सबै अट्ने,
सधैं अडिने,
सद्भावले सँगै बढ्ने
मेरो देश।
आज फेरि
कसले हावामा बारूद घोल्यो?
कसले भाइको आँखामा
भाइलाई नै पराइ देखायो?
यो माटो त एउटै हो,
रगतको रङ पनि एउटै।
फरक छ भने,
मात्र मनमा रोपिएको शंकाको बीउ।
साथी,
बन्दुकले कहिल्यै भविष्य लेख्दैन
हातले कि घाउ दिन्छ,
कि घाउमा मल्हम लगाउँछ।
आऊ,
हतियार होइन, विश्वास उठाऔं
एउटै कोदालो, फरक हात
कान्लामा चल्छ,
गरामा चल्छ,
फाँटमा चल्छ,
तर फल्छ अन्न नै,
मनमा पनि करूणा फलाऔं
मनमा पनि सद्भाव जगाऔं
म त्यो नेपाल खोज्दैछु
जहाँ मन्दिरको घण्टी
र मस्जिदको अजान
एकअर्काका प्रतिद्वन्द्वी होइनन्,
एउटै आकाशका प्रतिध्वनि हुन सकून्!
जहाँ चिया एउटै टेबलमा पाक्छ,
चाडपर्व सबैका साझा हुन्छन्,
र छिमेकी भन्नु
आफन्तको अर्को नाम हुन्छ।
उठ, मेरो देश।
यो आगो निभाउने हात
हामी नै हौं
यो आँसु पुछ्ने आँचल
हामी नै हौं।
किनकि,
यो देश एक्लो कसैको होइन,
यो हामी सबैको साझा घर हो।
यो हो,
सबै अट्ने,
सधैं अडिने,
सद्भावले सँगै बढ्ने
मेरो देश।