आकाश
अझै निलो देखिएको छ
सायद
चित्कारको कालो रङ मिसिएर।
हावामा फरफराइरहेका
कानुनका पानाहरूमा
निस्सासिरहेछन्
आवाजहरू अक्षरभरि।
यति कठ्याङ्ग्रिँदो नियम
कुन हृदयले बनायौ
जहाँ,
जीवन खोज्दै आगोसम्म पुग्नुपर्यो?
सिंहासन!
तिमीले धुवाँ देख्यौ कि देखेनौ?
थाहा पायौ कि पाएनौ धुवाँको गन्ध?
यदि
धुवाँ देख्यौ भने
गन्ध थाहा पायौ भने
बुझ्नु,
त्यो शरीर जलेको होइन
भरोसा जलेको गन्ध हो
संवेदनहीनताको धुवाँ हो।
मन भयभीत छ
मस्तिष्क विचलित छ
किन
सिंहासनले कानुनको दर्पणमा
नागरिकको अनुहार देख्दैन?
के सिंहासनलाई
नागरिक जलेको गन्ध
मन पर्न थालेको हो?