फिनटेक शृंखला– १०

काठमाडौंको कुनै कफी पसलमा तपाईंले क्युआर स्क्यान गरेर दुई सय रूपैयाँ तिर्नुभयो वा पानीको बिल तिर्नुभयो।
वा, पोखरामा बस्ने छोराले काठमाडौंमा बस्ने आमालाई मोबाइलबाट पाँच हजार रूपैयाँ पठायो।
यी दुवै काम सम्पन्न हुन केही सेकेन्ड मात्र लाग्छ।
पैसा पठाएको केही क्षणमै अर्को व्यक्तिको मोबाइलमा सन्देश पुग्छ — रकम प्राप्त भयो।
हामीमध्ये अधिकांशका लागि कथा त्यहीँ सकिन्छ।
पैसा पुग्यो। काम भयो।
तर वास्तवमा पैसा कसरी एक ठाउँबाट अर्को ठाउँ पुग्छ?
पैसा हावामा उडेर अर्को मानिसकहाँ पुग्ने त होइन!
त्यसो भए, तपाईंले स्क्यान गरेको क्युआरले कसरी काम गर्छ? त्यसले तपाईंको मोबाइलबाट अर्को मानिसको मोबाइलमा पैसा कसरी पठाउँछ? जबकि पैसा मोबाइलभित्र छैन। पैसा त बैंकको खातामा छ।
देशभर दिनहुँ लाखौं मानिसले यसरी पैसा पठाउँछन्। अर्बौं रूपैयाँ लेनदेन हुन्छ।
यो पैसा कसरी ओहोरदोहोर हुन्छ?
पैसाको हामीले नदेख्ने त्यही अदृश्य यात्राको कथा हो यो।
पैसाको यो यात्रालाई नजिकबाट देखेका र यसलाई सम्भव बनाएका प्रमुख मानिसमध्ये एक हुन्— निलेशमान सिंह प्रधान, नेपाल क्लियरिङ हाउस लिमिटेड अर्थात् एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ)।
इन्जिनियरिङ र व्यवस्थापन दुवै पृष्ठभूमि भएका प्रधानले आफ्नो करिअर काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा अध्यापनबाट सुरू गरेका थिए।
त्यसपछि उनी सूचना प्रविधि र वित्तीय प्रविधिको क्षेत्रमा लागे। भारत, नेदरल्यान्ड्स र बहराइनमा बैंकिङ प्रविधि, वित्तीय प्रणाली र परियोजना कार्यान्वयनसँग जोडिएर काम गरे।
करिब एक दशकभन्दा बढी समय विदेशमा काम गरेपछि उनी नेपाल फर्किए। सन् २०११ मा फर्किएर एनसिएचएलको संस्थापक सिइओ बने।

त्यो बेला उनको टिम सानो थियो, जिम्मेवारी ठूलो— नेपालमा बैंकहरूबीच पैसाको डिजिटल आवागमनका लागि भरोसायोग्य साझा पूर्वाधार बनाउने।
प्रधानले नजिकबाट देखेका छन्— नेपालमा पैसाको डिजिटल पाइपलाइन कसरी बिछ्याइयो र कसरी यही पाइपलाइनबाट देशको ठूलो रकम एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा, नागरिकबाट सरकारमा, सरकारबाट नागरिकमा, व्यवसायबाट व्यवसायमा र व्यक्तिबाट व्यक्तिमा पुग्न थालेको छ।
एउटा कुरा भने यहाँ स्पष्ट हुनुपर्छ। नेपालका सबै डिजिटल भुक्तानी एउटै पाइपलाइनबाट मात्र चल्दैनन्। फोनपेले आफ्नै डिजिटल भुक्तानी सञ्जाल बनाएको छ। इसेवा पनि एफवानसफ्ट समूहकै वालेट भएकाले धेरै क्युआर तथा वालेट भुक्तानी कारोबार फोनपे सञ्जालमार्फत हुन्छन्। त्यस्तै अन्य स्वीकृत प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट नेपालमा विद्युतीय भुक्तानी कारोबार हुँदै आएको छ।
अरू सबै डिजिटल आर्थिक कारोबारहरू एनसिएचएलकै पाइपलाइनबाटै प्रवाह हुन्छन्।
यसले बैंक–बैंक कारोबार, कनेक्ट आइपिएस (connectIPS), नेपालपे (Nepalpay) क्युआर, सरकारी भुक्तानी, राजस्व संकलन, कर्पोरेट भुक्तानी र अन्य धेरै संस्थागत भुक्तानी प्रणालीलाई जोड्छ।
के हो पैसा बग्ने डिजिटल पाइपलाइन?
एकछिनलाई काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने विशाल पाइपलाइनको सञ्जाल सम्झिऔं।
मेलम्ची वा सुन्दरीजलको जलाशयबाट पानी निस्किन्छ। त्यसपछि मुख्य पाइप, सहायक पाइप र साना पाइप हुँदै अन्ततः तपाईंको घरको धारासम्म पुग्छ।
तपाईंले धारा खोल्दा पानी तुरून्तै आउँछ। पाइप कहाँबाट आउँछ, कहाँ जोडिन्छ, हामीलाई थाहा हुँदैन। पाइपभित्र के भइरहेको छ भन्ने चासो पनि हुँदैन।
घरमा पानी आयो, बस पुग्यो।
डिजिटल पाइपलाइन पनि खानेपानीको जस्तै विशाल डिजिटल सञ्जाल हो, जसलाई हामीले देख्दैनौं। तर खानेपानीको पाइपभन्दा धेरै रोचक छ यसको कथा।
खानेपानीको पाइप केयुकेएल (काठमाडौं उपत्यका खानेपानी लिमिटेड) बाट घर वा कार्यालयमा जोडिएको हुन्छ। यो प्रायः एकोहोरो पानी बग्ने पाइपलाइन हो। हाम्रो घरबाट केयुकेएलमा पानी पठाउन मिल्दैन। त्यस्तै, हाम्रो घरबाट अर्को घरमा पानी पठाउन पनि मिल्दैन।
पैसाको डिजिटल पाइपलाइन भने दुईतर्फी हुन्छ।
यसमा व्यक्ति–व्यक्तिबीच पैसा बग्छ।
व्यक्ति र व्यवसायबीच पैसा बग्छ।
व्यक्ति र सरकारबीच पैसा बग्छ।
व्यवसाय र व्यवसायबीच पैसा बग्छ।
सरकार र नागरिकबीच पैसा बग्छ।
देशभरिका बैंक, वालेट, व्यवसाय, सरकारी कार्यालय र नागरिकलाई जोड्ने यस्तो विशाल डिजिटल पाइपलाइन नेपालभरि विस्तार हुँदै गएको छ।
तपाईंले क्युआर गरेको पैसा कसरी अर्को मोबाइलमा पुग्छ?
एकछिनका लागि मानौं, तपाईंले दुई सय रूपैयाँको कफी खानुभयो र काउन्टरमा रहेको क्युआर स्क्यान गर्नुभयो।
मोबाइलमा रकम लेख्नुभयो।
'Pay' थिच्नुभयो।
केही सेकेन्डभित्र पसलेको मोबाइलमा सन्देश आयो— पैसा प्राप्त भयो।
यति छिटो हुने भएकाले हामीलाई लाग्न सक्छ, पैसा सिधै हाम्रो खाताबाट पसलेको खातामा हामफालेर पुग्यो होला वा उडेर पुग्यो होला।
तर वास्तवमा पैसा व्यवस्थित यात्रा पार गरेर मात्र पसलको खातामा पुग्छ।
पहिलो चरणमा तपाईंको मोबाइल बैंकिङ एप वा वालेटले तपाईंको बैंकलाई सोध्छ — यो व्यक्तिको खातामा दुई सय रूपैयाँ छ कि छैन?
बैंकले खातामा पर्याप्त रकम रहेको पुष्टि गर्छ।
त्यसपछि अर्को प्रश्न सोध्छ— यो पैसा कहाँ पठाउने?
स्क्यान गरेको कोडमा पसलेको बैंक वा भुक्तानी खाताको नम्बर लुकेको हुन्छ। त्यो नम्बर थाहा पाएपछि पैसा पठाउने प्रक्रिया सुरू हुन्छ।
यदि तपाईं र पसले एउटै बैंकका ग्राहक हुनुहुन्छ भने पैसा त्यो बैंकभित्रै सर्न सक्छ।
तर नेपालको धेरै कारोबारमा पैसा एउटा बैंकबाट अर्को बैंकमा जानुपर्छ।
उदाहरणका लागि, तपाईंको खाता एउटा बैंकमा छ र पसलेको खाता अर्को बैंकमा। त्यस अवस्थामा दुवै बैंकलाई जोड्ने साझा डिजिटल बाटो चाहिन्छ।
त्यो बाटो कहिले फोनपे सञ्जाल हुन सक्छ, कहिले एनसिएचएलको प्रणाली हुन सक्छ, कहिले बैंकहरूको आफ्नै आन्तरिक व्यवस्था हुन सक्छ।
कुन बाटो प्रयोग हुन्छ भन्ने कुरा तपाईंले कुन एप, कुन क्युआर, कुन बैंक वा कुन भुक्तानी प्रणाली प्रयोग गर्नुभयो भन्नेमा निर्भर हुन्छ।
त्यसैले तपाईंले क्युआर स्क्यान गरेको केही सेकेन्डभित्रै पसलेले पैसा आएको सूचना पाउँछ।
कथा यतिमै सकिँदैन।
पसलेले मोबाइलमा सन्देश पाइसके पनि पर्दा पछाडि अझै एउटा महत्त्वपूर्ण काम बाँकी हुन्छ।
त्यो हो — अन्तिम हिसाब मिलान।
सूचना तुरून्तै पुग्छ, पैसा कसरी पुग्छ?
हामीले यही प्रश्न सिइओ निलेशमान सिंह प्रधानलाई सोध्यौं।
उनले सरल तरिकाले बुझाए —
मानौं, तपाईंको खाता नबिल बैंकमा छ। तपाईंले एनएमबी बैंकमा खाता भएको व्यक्तिलाई पैसा पठाउनुभयो।
तपाईंले मोबाइलमा पैसा पठाउनुभयो। तपाईंको खाताबाट रकम घट्यो। अर्को व्यक्तिको खातामा रकम देखियो।
बाहिरबाट हेर्दा पैसा सिधै तपाईंको खाताबाट उसको खातामा गएको जस्तो लाग्छ।
तर वास्तविक हिसाबमा दुई तह हुन्छन्।
पहिलो, नबिल बैंकले तपाईंको खाताबाट पैसा घटाउँछ।
दोस्रो, राष्ट्र बैंकमा रहेको नबिलको खाताबाट रकम घटेर एनमबीको राष्ट्र बैंकमै रहेको खातामा जानुपर्छ।
किनभने नेपालका बैंकहरूको अन्तिम हिसाब राष्ट्र बैंकमा मिल्छ।
यसलाई वित्तीय भाषामा 'सेटलमेन्ट' भनिन्छ। सामान्य भाषामा भन्दा— हिसाब फर्छ्यौट।
ग्राहकले देख्ने कुरा र बैंकहरूबीच हुने अन्तिम हिसाब सधैं एउटै समयमा पूरा हुँदैन।
सानो मूल्यका मोबाइल वा क्युआर कारोबारमा ग्राहकले तुरून्तै पैसा आएको सूचना पाउँछ। प्राप्त गर्ने बैंकले पनि ग्राहकलाई तुरून्तै रकम देखाउन सक्छ। किनभने प्रणालीले पछि हुने अन्तरबैंक सेटलमेन्टको ग्यारेन्टी गरेको हुन्छ।
प्रधानका अनुसार यस्तो साना मूल्यका रियल–टाइम कारोबारका लागि सेटलमेन्ट ग्यारेन्टी फन्डजस्ता व्यवस्था हुन्छन्। त्यसैले तपाईंले मोबाइलबाट पैसा पठाउनेबित्तिकै अर्को व्यक्तिको फोनमा घन्टी बज्छ।
ठूलो मूल्यका कारोबार, ठूला चेक वा व्यावसायिक भुक्तानीमा भने जोखिम बढी हुन्छ। त्यसैले त्यस्ता कारोबारमा बैंक र बैंकबीच वास्तविक सेटलमेन्ट भएपछि मात्र ग्राहकको खातामा रकम क्रेडिट गर्ने व्यवस्था हुन्छ।
जहाँ सबै हिसाब मिल्छ: राष्ट्र बैंक
नेपालमा हरेक दिन लाखौं कारोबार हुन्छन्।
कसैले साथीलाई पैसा पठाउँछ। कसैले बिजुलीको बिल तिर्छ। कसैले विद्यालयको शुल्क बुझाउँछ। कसैले कर्मचारीको तलब पठाउँछ। सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्छ।
करोडौं होइन, अर्बौं रूपैयाँ यता–उता सर्दै गर्छ।
यी सबै कारोबारपछि अन्ततः एउटा प्रश्न उठ्छ — कुन बैंकले अर्को बैंकलाई कति तिर्न बाँकी छ?
यही हिसाब मिलाउने अन्तिम ठाउँ हो— नेपाल राष्ट्र बैंक।
देशका सबै वाणिज्य बैंकहरूको राष्ट्र बैंकमा आफ्नै खाता हुन्छ। दिनभरि विभिन्न बैंकहरूबीच भएका कारोबारको विवरण प्रणालीले संकलन गर्छ।
कुन बैंकले अरूलाई कति पैसा दिनुपर्ने भयो, कुन बैंकले कति पैसा पाउनुपर्ने भयो — यो सम्पूर्ण हिसाब निकालिन्छ।
प्रधानका अनुसार प्रत्येक सानो कारोबार अलग अलग राष्ट्र बैंकमा जाँदैन।
उदाहरणका लागि, एउटा बैंकका हजार ग्राहकले दिनभर धेरै कारोबार गरे भने ती सबैलाई एकमुष्ट हिसाब गरिन्छ। त्यसपछि त्यो बैंकले समग्रमा कति पाउनुपर्ने वा दिनुपर्ने भयो भन्ने कुल हिसाब निकालिन्छ।
एनसिएचएल प्रणाली अनुसार यो हिसाब दिनमा एक पटक, पटक पटक वा एक एक घन्टामा पनि जान सक्छ।
त्यसपछि त्यो विवरण राष्ट्र बैंकको आरटिजिएस (Real Time Gross Settlement System) मा पठाइन्छ। यो राष्ट्र बैंकमा रहेको प्रणाली हो, जसले बैंक–बैंकबीचको ठूलो वा अन्तिम कारोबार सेटल गर्छ। एनसिएचएलले आफ्ना प्रणालीमार्फत हुने कारोबारमा पूर्वाधार चलाउँछ।
बैंक, व्यवसाय र ग्राहकले प्रयोग गर्ने अगाडिको प्रणालीलाई जोड्छ। क्युआर, मोबाइल, चेक, कार्ड वा अन्य माध्यमबाट सुरू भएको कारोबारलाई सही ठाउँमा पुर्याउन मद्दत गर्छ।
जब चेक बोकेर बैंक धाउनुपर्थ्यो
यो डिजिटल पाइपलाइन नहुँदा एउटा बैंकबाट अर्को बैंकमा पैसा कसरी पुग्थ्यो?
त्यो बेलाको कथा अर्कै थियो।
त्यति बेला नेपालमा भुक्तानी प्रणालीको मुख्य साधन चेक थियो। कसैले चेक दियो भने ग्राहकले त्यो चेक बोकेर बैंकमा जानुपर्थ्यो। बैंकमा चेक बुझाउनुपर्थ्यो। त्यो पैसा आफ्नो खातामा आइपुग्न एक–दुई दिन कुर्नुपर्थ्यो।
त्यही बैंकको अर्को शाखाको चेक भए पनि पैसा पाउन घन्टौं लाग्थ्यो।
काठमाडौं बाहिरको चेकलाई 'आउट स्टेसन चेक' भनिन्थ्यो। त्यस्तो चेक काठमाडौंमा जम्मा भयो भने चार–पाँच दिन, कहिलेकाहीँ आठ–दस दिनसम्म लाग्न सक्थ्यो।
आज क्युआर स्क्यान गरेर केही सेकेन्डमै पैसा लेनदेन गर्न बानी परेको पुस्तालाई यो कुरा पुरानो युगको कथा जस्तो लाग्न सक्छ।
नेपालको वित्तीय प्रणालीको परिवर्तन यही ठाउँबाट सुरू भएको थियो।
प्रधानका अनुसार एनसिएचएलको पहिलो काम यही चेक क्लियरिङलाई डिजिटल बनाउनु थियो। यो संस्था त्यसैका लागि खडा भएको थियो।
पहिले क्लियरिङ हाउस भनेकै चेक साटासाट गर्ने ठाउँ थियो। राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरूमा बैंकहरू एकअर्काका चेक लिएर पुग्थे। त्यहाँ चेक साटिन्थ्यो। फेरि ती चेक सम्बन्धित बैंकका शाखामा पुग्थे। खातामा पैसा छ कि छैन, हस्ताक्षर मिल्छ कि मिल्दैन, चेक क्लियर गर्न मिल्छ कि मिल्दैन— सबै हेरेपछि मात्र पैसा उपलब्ध हुन्थ्यो।
एनसिएचएल आएपछि यो प्रक्रिया केन्द्रीय डिजिटल प्रणालीमा ल्याउने प्रयास सुरू भयो।
लक्ष्य थियो— नेपालभर जहाँसुकैको, जुनसुकै बैंकको चेक भए पनि प्रणालीमा राखेपछि त्यही दिन क्लियर होस्।
यो सानो परिवर्तन थिएन।
त्यति बेला अन्तर्राष्ट्रिय रूपमा पनि धेरै ठाउँमा इलेक्ट्रोनिक चेक क्लियरिङ भएपछि पनि पैसा भोलि वा पर्सि मात्र फर्छ्यौट हुन्थ्यो। तर नेपालमा एनसिएचएलले सुरूबाटै चेक त्यही दिन क्लियर हुने गरी प्रणाली, प्रक्रिया र नियामकीय व्यवस्था मिलाउने काम गरेको प्रधानले बताए।
यसले चेकबाट पैसा पाउने समय घटायो। व्यक्तिलाई छिटो पैसा उपलब्ध भयो। व्यवसायको 'क्यास फ्लो' सुध्रियो। र, बैंकहरूबीचको कागजी यात्रा बिस्तारै डिजिटल यात्रामा परिणत हुन थाल्यो।
अहिले पनि बैंकमा पुगेका चेकले कसरी काम गर्छन्?
आज पनि कसैले तपाईंलाई चेक दियो भने तपाईं चेक लिएर आफ्नो बैंकमा जानुहुन्छ। जम्मा गर्नुहुन्छ। पहिले बैंकले त्यो भौतिक चेक अर्को बैंकमा पठाउँथ्यो। अहिले शाखामै चेक स्क्यान हुन्छ।
चेकको अगाडि र पछाडिको फोटो लिइन्छ। त्यसमा भएको विवरण प्रणालीमा हालिन्छ। बैंकले आवश्यक विवरण प्रमाणीकरण गर्छ। त्यसपछि चेकको डिजिटल रूप एनसिएचएलको प्रणालीमा जान्छ।
भौतिक चेक भने त्यही शाखामै रहन्छ।
यसलाई व्यावसायिक भाषामा 'चेक ट्रान्ज्याक्सन' भनिन्छ।
एनसिएचएलको प्रणालीले हेर्छ— यो चेक कुन बैंकबाट आएको हो र कुन बैंकमा पठाउनुपर्ने हो। त्यसपछि त्यो जानकारी सम्बन्धित बैंकमा डिजिटल माध्यमबाट पुर्याइदिन्छ।
सम्बन्धित बैंकले खातामा रकम छ कि छैन, हस्ताक्षर मिल्छ कि मिल्दैन, चेक मान्य छ कि छैन भन्ने जाँच्छ। सबै ठीक भए 'ओके' गर्छ।
त्यसपछि हिसाब मिल्छ।
राष्ट्र बैंकमा रहेका बैंकहरूको खाताका आधारमा अन्तिम सेटलमेन्ट हुन्छ।
ग्राहकले हेर्दा यो एउटा सामान्य चेक जम्मा गरेको घटना मात्र हो। तर पर्दापछाडि कागज, शाखा, बैंक, एनसिएचएलको प्रणाली र राष्ट्र बैंकको सेटलमेन्टबीच पूरै डिजिटल प्रक्रिया चलिरहेको हुन्छ।
डिजिटल पाइपलाइनले के परिवर्तन ल्यायो?
यो पाइपलाइनको प्रभाव एउटा व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा पैसा पठाउनेमा मात्र सीमित छैन। यसले अर्थतन्त्र चल्ने तरिकै बदलिरहेको छ।
कल्पना गरौं, सरकारले लाखौं वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्छ। पुरानो प्रणालीमा रकम विभिन्न सरकारी कार्यालय हुँदै स्थानीय तहसम्म पुग्थ्यो। त्यहाँबाट कर्मचारी वा प्रतिनिधिले नगद वितरण गर्थे।
यो प्रक्रियामा समय लाग्थ्यो। खर्च लाग्थ्यो। र, कहिलेकाहीँ पैसा गलत व्यक्तिसम्म पुग्ने, ढिलो पुग्ने वा बीचमै चुहिने जोखिम पनि रहन्थ्यो।
अब अवस्था फरक छ।
सरकारले एउटा आदेश दिन्छ। डिजिटल प्रणालीले हजारौं वा लाखौं खातामा एकै पटक रकम पठाइदिन्छ। भत्ता सिधै लाभग्राहीको खातामा पुग्छ।
कतिपय बेला त्यस्तो भत्ताको हिनामिना हुन्थ्यो। कसैले बीचैमा उडाइदिन्थ्यो। अब त्यो जोखिम घटेको छ। रकम कहिले, कहाँ र कसलाई गयो भन्ने प्रमाण सुरक्षित रहन्छ।
यही कुरा व्यवसायमा पनि लागू हुन्छ।
काठमाडौंबाट सञ्चालन हुने एउटा कम्पनीले देशभरका सयौं कर्मचारीलाई तलब पठाउनुपर्यो भने पहिले प्रत्येक शाखा वा बैंकमार्फत छुट्टाछुट्टै प्रक्रिया अपनाउनुपर्थ्यो।
आज एउटा फाइल अपलोड गरेर हजारौं खातामा तलब पठाउन सकिन्छ। विश्वविद्यालयले हजारौं विद्यार्थीबाट शुल्क संकलन गर्न सक्छ। बीमा कम्पनीले हजारौं ग्राहकलाई दाबी भुक्तानी गर्न सक्छ। व्यवसायले सयौं आपूर्तिकर्तालाई रकम पठाउन सक्छ।
यी सबै कामको आधार एउटै हो— पैसाको डिजिटल पाइपलाइन।
यसले भ्रष्टाचार र चुहावट नियन्त्रणमा पनि नयाँ सम्भावना सिर्जना गरेको छ।
नगदको एउटा 'कमजोरी' हुन्छ। त्यो बीचमै 'हराउन' सक्छ। तर डिजिटल पैसाले आफ्नो पदचिह्न छोड्छ।
प्रत्येक कारोबारको रेकर्ड हुन्छ — कहिले भयो, कति रकम भयो, कसले पठायो, कसले प्राप्त गर्यो — यी सबै तथ्य सुरक्षित रहन्छन्।
यसैले पछिल्ला वर्षहरूमा सरकारले कर संकलनदेखि सामाजिक सुरक्षा भत्तासम्मका धेरै भुक्तानी डिजिटल माध्यमबाट गर्न जोड दिइरहेको छ।
उद्देश्य केवल सुविधा दिनु होइन, पारदर्शिता बढाउनु पनि हो।
हामीले नदेखेको विशाल अर्थतन्त्र
काठमाडौंको एउटा कफी पसलमा दुई सय रूपैयाँको भुक्तानी, पोखराबाट काठमाडौं पाँच हजार रूपैयाँको रकम ट्रान्सफर, बिजुलीको बिल, विद्यालयको शुल्क, सरकारी भत्ता, कर्मचारीको तलब — यी प्रत्येक कारोबार साना देखिन्छन्।
तर यस्ता लाखौं कारोबार एकै दिनमा भइरहेका हुन्छन्।
यदि फरक फरक समयमा फरक फरक डिजिटल पाइपलाइनबाट बग्ने यी सबै कारोबारलाई एकै ठाउँ राख्न सक्ने हो भने त्यो ठूलो नदी बन्ने थियो, जहाँबाट हरेक दिन अर्बौं रूपैयाँ बग्ने थियो।
आज एनसिएचएलको पूर्वाधारमार्फत दैनिक करिब ८० अर्ब रूपैयाँभन्दा बढी रकम प्रवाह भइरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा एनसिएचएल प्रणालीबाट २१ करोड १२ लाखभन्दा बढी पटक कारोबार भएको रेकर्ड छ। यो कारोबारको जम्मा मूल्य १८६ खर्ब रूपैयाँभन्दा बढी थियो।
यो नेपालको अर्थतन्त्रका लागि सानो कुरा होइन।
यसको अर्थ हो— देशको औपचारिक अर्थतन्त्रभित्र चल्ने पैसाको ठूलो हिस्सा कुनै न कुनै रूपमा यही डिजिटल पाइपलाइनबाट यात्रा गरिरहेको छ।
एनसिएचएलको सञ्जालमा अहिले ५४ बैंक तथा वित्तीय संस्था र सयभन्दा बढी गैरबैंक संस्था जोडिएका छन्।
अर्थात्, यो केवल बैंकहरूको प्रणाली होइन। यो बैंक, भुक्तानी सेवा, व्यवसाय, सरकारी निकाय र नागरिकलाई जोड्ने साझा पूर्वाधार हो।
नेपालमा एनसिएचएल र फोनपे जस्ता फरक फरक भुक्तानी पूर्वाधारहरू सँगसँगै विकसित भएका छन्। फोनपेले क्युआर र व्यक्तिगत भुक्तानीमा ठूलो सञ्जाल बनाएको छ। एनसिएचएलले बैंक–बैंक कारोबार, सरकारी भुक्तानी, राजस्व संकलन, कनेक्ट आइपिएस, आइपिएस, नेपालपे क्युआर, कर्पोरेट भुक्तानी राष्ट्रिय भुक्तानी स्विच र नेपालपे कार्ड स्किम जस्ता राष्ट्रिय पूर्वाधार निर्माण गरेको छ।
यी सबै प्रणाली नेपाल राष्ट्र बैंकको नियमनभित्र छन्। र, बैंक–बैंक बीचको अन्तिम हिसाब राष्ट्र बैंकको सेटलमेन्ट प्रणालीभित्र मिल्छ।
त्यसैले एनसिएचएल नेपालको डिजिटल अर्थतन्त्रको आधारभूत पूर्वाधारमध्ये एक हो।
सडकले मानिस र सामान ओसार्छ।
विद्युत सञ्जालले ऊर्जा पुर्याउँछ।
दूरसञ्चार सञ्जालले सूचना बोक्छ।
एनसिएचएलले बनाएको डिजिटल पाइपलाइनले पैसा बोक्छ।
सिइओ निलेशमान सिंह प्रधानले देखेको नेपाल चेक बोकेर बैंक धाउनेबाट डिजिटलमा रूपान्तरण हुँदै गरेको देश थियो। अहिले उनैले नेतृत्व गरेको संस्थाले बनाएको डिजिटल पाइपलाइनले सेकेन्डभरमै पैसा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँदैछ।
र, उनको संस्थाले नेपाललाई आर्थिक रूपमा तीव्र गतिमा डिजिटल युगमा प्रवेश गराउन महत्त्वपूर्ण भूमिका खेल्दैछ।
***
सेतोपाटी फिनटेक शृंखलाका अन्य स्टोरीहरूः