धेरै मानिसलाई रेस्टुरेन्टमा खान रमाइलो लाग्छ। परिकारहरू मिठो मानेर खान्छन्। तर अलि धेरै पटक खान थालेपछि 'बाहिरको खानेकुरा, अस्वस्थकर हुन्छ' भन्ने सोच आउँछ।
काठमाडौंका असिम आचार्यलाई पनि ठ्याक्कै यस्तै भयो।
२३ वर्षीय असिम ललितपुरमा 'पाटन पोटरी' चलाउँछन् जहाँ माटाका भाँडाकुँडा पाइन्छ। बिबिए पढेका उनले यो व्यवसाय सुरू गरेको दुई वर्षभन्दा बढी भयो।
पसल सुरू गरेपछि उनको खाना र खाजा बाहिरै भयो।
'एक–दुई दिन त बाहिरको खान रमाइलै भयो। केही दिनपछि भने स्वास्थ्यको साह्रै चिन्ता हुन थाल्यो। यसरी सधैं बाहिर खाए त समस्या हुन्छ भन्ने लाग्यो,' उनले भने।
यही चिन्ताले उनलाई नयाँ व्यवसायको विचार आयो — स्वस्थ खानेकुरा बेच्ने।
उनका कजन दाइ मिकेस घिमिरेलाई पहिल्यैदेखि खानामा रूचि थियो। ३६ वर्षीय मिकेसले होटल म्यानेजमेन्ट पढेका हुन्।
कोरोना महामारीपछि उनले ललितपुरकै भनिमण्डलमा 'ह्याप्पी पान्डा' नामको क्याफे खोलेका थिए। त्यसको दुई वर्षपछि उनी राम्रो अवसर पाएर केम्यान आइल्यान्ड गए र होटलमा काम गरे।
असिमलाई खानेकुराको व्यवसायको सोच आएको बेला, सन् २०२५ फेब्रुअरीमा, मिकेस ठ्याक्कै नेपाल फर्किएका थिए।

असिम आचार्य (बायाँ) र मिकेस घिमिरे
उनीहरूले कुराकानी गरे।
एक जनासँग व्यवसाय गर्ने सोच थियो, अर्कोलाई विभिन्न स्वादसँग खेल्न मन थियो।
'नेपालीहरूका लागि दिनकै खान मिल्ने, स्वस्थकर खानेकुरा दालभात नै हो,' असिमले भने, 'प्रायः मेक्सिकनहरू पनि भात खान्छन्। चर्चित मेक्सिकन खाना बुरिटो र बुरिटो बाउलमा भातसँगै विभिन्न परिकार राखिन्छ। त्यसैले हामीले आफ्नै खानामा नयाँपन हुने गरी मेक्सिकन परिकार बेच्ने निधो गर्यौं।'
उनीहरूले तीन–चार महिना बुरिटो र बुरिटो बाउलका विभिन्न स्वाद परीक्षण गरे।
अनि डेढ महिनाअघि पुल्चोकस्थित स्क्वायर होटलको छेउमा सुरू गरे — बिग बुरिटो।
'हामीले यसको वास्तविक स्वाद नै ल्याउन खोजेका थियौं। तर अलि खल्लो भयो। त्यसैले हामीले यसमा हल्का नेपाली स्वाद मिसाएका छौं,' असिमले भने।
बुरिटो र बुरिटो बाउलमा राखिने चिज प्रायः एउटै हुन्छ। फरक यत्ति हो, बुरिटोमा टोर्टिया भनिने रोटीभित्र भात, तरकारी, मासु, चिज लगायत हालेर बेरेर बनाइन्छ। र, त्यही परिकार रोटीबिना बाउलमा राखिएकोलाई बुरिटो बाउल भनिन्छ।
'रोटीमा थप कार्बोहाइड्रेट हुने भएकाले धेरैले बुरिटोभन्दा बुरिटो बाउल खान सुझाव दिन्छन्। तर यहाँ बुरिटोकै माग धेरै छ,' मिकेसले भने।
ग्राहकले बुरिटो र बुरिटो बाउलमा आफूले चाहे अनुसार सामग्रीको परिमाण मिलाएर खान पनि सक्छन्। कसैलाई धेरै भात मनपर्न सक्छ, कसैलाई धेरै मासु वा तरकारी।


हाल बुरिटो चिकेन, पोर्क र भेजमा उपलब्ध छ। त्यस्तै नाचोज, टाकोज र फ्राइजजस्ता परिकार पनि पाइन्छ। यहाँका परिकार दुई सय रूपैयाँदेखि ८९० रूपैयाँसम्म पाइन्छ।
छोटो समयमै बिग बुरिटो धेरै ग्राहकको रोजाइ बनिसकेको असिमले बताए। प्रायः अफिस कर्मचारी वा घरबाहिर धेरै समय काम गर्नेहरूका लागि यो सहज ठाउँ भएको उनी बताउँछन्।
'यसले घरकै खाना खाएजस्तो महसुस गराउँछ,' असिमले भने, 'म पनि बिहान र बेलुकाको खाना सधैं बिग बुरिटोमै खान्छु।'
बिग बुरिटो बिहान साढे ११ बजेदेखि राति साते ७ बजेसम्म खुला हुन्छ। ग्राहकको चाप बढी हुँदा कहिलेकाहीँ सामान सकिएर चाँडै बन्द गर्नुपर्ने अवस्था पनि आएको छ।
असिमका अनुसार बिग बुरिटो खोल्न १२ लाख रूपैयाँ लगानी भएको छ। यहाँ दुई जना सेफसहित कुल पाँच जना कर्मचारी छन्।
ग्राहकको आउजाउ राम्रो भएकाले अहिले उनीहरूले नयाँ परिकारमा काम गर्ने समय पाएका छैनन्। बिस्तारै अन्य मेक्सिकन खाना, खाजा थप्ने उनीहरूको योजना छ।






