कलकल बगिरहेको त्यो कर्णाली
नदी बग्न छोड्ने छैन
तिमीले मलाई बिर्सियौ भने
त्यो फक्रिन आतुर चमेलीको फूलको
कोपिला फुल्न छोड्ने छैन
तिमीले मलाई बिर्सियौ भने।
गर्मीको तापले पग्लिँदै गरेको हिमालको
त्यो हिउँ पग्लिन छोड्ने छैन
ऋतुहरू फेरिइरहनेछन्
दिनहरू बितिरहनेछन्
र समय आफ्नै गतिमा अघि बढिरहनेछ
तिमीले मलाई बिर्सियौ भने।
न यो पहाड,
न डाँडाकाँडा,
न यो हिमाल,
न यो विशाल संसार
कसैलाई प्रभाव पर्ने छैन,
कसैलाई चोट पुग्ने छैन,
तिमीले मलाई बिर्सियौ भने।
कसैलाई महसुस हुने छैन,
मेरो अनुपस्थितिको खालीपन
कसैलाई चासो हुने छैन,
कसैलाई फरक पर्ने छैन
तिमीले मलाई बिर्सियौ भने।
बस्, तिम्रो स्मृतिको अँध्यारो गल्लीमा
यो मन जीवनभर अल्झिरहनेछ
तिम्रै प्रभावको मौन स्पर्शमा
यो तन निसास्सिँदै रुमलिरहनेछ
यस्तै यस्तै, सबै कुरा चलिरहनेछ
तिमीले मलाई बिर्सियौ भने।