अहिले काठमाडौं उपत्यकामा विभिन्न राइड सेयरिङ एपका कारण यात्रा निकै सहज भएको छ। एपबाट राइडर कुन ठाउँमा छन् र कति समयमा आइपुग्छन् भनेर म्यापमा हेर्न मिल्छ।
तर धेरै मानिस आफ्नो दैनिक यात्रा सार्वजनिक बसबाट गर्छन्।
उनीहरूलाई पनि बस कुन समयमा आउँछ, बस कहाँ छ र कुन बाटो आइरहेको छ भन्ने थाहा भएको भए कति सजिलो हुन्थ्यो होला है?
यही कुरा मध्यनजर गर्दै ललितपुरको पुल्चोक बस स्टेसनमा एउटा ठूलो स्क्रिन बोर्ड राखिएको छ। यो बोर्डमा ठूलो म्याप छ र बसको चित्र छ। कुन बस कहाँ गुडिरहेको छ, यसमा हेर्न सकिन्छ।
अनि बस कति समय कुर्नुपर्छ भन्ने पनि थाहा हुन्छ।
बस ट्र्याक गर्ने यो एप सल्यास प्लस कम्पनीको हो।
नेपालमा यातायात सेवा आधुनिक बनाउनुपर्छ भन्ने सोचले यो प्रविधि ल्याएको कम्पनीका सिइओ क्षितिज कार्कीले बताए।
'हामीले सन् २०१५ मै कम्पनी खोलेका थियौं। सन् २०१७ देखि यो एपमा काम गर्न थालेका हौं,' उनले भने।
विराटनगरका क्षितिज स्नातक तहसम्म पढिसकेर काम गर्ने उद्देश्यले काठमाडौं आएका थिए।


काम खोज्ने बेलामा उनलाई एक ठाउँबाट अर्को ठाउँ गइरहनुपर्थ्यो। नयाँ सहर, कुन बस कहाँबाट चढ्ने, कति वटा बस फेर्नुपर्छ भन्ने थाहा नहुँदा समस्या भइहरन्थ्यो।
'मजस्तै अरू कति मानिस होलान्, चाहिएको बस पाउन कति गाह्रो भइरहेको होला भन्ने सोचेँ,' उनले भने, 'त्यही अनुभवले मलाई बस ट्र्याकिङ एप बनाउने सोच आयो।'
पछि दुई लाख रूपैयाँ लगानीमा उनले सल्यास प्लस कम्पनी खोले। सुरूमा 'ट्राभल नेपाल प्लस' नामक एप बनाए।
यसमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा चल्ने बसहरू देख्न सकिन्छ। बसमा राखिएको जिपिएसको मद्दतले ती बस कहाँ छन् भनेर म्यापमा देखिन्छ।
यसमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा चल्ने बसहरू देख्न सकिन्छ। आफू जानुपर्ने ठाउँको 'लोकेसन सेट' गरेपछि कुन बस स्टेसनमा जानुपर्छ, बसले कहाँ कहाँ लैजान्छ, आफ्नो गन्तव्यमा जान थप अर्को कुन बस चढ्नुपर्छ भन्ने पनि देखाउँछ।
'बस स्टेसनमा गएर पर्खिरहनुभन्दा घरै बसेर बस कुन बेला आउँछ भनेर निस्कियो भने समय बचत हुन्छ,' उनले भने।
उनका अनुसार पुल्चोकको बस स्टेसनमा राखिएको जस्तै बोर्ड अब ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा छिट्टै देख्न पाइनेछ। उनीहरूले दुवै महानगरपालिकासँग कुरा गरिरहेका छन्।

सुरूमा उनीहरूलाई बसमा जिपिएस राख्न चालकहरूलाई मनाउन ठूलो चुनौती भएको थियो।
सरकारले बसमा सिसिटिभी क्यामरा राख्नुपर्ने नियम ल्याएपछि भने अलि सजिलो भएको क्षितिजले बताए।
'हामीले चालकसिट अगाडि माइक पनि जोडेका छौं। यसबाट बसको स्पिड धेरै भयो भने जानकारी दिन्छौं। एउटै रूटका बसबीच केही समयको दुरी राख्न पनि भन्छौं,' उनले भने।
अहिलेसम्म करिब १४ सय बसमा जिपिएस जडान गरिसकिएको उनले जानकारी दिए।
भिडिओमा हेर्नुस् थप कुराकानीः