नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने युवाको संख्या निरन्तर बढिरहेको छ।
लर्निङ डिस्कोर्सको यो अंकमा नरोत्तम अर्यालले इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सँग विदेश अध्ययन, शैक्षिक परामर्श संस्था, विद्यार्थी पलायन र नेपालको उच्च शिक्षाको अवस्थाबारे छलफल गरेका छन्।
नेपालबाट हरेक वर्ष ७० देखि ९० हजार हाराहारी विद्यार्थी विदेश पढ्न गइरहेका छन्। पहिले यसरी जानेहरू सीमित वर्गका भए पनि अहिले मध्यम वर्गका परिवारसम्म विस्तार भएको छ।
इक्यानका अध्यक्ष पौडेलका अनुसार कन्सल्टेन्सीहरूले विद्यार्थीलाई विभिन्न देशका नीति, छात्रवृत्ति, अध्ययन अवसर र भर्ना प्रक्रियाबारे जानकारी दिने काम गरिरहेका छन्। विदेश जानु देशको दृष्टिकोणबाट चुनौतीपूर्ण देखिए पनि व्यक्तिगत र पारिवारिक अवसरका हिसाबले यसलाई सकारात्मक रूपमा हेर्नुपर्ने उनको धारणा छ।
नेपालमा पर्याप्त रोजगारी र अवसर सिर्जना गर्न नसकिएकाले धेरै युवा विदेश अध्ययनतर्फ आकर्षित भएको उनको भनाइ छ।
नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने र त्यसका लागि विदेशी विद्यार्थीमैत्री नीति तथा वातावरण आवश्यक रहेको पनि उनले बताए।
प्रस्तुत छ अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सँग नरोत्तम अर्यालले गरेको बहसः