आजको समाजमा विकासका नाममा ठूला–ठूला भवनहरू उठिरहेका छन्, सडकहरू फराकिला बन्दै छन्, सहरहरू आधुनिक हुँदै गएका छन्। तर यही गतिमा बढिरहेको परिवर्तनको बीचमा एउटा गम्भीर प्रश्न पनि उठिरहेको छ– के हामीले मानवीय संवेदनशीलता र करूणालाई पनि साथमै अगाडि बढाएका छौँ, वा ती मूल्यहरू कतै पछाडि छुट्दै गएका छन्?
भौतिक प्रगतिको चमकले कहिलेकाहीँ हामीलाई यति अन्धो बनाइदिन्छ कि अरूको पीडा देख्न सक्ने हाम्रो क्षमता नै हराउँदै जानछ।
यस्तै सन्दर्भमा एउटा सानो कथाले हाम्रो चेतनालाई गहिरोसँग स्पर्श गर्छ– ‘एक टोकरी माटो’।
एक समयको कुरा हो, एक धनी जमिन्दारको विशाल महलको नजिकै एक गरिब अनाथ वृद्धा विधवाको सानो झुपडी थियो। जमिन्दार आफ्नो महलको आँगन त्यस झुपडीसम्म बढाउन चाहन्थ्यो। उसले धेरै पटक ती वृद्धालाई झुपडी हटाउन भन्यो, तर उनी धेरै वर्षदेखि त्यहीँ बस्दै आएकी थिइन्। त्यही झुपडीभित्र उनका पति र एक्लो छोरा बितेका थिए, बुहारीको पनि मृत्यु भइसकेको थियो। र अहिले पाँच वर्षकी नातिनी नै उनको जीवनको एकमात्र सहारा थिइन्। त्यस घरसँग उनको भावनात्मक सम्बन्ध गहिरो थियो।
जब उनलाई थाहा भयो कि जमिन्दारले उनको झुपडी हटाउने सोच बनाएका छन्, तबदेखि उनी पीडाले मृतप्रायः भइन्। उनले आँसुका धारामा आफ्ना विगतका सम्झना बगाइन् र भनिन्– ‘यो ठाउँ मेरो जीवनको अन्तिम आश्रय हो, म मरेपछि मात्र यसबाट निस्कन्छु।’
त्यो झुपडीबाट वृद्धा विधवालाई निकाल्ने जमिन्दारका सबै प्रयास असफल भएपछि अन्ततः उसले आफ्नो ‘जमिन्दारी चलाखी’ प्रयोग गर्यो। वकिललाई पैसा दिएर अदालतबाट झुपडीको हक आफ्नो नाममा गरायो र वृद्धा विधवालाई त्यहाँबाट निकालिदियो। असहाय वृद्धा सानी नातिनीलाई लिएर वरपरको गाउँमा गएर बसिन्।
एक दिन जमिन्दार आफ्नो नयाँ आँगनमा काम हेर्दै हिँडिरहेको थियो। त्यही समयमा ती वृद्धा हातमा एउटा टोकरी बोकेर आइन्। उनलाई देख्नेबित्तिकै जमिन्दारले नोकरहरूलाई आदेश दियो– ‘यसलाई यहाँबाट हटाऊ।’ तर वृद्धाले करूण स्वरमा भनिन्– ‘महाराज, अब यो झुपडी त तपाईंको भइसक्यो, म यसलाई लिन आएकी होइन। एक बिन्ती छ, कृपया सुन्नुहोस्।’
जमिन्दारले मौन सहमति जनायो। वृद्धाले ढोग गर्दै भनिन्– ‘जबदेखि यो झुपडी छोडेकी छु, मेरी नातिनीले खाना खानै छोडेकी छ। धेरै सम्झाएँ, तर ऊ भन्छे– ‘आफ्नो घरमै रोटी खान्छु।’ त्यसैले म सोच्छु, यदि यस झुपडीको एक टोकरी माटो लिएर त्यसैको चुल्हो बनाएर रोटी पकाएँ भने ऊ फेरि खाना खानेछ। महाराज, कृपा गरेर यो माटो लिन अनुमति दिनुहोस्।’
जमिन्दारले अनुमति दियो। वृद्धा भित्र गइन्। पुराना सम्झनाले उनका आँखा रसाए। आँसु पुछ्दै उनले टोकरी माटोले भरिन् र बाहिर ल्याइन्। उनले हात जोड्दै भनिन्– ‘महाराज, कृपया यस टोकरीमा हात लगाइदिनुहोस् ताकि म यसलाई टाउकोमा राख्न सकूँ।’
पहिले त जमिन्दार रिसायो। तर वृद्धाको विनम्रता र आँसुले उसको मन पग्लियो। ऊ आफै टोकरी उठाउन अघि सर्यो। तर जस्तोसुकै जोर गरे पनि टोकरी एक इन्च पनि माथि उठेन।
आश्चर्यचकित हुँदै उसले भन्यो– ‘होइन, यो टोकरी त मैले उठाउन सकिनँ।’
वृद्धा शान्त स्वरमा मुस्कुराइन् र भनिन्– ‘महाराज, तपाईंले यो एक टोकरी माटो त उठाउन सक्नुभएन भने एक पटक सोच्नुहोस् त, यस झुपडीमा त हजारौँ टोकरी माटो छ। त्यसको भार तपाईं जन्मभर कसरी उठाउन सक्नुहुन्छ?’
यो वचनले जमिन्दारको हृदयलाई गहिरोसँग चोट लाग्यो। धन र अहंकारको नशा पलभरमै ओझेल पर्यो। उसलाई आफूले गरेको अन्यायको महसुस भयो। उसले वृद्धासामु क्षमा माग्यो र तुरून्तै झुपडी उनलाई फिर्ता दियो।
आजको परिवेशमा यो कथा झनै सान्दर्भिक देखिन्छ। सहर विस्तार, सडक चौडा पार्ने योजना, ठूला परियोजनाहरू– यी सबैको बीचमा कतिपय कमजोर वर्गका मानिसहरू विस्थापित भइरहेका छन्। विकास आवश्यक छ, तर विकाससँगै संवेदनशीलता पनि त्यत्तिकै आवश्यक छ। यदि हाम्रो प्रगति अरूको पीडामाथि उभिएको छ भने, त्यो प्रगति अधुरो मात्र होइन, अमानवीय पनि हुन्छ।
यो प्रसङ्गले हामीलाई सम्झाउँछ– मानिसको वास्तविक उचाइ उसको सम्पत्ति वा शक्तिले होइन, उसको हृदयको विशालताले निर्धारण गर्छ। एउटा सानो ‘टोकरी माटो’ ले जमिन्दारलाई जुन पाठ सिकायो, त्यो कुनै किताबले पनि सायदै सिकाउन सक्थ्यो। कहिलेकाहीँ जीवनका सबैभन्दा गहिरा सत्यहरू साना घटनाहरूमा लुकेका हुन्छन्।
अन्ततः, यो कथाले एउटा स्पष्ट सन्देश दिन्छ– अन्यायको भार संसारकै सबैभन्दा भारी बोझ हो, जसलाई कुनै पनि शक्ति वा सम्पत्तिले बोक्न सक्दैन। करूणा, दया र न्यायभावले मात्र मानिसलाई साँचो अर्थमा महान् बनाउँछ। त्यसैले, जब हामी निर्णय लिन्छौँ, शक्ति प्रयोग गर्छौँ वा आफ्नो अधिकारको प्रयोग गर्छौँ, त्यतिबेला एक पटक सोचौँ– के यसले कसैको हृदय दुखाउँछ?
किनभने, एक टोकरी माटो मात्र होइन, एउटा आँसुको भार पनि कहिलेकाहीँ जीवनभर बोक्न नसकिने हुन्छ।
(लेखक नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुन्।)