पुरानो बटौली बजारको कदम चोकदेखि थोरै अगाडि पुगेपछि सानो गल्लीमा सँगै भेटिन्छन् दुई पसल— १२० वर्ष पुरानो जलेवीवाला बुढो बाजेको पसल र बाजेको जलेवी पसल।
रूपन्देहीको बुटवलमा पर्ने यी पसल हेर्दा सामान्य देखिन्छन्। तर यहाँ बिहानैदेखि ग्राहकको घुइँचो लाग्छ।
विगत १२५ वर्षदेखि यहाँ जलेवी (जेरी) र मिठाइका विभिन्न परिकार पाकिरहेका छन्। पकाउने पुस्ता फेरियो, स्वाद उही छ।
पसलमा ग्राहक छिरेपछि के खाने भनेर अर्डर गर्न पर्दैन। कुर्सीमा बस्न नपाउँदै तात्तातो जलेवी र पुरी आइसक्छ।
'हाम्रो पसलको विशेषता भनेकै ताजा सेवा हो। हामी अन्त जस्तो बिहान पकाएको जलेवी सोकेसमा सजाएर दिनभरि बेच्दैनौं। पकाएर राखेको जलेवी चिसो हुन्छ। जलेवीको वास्तविक स्वाद तातोमै हुन्छ,' जलेवीवाला बुढो बाजेको पसलका सञ्चालक गयाप्रसाद हुलवाईले भने।
यी पसलको निब १९५९ सालमा गयाप्रसादका हजुरबुबा असर्फीलाल हलुवाईले राखेका थिए।
भारतबाट आएर असर्फीले खोलेको पसल छोरा सीताराम र नातिहरू गयाप्रसाद र लड्डुलाल हुँदै अहिले चौथो र पाँचौं पुस्ताले धानिरहेका छन्।
गयाप्रसाद र उनका छोरा जलेवीवाला बुढो बाजेको पसल चलाउँछन्। लड्डुलालका छोरा किरण र नातिहरूले बाजेको जलेवी पसल चलाइरहेका छन्।
किरण र उनका छोराहरू

असर्फी र उनका छोरा सीताराम वर्षको ६ महिना भारतको गोरखपुरबाट बुटवल आएर मिठाइ पसल चलाउँथे। त्यो बेला बुटवलमा पहाडी जिल्लाबाट ढाक्रेहरू टिनमा घिउ बोकेर आउँथे। घिउ बेचेर वर्षभरिलाई चाहिने नुनतेल किनेर लैजान्थे।
असर्फी छाप्रो पसलभित्र बसेर भैंसीको घिउमा जलेवी, पुरी, समोसा, सेलरोटी, हलुवा पकाउँथे। यी खानेकुरा तात्तातै खान ढाक्रेहरूको लाम हुन्थ्यो।
गर्मी सुरू भएपछि भने बटौली बजार सुनसान हुन्थ्यो। ढाक्रेहरू र भारतबाट आउने व्यापारीहरूको आवतजावत गर्मीमा बन्द हुन्थ्यो। बसिरहेका भारतीय व्यापारीहरू पनि हैजा लाग्ने डरले गर्मी सुरू भएपछि फर्किन्थे।
एक शताब्दीमा पुरानो बटौलीको स्वरूप धेरै फेरिइसक्यो। झिँगटी र फुसले छाएका छाप्रे घरहरू देखिँदैन। ढुंगामाटोको गोरेटो कालोपत्रे भइसक्यो। ढाक्रेहरू नुनतेल किन्न आउँदैनन्। न नुनतेल मात्र बेच्ने पसल भेटिन्छ!
धेरै कुरा फेरिए पनि असर्फीले खोलेका जलेवी पसल उस्तै 'हिट' छ। पुर्खाले सुरू गरेको पेसाको विरासत नयाँ पुस्ताले थामिरहेका छन्।
साँघुरो गल्लीमा चलिरहेका यी पसल व्यवसाय मात्र होइनन्, पुरानो बटौलीका जीवन्त पहिचान भएको स्थानीय बताउँछन्।
'अहिले पनि यी पसलले आकर्षित गरिरहनु सामान्य उपलब्धि होइन,' जलेवी खान आएका बुटवलका नारायण र सन्दीप श्रेष्ठले भने, 'यहाँ र अरू पसलमा पाइने जलेवीको स्वाद धेरै फरक छ। यहाँ स्वादको सन्तुलन गज्जबको पाइन्छ।'
नारायणले थपे, 'यही पसलमा दुई रूपैयाँमा एक प्लेट जलेवी खाएको सम्झना छ। अहिले त्यति नै जेरीको ८० रूपैयाँ तिर्दा पनि कुनै गुनासो छैन।'
तात्तातो जलेवी खान पाइने भएकैले होला, यहाँ बुटवलबाट मात्र होइन भैरहवा, सालझण्डी र देवदह–खैरेनीदेखि समेत ग्राहकहरू आउँछन्।
'यहाँ जलेवी राम्रो पाइन्छ रे भन्दै पसेर खानेहरू पनि छन्। हाम्रा परिकार ग्राहकले मन पराएर जाँदा खुसी लाग्छ,' गयाप्रसादले भने।
गयाप्रसादले बुबा सीतारामसँग जलेवी पकाउन सिकेका थिए। अहिले छोरानातिलाई सिकाइरहेका छन्।
जलेवी पकाउन अघिल्लो रात नै पिठो मुछेर राखिएको हुन्छ। स्वाद परिवर्तन नहुनुको एक कारण पिठो मुछ्ने काँसको भाँडो भएको उनी दाबी गर्छन्।
पसलमा आएका ग्राहक
पुरानो भाँडोमा पिठो मोल्दै
'यो काँसको भाँडो झन्डै १२० वर्ष पुरानो होला। मेरो हजुरबुवा यही भाँडोमा पिठो मुछ्नुहुन्थ्यो रे। बुबाले पनि यसैमा मुछ्नुभयो। अहिले म र छोरानाति पनि यही चलाइरहेका छौं,' उनले भने, 'पुर्खाको आशीर्वाद र सफलताको प्रतीकका रूपमा यही भाँडो चलाइरहेका छौं।'
गयाप्रसादका पाँच छोराहरू आनन्द, सन्तोष, प्रमेश, सन्दीप र पवनकुमार सबै मिठाइ पसलमा संलग्न छन्। उनीहरूको कदम चोकसँगै मैनाबगरमा पनि मिठाइ पसल छ।
लड्डुलालका छोरा किरण पसलसँगै विवाह, व्रतबन्ध तथा अन्य पूजाआजाका कार्यक्रममा क्याटरिङ व्यवसाय चलाउँछन्। लड्डुलाल बुटवल हाई स्कुलमा जलेवी बेच्थे। पछि यो काम किरणले सम्हाले। स्कुलको वनभोज लगायत कार्यक्रममा खाना पनि पकाइदिन्थे। त्यही कामले उनलाई व्यावसायिक बन्न सघायो।
कहिल्यै पाककला तालिम नलिएका किरण क्याटरिङका लागि सबै परिकार आफै पकाउन सक्छन्। आफ्नो सीप आफ्ना पाँच छोराहरू शरण, सुरज, प्रेम, अमन र स्वयंलाई सिकाइरहेका छन्।
'बुबा र बाजेले गरेको कामलाई निरन्तरता दिइरहेको छु। मेरा छोराले पनि यही व्यवसाय अगाडि बढाऊन् भनेर सिकाउँदै छु,' किरणले भने।
उनीहरूको जलेवी नेपालका धेरै ठाउँमा कोसेलीका रूपमा पनि पुग्छ।
जाडो होस् या गर्मी, त्यहाँका दुवै पसलमा बिहान ६ बजेदेखि रातिको ८ बजेसम्म जलेवी, समोसा र मिठाइ खानेको भीड लाग्छ। जलेवी मात्र दैनिक २५ देखि ५० किलोसम्म बिक्ने किरणले बताए।
