पल्टाऊ गीता, कुरान, बाइबल र त्रिपिटकका ती पानाहरू!
के तिमीले त्यहाँ एउटै सत्य देख्ने आँखा गुमाइसकेका हौ?
अल्लाहको दया, कृष्णको उपदेश, येशूको क्षमा अनि बुद्धको शान्ति
सबैको सार एउटै थियो भने
कसको इसारामा तिमी ईश्वरकै नाममा रगतको होली खेलिरहेछौ?
यदि सबै धर्म अन्त्यमा एउटै सागरमा गएर मिसिन्छन् भने
हामी अहिले यो कस्तो नदीमा छौँ
जसको कुनै गन्तव्य नै छैन?
दिशाहीन भएर एकापसमा ठोकिँदै
हामी कुन विनाशको भुँवरीतिर बगिरहेछौँ?
हे मानव!
कस्तो मूर्ख हौ तिमी!
एउटै सत्यलाई फरक नाम दिँदा
किन त्यसैमा विभाजनको पर्खाल उभ्याउन खोज्छौ?
तिमी ओठमा बुद्धको नाम जप्छौ
तर मनमा भने हिंसा र घृणाको आगो बोकेर हिँड्छौ!
शान्तिको नारा लगाउँदै अर्काको विनाश खोज्ने
तिमी कस्ता कपटी हौ?
ए धर्मका ठुला ठेकेदार, ढोँगी बाबा र गुरुहरू!
तिमीहरू आफूलाई भक्त भन्छौ, अनि समाजमा घृणाको विष छर्छौ?
तिम्रा ज्ञानका गफ त केवल अज्ञानीहरूलाई लुट्ने व्यापार रहेछ।
याद राख! यदि एक दिन भगवान् साँच्चै प्रकट भए भने
सबैभन्दा पहिले सजाय तिमीहरूले नै पाउनेछौ!
किनकि धर्मको नाममा अधर्म फैलाउने
यो संसारका सबैभन्दा ठुला पापी तिमीहरू नै हौ।
जिहादको अर्थ के साँच्चै निर्दोष मान्छे मार्नु थियो?
आफ्नो भित्रको पाप, क्रोध र अहङ्कारसँग लड्न नसक्ने कायरहरू
तिमीहरूले स्वार्थको पट्टी बाँधेर कसलाई मूर्ख बनाउँदै छौ?
धर्मको नाममा कसैको रगत बगाउँदा तिमीलाई अलिकति पनि घिन लाग्दैन?
मन्दिर, मस्जिद र चर्चमा हजारौँ पटक शिर झुकाउने ढोँगीहरू!
के घण्टौँसम्म चिच्याएर प्रार्थना गर्दैमा तिम्रा ईश्वर खुसी हुन्छन्?
भित्र पीठ अगाडि ढोगिरहँदा
बाहिर भोको बालकको आँसुले तिम्रो नक्कली धर्मलाई थुकिरहेको देख्दैनौ?
यदि मानवता नै धर्मको जग हो भने
हामी यो कस्तो महल बनाउँदै छौँ
जसको कुनै जग नै छैन?
आफ्नै दाजुभाइको रगतले हात लतपतिँदा पनि
तिमीहरू कुन निर्लज्जताले धर्मको विजय भन्दै झन्डा फहराउँदै छौ?
उभिएकै छन् गुम्बा, मन्दिर, मस्जिद र चर्चका ती निर्जीव पर्खालहरू
सुरक्षित नै होलान् तिम्रा ईश्वरका ती पत्थरका धामहरू।
तर भन तिम्रो आफ्नै छातीभित्र
के वास्तविक धर्म धेरै अघि नै मरिसकेको छैन र?
मरिसकेको छैन र?
(ओजस्वी गौतम हाल सेन्ट जेभियर्स कलेजमा अध्ययनरत छिन्।)