जब मान्छे मान्छे रहँदैन
तब मानवता बिस्तारै हराउन थाल्छ
शरीर त हुन्छ तर करुणा, संवेदना र चेतना
अँध्यारो कुनामा बन्धकी भएर बसेको हुन्छ।
यो त्यहीँ समाज हो
जहाँ विद्यालय छन्, विश्वविद्यालय छन्
शिक्षित भिडहरू छन्
तर चेतनशील नागरिकको अभाव छ।
यहाँ डिग्री गर्नेहरूको संख्या बढ्दै गएको छ
तर मानवीयताको स्तर घट्दै गएको छ
कसैका आँखाबाट झरेका आँसुहरू
कसैका लागि मनोरञ्जन बन्छन्
कसैका घाउहरू शिक्षित मानिएका
भिडहरूका लागि उत्सव बन्छन्।
यहाँ सहानुभूति
सुक्खा नदीजस्तै बनेको छ
आत्मीयता लिरिक्स बिर्सिएको गीत झैँ भएको छ
यहाँ कसैको दुर्घटना
कसैको लागि कन्टेन्ट बन्छन्
कसैको रोदन
कसैको लागि दर्शक बढाउने माध्यम बन्छन्।
यहाँ मानवीय संवेदनाभन्दा
मोबाइलको क्यामेरा छिटो खुल्छ
सहयोग गर्ने कोमल हातभन्दा
भिडियो खिच्ने भीड ठुलो हुन्छ।
विडम्बना,
हामी सभ्यताको शिखर चुमेको दाबी गर्छौँ
तर मान्छेपनको अन्यतिर उभिएको छौँ
हामीसँग प्रविधि छ,
ज्ञान छ,
सूचना छ,
तर मानवता छैन।
अन्ततः
मान्छेहरू हाँसिरहेका छन्
सहरहरू चम्किरहेका छन्
तर मान्छेपन
मृत्यु भइसकेको छ।