गत साल मेरी दुई वर्षकी छोरीलाई काठमाडौं चक्रपथ भित्रको एउटा सडकमा हिँडाउँदै थिएँ।
केही महिना अगाडिदेखि मज्जाले थिग्रिएर हिँड्न सकेकी छोरी मेरो हातबाट आफ्नो हात फुत्काएर सडकको बीचमा जान खोज्दै थिई।
सडकको किनारामा रहेको पहेँलो घेरा बाहिरको साँघुरो बाटो र सडकको मूल बाटो देखाउँदै मैले उसलाई सम्झाएँ, 'यताको हाम्रो बाटो हो, उताको बाटो गाडीको हो। हामी आफ्नो बाटोमा हिँड्नुपर्छ, गाडी आफ्नो बाटोमा हिँड्छ।'
भर्खरै पूरा वाक्य बोल्न र दोहोर्याउन सक्ने भएकी छोरीले रमाउँदै तोते बोलीमा धेरै पटक भन्न थाली, 'यो मेलो बाटो, यो गाडीको बाटो।'
उसले कुनै एउटै वस्तुको सानो र ठूलो आकार केही हप्तादेखि भेउ पाउन थालेकी थिई।
म आश्चर्यमा परेँ जब उसले मलाई चिच्याएर भन्न थाली, 'बाबा, गाडीको बाटो ठूलो, मेलो बाटो सानो।'
हामी हिँड्दै गर्दा पहेँलो घेरा बाहिरको बाटो सकियो र हामी गाडीसँगै मूल सडकमा नै हिँड्न थाल्यौं।
यो देखेर अचम्मित भएर छोरीले मलाई चार–पाँच पटक सोधी, 'बाबा, मेलो बाटो खै?'
मैले जबाफ दिन नपाउँदै केही नयाँ अदभूत कुरा आविष्कार गरेझैं छोरी रमाएर भन्न थाली, 'बाबा, मेलो बाटो छैन। हामी त गाडीको बाटोमा हिँडेको!'
त्यो समय मलाई दुई विपरीत भावनात्मक संवेगहरू महसुस भयो।
पहिलो, म खुसी भएँ किनकि छोरीले अवलोकन गरेर त्यसलाई वाक्यमा भन्न सकी। भर्खरै सिकेको बाटोको अवधारणामा उसले तुलना पनि गर्न सकी।
दोस्रो, म एकदमै दुःखी भएँ किनकि मलाई छोरी र उसको पुस्ताका लागि साँघुरिरहेको जीवनको झल्याँस्स याद आयो। म आफ्ना बाल्यकालमा स्मृतिमा बग्न थालेँ।
गाउँमा हुर्केको एक बालकका लागि समाज, घर र प्रकृति सबै फराकिलो थियो। घर अगाडिको आँगन, फूलबारी, करेसाबारी सबै कुद्न, खेल्नका लागि आफ्नै थियो।
गाउँको चौतारो, बाँझो जमिन, जंगल, खोला, बगर, छिमेकीको आँगन, अन्न भित्र्याएर नयाँ अन्न रोप्नु अगाडिसम्मको खेतबारी सबैको साझा थियो।
तिनै स्थानहरूमा हामी बालबालिकाले खेल्न पाइन्थ्यो — गुच्चा, डन्डी बियो, बिट्टो, खो खो, ढ्याक, चुंगी, लुकामारी, भाँडाकुटी, आदि।
ती ठाउँहरूमा हामी कति पटक लड्यौं, उठ्यौं। काँडाले घोच्यो, आफै काँडा निकाल्यौं। कतै लडेर जिउबाट रगत बग्यो, वनमाराको पात निचोरेर रगत रोक्यौं।
साथीहरूसँग कट्टी भन्दै बोल्न बन्द गर्यौं, फेरि केही दिनमा बोल्न थाल्यौं। पसिना बगायौं, माटो छोयौं। कुकुर, बिरालो, गाई, भैंसीसँग खेल्यौं।
अहिले फर्केर हेर्दा लाग्छ, ती अनुभवहरूबाट जीवनका लागि आवश्यक कैयौं सीपहरू आफै पो सिकिएको रहेछ। कति शारीरिक र मानसिक सामर्थ्य त्यहीँबाट पो निर्माण भएको रहेछ।
तर, हालको समयमा सहरमा जिन्दगी बिताइरहेकी छोरी र उसको पुस्तालाई देख्दा तनाव र उकुसमुकुस हुन्छ — उनीहरूका लागि निस्फिक्री भएर हिँड्ने, कुद्ने र खेल्ने ठाउँ एकदमै सीमित छ।
एउटा वयस्कले हात समाएर सुरक्षित रूपमा हिँडाउन मिल्ने फुटपाथहरू पनि विरलै छन्।
बाल्यकाल त खुला र निडर भएर हिँड्ने, कुद्ने र खेल्ने समय हो। यो बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि अपरिहार्य छ।
तर, गाउँहरू बजार र सहर बन्दै गर्दा, गाउँबाट मानिसहरू शिक्षा र अवसरको खोजीमा सहर प्रवेश गर्दै गर्दा र 'विकास' हुँदै गर्दा हामीले देखिरहेका छौं— सहरको वातावरण झनै उकुसमुकुस र साँघुरो हुँदै गएको छ।
गाउँका खोलाहरूमा प्रदूषणको मात्रा बढ्दो क्रममा भए पनि बालबालिकाका लागि खेल्ने ठाउँ अझै छन्। तर, काठमाडौं जस्तो राजधानी सहरमा हिँड्नका लागि सुरक्षित फुटपाथ पनि नहुनु हाम्रो दुर्भाग्य हो।
कोलम्बियाको राजधानी बोगोटा सहरका पूर्व मेयर एनरिक पेनालोसा भन्छन्, 'कुनै सहर कति सभ्य र आधुनिक छ भनेर हेर्न त्यस सहरको फुटपाथको चौडाइ नापे हुन्छ।'
आफ्नो कार्यकालमा पैदल मार्ग र साइकल लेनमा उदाहरणीय काम गरेका उनी भन्छन्, 'राम्रो र सुरक्षित फुटपाथ हुनु भनेको नागरिक बीचको समानताको प्रतीक पनि हो, जहाँ धनी र गरिब, गाडी हुने र नहुने सबैले समान अधिकारका साथ सहर प्रयोग गर्न पाउँछन्।'
उनी थप्छन्, ' राम्रो फुटपाथ बनाउनु भनेको लोकतन्त्र निर्माण गर्नु पनि हो।'
तर नेपालमा अधिकांश ठाउँमा फुटपाथको अवस्था दयनीय छ। सायद हाम्रा राजनीतिज्ञ र नीति निर्माण गर्नेहरूको प्राथमिकतामा यो कहिल्यै परेन।
त्यसैले त सडकहरू चौडा भए। हरेक साल विभिन्न सडक फराकिलो बनाउन बजेटहरू विनियोजन भए तर हिँड्न मिल्ने फुटपाथ कहिल्यै फराकिला भएनन्। लोकतन्त्र संविधानमा त लेखियो, तर दैनिक व्यावहारिक जीवनमा त्यो कसरी रूपान्तरण हुन्छ भनेर कहिल्यै सोचिएन।
जो हिँड्छ, जसले साइकल चलाउँछ, जसले आफू एक ठाउँबाट अर्को ठाउँमा जानका लागि डिजेल र पेट्रोल खर्च गर्दैन, प्रदूषणमा उसको योगदान शून्य बराबर हुन्छ। उसले हिँडेर कार्बन उत्सर्जन गर्दैन।
वातावरणको प्रदूषणमा शून्य प्रभाव पार्ने पैदल यात्रुलाई झनै विशेष व्यवस्था हुनुपर्ने होइन र? हौसला हुनुपर्ने होइन र? पैदल यात्रुका लागि सहज र सुरक्षित वातावरण बनाइदिनुपर्ने होइन र?
यहाँ फराकिला सडकहरू आवश्यक छैनन् भन्न खोजेको होइन। सडकहरू अत्याधुनिक र सहज भइदिए मानिस र सामानको ढुवानीको खर्च घट्छ। यसले आम मानिसको जीवनको खर्च केही कम हुन्छ।
तर सडकर फराकिलो बनाउने प्रक्रियामा फुटपाथ नजर अन्दाज गर्नु हुँदैन।
हामीसँग सहज र सुरक्षित फुटपाथहरू भइदिए नजिकको दुरीमा मानिसहरू गाडीको उपयोग कम गर्थे होलान्। बाध्यताले मात्र होइन रहले पनि मानिसहरू हिँड्थे होलान्। आफूभन्दा पछिल्लो पुस्तालाई र आफ्ना सन्तानलाई हिँड्न प्रोत्साहन गर्थे होलान्।
अझै सार्वजनिक यातायात सुदृढ, सहज र सुरक्षित भइदियो भने कतिपयले निजी गाडी प्रयोग कम गर्थे होलान्। अन्ततोगत्वा यसले प्रदूषण घटाउँछ। प्रदूषणको कारणले श्वासप्रश्वासको रोग लाग्नेको संख्या घटाउँछ। बिस्तारै हामी 'सास फेर्न लायक' सहर र ठाउँहरू बनाउने कुरामा प्रगति गर्दै जानेछौं।
पछिल्लो पुस्ताका लागि हामी बाँचेको देश 'बाँच्न लायक' नै छोडेर जानेछौं।
आफूले शासन गरेको देशका नागरिकले स्वस्थ 'सास' लिन पाएनन्, सहजसँग हिँड्न पाएनन्, स्वस्थ पानी सहजैसँग पिउन पाएनन् भने त्यो कुशासन हो। बाँच्नका लागि आवश्यक आधारभूत कुरा पनि सहज नबनाउनु, उल्टै कठिन बनाइदिनु भनेको राज्यले नागरिकमाथि गरेको 'सांकेतिक हिंसा' हो।
शासकहरूले जानेर, नजानेर वा लहडपूर्वक गरेको कतिपय अव्यवस्थित योजना र 'विकास' ले हामी आजको ठाउँमा आइपुगेका छौं।
निर्वाचनको अगाडि घोषणा पत्रमा भौतिक विकासको बाचाहरू लेखिरहेका हरेक राजनीतिक दलले चिन्तन गर्नैपर्छ— हरेक क्षण हरेक मानिसलाई चाहिने हावालाई हामी कसरी स्वच्छ बनाउछौं? हाम्रा सहर र गाउँलाई बालबालिका र सम्पूर्ण नागरिकका लागि कसरी बाँच्न लायक र रमाउन लायक बनाउँछौं?
राजनीतिज्ञ र नीति निर्माण गर्ने ठाउँमा हुनेहरूले यति कुरा बुझिदिए परिवर्तन असम्भव पनि छैन।
राजनीतिज्ञले चाहेमा गर्न सक्छन् भन्ने उदाहरण संसारका विभिन्न देशहरूमा देख्न सकिन्छ।
म पाँच महिनादेखि पढाइको सिलसिलामा दक्षिण पश्चिम बेलायतमा छु। आफू बस्ने ठाउँ, विश्वविद्यालय र दैनिक उपभोग्य वस्तुका लागि किनमेल गर्ने बजार रहेको सिटी सेन्टर सबै करिब एक घन्टाको पैदल दुरीमा छन्। यस सहरभित्र यात्रा गर्न मैले अहिलेसम्म गाडी चढ्नुपरेको छैन। गाडीमा यात्रा गर्नुपरे पनि सार्वजनिक बसहरू समय समयमा सहजै उपलब्ध छन्। मेरा अधिकांश सहपाठीको अनुभव पनि यस्तै छ।
यसको कारण हो, यहाँको लोभलाग्दो, सुरक्षित र फराकिलो फुटपाथ।
यहाँका फुटपाथहरू हिँड्न मात्र बनाइएका छैनन्, हिँड्न प्रोत्साहित गर्ने किसिमका छन्। फुटपाथ प्रायः फराकिला छन्, छेउछेउमा कतै रूख त कतै हरिया झाडी छन्, कतै घाँसै घाँसले भरिएका सुन्दर चौर छन्।
ठाउँ ठाउँमा बस्ने बेन्चहरू पनि छन्, फोहोर जम्मा गर्ने ट्र्यास बिनहरू पनि छन्। वरिपरि रूख र हरियाली भएकाले बाटोमा हिँड्दा चराहरूको चिरबिर आवाज र हावाको सुस्केरा मनमोहक लाग्छ।
अनि, अधिकतम ५ मिनेटको दुरीमा जेब्रा क्रसिङ छन्। ट्राफिक लाइट भएका जेब्रा क्रसिङमा बटन थिचेर सजिलै बाटो काट्न सकिन्छ। ट्राफिक लाइट नभएका जेब्रा क्रसिङमा पनि चालकहरूले पहिलो प्राथमिकता पैदल यात्रीलाई दिने रहेछन्।
यहाँ आएको केही दिनमा म पैदल मार्गमा हिँड्दै थिएँ। आफू पुग्ने ठाउँ खोज्न एक ठाउँ उभिएर गुगल म्याप हेर्न थालेँ। मेरो अगाडि सडकमा उच्च गतिमा आएका गाडीहरू एकाएक रोकिए।
धेरै गाडीहरू किन रोकिए भनेर हेरेको, म त जेब्रा क्रसिङको छेउमा उभिएको रहेछु र सबै गाडीहरूले मलाई बाटो काट्न पो रोकेका रहेछन्।
नेपालमा जेब्रा क्रसिङमा पनि बाटो काट्न गाह्रो हुने अनुभव भएको म त्यो दृश्य देख्दा चकित परेको थिएँ।
अर्को महत्त्वपूर्ण कुरा, यहाँका फुटपाथ सबैका लागि अनुकूल हुने र समावेशी किसिमले बनाइएको छ। बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्ति, साइकल चालक सबैलाई ध्यानमा राखेर डिजाइन गरिएको देखिन्छ।
हिँडडुलका लागि ह्विलचेयर चाहिनेहरू एक्लै सहरको अधिकांश ठाउँ पुग्न सक्ने रहेछन्। फुटपाथको डिलको उचाइ र सार्वजनिक बस चढ्ने उचाइ समान रूपमा बनाइएको छ। यसले गर्दा हिँड्न कठिनाइ हुने र ह्विलचेयर प्रयोग गर्ने सबैले सहजै एक्लै बस चढ्न र ओर्लन सक्छन्।
यो सबै देख्दा लाग्छ, राम्रो फुटपाथले हरेक नागरिकलाई स्वतन्त्रताको पनि अनुभूति दिने रहेछ।
गाडीभन्दा मानिसहरू महत्त्वपूर्ण हुन्छन् र राज्य र समाजले हरेक मानिसको सम्मान गर्नुपर्छ भन्ने सोच यहाँको भौतिक संरचनामा स्पष्ट देखिन्छ।
हेर्दा सामान्य लाग्छ, तर यो राज्यले हरेक नागरिकलाई राज्य र समाजको हरेक सुविधा समान रूपले पहुँच गराउन खोजेको पहल पनि हो। राज्यले हरेक नागरिकप्रति गरेको माया पनि हो। जनताबाट लिएको कर जनताकै लागि उपयोग गरेको उदाहरण पनि हो।
यो सहरमा मैले स्पष्ट देखेको छु — सहर विकास भनेको केवल सडक चौडा बनाउनु होइन, मानिस हिँड्न सक्ने ठाउँ बनाउनु पनि हो।
बेलायतको फुटपाथमा हिँड्दै गर्दा म नेपालमा आफ्नो बाटो खोजिरहेकी छोरीलाई सम्झिरहेको छु र अहिले निर्वाचनका लागि घोषणा पत्र लेखिरहेका राजनीतिक दलहरूलाई सम्झिरहेको छु।
राजनीतिक दलहरूले चिन्तन गरून् र आफ्नो योजनामा राखून् — उनीहरू सरकारमा पुगे भने संविधानमा उल्लिखित लोकतन्त्र, समाजवाद, समावेशिता, सामाजिक न्याय आदि व्यवहारमा कस्तो देखिन्छन्?
लोकतन्त्रका मूल्यहरू आफ्नो दैनिक जीवनमा नागरिकले कसरी उपभोग गर्न पाउँछन्? उनीहरूको शासन कालमा हाम्रो भौतिक संरचना कस्तो देखिन्छ?
उनीहरूको शासन व्यवस्थामा उनीहरू हाम्रो हावा, पानी र जमिन कस्तो बनाउँछन्? हाम्रा गाउँ र सहर कस्ता बनाउँछन्? हाम्रा सडक र गल्लीहरू कसरी पुनःनिर्माण गर्छन्?
***
एक्स (ट्विटर)- @mani_bijaya
(लेखक विजयमणि पौडेल चेभनिङ छात्रवृत्ति अन्तर्गत हाल बेलायतको युनिभर्सटी अफ एक्सेटरमा 'शैक्षिक नेतृत्व र व्यवस्थापन' अध्ययन गर्दैछन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)