शिशिरमा वर्षाको सान्त्वना – भाग २
छ वर्ष भनेको पात्रोका पानाहरूमा हेर्दा सायद ठूलो समय होइन तर कसैको छातीभित्र अड्किएको पीडादायी क्षणसँग दाँज्ने हो भने त्यो सिंगो युगजस्तै हुँदो रहेछ।
यी छ वर्षमा सहर फेरियो। मैले हिँड्ने पुराना बाटाहरू फराकिला भए। जहाँ पहिले धुलो उड्ने साँघुरा मोडहरू थिए, त्यहाँ अहिले कालोपत्रे सडक छन्।
पुराना घरका काठका झ्यालहरू हराउँदै गए, तिनको ठाउँमा सिसाले बेरिएका अग्ला भवनहरू ठडिए।
चोकहरूमा नयाँ बत्ती बले, नयाँ क्याफेहरू खुले, पुराना पसलहरूका नाम मेटिए, मानिसहरूको अनुहार फेरियो, बोल्ने शैली फेरियो, प्रेम देखाउने माध्यम पनि फेरियो।
सामाजिक सञ्जालमा नयाँ सम्बन्धहरू उम्रिए, पुराना सम्बन्धहरू बिना आवाज हराए, कसैले बिहे गरे, कसैले सन्तान पाए, कसैले देश छोडे, कसैले आफैलाई बदलिदिए। बाहिरी संसार यसरी हतारहतार समयसँगै कुदिरहँदा मेरो भित्री समय भने ठ्याक्कै त्यही एउटा पलमा गएर ठिङ्ग उभिएको छ, जहाँ विश्वासको ढोका भित्रबाटै भत्किएको थियो।
मलाई कहिलेकाहीँ लाग्छ, समय सबैका लागि एउटै गतिमा बग्दैन रहेछ। कसैका लागि समय नदी हुन्छ, बग्दै जान्छ, किनार बदल्छ, बाटो बनाउँछ। कसैका लागि समय पर्खाल हुन्छ, जसमा टाउको ठोक्दै मान्छे उही ठाउँमा फर्किरहन्छ। मेरो लागि ती छ वर्ष नदी भएनन्, पर्खाल भए। मैले बाहिरबाट बाँच्न सिकेँ, हाँस्न सिकेँ, 'ठिकै छु' भन्न सिकेँ, तर ठिक हुनु र ठिक देखिनुबीचको फरक मैले राम्रोसँग बुझेँ।
धोका खाएको मान्छेले सुरूमा धोका दिने मान्छेलाई मात्र हेर्छ, उसलाई प्रश्न गर्छ, उसलाई दोष दिन्छ, उसलाई सम्झन्छ, उसलाई घृणा गर्ने कोसिस गर्छ। तर केही समयपछि ती सबै प्रश्नहरू फर्केर आफैतिर आउँछन्। म धेरै रात आफ्नै मनको कठघरामा उभिएर आफैलाई सोधिरहेँ, आखिर ममा के कमी थियो? के मेरो समर्पण अपूरो थियो? के मैले कम पर्खिएँ, कम बुझेँ, कम सहेँ? के मेरो विश्वास सजिलै पाइने वस्तु भएकाले सस्तो भयो ? मैले जसलाई आफ्नो सर्वस्व सुम्पिएँ, उसको लागि म किन अधुरो ठहरिएँ?
यस्ता प्रश्नहरूको कुनै स्पष्ट उत्तर हुँदैन तर उत्तर नहुँदा पनि ती प्रश्नहरू मर्दैनन्। तिनीहरू रातभरि निन्द्राको ढोकामा कुर्छन्। कहिले सिरानी भिजाउँछन्, कहिले आँखा सुकाइदिन्छन्, कहिले छातीमा ढुंगाजस्तो बस्छन्। मैले माया गर्दा कुनै हिसाब राखिनँ। कुन दिन कति बोलेँ, कति पर्खिएँ, कति सम्झिएँ, कति माफ गरेँ भन्ने कुनै खाता राखिनँ।
मैले दिएको समयहरू, मैले बचाउन खोजेका संवादहरू, मैले नदेखेजस्तो गरेका संकेतहरू, मैले विश्वासको नाममा दबाएका शंकाहरू, सबै एकएक गर्दै फर्केर आए र मलाई नै दोषी बनाउन थाले। धोका दिनेको अपराधभन्दा बढी धोका खानेको आत्माले आफैलाई सजाय दिने रहेछ क्यारे!
कहिलेकाहीँ लाग्थ्यो, म सायद धेरै नै सजिलो थिएँ। सधैं उपलब्ध, धेरै नै विश्वास गर्ने, धेरै नै पर्खिने, धेरै नै बुझ्ने। सायद माया पनि हदभन्दा बढी दिइयो भने मानिसले त्यसको मूल्य बिर्सिँदो रहेछन्। सायद जसलाई आफ्नो संसार बनाइन्छ उसले आफूलाई संसारभन्दा ठूलो ठान्न थाल्छ। तर फेरि अर्को आवाज भित्रबाट उठ्थ्यो, कसैको बेइमानीका लागि आफ्नो इमानलाई किन दोष दिने? कसैको मनको अस्थिरतालाई आफ्नो प्रेमको कमी भनेर किन मान्ने ? यी कुरा बुझ्न वर्षौं लाग्यो। बुझ्दा पनि मनले सजिलै स्वीकार गरेन, इन्कार गरिरह्यो।
पहिले म प्रेमलाई उज्यालो ठान्थेँ। दुई मान्छेले एकअर्कालाई हेर्दा संसार अलिकति कम निर्दयी हुन्छ भन्ने विश्वास थियो। कसैले कसैलाई साँचो अर्थमा चाहन सक्छ, कसैको प्रतीक्षामा साँझहरू मिठा हुन सक्छन्, कसैको आवाजले दिनभरको थकान हटाउन सक्छ भन्ने कुरा मलाई स्वाभाविक लाग्थ्यो।
प्रेम मेरो एक किसिमको प्रार्थना थियो। तर एकपटक विश्वास चकनाचुर भएपछि प्रेमको भाषा पनि परिर्वतन हुँदो रहेछ। अहिले कुनै जोडीको तस्वीर देख्दा, तिनीहरूको मुस्कानभन्दा पहिले म त्यस पछाडिको सम्भावित थकान देख्न सक्छु। हात समातेको तस्वीर देख्दा म औंला बीचको दूरी नाप्न थाल्छु, शब्द र सत्य बीचको दूरी नाप्न थाल्छु। कसैले 'सधैं' लेखेको देख्दा मलाई त्यस शब्दको आयु कति छोटो हुन सक्छ भन्ने सम्झना हुन्छ।
जहाँ सार्वजनिक गरिएको प्रेम छ यहाँ म एकान्तको उदासीनता पनि महसुस गर्दछु। म यो भन्न सक्दिनँ कि संसारमा साँचो प्रेम बाँकी छैन। सायद बाँकी छ, सायद धेरै मान्छेहरू आज पनि इमानदारीपूर्वक प्रेम गर्छन्। तर मेरो आँखामा त्यसलाई चिन्न सक्ने पुरानो दृष्टिकोण बाँकी छैन। विश्वास एकपटक खरानी भएपछि मान्छेले हरेक आगोलाई सन्देहले हेर्दो रहेछ। यो मेरो एक कमजोरी हो।
आधुनिक सम्बन्धहरू कहिलेकाहीँ किराना पसलका सामानजस्ता लाग्छन्, मन लाग्दा रोजिने, मन नलाग्दा फिर्ता गरिने। भावनाहरू प्रदर्शनमा छन् तर जिम्मेवारी दुर्लभ हुँदै गएको छ। निकटता धेरै छ तर निष्ठा फिटिक्कै छैन। संवाद धेरै छन् तर सत्य कम छ। कसैको आँखामा हेरेर उसको मन बुझ्न सकिन्छ भन्ने मेरो पुरानो विश्वास, एउटा निर्दोष अनुहार पछाडिको कुरूप सत्यले खोसिदियो। त्यसपछि मैले सिकेँ, सबैभन्दा खतरनाक झुट त्यो हो जुन मीठो आवाजमा बोलिन्छ र सबैभन्दा गहिरो चोट त्यो हो जुन माया गर्ने मान्छेको हातबाट लाग्छ।
मलाई कहिलेकाहीँ शरीरसँग ईष्र्या लाग्छ। शरीर कति भाग्यमानी छ। घाउ लाग्छ, रगत बग्छ, दुख्छ, पोल्छ तर समयले त्यो घाउ भरिदिन्छ। दाग रहला तर पीडा विस्तारै कम हुन्छ। मन भने अर्कै धातुले बनेको रहेछ क्यारे! त्यहाँ लागेको चोट नभरिने रहेछ। शरीरको घाउलाई औषधि चाहिन्छ, मनको घाउलाई अर्थ चाहिन्छ। तर केही चोटहरू यति अव्याख्येय हुन्छन् कि तिनलाई अर्थ दिन खोज्नु पनि अर्को पीडा बन्न पुग्छ।
मलाई अब थाहा छ, पीडा सधैं ठूलो आवाज गरेर आउँदैन। कहिलेकाहीँ पीडा चुपचाप आउँछ, बिहानको चियाको बाफमा, भीडमा कुनै अपरिचित मान्छेको हाँसोमा, कुनै पुरानो गीतको पहिलो धुनमा, वर्षाको पहिलो थोपामा। कहिलेकाहीँ कुनै बासनाले, कुनै शब्दले, कुनै गल्लीले पीडा दिएर नै छाड्छ। मानिसहरूले भन्छन् समयले सबै कुरा निको पार्छ। मलाई लाग्छ, समयले सबै कुरा निको पार्दैन, केही कुरालाई बोक्न मिल्ने मात्र बनाइदिन्छ। बोझ उही रहन्छ, काँध मात्र अभ्यस्त हुन्छ वा भनौ परिपक्क हुन्छ। रोएर देखाउने बानी मात्र कम हुन्छ।
यो सबैबीच एउटा अर्को सत्य पनि मबाट लुकेर बस्न सकेन। म उसलाई सायद त्यति प्रेम गर्दिनथेँ जति प्रेम म प्रेम गर्नुमा गर्दथेँ। सायद ऊ सँग प्रेम हुनुमा मलाई प्रेम थियो। उसको नाम मेरो लागि एउटा मान्छेको नामभन्दा बढी एउटा ऋतु थियो, एउटा प्रतीक्षा थियो, एउटा भाषा थियो, जसलाई म एकान्तमा सुन्दर ठान्ने गथेँ। प्रेममा हुँदा म आफूलाई नरम, गहिरो, अर्थपूर्ण महसुस गर्थेँ। मैले सायद उनलाई भन्दा बढी उनले मेरो भित्र जगाएको प्रेमीलाई बचाउन खोजेँ।
कहिलेकाहीँ हामी मान्छेलाई होइन, उसले हाम्रो भित्र बनाइदिएको भावनाको मन्दिरलाई पूजा गरिरहेका हुन्छौँ। मान्छे साधारण हुन सक्छ, त्रुटिपूर्ण हुन सक्छ, स्वार्थी हुन सक्छ तर हाम्रो कल्पनाले उसलाई पवित्र बनाइदिन्छ। हामी उसको वास्तविक अनुहार होइन, हाम्रो विश्वासले बनाएको प्रतिमालाई प्रेम गर्छौँ। जब सत्य आउँछ, त्यो प्रतिमा चकनाचुर हुन्छ। म उसलाई फिर्ता चाहँदिनथेँ। म त आफ्नो पुरानो विश्वास, आफ्नो पुरानो कोमलता, आफ्नो पुरानो निश्चिन्त निद्रा, आफ्नो पुरानो निष्कपटता फिर्ता चाहन्थेँ। म उसले लिएर गएको मान्छे होइन, उसले मभित्र मारिदिएको मान्छेलाई खोजिरहेको थिएँ।
छ वर्षमा मैले धेरै कुरा बुझेँ, तर बुझ्नु र मुक्त हुनु एउटै कुरा होइन रहेछ। मान्छेले सबै कुरा थाहा पाएर पनि मन दुख्न सक्छ। सत्य जानिसकेपछि पनि रातहरू लामो हुन सक्छन्। अब कसैलाई दोष दिइरहन पनि मन छैन, तर दोष नदिँदैमा स्मृति मेटिँदैनन्। अब उनलाई फर्केर आऊ भन्नु छैन, तर नफर्किने कुराले नै सबै घाउ निको पार्दैन।
अब कुनै स्पष्टीकरण चाहिएको छैन, किनकि स्पष्टीकरणले अतीत बदल्दैन। कुनै क्षमायाचना चाहिएको छैन, किनकि क्षमाले पनि सबै रातहरूको हिसाब बुझाउँदैन। कुनै पछुतो सुन्नु छैन, किनकि पछुतो धेरै ढिलो आइपुग्दा त्यो औषधि होइन, केवल अर्को आवाज हुन्छ। जीवनमा केही ढोकाहरू बन्द हुनु मात्र पर्याप्त हुँदैन रहेछ, तिनको आवाज पनि भित्रबाट हराउनुपर्ने रहेछ।
उनको धोकाले मलाई उनीबाट मात्र अलग गरेन, मभित्रको त्यो जीवित र माया गर्न सक्ने मान्छेलाई नै सदाका लागि मारिदियो। एउटै सम्झनाको वर्षाले बारम्बार भिज्दा म अब थाकिसकेको छु। कुनै बेला प्रेमको प्रतीक लागेको वर्षा आज कहिलेकाहीँ स्मृतिको यातना बन्न पुगेको छ।
भाग १ -https://www.setopati.com/literature/321049) मा मैले वर्षामा सान्त्वना भेटेको थिएँ, शिशिरको चिसोमा पनि वर्षाको कोमलता महसुस गरेको थिएँ। तर अहिले म वर्षा पनि थामियोस् भन्ने चाहन्छु। मलाई अब कुनै ऋतुमा अडिनु छैन। न वर्षाको मिठासमा, न शिशिरको सिकाइमा। मलाई केवल त्यो ठाउँ चाहिएको छ जहाँ स्मृतिको मौसम नचलोस्।
मलाई अब कुनै कथाको सुन्दर अन्त्य चाहिएको छैन, किनकि सबै कथाहरू सुन्दर अन्त्यका लागि लेखिँदैनन्। केही कथाहरू केवल यो स्वीकार गर्न लेखिन्छन् कि हामी टुटेका थियौं र बाँचेका पनि थियौं। अब मेरो चाहना यति मात्र हो कि मेरो अशान्त मन कुनै उजाड मरूभूमि बनोस्, जहाँ उनको सम्झनाको बादल कहिल्यै नलागोस्। त्यहाँ फूल नफुले पनि हुन्छ, हरियाली नआए पनि हुन्छ, चरा नबसे पनि हुन्छ, गीत नबजे पनि हुन्छ। उनको नाम सुन्दा मुटुको धड्कन नबढोस्, कुनै पुरानो गीतले आँखामा नमी नल्याओस्, कुनै जोडीको तस्वीरले मेरो आत्मालाई फेरि कठघरामा नउभ्याओस्। एकदिन म आफ्नै शुन्यताको काखमा पल्टिएर भन्न सकूँ, अब पानी पर्दैन, अब म भिज्दिनँ। म तातो बालुवामाथि चुपचाप पल्टिन चाहन्छु, बिना प्रश्न, बिना प्रतीक्षा, बिना भ्रम। मलाई अब प्रेमको प्रमाण चाहिएको छैन। मलाई केवल विश्राम चाहिएको छ। तातो बालुवा माथिको निद्रा पनि सायद अब अप्रीय नहोला।