बेइजिङ डायरी
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १३ देखि बुधबार साँझ बेइजिङ आइपुगेका छन्। उनको राजकीय चीन भ्रमण मे १५, शुक्रबारसम्म रहनेछ।
बेइजिङको विमानस्थलमा ट्रम्पलाई चिनियाँ उपराष्ट्रपति हान चङले स्वागत गरेका छन्।
दुई शक्तिशाली देशका राष्ट्रनायक ६ महिनापछि आमनेसामने भेट गर्दैछन्। राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको यो दोस्रो चीन भ्रमण हो। सन् २०१७ मा पहिलो पटक राष्ट्रपति हुँदा उनी चीन भ्रमणमा आएका थिए।
ट्रम्पको यो चीन भ्रमणलाई अन्तर्राष्ट्रिय जगतले निकै चासो दिएर हेरिरहेको छ।
विश्वको पहिलो र दोस्रो अर्थतन्त्र अनि सबभन्दा शक्तिशाली देश र उदाउँदो सबभन्दा ठूलो विकासोन्मुख देशका राष्ट्रनायकको भेटले चीन र अमेरिकालाई मात्र नभएर विश्व जगतलाई नै सकारात्मक सन्देश दिने अपेक्षा गरिएकाले पनि सबैको चासो यो भ्रमणमा केन्द्रित भएको हो।
चीन–अमेरिका सम्बन्धले प्रत्यक्ष रूपमा विश्व स्थिरतालाई प्रभावित गर्ने भएकाले चीन–अमेरिका सम्बन्ध अस्थिर भएमा विश्व पनि अस्थिर हुनु स्वाभाविक हो। कोभिड महामारीपछि विश्वमा अनिश्चितता देखा परेको छ।
ट्रम्पको पहिलो कार्यकालदेखि सुरू भएको चीन–अमेरिका व्यापार युद्धले विश्व अर्थतन्त्रलाई प्रत्यक्ष हानि पुर्याएको छ। अमेरिकाले सुरू गरेको भन्सार कर युद्ध अझै मत्थर भएको छैन।
ट्रम्प भ्रमणका केही एजेन्डाहरू प्रकाशमा आएका छन्। व्यापार मुद्दा, त्यसभित्र पर्ने अर्धचाकल र दुर्लभ खनिज पनि समावेश छन्। त्यसैगरी इरान युद्ध अर्को महत्त्वपूर्ण एजेन्डा हो। ताइवान तेस्रो मुख्य एजेन्डा हो।
यति बेला अमेरिकासँग हाकाहाकी बोल्ने र टक्कर लिन सक्ने मुलुक चीन मात्र हो। टक्कर लिन सक्ने क्षमता भए पनि चीनले अमेरिकासँग सहकार्यमा जोड दिँदै आएको छ। देखिने कूटनीतिबाट सुनिने कूटनीतितिर ढल्किएको चीनले रूस र युक्रेन युद्ध अनि इरान–अमेरिका युद्धमा हतियारबाट नभई राजनीतिक वार्ता अपनाएर समस्या समाधान गर्ने अडान राख्दै आएको छ।
ट्रम्पको चीन भ्रमण अगाडि नै अन्तर्राष्ट्रिय मिडियाहरूले विभिन्न कोणबाट भ्रमणको विश्लेषण गरेका छन्।
अधिकांश मिडियाको आशय छ — यो भ्रमणले चीन र अमेरिकाबीचको प्रतिद्वन्द्व व्यवस्थापन गर्नेछ।
यसले विश्वमा स्थिरता र द्वन्द्व समाधानमा पनि केही योगदान दिने अपेक्षा छ। विशेषगरी चीन र अमेरिकाबीच चलेको आर्थिक घर्षणले विश्व अर्थतन्त्रमा पुगेको क्षतिलाई ट्रम्पको चीन भ्रमणले केही पुर्ताल गर्न सक्ने आशा सञ्चार जगतमा छ।
रोयटर्स, एएफपी र फरेन पोलेसी जस्ता सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले चिनियाँ नीति तथा प्रणालीलाई हस्तक्षेप गर्ने विचार त्यागेको छ। उनीहरूको विश्लेषण अनुसार अमेरिकाले चीनबारे आक्रामक रणनीति असफल भएको स्वीकार गर्दै थप व्यवस्थित गतिरोध खोज्ने कुरामा ध्यान केन्द्रित गरेको छ।
त्यसैगरी ब्लुमबर्ग र एनबिसी न्युजले अहिलेको समय चीनको पल्ला भारी भएको लेखेका छन्। बेइजिङले कडा बल खेलिरहेको भनेर अमेरिका रक्षात्मक भएको संकेत उनीहरूले गरेका हुन्।
महत्त्वपूर्ण दुर्लभ खनिजहरूमा आफ्नो लाभ, विशाल घरेलु बजार र आर्थिक तनाव सहन सक्ने क्षमताका कारण वर्तमान अवस्थामा अमेरिकाको तुलनामा चीनले कम दबाब महसुस गरेको टिप्पणी उनीहरूले गरेका छन्।
द गार्डियन पत्रिकाले चीन र अमेरिकाबीच संरचनात्मक मुद्दाहरू समाधान हुन बाँकी रहेको तर विवाद सम्हाल्न कार्य समितिहरूलाई औपचारिक बाटो खुलेकाले समाधानले गति लिने उल्लेख गरेको छ।
यति बेला विश्वको ध्यान इरान र अमेरिका द्वन्द्वमा केन्द्रित छ। त्यस कारण ट्रम्पको चीन भ्रमणबाट यो द्वन्द्व समाधान हुने आशा पनि गरिएको छ। यस विषयमा पनि मिडियाहरूले प्रमुख स्थान दिँदै धारणा व्यक्त गरेका छन्।
रोयटर्सले लेखेको छ — अमेरिकाले युद्ध विराम र आणविक सहुलियतका लागि जोड दिन इरानको शीर्ष तेल खरिदकर्ताका रूपमा आफ्नो प्रभाव प्रयोगमा बेइजिङमाथि दबाब दिइरहेको छ।
यो समाचारले के पुष्टि गर्छ भने, इरानमाथिको अमेरिकी आक्रमणको चुरो इरानी तेलमाथि अमेरिकी नियन्त्रण राख्नु हो।
यही विषयमा एएफपीले पनि विश्लेषण प्रस्तुत गरेको छ। चीनले आफ्नो अडान उपयोग गरिरहेको भन्दै बेइजिङले तेल आयात पूर्ण रूपमा कटौती गर्न अमेरिकी दबाबको प्रतिरोध गर्दै 'शत्रुता समाप्त' गर्न आह्वान गरिरहेको एएफपीले उल्लेख गरेको छ।
वाल स्ट्रिट जर्नलले विश्लेषकहरूलाई उद्धृत गर्दै चीनले अमेरिकामाथि राख्ने सर्तबारे उजागर गरेको छ। ताइवान जस्ता अन्य मुद्दाहरूमा अमेरिकी दबाबलाई सन्तुलनमा राख्न चीनले आफ्नो भूमिकालाई रणनीतिक शक्तिका रूपमा प्रयोग गर्ने कुरा विश्लेषकहरूले बताएको उसले लेखेको छ।
ट्रम्पको चीन भ्रमणको समयमा चीनले उठाउने अर्को टट्कारो मुद्दा ताइवानको विषय हो।
अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्दै आएको छ। चीनले ताइवानी पृथकतावादीलाई पनि सहयोग गर्दै आएको छ। यही विषयमा चीनले सबभन्दा ठूलो आपत्ति जनाउँछ।
अमेरिकाले चीनसँग गरेका तीन वटा सम्झौता अनुसार ताइवानलाई चीनकै अभिन्न भूभाग स्वीकार गरेको छ। र, 'एक चीन' नीतिलाई औपचारिक रूपमा स्वीकार गरेको छ।
तर गोप्य र अनौपचारिक रूपमा अमेरिकाले ताइवानलाई चीन विरूद्ध उक्साउने काम गर्दै आएको आरोप छ।
रोयटर्सका अनुसार अमेरिकाले ताइवानलाई गरिरहेको हतियार बिक्री अन्त्य गर्न चीनले माग गर्दै आफ्नो 'रातो रेखा' दृढतापूर्वक दोहोर्याउनेछ।
त्यसैगरी द न्यूयोर्क टाइम्सले ताइवानका लागि प्रस्तावित १४ अर्ब डलरको हतियार प्याकेज अमेरिकी विदेश विभागमा रोकिएको कुरा प्रकाशमा ल्याएको छ। यसले ट्रम्प प्रशासनका लागि आन्तरिक तनाव सिर्जना गरेको समाचारमा उल्लेख छ।
ट्रम्पको प्राथमिक लक्ष्य ताइवानको अर्धचालक आपूर्ति शृंखलालाई चिनियाँ अवरोधबाट सुरक्षित गर्नु भएको र यो मुद्दालाई आर्थिक सुरक्षा प्राथमिकताका रूपमा व्यवहार गर्दै चीनसँग ट्रम्पले कुरा गर्ने समाचारमा उल्लेख छ।
अर्को एजेन्डाल एआई हो।
पोलिटिको र फाइनान्सियल टाइम्सले लेखे अनुसार चीनले अमेरिकालाई एआई दौडमा धेरै पछाडि पारेको छ। त्यसैले अमेरिकाको भित्री चासो चीनको एआई विकासबाट सचेत रहनु हो।
चीन र अमेरिकाको अर्थतन्त्रले विश्व अर्थतन्त्रको एक तिहाइभन्दा बढी भाग ओगटेको छ। चीन–अमेरिका आर्थिक र व्यापारिक सहयोग 'कंक्रिट' बनेमा अन्तर्राष्ट्रिय समुदायले प्रत्यक्ष लाभ लिने निश्चित छ। दरार बढेमा सबैतिर नकारात्मक असर पार्छ।
त्यसो त सन् २०२५ यता, चीन र अमेरिकाबीच आर्थिक र व्यापार परामर्शले सकारात्मक परिणामहरू प्राप्त गरेको छ। लगभग ६० प्रतिशत अमेरिकी पुँजी पोषित कम्पनीहरूले चीनमा आफ्नो पुँजी बढाउने योजना बनाएका छन्। र, यस पटक ट्रम्पका साथ आउने अमेरिकी कम्पनीहरूका व्यवस्थापकहरू धेरै छन्।
चिनियाँ र अमेरिकी अर्थतन्त्र स्थिर बनाउनु भनेकै विश्व बजार स्थिर बनाउनु हो।
ठूला देशहरूको जिम्मेवारी भनेकै विश्वव्यापी चुनौती सामना गर्दा उनीहरूले देखाउने नेतृत्व क्षमता हो। भूराजनीतिक द्वन्द्वदेखि एआई सुरक्षा र जलवायु संकट तथा खाद्य सुरक्षामा यी दुई देशले हातेमालो गरे सबैले लाभ उठाउनेछन्। त्यसैले नै विश्व जगतले यिनीहरू मिलेर काम गरून् भन्ने अपेक्षा राखेको हो।
चालु वर्ष दुवै देशका लागि महत्त्व पूर्ण हो।
चीनले १५ औं पञ्चवर्षीय योजना सुरू भएको वर्ष र अमेरिकाले आफ्नो स्थापनाको २५० औं वार्षिकोत्सव मनाउँदैछ। यही वर्ष चीनले एपेक शिखर सम्मेलन आयोजना गर्दैछ, अमेरिकाले जी–२० शिखर सम्मेलन। एपेक र जी–२० मा मुख्य शक्तिदेश नै चीन र अमेरिका हुन्।
दुई देशबीच द्वन्द्वभन्दा संवाद बढी देखिन्छ। दुई राष्ट्रनायक ६ महिनापछि आमनेसामने हुँदै गरे पनि उनीहरूबीच निरन्तर टेलिफोन संवाद छ।
ट्रम्प पुनः राष्ट्रपति भएपछि दुई नेताबीच सात पटक महत्त्वपूर्ण अन्तर्क्रिया भयो। सन् २०२४ नोभेम्बर ७ मा सी चिनफिङले ट्रम्पलाई बधाइ सन्देश दिँदै फोन गरेका थिए। त्यसको दुई महिनापछि सन् २०२५ जनवरी १७ मा सीले ट्रम्पसँग टेलिफोन वार्ता गरे। सन् २०२५ जुन ५ र सेप्टेम्बर १९ मा पनि दुई नेताबीच टेलिफोन वार्ता भयो। गत अक्टोबर ३० मा दक्षिण कोरियाको बुसानमा उनीहरूको प्रत्यक्ष भेटघाट भयो।
त्यो भेटको २४ दिनपछि नोभेम्बर २४ मा र गत फेब्रुअरी ४ मा पनि उनीहरूबीच टेलिफोन वार्ता भयो।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा बताए अनुसार टेलिफोन वार्तामा सीले दुई पक्षले प्राप्त गरेको सहमति बमोजिम संवाद र आदानप्रदान बढाउने, मतभेद नियन्त्रण गर्ने, व्यावहारिक सहकार्य विस्तार गर्ने बताएका छन्। त्यसैगरी सन् २०२६ लाई दुवै मुलुकले पारस्परिक सम्मानता, शान्तिपूर्ण अस्तित्व, सहकार्य तथा विजयीतर्फ लम्किन वर्ष बनाउने कुरामा सीले जोड दिए।
उल्लिखित संवादहरूले चीन र अमेरिका द्वन्द्व होइन, सहकार्य चाहन्छन् भन्ने देखाउँछन्।
चीनले सधैं व्यापारिक युद्धबाट कसैको जित हुँदैन, बरू दुवै पक्षको हार हुन्छ भनिरहन्छ। अमेरिकाले शित युद्धको सोच र शून्य योग खेल त्याग्नुपर्ने चीनको भनाइ छ।
चीन र अमेरिकाबीच सबभन्दा ठूलो विषय ताइवान हो, अरू तपशीलका विषय हुन्। कुनै बेला अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले विद्वान परराष्ट्रमन्त्री तथा सफल कूटनीतिज्ञ हेनरी किसिन्जरको परामर्शमा ताइवान छोडेर चीनसँग हात मिलाएका थिए।
अब ट्रम्पले के गर्छन्, विश्वले हेरिरहेको छ।
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)