विश्वव्यापी रूपमा कोभिड महामारी फैलिएदेखि यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ।
त्यसयता व्यवसायीहरूले घरजग्गा कारोबार लयमा फर्किन नसकेको बताउँदै आएका छन्।
साँच्चै अहिले घरजग्गा कारोबार ठ्याप्पै भएको हो त? घरजग्गा कारोबार नहुँदा अहिले व्यवसायीले लगानीको क्षेत्र परिवर्तन गरेका छन् कि वा सरकारको नीतिगत व्यवस्थाको पर्खाइमा छन्। यिनै विषयमा केन्द्रित रहेर हामीले जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेसँग कुराकानी गरेका छौं।
उनले घरजग्गा कारोबार पूर्ण रूपमा ठप्प नभए पनि करिब चार वर्षदेखि अपेक्षित रूपमा चल्न नसकेको बताएका छन्। उनका अनुसार घरजग्गा खरिद–बिक्री भइरहे पनि बजार अझै पुरानै लयमा फर्किन सकेको छैन।
कारोबार सुस्त हुनुमा कित्ताकाट बन्द हुने, खुल्ने नीति, बैंकको ब्याजदरमा आएको उतारचढाव र आयस्रोत सम्बन्धी कडा व्यवस्थाले मुख्य भूमिका खेलेको छ.
'कारोबार भइरहेको छ, तर जुन हिसाबले हुनुपर्ने हो त्यो हिसाबले भएको छैन,' उनले भने, 'कित्ताकाट बारम्बार बन्द हुँदा कारोबार प्रभावित भएको छ।'
त्यस्तै व्यवसायीले ७ प्रतिशतको दरमा लिएको ऋण अहिले १४–१५ प्रतिशत पुगेको छ।
सरकारले ल्याएको सहुलियत होमलोन नीति व्यवहारमा लागू हुन नसकेको उनको भनाइ छ। सामान्य आम्दानी हुने मध्यमवर्गले पनि घर किन्न सक्ने गरी ऋण नीति ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।
त्यस्तै, सरकारले साउनदेखि कित्ताकाट बन्द गर्ने, पुँजीगत लाभकर बढाउने लगायतका नीति ल्याउने हल्ला चलेकाले अझै घरजग्गा कारोबारमा सुधार आउने संकेत देखिँदैन। त्यसैले, नीतिगत सुधार र व्यावहारिक कर्जा व्यवस्था लागू भए घरजग्गा बजार पुनः चलायमान हुने उनको विश्वास छ।
हेर्नुस् जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेसँग सेतोपाटीका सुनिता सिटौलाल गरेको कुराकानी-