साथीहरू पनि यस्तै छन्। बाहिरबाट हाँसेजस्तो देखिए पनि भित्रभित्रै सबैको मनमा आफ्नो घरको एउटा कुनो लुकेको हुन्छ।
आमा, धेरै रात यस्ता पनि बितेका छन्, जब थकानले शरीर दुखिरहेको हुन्छ तर निद्रा आउँदैन। मोबाइलमा गाउँका पुराना फोटो हेर्छु। हाम्रो घर, आँगन, गोठ, खेतबारी, डाँडामाथिको जंगल, टाढा देखिने हिमाल— सबैलाई हेर्दै बस्छु। कति पटक त फोटो हेर्दाहेर्दै आँखा रसाएका छन्। सायद यो आँसु कमजोरीको होइन, आफ्नोपनको मूल्य बुझेको मानिसको आँसु हो।
अहिले गाउँ पनि पहिलेजस्तो छैन होला। धेरै घरका ढोकामा ताल्चा लागेको होला। युवाहरू विदेश र सहरतिर लागेपछि वृद्ध बाबुआमा गाउँ कुरेर बस्नुभएको होला। कहिल्यै हल्लाखल्ला हुने आँगनहरू अहिले शान्त भएका होलान्। बालबालिकाको हाँसो कम र सम्झनाको आवाज बढी सुनिने गाउँ बनेको होला।
समय बदलिँदै जाँदा गाउँको मुहार पनि फेरिएको होला, तर मेरो मनमा बसेको गाउँ भने अझै उही पुरानै छ। मैले यहाँ धेरै कुरा देखेँ। ठुलो तलब कमाउने मानिस पनि एक्लोपनसँग लडिरहेको देखेँ। महँगो गाडी चढ्ने मानिस पनि आमाको फोन आउँदा बच्चाजस्तै भावुक भएको देखेँ। त्यसपछि लाग्यो— संसारको सबैभन्दा ठुलो सम्पत्ति पैसा होइन, आफ्ना मानिसहरू रहेछन्।
म धेरै ठुलो मानिस बन्ने सपना देख्दिनँ। केवल यति चाहन्छु— कुनै दिन घर फर्कँदा बाबुको अनुहारमा गर्वको मुस्कान देखूँ, हजुरले ‘मेरो छोरो आयो’ भनेर खुसीले आँसु झार्नुभएको देखूँ। त्यो दिनका लागि नै हरेक दिनको संघर्ष सहँदै अघि बढिरहेको छु। आज बिहान काममा जाँदै गर्दा एउटा सानो बालक आफ्नो आमाको औँला समातेर हिँडिरहेको देखेँ। ऊ बेला–बेला आमातिर फर्केर मुस्कुराइरहेको थियो। त्यो दृश्य देख्ने बित्तिकै मेरो मन वर्षौँ पछाडि पुग्यो।
मलाई याद आयो— म पनि यसरी नै हजुरको औँला समातेर मेलापात, हाटबजार र मन्दिर जान्थेँ। बाटोमा थाकेर हिँड्न नसक्दा हजुरले कहिले काखमा, कहिले ढाडमा बोकेर घर ल्याउनुहुन्थ्यो। त्यति बेला मैले त्यो माया सामान्य ठानेँ, तर आज संसार घुमेपछि बुझ्दै छु— आमाको काखभन्दा सुरक्षित ठाउँ संसारमा अर्को छैन।
मानिस जति ठुलो भए पनि उसको मनको एउटा कुनामा बालापन कहिल्यै मर्दैन रहेछ। त्यसैले होला, जब जीवनले धेरै थकाउँछ, मन आफैँ गाउँतिर दौडिन्छ। मैले कमाएको पैसा, देखेका सहर, चिनेका मानिस— यी सबैभन्दा धेरै सम्झना भने हाम्रो पुरानो घरको आउँछ। त्यो घर, जसको भित्तामा वर्षौँको इतिहास थियो। जहाँ प्रत्येक कुनामा हाम्रो बालापन लुकेको थियो।
आमा, हजुरले सधैँ भन्नुहुन्थ्यो, ‘अरूको दुःख देखेर कहिल्यै नहाँस्नु, सके सहयोग गर्नु।’ त्यो शिक्षा मैले अझै बिर्सिएको छैन। यहाँ पनि कतिपय नेपाली दाजुभाइलाई समस्यामा देख्दा सकेको साथ दिन्छु। किनकि मलाई थाहा छ, परदेशमा आफन्तभन्दा पहिले आफ्नै देशको मान्छे नै साथ बन्ने गर्छ। यहाँ चाडपर्व आउँदा पनि काम रोकिन्न। दसैँको टीका लगाउने दिन पनि कति पटक काममै बितेको छ।
मोबाइलको स्क्रिनबाट हजुरको निधारमा रातो टीका, बाबुको आशीर्वाद र भाइबहिनीको मुस्कान हेरेर चित्त बुझाउनुपर्छ। फोन काटेपछि कोठाभित्रको सन्नाटा झन् ठुलो लाग्छ। त्यो बेला मनले एउटा मात्रै कुरा भन्छ— ‘घर जान पाए हुन्थ्यो।’
मलाई थाहा छ, हजुरले बाहिर कसैसँग आफ्नो पीडा देखाउनुहुन्न। गाउँलेहरूले ‘छोरो विदेशमा छ, धेरै कमाउँछ होला’ भन्दा हजुर मुस्कुराउनुहुन्छ होला। तर त्यो मुस्कानभित्र कति रातको चिन्ता, कति दिनको प्रतीक्षा र कति वर्षको विरह लुकेको छ भन्ने त म कल्पना गर्न सक्छु। आमा, म टाढा भए पनि हजुरको मनको धड्कन सुन्न सक्छु जस्तो लाग्छ।
गाउँका डाँडाहरू अहिले पनि उस्तै होलान्। बिहान घाम लाग्दा सुनौलो देखिने ती खेतहरू, बेलुकी गाईबस्तु फर्किने बाटो, चौतारोको छहारी, पँधेराको चिसो पानी, वनको सुगन्ध— यी सबै सम्झँदा कहिलेकाहीँ लाग्छ, मानिस जहाँ पुगे पनि उसको आत्मा भने जन्मिएको माटोमै बसिरहन्छ।
परदेशले मलाई एउटा कुरा स्पष्ट सिकाएको छ— धन कमाउन सकिन्छ, तर बितेको समय फर्काएर किन्न सकिँदैन। बाबुको उमेर रोक्न सकिँदैन। आमाका हातका चाउरीहरू मेट्न सकिँदैनन्। भाइबहिनीको बालापन फेरि फर्किँदैन। त्यसैले अहिले लाग्छ, परिवारसँग बिताएको एउटा साँझ पनि संसारको सबैभन्दा ठुलो सम्पत्ति रहेछ।
आमा, मैले धेरै सपना बोकेको छु। तर ती सपनाको अन्तिम गन्तव्य एउटै छ— आफ्नै घर। कुनै दिन स्थायी रूपमा गाउँ फर्किएर बाबुआमासँग बसेर बिहानको चिया पिउने, आफ्नै खेतमा पसिना बगाउने, साँझ आँगनमा बसेर पुराना कुरा गर्ने र फेरि घरमा हाँसो फर्काउने। यदि भगवान्ले साथ दिनुभयो भने त्यो दिन अवश्य आउनेछ भन्ने विश्वास छ।
हजुरले मेरो लागि धेरै त्याग गर्नुभयो। आफ्नो रहर दबाएर मेरा रहर पूरा गर्नुभयो। त्यसको ऋण म कहिल्यै तिर्न सक्दिनँ। तर बाँकी जीवनभर हजुरलाई गर्व हुने छोरा बन्ने प्रयास भने अवश्य गर्नेछु।
आज यति नै लेख्छु आमा। कलम रोकिन्छ, तर सम्झनाहरू रोकिँदैनन्। दूरी बढ्छ तर माया कहिल्यै घट्दैन। संसारको जुनसुकै कुनामा पुगे पनि मेरो पहिलो परिचय हजुरको छोरो हुनु हो र त्यो परिचयभन्दा ठुलो कुनै सम्मान मलाई चाहिएको छैन।