रात छिप्पिँदै थियो। सिरानीको मोबाइलमा समय हेरेर सुनिताले लामो सुस्केरा हालिन्। रातको १ बजिसकेको रहेछ। उमेरले तीसको दशक छुँदै गर्दा उनलाई आफ्नो अतीत कुनै सिनेमाको पर्दाजस्तो लाग्न थालेको थियो।
उनको मस्तिष्कमा विगतका ती पुराना यादगार रिलहरू चित्र बनेर फेरो मारिरहेका थिए। ती एकपछि अर्को गर्दै आएका चित्रभित्र पनि ‘छोरी हुनु’ को समाजशास्त्रीय अर्थ खोजिरहेका उपकथाहरू घुमिरहेका थिए।
सुनिताको मानसपटलमा छिमेकी शीतलपुर गाउँ र आफ्नै घरको ऊ बेलाको परिवेश घुम्न थाल्यो– जहाँ एउटै रुढिवादी विचारको साम्राज्य थियो। सुनिताकी आमा लक्ष्मीका तीन वटी छोरीहरू मात्र थिए; जेठी सुनिता, माइली अनिता र कान्छी विनिता। गाउँमा
जब–जब दसैँ आउँथ्यो, छिमेकी हजुरआमाहरू टीका लगाइदिँदै लक्ष्मीको कानमा मुख जोडेर फुसफुसाउँथे, ‘ए लक्ष्मी, कोख त रित्तो राख्नुहुँदैन। एउटा कुल थाम्ने छोरो नजन्माई सुखै छैन। ढिलो नगर है। बाटापारिकी सरिताको त धन्न पहिलो गाँसमै ढुङ्गा परेन, छोरो जन्माएर ढुक्क भई!’
त्यो सुनेर सुनिताको बालमस्तिष्कमा एउटा प्रश्न गढेको थियो कि, हामी तीन दिदीबहिनी त केवल आमाको कोखका ट्रायल पात्र हौँ, पूर्णता त भाइ आएपछि मात्र हुन्छ।
यही कथित पूर्णताको दृष्टिविहीन र आत्मघाती दौडमा कुदिरहेको अर्को परिवार थियो– सुनिताकै छिमेकका रामबहादुर र सुमित्राको। उनीहरूको एउटै मात्र धुन थियो, ‘जसरी पनि एउटा छोरो पाउनुपर्छ।’
समाजको त्यही पुरानो मान्यता उनीहरूको दिमागमा यति नमजाले गढेको थियो कि मर्दाखेरि दागबत्ती दिन र बुढेसकालमा पाल्न छोरा नै चाहिन्छ, छोरीहरू त अर्काको घर जाने जात हुन्। छोरी पूर्णताको प्रतीक होइनन्।
छोराकै आशमा पहिलो सन्तान छोरी जन्मिइन्। त्यसपछि लगातार दोस्रो, तेस्रो, चौथो र पाँचौँ पनि छोरी नै जन्मिए। गाउँलेले छोरी मात्रै जन्माउने ‘छोरी गोठे’ भन्दै कुरा काट्न थालेपछि रामबहादुर दम्पतीको मनमा हीनताबोध झन् बढ्यो।
उनीहरूले पाँचै जना छोरीहरूलाई कहिल्यै भरपूर माया र वास्ता गरेनन्। अर्काको घर जाने जात त हुन् भन्दै उनीहरूको पढाइलेखाइ र इच्छामा सधैँ कञ्जुस्याइँ गरिरहे। कतिपय परिवारमा त धेरै पटक छोरा खोज्दा रुँदै भ्रूण हत्या गरेर फ्याँकेका कथाहरू समेत सुनिताले गाउँकै माइजूका मुखबाट घाँसदाउरा र मेलापात गर्दा सुनेकी थिई।
(कथित शिक्षित समाजको भित्री जरो कति कुरूप थियो भने, जहाँ पहिलो सन्तान छोरो हुँदा उत्सव मनाइन्थ्यो र छोरी हुँदा सुत्केरीलाई गोठमा सारिन्थ्यो। खानामा पनि उस्तै चरम विभेद– छोरा हुँदा सक्नेले खसी नै काटिहाल्ने, नसके पनि भाले र घिउ त खोजीखोजी ल्याएर भए पनि गाउँ नै ज्वानो र मासुको गन्धले भरिन्थ्यो। तर छोरी हुँदा गुन्द्रुकको झोलमा सुत्केरी उठ्नुपर्ने।)
तर छैटौँ पटकमा सुमित्राको कोखबाट छोरो जन्मियो। रामबहादुरको खुसीको सीमा रहेन। गाउँभरि भोजभतेर भयो। छोराको नाम राखियो ‘गौरव’। आखिर कुल थाम्ने र बुढेसकालको लौरो जन्मिएको थियो! गाउँले भेला भएर बधाई दिनेको भ्याइनभ्याइ हुन्थ्यो।
समयको नदी बग्दै जाँदा छोरा र छोरीका लागि घरभित्रको भूगोल कति फरक हुन्छ भन्ने कुरा सुनिता र गौरव दुवैले आफ्नै ढंगले भोग्दै थिए। बिहान ६ बज्दा नबज्दै हजुरआमाले सुनितालाई उठाउनुहुन्थ्यो, ‘उठ् कान्छी, छोरी भएर दिउँसोसम्म सुत्नुहुँदैन। भान्छा सघाउनुपर्छ, भाँडा माझ्नुपर्छ। भोलि अर्काको घर जाँदा गाली खानुपर्ला।’
अर्कोतर्फ, छिमेकी रामबहादुरको घरमा गौरवलाई भगवान् जस्तै राखिन्थ्यो। ऊ घाम नझुल्किएसम्म सुत्थ्यो, उठेर मोबाइल चलाउँथ्यो वा साथीहरूसँग खेल्न जान्थ्यो। खाना खाइसकेपछि गौरव आफ्नो थाल त्यहीँ छोडेर हात चुठ्न उठ्थ्यो। गौरवको दिमागमा सानैदेखि यही संस्कार बसालियो कि ‘थाल–भाँडा माझ्ने र सफा गर्ने काम त केटीहरूको मात्र हो।’
पाँच जना दिदीहरूले जे माग्दा पनि भनेजस्तो कहिल्यै नपाउने, तर गौरवलाई नमाग्दै सबै कुरा हाजिर हुन्थ्यो। यही अति लाडप्यार र पुल्पुल्याइँले बिस्तारै विकृत रूप लिन थाल्यो। गौरव स्कुल जाने भयो। तर उसको ध्यान पढाइमा कहिल्यै रहेन। एक दिन स्कुलमा गृहकार्य नगरेको र अनुशासनहीन काम गरेको भन्दै सरले उसलाई अलिकति सम्झाउँदै गालामा थप्पड हानिदिए।
गौरव रुँदै घर पुग्यो। छोराको आँखामा आँसु देखेपछि रामबहादुर र सुमित्राको रिसको ठेगान रहेन। उनीहरू रिसले चुर हुँदै स्कुल पुगे। सम्झाउनुपर्ने ठाउँमा उल्टै हेडसरको अगाडि, ‘हाम्रो कुलको एउटै छोरालाई हात हाल्ने तिमी को हौ? मेरो छोरालाई मरणासन्न हुने गरी कुट्ने?’ शिक्षकमाथि खनिए र मनभरिपरी थर्काएर फर्किए।
त्यसपछि गौरवको मनोबल अझ बढ्यो। उसलाई लाग्न थाल्यो कि मैले जे गरे पनि मलाई बचाउने आमाबाबु छँदै छन्। छोरीलाई ‘धेरै बोल्नुहुँदैन, शिर झुकाएर हिँड्नुपर्छ’ भनिने समाजमा छोराहरूलाई भने असीमित स्वतन्त्रताको लाइसेन्स थियो। सुनिताले सधैँ सोच्थी, के आफ्नो थाल आफैँ माझ्नु र अनुशासित हुनु एउटा सामान्य मानवीय संस्कार होइन र? यसमा पनि लैङ्गिक असमानता किन?
एक दिन सुनिता र उसकी बहिनी अनिता बजारबाट फर्किँदै गर्दा बाटोमा गाउँका ठूलाठालु मानिने शिक्षक रामप्रसाद गुरु भेटिए। उनले बडो आत्मीयताका साथ सोधे, ‘नानीहरू, तिमीहरू कति जना छौ रे घरमा?’
सुनिताले देखावटी मुस्कान छोड्दै भनीन्– ‘हामी तीन दिदीबहिनी मात्र हौँ गुरुबा।’
रामप्रसादको अनुहार एक्कासि खुम्चियो। उनको ओठबाट सहानुभूति र दयाको गहिरो ए ए ए... निस्कियो। उनले पनि भने– ‘अरू दाजुभाइ केही छैनन्? कठै बरा! दिदीबहिनी मात्रै पो?’
त्यो क्षण सुनिताको मन अमिलो भएको थियो। छोरा–छोरा मात्र हुने घरमा कसैले त्यसरी दयाभाव देखाउँदैनन्, तर छोरी मात्र हुनुलाई समाजले एउटा ठूलो रिक्तता वा कमजोरीका रूपमा हेर्छ। लैङ्गिक विभेदको यो पुस्तान्तरण कति गहिरो थियो भने, छिमेकको आठ वर्षको फुच्चे केटाले आफ्नी सानी बहिनीलाई जिस्काउँदै भन्थ्यो, ‘यो त केटी हो, यसले केही गर्न सक्दिनँ।’
यही उपेक्षा र दयाभावको विष रामबहादुरका पाँच छोरीहरूले पनि हरेक पल पिएका थिए। तर समाजको चरम उपेक्षा सहेरै भए पनि ती पाँचै जना दिदीबहिनीहरूले बनीबुतो गरेर भए पनि आफ्नो पढाइलाई कहिल्यै मर्न दिएनन्। उनीहरूले पुराना किताब मागेर, कलेजमा छात्रवृत्ति जितेर र ट्युसन पढाएर आफ्नो खर्च आफैँ जुटाउँदै अनवरत मिहिनेत गरिरहे। उनीहरू र सुनिता जस्ता छोरीहरूको मनमा एउटै दृढ संकल्प थियो कि ‘हामी कमजोर छैनौँ भनेर यो समाजलाई प्रमाणित गर्नु छ।’
वर्षहरू बिते। समयको क्रूर र न्यायोचित चक्रले सत्यलाई उजागर गरिछाड्यो। रामबहादुरका पाँचै जना छोरीहरूको अथक मिहिनेतले अन्ततः सुनौलो रङ ल्यायोः जेठी छोरी कानुनी लडाइँ लड्ने प्रखर वकिल बनिन्। माइली छोरी समाजका विकृति उजागर गर्ने उच्च स्तरको निडर पत्रकार भइन्। साइली छोरी समाजमा शिक्षाको ज्योति छर्ने कुशल शिक्षिका बनिन्। काइली छोरी एउटा ठूलो बैंकको मेनेजर भइन्। कान्छी छोरी पनि आफ्नै खुट्टामा उभिएर दक्ष प्राविधिक बनिन्। सबै छोरीहरू आफ्नो पौरखमा उभिए।
उता, कलेज पुग्दा नपुग्दै गौरव कुलको ‘गौरव’ होइन, कुलकै ‘कलङ्क’ बन्न पुगिसकेको थियो। खराब संगतमा फसेर सुरुमा चुरोट र रक्सीबाट सुरु भएको उसको यात्रा बिस्तारै ड्रग्स र जुवाको दलदलसम्म पुगिसकेको रहेछ। सुरु–सुरुमा त रामबहादुरले छोराको गल्ती लुकाउन र उसको ऋण तिर्न लुकीछिपी पैसा दिइरहे। तर गौरवमा कुलतको प्यास कहिल्यै मेटिएन। घरमा पैसाका लागि वृद्ध आमाबाबुलाई नै कुटपिट गर्न थाल्यो। रामबहादुरले वर्षौँ दुःख गरेर कमाएको धन–सम्पत्ति, जग्गा–जमिन सबै गौरवको जुवा र नशाले सखाप पारिदियो।
अन्तिममा, गौरव एउटा जँड्याहा र आवारा बन्यो। एक रात पैसाकै निहुँमा घरमा ठूलो उपद्रो मच्चाएपछि ऊ अचानक गाउँबाटै बेपत्ता भयो। कसैले भन्थे ऊ सहरको कुनै अन्धकार गल्लीमा नशामा लतारिएर मरिसक्यो, कसैले भन्थे ऊ प्रहरीको फन्दामा पर्यो। गाउँले सारा खोजीमा निस्किए तर कुल थाम्ने, बुढेसकालको लौरो बन्ने र दागबत्ती दिने भनिएको त्यही एक मात्र छोरो परिवारमा उजाड मन र रातदिनको त्रास छोडेर सधैँका लागि बेपत्ता भयो।
जब रामबहादुर रोग, भोक र छोराको मानसिक यातनाले थलिएर मृत्युशय्यामा पुगे, तब उनीहरूलाई सोधपुछ गर्न न त कोही कथित आफन्त आए, न त उनीहरूको प्यारो छोरो गौरव नै फर्कियो।
त्यो संकटको घडीमा उनीहरूको उद्धार गर्न तिनै अपहेलित पाँचै जना छोरीहरू गाडी लिएर दैलोमा आइपुगे। वकिल, पत्रकार, मेनेजर र शिक्षिका बनेका ती छोरीहरूले आमाबाबुको यो हविगत सहन सकेनन्। उनीहरूले बुबाआमालाई छातीमा टाँसे र सहर लगेर उत्कृष्ट अस्पतालमा उपचार गराए। तर वर्षौँको मानसिक चोट र शारीरिक शिथिलताका कारण रामबहादुरका अङ्गहरूले साथ छाड्दै गए।
जीवनको अन्तिम क्षणमा रामबहादुरका आँखाबाट पश्चात्तापको गङ्गा बगिरहेको थियो। आँखा ओभाना बनाउन सकेनन्। उनले सुमित्रा र आफ्ना पाँचै छोरीहरूको हात समात्दै रुँदै भने, ‘हामी कतिसम्मा रहेछौँ सुमित्रा! छोरीले पाल्दैनन्, दागबत्ती दिँदैनन् भनेर जसलाई बोझ सोच्यौँ, आज तिनै हाम्रा सहारा बने। जसलाई कुलको दियो भन्यौँ, उसैले घरमा आगो लगाएर बेपत्ता भयो। छोरा र छोरीमा भेद गर्ने यो समाज कति मूर्ख छ र हामी कति महामूर्ख थियौँ!’
त्यही पश्चात्तापमा जलेका उनले अन्ततः छोरीहरूको स्नेहपूर्ण काखमा आफ्नो अन्तिम श्वास फेरे।
गाउँमा परम्परावादीहरूले कानेखुसी गरे, छोरो बेपत्ता छ, अब दागबत्ती कसले दिने? कुल कसरी थामिने? तर ती सबै कुरूप आवाजहरूलाई चुनौती दिँदै पाँचै जना छोरीहरू अघि सरे। यो बखतसम्म कानुनले पनि समानताको ढोका खोलिसकेको थियो, उनीहरू आफैँले बुबाको लासलाई काँध दिए। घाटमा पुगेर सबै छोरीहरूले बुबाको पार्थिव शरीरलाई दागबत्ती दिने र अन्तिम संस्कार गर्ने सम्पूर्ण प्रक्रिया दृढताका साथ पूरा गरे।
मृत्युपश्चात्को १३ दिनको कडा र परम्परागत किरियाकर्म पनि उनीहरू आफैँले सेतो वस्त्र लगाएर पूरा गरे। समाजका कतिपय रुढीवादी तत्वहरूले औँला ठड्याउन खोजे तर ती वकिल, पत्रकार र मेनेजर छोरीहरूको चेतना र दृढताका अगाडि कसैको केही चलेन। उनीहरूले छोराभन्दा माथि उठेर छोरीकै पहिचानमा बुबाप्रतिको अन्तिम कर्तव्य र ऋण पूर्ण निष्ठाका साथ चुक्ता गरेर देखाए।
उता सुनिताले पनि समाजका ती सबै साना सोचहरू र लैङ्गिक अवरोधहरूलाई चिर्दै लोक सेवा आयोगको कठिन परीक्षा उत्तीर्ण गरेकी थिइन्। उनी जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएकी थिइन्। सिङ्गो गाउँमा खुसीयाली छाएको थियो र बधाई दिन आउनेहरूको ओइरो लागेको थियो। जसरी गौरवको आगमनमा गाउँले भेला भएर खुसी साटेका थिए।
त्यही भीडमा तिनै रामप्रसाद गुरुबा पनि थिए, जसले कुनै समय ‘कठै..! दिदीबहिनी मात्रै पो?’ भनेर दया देखाएका थिए। उनले सुनिताका बुबाको काँधमा हात राख्दै गर्वका साथ भने, ‘हैन हरिजी, सुनिताले त कमाल गरिन्। छोरा नभए के भो त, उनी त तपाईंको घरको छोरा नै भइन् नि! छोरा सरह होइन, त्योभन्दा माथिबाट काम गरेर देखाइन्!’
भीडमा उभिएकी सुनिताको मनमा यो वाक्यले कडा प्रहार गर्यो। उनले सोचिन्, मैले जे गरेँ, आफ्नो क्षमता र मिहिनेतले गरेँ। म छोरी नै भएर आफ्नो कर्तव्य निभाउन किन सक्दिनँ? मेरो सफलतालाई कदर गर्न पनि किन मलाई ‘छोरा’ को पगरी नै गुथिनुपर्ने? के छोरी हुनु आफैँमा पूर्ण पहिचान होइन र?
सुनिताको मोबाइलमा बिहानको संकेत गर्ने रिङ बज्यो। सुनिताले झ्यालको पर्दा हटाएर आकाशतिर हेरिन्। अँध्यारो चिर्दै बिहानीको एउटा नयाँ किरण उज्यालो छर्दै उदाउन खोजिरहेको थियो। सुनिता आँखा मिच्दै वासरुम पसिन्।