सारा विगतका सम्झनाहरू मनमा बसेका छन् कति
आँसु बनेर नयनबाट ओर्लिछन् भावनाहरू जति
घरीघरी मेरो यहाँ दुख्छ मुटु, पोल्छ घाउ किन
देखेर हालत आफ्नो आफैँलाई लाग्दछ घिन।
कमजोरी नै शत्रु भएपछि चाहिँदैन कोही अरू
हौसला र हिम्मत न हारे यहाँ अघि बढिन्छ बरु
पहिला लडेकै हुनुपर्छ हिम्मत बोकेर उठ्न पनि
रात बितेर जानुपर्छ बल्ल हुन्छ बिहानी अनि।
दुःखले गर्दैन हतार बरु सुख सधैँ जान्छ छिटो
खोसेको उखुभन्दा आफ्नै भागको कागती मिठो
आँसु खहरे होस् तर नसुकोस् पसिनाको खोली
विश्वास नै नकमाएसम्म बिक्दैन मान्छेको बोली।
मरेको छैन हौसला मभित्र जाने छैन हराई कतै
भत्किए पनि आशाहरू जोड्ने साहस त छ अझै
रित्तो होला गोजी तर छैन है हृदय मेरो खाली
खेर जाँदैन कहिले पनि पसिनाले सिँचेको बाली।